कोरोनाको कात्रो पनि सेतै

हिन्दू संस्कार एवं परम्परामध्ये मृत्यू संस्कारमा १३ दिनसम्म जुठो बार्ने चलन छ । मान्छे मरेको दिनबाट १३ दिनसम्म कोरा कपडा प्रयोग गरेर कुनामा वा अरु मान्छेभन्दा अछट्टै बस्ने ।

किरिया बस्नु पर्नेहरुमध्ये पुरुष एकातिर र महिलाहरु एकातिर बसेको हामीले देखेका छौँ, भोगेका पनि छौँ । यहाँ कोराको मतलव हो, नसिलाएको सेतो कपडा । त्यसै कपडाको उत्पादनको ब्राण्ड पनि कोरा नै रहेको छ ।

कोरा मृत शरीरमा बेर्न पनि प्रयोग गरिन्छ । यद्यपि कोरा ब्राण्डको कपडा अन्य यथोचित ठाउँमा समेत प्रयोग हुन्छ । यसरी १३ दिनसम्म काजकिरिया सकेपछि पनि एक वर्षसम्म बर्खी बार्ने चलन छ ।

अचेल समय, सामाजिक सभ्यता, विचार, बहस, वैज्ञानिक तथ्य आदिको कारणले काजकिरियामा फेरबदल आएको छ । तर पनि, काजकिरिया गर्ने तथा बर्खी बार्ने एवं किरिया बसेको बेलामा अरु कसैसँग छोइन नहुने अवस्थाको सिर्जना कसरी भएको होला भन्ने लाग्न सक्छ ।

अहिले पूरा विश्वमै कोरोना रोगको महामारी छ । कोरोनाभाइरस जो सन् २०१९ मा चीनमा देखा प¥यो । र, नेपालमा पनि यस महामारीले आच्छु आच्छु पारेको अवस्था छ । कोरोना रोगको लक्षण देखापरेका वा संक्रमण भएका मान्छे न्युनतम १४ दिनसम्म क्वारेण्टिन तथा आइसोलेशनमा बस्नु पर्छ । हालसम्म कुनै औषधि पत्ता नलागेको यो भाइरस सरुवा रोग हो । यो रोग लागेका मान्छे एक प्रकारको किरिया बसेझैँ बस्छन् ।

परम्परागत कोरा कपडामा नबसे पनि आधुनिक एवं सुरक्षित तरिकाको सेतो पहिरनमा बस्नु पर्छ । कसैसंग छोइन हुँदैन । लसपस गर्नु हुँदैन । रोग नलागेका तर रोगको संक्रमणको भय भएकाहरु पनि एकान्तवासमा रहन्छन् । मानौँ कोरोना भाइरसको ठाडो किरियामा हुन्छन् । हामीले भोगेकै कुरो हो यो । यो कोरोना महामारीको क्वारेन्टिन एवं आइसोलेशन र परम्परागत किरियाको बसाइमा के अन्तर छ त ?

हामीले कति ठाउँमा हैजाको महामारी देख्यौँ, सुन्यौँ । हैजाको महामारी लागेको समयमा आजको जस्तो लकडाउन, क्वारेन्टिाइन, आइसोलेशन आदिको चेतना थिएन । भाषागत तथा व्यवस्थित रोकथामको त्यस्तो प्रविधि नभए पनि हामीले त्यस्तै खालको नियम पालन ग-यौँ । हैजा संक्रमित स्थानमा गएनौँ । छोइएनौँ । घर बा-यौँ । पानी बा-यौँ । मान्छे मरेको घरको अन्नपात किरिया पुत्रीहरुलाई खान दिएनौँ । पँधेरो बा-यौँ । नुन बा-यौ । लगभग कोरोना महामारी र हैजा महामारीमा उस्तै उस्तै गरेर बा-यौँ । बारेका छौँ । यसको मतलव हामीले आज मृत्यू संंकारमा तथा महामारी संस्कारमा भोगेका कुराले ती कारणको जवाफ दिइरहेको छ । किन काजकिरिया गरिएको रहेछ त ? किन बर्खी बारिएको रहेछ त ? किन कुनामा अछट्टै बसिएको रहेछ त ? किन सेतो कोरा कपडा प्रयोग गरिएको रहेछ त ? धेरै बहस गर्नै परेन । सबै कुरा प्रकारान्तले कोरोना महामारीले देखाएको छ, सिकाएको छ ।

कोरोना र हैजाको मात्र कुरो होइन, समान्य रुघाखोकी लाग्दा हामी अरुलाई रोग नसरोस् भनेर सजग हुन्छौँ । खानेपिने भाँडा अलग हुन्छन् । लुगा कपडा वा बिछौना समेत अलग बनाउछौँ । संक्रमित मान्छेको नजिक जान डराउछौँ । यस्तै कारणले बिगतमा अझ उपचारको विकल्प नहुँदाको अवस्थामा महामारीबाट बच्न छोइछिटो समेत गरेका हौँला । जब महामारी नियन्त्रणमा आयो, निर्मुल भयो, र पनि, हामीले ती पानी बाराबारका चलन, छोइछिटाका चलन त्याग्न सकेनौँ । अब रोग नियन्त्रणमा आयो, निको भयो भनेर बुझ्न सकेनौँ । बरु संक्रमित मान्छेलाई नै गाउँबाट, बस्तीबाट अलग राख्यौँ । बहिस्करण ग-यौँ । रोग निर्मुल भएपछि त हाम्रो चेतनाको बिर्को सुल्टो गरेर लगाउनु पर्ने थियो । लगाएनौँ जानेनौँ । त्यहीँबाट छुवाछुतको कथा शुरु भएको हुनुपर्छ ।

आज आएर हेरौँ त ! कोरोना संक्रमित मान्छेलाई घृणा गरेका समाचार आएका छन् । डक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मी जसलाई कोरोको संक्रमण छ, अधिकतम् समाजले बहिस्कार गरेको पाइन्छ । जसले हामीलाई उपचार गर्छ, ज्यानको बाजी थापेर बचाउँछ उनैलाई हामीले बहिस्कार ? उनैलाई तिरस्कार ? कति नीच छ हाम्रो चेतना ! कति स्वार्थी छ हाम्रो चेतना ! हो, यही कुराको साँचोमा ढालेर, यसै चेतनाको सुत्रमा उभिएर अछुत बनाइएको कामीको अवस्था पढौँ त ! दमाई, सार्की, पोडे, गाइने वा सबै अछुत बनाइएका अनुहारलाई पढौँ त !

पुराना कुरा, अति पुराना कुराका पीडा जे भए भए । त्यो बेलाको अवस्था वा समस्या, चेतना तथा त्यो बेलाको सामाजिक अवस्थातिर फर्कन सकिन्न । हामीले आजको मार्ग तय गर्ने हो । आजको समय हाम्रो अगाडि छ । आजले भोलिको मार्ग तय गर्ने हो । परम्पराका नाममा, संस्कार वा संस्कृतिका नाममा तथा धर्मका नाममा आजको आँखाले हेर्दा कतिपय कर्म नगरे पनि हुन्छ भन्ने लाग्छ । आजको समाजको अनुकूल नभएका कुरा, आम मानव हितमा नभएका कुरा त्याग्नु पर्छ । जस्तो कि अहिलेको दलितसँग जोडिएको छुवाछुतको बाँकी अंश आजैबाट त्याग्नु पर्छ । यस कुराको शुरुआत आफैबाट गर्ने हो । यसो भएन भने कोरोनाले फेरि छुवाछुतको कुसंस्कार बोक्न सक्छ ।

काजकिरिया तथा अन्य संस्कारलाई टेवा दिने वा अड्याउने भनेको कर्मकाण्ड पद्दति रहेछ । कर्मकाण्डले कोरोनालाई के गर्न सक्छ थाहा छैन । सारा देवी देवताका मन्दिरमा लकडाउन छन् । तर पनि हामीमा बानी परेको छ । माग पूरा होला नहोला, बानी कायमै छ । संस्कारको अम्मल छ । तलतल हुन्छ । समाजमा चल्दै आएका चलन, संस्कार आदि एक प्रकारको सभ्यता बनेको छ, लाखे नाच जस्तै । विज्ञानका सुत्र मात्र मान्ने हो भने कुनै प्रकारका धर्म मान्नु पर्दैन होला । हाम्रो दशैँ तिहार पनि मान्नु परेन । अझ गहिरिएर जाने हो भने यो संसारमा जाबो मान्छे किन चाहिएको छ ? न ज्ञानको लफडा न विज्ञानको । न देवता न त दैत्यको लफडा । न वादको लफडा न विवादको । भन्नुको मतलव, हामी छौँ र ज्ञान–विज्ञान छ । भगवान मानेका छौँ । रोग छ, उपचार छ । हामीले हाम्रै लागि बनाएको समाजमा, सभ्यतामा, कानूनमा, पद्दतिमा हाम्रो अनुकूल भएन भने परिमार्जन गर्ने हो । हो, हामीले परिमार्जन गर्ने कतिपय कुरामा पछि परेका त छैनौ ?

सन्दर्भ काजकिरियामा कोरोना महामारीसंग एकरुपता देखियो भन्ने हो । कात्रोमा पनि एकरुपता रहेको पाइयो । विज्ञानको चरमोत्कर्ष अवस्थामा नमस्ते गर्ने कुराले स्थान पायो । हिन्दूहरुले मान्ने गरेको दाहसंस्कारले स्थान पायो । आयुर्वेदिक उपचारले स्थान पायो । कतिपय चलनहरु, कारकको म्याद गयो होला र पनि कारण थाहा भयो । कति कुरा त कारण पनि थाहा छैन, किन गरेको भन्ने पनि थाहा छैन तर गर्छौँ । नेपालीले घाँटीमा छोएपछि हात फुक्छौँ । गलगाँड नआवस् भन्ने मान्यता छ । होला यसको कारण पनि ।

संस्कार नाम राखिएका थुप्रै कुसंस्कार हामीले पछि काम लाग्छ भनेर पनि पालेका छौँ । यसले गर्दा हाम्रो भण्डारमा नयाँ सभ्यताले स्थान पाउन सकेको छैन । आधुनिक चेतनाले स्थान पाउन सकेको छैन । यसको नकारात्मक परिणाम भनेको हाम्रो चेतनामा कवाडी थुप्रिनु हो । हामी पछि धकेलिनु हो । मनन गरौँ । आत्मसमीक्षा गरौँ । रुढी फालौँ, सभ्यताको दीयो बालौँ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button