
क्वाँटीपूर्णिमा: दिन एक नाम अनेक
जनैपूर्णिमाः एक पावन पर्व
विनायक प्र. धिताल
संस्कृति र चाडपर्व सामाजिक मानव प्राणीका अभिन्न पाटा हुन् । मानिस एक चेतनशील र सामाजिक प्राणी भएकाले उसले मानव जातिसँग सम्बन्धित जति पनि राम्रा पक्ष र पाटाहरु छन्, तिनीहरुलाई संस्कार, संस्कृति, चाडपर्व र सभ्यताको रुपमा सुरक्षित राख्दै भविष्यको पुस्तालाई हस्तान्तरण गर्दै जान्छ । यहि क्रममा हिन्दु धर्म र संस्कारबाट जन्मिएको अत्यन्त पावन पर्वको नाम हो- जनैपूर्णिमा ।
ज्योतिषशास्त्र अनुसार प्रायः श्रवण नक्षत्र जुरेको दिनमा यो अनुष्ठान हुने हुँदा यसलाई ‘श्रावणीपूर्णिमा’ जनै शुद्धयाउने हुनाले ‘जनैपूर्णिमा’ कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नी, वशिष्ठ आदि ऋषिहरुलाई तर्पण दिइने हुँदा ‘ऋषितर्पणी’ आदि नामले चिनिने गरिन्छ ।
पहिले काँचो धागो विधिपूर्वक सङ्लिएर तेब्ब-याएपछि पाँच शिखा बनाई शरीरमा धारण गर्न तयार गरिएको दुई एकलेको समूहलाई जनबोलीमा जनै र संस्कृत भाषामा यज्ञ, शुभकार्य, उपवीत धारण गर्नु तथा शुद्ध गर्नुलाई यज्ञोपवीत भनिन्छ । लाक्षणिक बुझाईमा यज्ञोपवीतको तीन डोरामा सृष्टि, स्थिति, प्रलय तथा ब्रम्हा, विष्णु, महेश्वरको वास छ भनिन्छ ।
यज्ञबाट शुद्ध गराउनु पूर्व चतुर्थी तिथिमा क्षौर कर्म, एकभक्त र पूर्णिमामा विहान सवेरै धारा, पँधेरा, खोला नदी, आदि पायक पर्ने ठाउँमा व्रतवन्ध संस्कारका व्यक्तिहरु प्राकृतिक चिकित्सा पद्धतिमा महत्व मानिने गाईको गहुँत, गोवर, तुलसीमठको माटो, दुवो, कुश, खरानी आदिले शरीरमा लेपन गरी विधिवत् स्नान गर्ने चलन छ ।
अनिरुद्राभिषेक तथा अन्य षोडशोपचारले जनैलाई यज्ञोपवीत गराइन्छ, धारण गर्ने, झिक्ने, सव्य, असव्य, मालाको रुपमा प्रयोग गर्ने विधि कर्मअनुसार हुन्छ । ऋषितर्पणी र अन्य शुभकार्यमा धारण गर्दा ‘यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेर्यत सहजं पुरस्तात्, आयुष्यमग्रं, प्रतिमूञ्चशुभम्रम, यज्ञोपवीतं वलमस्तु तेः ज ।।’ मन्त्र उच्चारण गरिन्छ । यसको नेपाली रुपान्तरण हो, यज्ञोपवीत सृष्टिकर्ता, ब्रम्हाजीसँग नै उत्पन्न भएको अति पवित्र वस्तु धारण गर्नाले आयु र जीवनका हरेक क्षण शुभ हुँदै वल, तेज बढाउँदै मानवलाई कर्ममय, सद्विचार, स्वस्थ गराउने साधन हो । कुनै कारणले यसलाई झिक्दा, वदल्दा ‘एतावदिन पर्यन्तं ब्रम्हत्वं धारितं मया, जीर्णत्वात्तपरि त्यागो गच्छ सूत्र यथा सुखम् ।।’ मन्त्र पढ्नु उल्लेख छ । यसलाई कुमको वायाँपट्टि अड्याएर दायाँ काँधको काखीमुनी राख्ने सव्य अथवा दाहिने, दाहिने काँधमा अड्याएर वायाँ काँधको काखीमुनी राख्ने असव्य र श्राद्ध गर्दा घाँटीमा मालाको रुपमा लगाउने स्थिति छन् । वत्ती बाल्दा, देवताहरुको पूजामा, सव्य र आशौचमा श्राद्धको ‘दीपाच्छादनम्’ काममा वत्ती निभाउँदा असव्य अथवा अपसव्य स्थितिमा राखिन्छ । विशेष दाहिने स्थितिको महत्व हुन्छ । सकभर मन्दिर वा देवस्थललाई दाहिनेपट्टि हिँड्नु राम्रो मानिन्छ । ऐतिहासिक स्मरण सम्झदा वडामहाराजा पृथ्वीनारायण शाहले कालु पाण्डेको निधनमा ‘मेरो दाहिने हात नै भाँचियो’ भनेका थिए ।
यो पूर्णिमामा वौद्धमार्गीहरुको लागि महत्वपूर्ण पर्व हो । यसै दिन गौतम वुद्धले आफ्नो काम शक्तिमाथि विजय प्राप्त गरेथे । वौद्धजातक कथामा वुद्ध ध्यान मग्न हुँदा ‘मार’ राक्षसले आफ्ना छोरहिरुलाई ध्यान भङ्ग गर्न पठाउँदा वुद्धको ध्यान अनुष्ठानमा कुनै फरक नभएको वर्णन छ । ‘मार’ को हुन् भन्नेमा एकमत चाहिँ छैन, कसैले राक्षस कसैले वुद्धको परीक्षा लिने देवदूत वताउँछन् ।
वैदिक अनुयायी वेदपाठीहरु यसै पर्वबाट वेद पढ्न शुरु गर्दछन् । वेदको शब्द उच्चारण गर्न सकेमा मात्र उपनयन संस्कारको लागि योग्य मानिन्छ । उपनयन: उपनयनको गुढ अर्थ गुरुहरुलाई सेवा दिन सक्ने, स्नान अध्ययन व्रतपालना गर्न सक्षम हुनु नै ‘उपनयन’ हो । उपनयनपछि मात्र व्रतवन्ध संस्कार हुन्छ । वर्तमानमा तथाकथित व्रतवन्धको दिनमा वेदको एक-दुई शब्द उच्चारण गराउने चलन शास्त्र सम्मत छैन ।
यसै दिन नौ (९) प्रकारका गेडागुडी भिजाएर टुसा उमारेर पकाएको स्वास्थवर्धक क्वाँटी परम्परा विशेष काठमाडौं उपत्यकाका तीन जिल्लाका किसान वर्गहरुमा छ । साथै अन्यले पनि मीठो र स्वास्थ्यको निमित्त सेवन गर्ने चलन छ ।
यसै पूर्णिमामा विभिन्न ठाउँमा नेवार ज्यापु वर्गहरु श्रद्धापूर्वक ‘व्याजा नेकेगु’ भ्यागुताको पूजा खेतवारीको कुनै ठाउँमा भात क्वाँटी राखी ‘भ्यागुता आइज’ भनी पुकारा गर्दछन् । यो चलन रातमा भ्यागुताका टरटर आवाजले इन्द्र महाराजाको निद्रा ब्यूँझी इन्द्रले पानी वर्षाइदिएर खेत रोप्न हौसला बढेको स्मरणमा र घण्टाकर्ण राक्षसले नेपालीलाई संहार गर्न खोज्दा भ्यागुताहरुले उक्त राक्षसलाई मारेको उपलक्ष्यमा यो स्मरण ताजा राख्न भ्यागुताको सम्मान भएको जनविश्वास छ ।
यो पर्वमा गोसाइँकुण्ड, कुम्भेश्वर महादेवको मन्दिर पोखरी, नगरकोट महादेव मन्दिर पोखरी, वागमती नदी, पशुपतिनाथ, वंगलामुखी मन्दिर आदिमा भव्य मेला लाग्दछ । कुम्भेश्वर मन्दिर कुम्भ ऋषिको तपस्यास्थल हुँदा उनैको नाम रहेको भनाइ छ । यहाँ गोसाइँकुण्डको जल मिसाइएको हुँदा गोसाइकुण्ड जान नसक्ने यात्रुहरु यहीँ नै स्नान गर्दछन् र वासुकी नाग भएको विश्वासमा वौद्धमार्गीहरु तिर्थाटन गर्न जम्मा हुन्छन् । यो मन्दिरको ऐतिहासिक खोजमा सर्वप्रथम जयस्थिति मल्लले निर्माण गराएका, पछि सुनको गजुर राखिएको, वि.सं. १९९० को भूकम्पमा पूरै क्षति भई तत्कालीन जुद्ध शमशेर ज.व.रा. ले जगदेखि पुनः निर्माण गराएका ‘देवपाल’ पुस्तकमा उल्लेख छ ।
यो पर्वमा रसुवा जिल्लाको गोसाइँकुण्डमा लाग्ने मेला अत्यन्त प्रसिद्ध छ । यहाँ नेपालका विभिन्न ठाउँ र भारतबाट समेत आएका यात्रुहरुको घुइँचो नै लाग्दछ । ‘शिव भगवान’ र ‘गोसाइँ’ शब्द फरक भए पनि नाम यौटै बुझिन्छ । समुद्र मन्थनमा निस्किएको कालकुट विष तह लगाउने समस्यामा शिवले विष पिई घाँटीमा रोकेको असरले घाँटी निलो भई नीलकण्ठ नाम रहेको पौराणिक कथन छ । विषबाट मुक्त हुन त्रिशुलले पहरामा ठोक्दा निस्किएको पानी कुण्डमा परिणत भई त्यसै कुण्डबाट शिवले विषको औडाहा शान्त गराएको कथन छ । त्यही कुण्ड नै गोसाइँ कुण्ड भएकोले धार्मिक महत्व बढी छ ।
यसै पर्वमा यज्ञोपवीतको साथै रक्षावन्धन डोरो शुद्ध गराइन्छ । गुरु पुरोहितले यजमानका प–परिवार र अन्य इच्छुक व्यक्तिलाई ‘येन वद्धो वलीराजा दानवेन्द्रो महावल, तेनत्वाम् प्रतिवध्नामी रक्षेमा चलमा ऽ चल’ मन्त्र उच्चारण गरी नाडीमा रक्षावन्धन लगाइदिन्छन् । यो मन्त्रमा ‘येन’ र ‘तेन’ शब्दको गुढ अर्थ प्रल्हादका नाति वली दानव कुलका भएपनि इच्छापूर्वक दान दिएर सत्यताको पालक बने । उनलाई भगवानले नित्य रक्षा गरिदिने वचन दिनुभयो । अर्थात् सत्यले नै वली बाँधिएका थिए र त्यहि मन्त्र पढ्ने चलन छ । ‘रक्षेमा चलमा ऽ चल’ को शाव्दिक अर्थ ‘आफ्नो निश्चित उद्देश्यमा विचलित नभई दृढ भएर लाग’ बताइएको छ । यसको लक्ष्य पौराणिक ग्रन्थ भागवत, भविष्यपुराण आदिमा विशेष उल्लेख छ । यज्ञमा शुद्ध गराइएको रक्षावन्धनको अपभ्रंस ‘राखी’ भएको छ ।
नेपाली संस्कारमा मन्त्रोच्चारण भएको रक्षावन्धन डोरो नाडीमा सुरक्षित राखेर गाईतिहारमा गाईको पुच्छरमा बाँधियो भने मृत्युपछि वैतरणी नदी तर्न सजिलो र जिवित हुँदा दशैँ–तिहारको तास जुवाको रमझममा नगद जितिने जनश्रुति छ ।
यो रक्षावन्धन चाडलाई हिन्दु र वौद्ध धर्मावलम्वीवाहेक अन्यले पनि मनाएको पाइन्छ । भारतमा मुसलमान शासक अकबर र जहाँगीरले हिन्दु ब्राम्हणद्वारा रक्षावन्धन ग्रहण गरेको उल्लेख छ । भारत र नेपालका प्रायः तराई क्षेत्रमा राखी बाँध्ने चलन छ । जसअनुसार दिदीबहिनीहरुले दाजुभाइलाई तिहारमा भाइटिका गरेजस्तै हातमा राखी बाँधिदिन्छन् र मिठा परिकार खुवाउँछन् । प्राय धेरै धर्मावलम्वीले समान आस्था राख्ने यो संस्कार ‘वसुधैव कुटुम्वकम’ को आह्वान नै भन्न सकिन्छ ।
कुनै पनि धारणा, दर्शन, संस्कार, संस्कृति पर्व, वाद तथा सिद्धान्तहरु समय परिस्थिति अनुसार आ–आफ्नो स्थान र तर्कमा वदलिन सक्छन् । समय र स्थान विशेषले जुनसुकै रुप लिए पनि हिन्दु संस्कारहरु वैज्ञानिक तथा मानवीय जीवनमा व्यवहारिक देखिन्छन् । त्यसै संस्कार अनुसार प्राचिन ऋषि महर्षिले अपनाएको जनैपूर्णिमा संस्कारको विशेष महिमा छ । यो पर्वको धार्मिक पक्षको अतिरिक्त पर्यटकीय महत्व पनि छ । मेलाको लागि आउने तीर्थयात्रीहरुको उल्लेखनीय घुइँचोले धार्मिक पर्यटनको विकास र विस्तारको प्रशस्त सम्भावना रहेको तर्फ पनि यो पर्वले इङ्गित गरेको तथ्यलाई मनन् गर्नै पर्दछ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



