
जीवन उमार्ने पृथ्वीलाई निर्जीव ठान्छौं
पृथ्वी र मान्छे
दीन पन्थी
जीवन एउटा स्वप्न झैं, रहस्य झैं, माया वा भ्रम झैं लाग्यो मलाई । नियति र समयले खेलाउँछन् जीवनलाई । हामी विवश भएर जन्मन्छौं, बाँच्छौं र मर्छौं ।
हाम्रो वशमा न जन्म छ न मृत्यु छ । हामी नचाहीकन जन्म्यौं, नचाहीकन मर्छौं । नचाहे पनि नमर्दासम्म बाँच्नु हाम्रो विवशता हो । हामी शून्यबाट आयौं, शून्यमै जान्छौं । बाँच्ने क्रममा हामीसँग हुन्छन्–वासना, जिजीविषा र भोगाशाहरु । मृगतृष्णाजस्तो भोगाशाको त्यान्द्रो समातेर हामी बाँच्छौं– एउटा निरर्थक जीवन । भ्रम र मायामा अल्झिएर प्रतिक्षण चल्छ आनन्दको खोजी । आशा बलवती छ त्यसैले अन्तसम्म तान्छे सबैलाई ।
मान्छेको जीवन क्षणिक छ । मान्छेका संग्रहहरु नाशवान् छन् । मृत्युमा पुगेर पूर्णविराम लाग्ने जीवन दुःखान्त छ । धनवान् र निर्धनप्रति कालको समान चेष्टा रहन्छ । जरामरणले कसैलाई छोड्दैनन् । मान्छेलाई जरामरणबाट कुनै पनि औषधि, मन्त्र, पूजा, दान, जपले रक्षा गर्न सक्दैनन् । क्षणक्षण जीवन चल्छ, क्षणक्षण मृत्यु चल्छ । बितेका क्षणहरु फर्कन्नन् । अमित वैभवशालीहरु पनि सबै छाडेर जानैपर्छ । प्रतिक्षण सुखको अनुभूति खोज्नुपर्छ । यस्तो विवश क्षणिक जीवन पनि पराधीन भएर बित्यो भने व्यर्थ हुन्छ । मान्छेले जन्मदा स्थान र वंश रोजेर आउँदैन । नियतिवश प्राप्त हुन्छन् यी ।
स्त्रीत्व, पुंस्त्व पनि मान्छेका छनोट होइनन् । त्यसैले मान्छे स्थान, वंश, स्त्रीत्व र पुंस्त्वले ठूलो–सानो हुँदैन । मान्छे आफ्नो पुरmषार्थले स्त्री वा पुरmष भएको होइन । नियति र कालको बृहत् आयाममा एउटा बिन्दुपथमा प्रक्षिप्त हुन्छ जीवन । किन हामी एउटा निश्चित स्थान, काल र वंशमा जन्मन बाध्य छौं ? जीवनको अर्थ र अभिप्राय के छ ? के प्रयोजन छ पृथ्वीमा मान्छेका जीवनको मान्छे नै नभए पनि यो पृथ्वी मजाले चल्छ । ग्रहनक्षत्रहरु घुम्न, वर्षा हुन, सूर्यचन्द्र उदाउन, फूल फुल्न, फल फल्न, कोइली कुँज्न मान्छे नभएर के फरक पर्छ र !
यो अनन्त आकाश, यी ग्रहनक्षत्रहरु, यो पृथ्वी, यी हिमाल, यी पर्वत, यी मैदान, यी नदीनाला, मान्छेको सृष्टि नहुँदा पनि थिए । मान्छे सृष्टिबाट हराए पनि रहिरहनेछन् यी । यी सबैको अधिपति हुँ भन्ने मान्छेको जीवन भने पानीको फोका झैं अस्थिर छ । पृथ्वीकै केही भाग ओगटेर ।।।म पृथ्वीपति हुँ’ भन्ने मान्छे अन्ततः पृथ्वीमै सकिन्छ । मान्छेको प्रारम्भ र समाप्ति यहीं हुन्छ । मान्छे यहींबाट बन्छ र यहीं छरिन्छ ।
मान्छेका वासना, जिजीविषा र भोगाशाहरु यहीं छरिन्छन् । मान्छेको जीवन पानीको फोका झैं उठ्छ, देखिन्छ र फुट्छ । यस्तो अनित्य चोला भईकन पनि मान्छे इतिहासनिर्माता र सबै प्राणीको राजा बन्छ । जन्मेर नमरmन्जेल मान्छेको जीवन हुन्छ । यसैबीच उसले चिन्तन–मनन र कर्म गर्नुपर्छ । यसैबीच कलह, वैमनस्य, ईष्र्या र शिश्नोदरपूर्ति पनि गर्नुपर्छ । यसैबीच काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य रहन्छन् । यसैबीच मान्छेले ज्ञानविज्ञान जान्नुपर्छ, भूगर्भ खोतल्नुपर्छ, सागर पस्नुपर्छ र सगर चहार्नुपर्छ । समय छोटो छ मान्छेलाई । पृथ्वी प्रकृति हुन्, हामी उनका प्रत्यय मात्र । पृथ्वी हाम्री आधार हुन्, हामी उनका आधेयमात्र । पृथ्वी हामी नरहँदा पनि रहन्छिन्, पृथ्वीविना हामी रहन्नौं ।
हामीविना पृथ्वी सार्थक छन्, पृथ्वीविना हामी सार्थक छैनौं । चेतना उमार्ने पृथ्वीलाई हामी जड भन्छौं । जीवन उमार्ने पृथ्वीलाई हामी निर्जीव ठान्छौं । सांख्य दर्शन भन्छ – … प्रकृतिश्चेतनःपुरुषस्तु जडः’ । हामी जड छौं, प्रकृतिले हामीमा चेतना भर्छ । चेतनाको अधिकताले हामी मान्छे भयौं । आकारभन्दा गुण ठूलो हुन्छ । तसर्थ गुणैकपक्षपाती हुनुपर्छ मान्छे । न आकारले, न जातले, न वंशले, न स्थानले मान्छे ठूलो हुन्छ । मान्छे ठूलो गुणले हुन्छ । हीरा, मोती, सुन आकारमा साना भए पनि मूल्यवान् हुन्छन् । यहाँ जे सार छ, जे सौन्दर्य छ त्यो सबै प्रकृतिमा छ । यहाँ जे स्वाद छ, जे गन्ध छ, जे रुप छ त्यो सबै पृथ्वीमा छ । भोजन र भोक दुवै पृथ्वीमा छन् । हामी निरीह छौं । सूर्यविना हामी अन्धा छौं, वायुविना हामी निस्प्राण छौं, आकाशविना हामी बहिरा छौं, पृथ्वीविना हामी शून्य छौं । हामी जे देखिन्छौं, त्यो पार्थिव हो । हामी जे छौं–पृथ्वी हौं, जल हौं, तेज हौं, वायु हौं र आकाश हौं । पृथ्वी बिग्रे हामी बिग्रन्छौं, जल, वायु र आकाश प्रदूषित भए हामी दूषित हुन्छौं ।
तसर्थ पृथ्वी, जल, वायु र आकाशलाई दूषित नपारौं । यो धर्ती हो सबैको । मान्छे श्रेष्ठ प्राणी भए पनि मान्छेको मात्र पेवा होइन यो । सबैकी साझा हुन् वसुन्धरा, हात्तीदेखि भुसुनासम्मकी । पृथ्वी उनै छन् । हाम्रा असंख्य पुस्ता बिते, नदीमा पानी बगेझैं । असंख्य पुस्ता बित्लान् अझै। जन्मने– मर्ने क्रम चलिरहेछ अनादिदेखि । यस्तै चल्नेछ अनन्तसम्म ।
पृथ्वीको काखमा हाम्रा सृष्टि, स्थिति, प्रलय छन् । हामी नरहे पनि सृष्टि रहनेछ । पृथ्वीमा आउनेजाने यात्रीहरु फेरिनेछन् । यात्रा जारी हुनेछ । हामी नहुँदा पनि हाम्रा असंख्य पुस्ता जन्मून्, बाँचून् यस भूस्वर्गमा ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)