कोरोना नेगेटिभ, ‘ब्राम्हणपुत्र’ पोजेटिभ
भरत शर्मा
‘कोरोना लागेकोमा दुःख लाग्यो, जितेकोमा खुसी लाग्यो’, यो सन्देशमा दुःख लुकेको छ, खुसी हाँसेको छ । दुःख भन्दा मलिन स्वर छ तर खुसी भन्दा स्वरमा उत्साह भरिएको छ ।
मेरो पत्रकारिता मार्गदर्शक रातोपाटीका प्रधानसम्पादक जिवेन्द्र सिम्खडाले पठाएको सन्देशबाट यही महसुस गरेँ । मेरो परिचय दिने नाम जे भए पनि उहाँले उपहार दिनुभएको प्यारो दोस्रो नाम हो ‘ब्राम्हणपुत्र’ । यो नाम मलाई निकै प्रिय लाग्छ ।
वैश्विक महामारी शुरुभएदेखि यो चपेटाका बीचमा कोरोनाबाट आफू, परिवार र समाज कसरी बाँच्ने र बचाउने जानकारी लेख्दै, बताउदै आएँ । सन् २०२० को १५ जनवरीमा म चीनबाट एक महिनाको छुट्टीमा नेपाल फर्किएको थिएँ । महिना दिनको छुट्टी मनाएर चीन फर्कन तयार सुटकेस थन्किएको ११ महिना पुग्न लाग्यो । कोरोनाको कारण विश्वविद्यालयका कक्षाहरु अनलाइनबाट जारी छ । तर, कक्षा कोठामा उभिएर पढाउँदाको आनन्द महसुस गर्न सकिएको छैन ।
दसैं, तिहार आयो भनियो तर रौनक छाएन । मेरो कुलमा दसैं शुरु हुनुभन्दा अघिदेखि एकपछि अर्को गरी मृत्युका खबरले जुठो थपिएको थियो । घरमा शङ्खघण्ट र दैनिक पूजापाठ अहिलेसम्म पनि रोकिएको छ । कालगतिले तीन र वैश्विक महामारीले दुईजनाको मृत्यु भएपछि साधना र आरधना दुवै रोकिएको छ । निधारमा तिलक छैन, सन्ध्याबन्धन, जप, पाठ नहुँदा शरीरमा शक्ति कमजोर भएको महसुस गर्दै थिएँ । दसैं लगत्तै आफ्नै परिवारका एक सदस्य विरामी भई वीरेन्द्र सैनिक अस्पतालमा उपचारका लागि भर्ना भए । नाताले श्रीमतीको भिनाजु, मेरो कुलतिर दाजु पर्ने काठमाडौंमा उपचार गरे बाँचिन्छ कि भन्ने आशामा शहर आए तर उनी बैकुण्ठतिर लागे ।
उपचार गर्न आएको पहिलो दिन सैनिक अस्पतालका निकै भलादमी चिकित्सकले भने, ‘विरामीको अवस्था ठीक छैन, शरीरका अंगहरुले काम गरेको छैन तर हामी प्रयास गछौं ।’ उपचार शुरु भयो । म दैनिक दुईपटक अस्पताल जाने आउने र उनको उपचारका विभिन्न परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल जानु पर्ने बाध्यतामा परेँ । शल्यक्रियाका लागि शिक्षण अस्पतालस्थित मनोमोहन कार्डियोमा सैनिक अस्पतालबाट पठाइयो । त्यहाँ गर्ने उपचार गरेपछि वीरेन्द्र छाउनीमा ल्याइयो । यसरी विरामीको सेवामा लाग्दै थिएँ, एकदिन मेरो मित्रलाई भेट्न बीर अस्पताल र अर्का एकजना मित्रलाई उपचारका लागि त्रिपुरेश्वरस्थित ब्लूक्रस अस्पताल पनि जानुपर्ने बाध्यतामा परेँ ।
स्वास्थ्य पत्रकारितामा एक दशक लामो समय काम गरेको अनुभवले चिकित्सकहरु परिचित भएका कारण आफन्त र मित्र मण्डलीले विरामी पर्दा मसँग सल्लाह र सहयोग माग्दा सहयोग गर्ने बानीको कारण मैले यो महामारीको बीचमा पनि अन्य धेरै स्वास्थ्य परामर्श र चिकित्सक र अस्पताल जाने आउने क्रम चलिरहेको थियो ।
मैले सुझबुझका साथ मुखमा माक्स, खल्तीमा सेनिटाइजर र समय–समयमा हात धुने काम गरिरहेकै थिएँ । तिहार लाग्दै थियो, लक्ष्मीपूजाको अघिल्लो दिन त्रिवि शिक्षण अस्पताल हुँदै वीरेन्द्र सैनिक अस्पतालबाट फर्केपछि टाउको भारी भयो, शरीरका अंग कतै दुखेजस्तो भयो । कतै मेरो शरीरमा कोरोना प्रवेश त भएन भनेर मनमनै सोचेँ । लक्ष्मीपूजाको दिन आराम गर्ने सोच बनाएँ । घरमै बसेँ, तातोपानी अलि बढी पिउन थालेँ, साँझ नजिकैको औषधि पसलमा गएर थर्मोमिटर किनेँ, मिटामीन ‘सी’ को एउटा पत्तो र सिटामोल किनेर घर फर्केँ र परिवारलाई भनेँ, ‘मलाई सन्चो भएन । म अलग्गै बस्छु ।’ त्यति भनेर दुई छोरा बस्ने कोठामा क्वारेन्टिन (एकान्तवास) बस्न थालेँ । रातीबाट शरीरमा तापक्रम बढ्दै गयो । घण्टौपिच्छे जाँच गरेको त, ज्वरो १०० संख्या देखाउन थाल्यो । सिटामोल, मिटामिन खाएँ । तीन दिनसम्म लगातार ज्वरो आएपछि कोरोना परीक्षण गर्नुपर्छ भन्ने लाग्यो । मंसिर २ गते पिसिआर परीक्षण गराएँ । साँझ रिर्पोट इमेलमा आयो, ‘पोजेटिभ’ ।
त्यसपछि मात्र मैले मेरा मित्रद्वय एवं महामारी विज्ञ डा.सेनेन्द्रराज उप्रेती र हाल इपिडिमियोलोजी महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेलाई फोन गरेर सल्लाह लिएँ । डा. उप्रेतीले भने, ‘गुरु ! तपाई कुनै चिन्ता नलिनु । म तपाईलाई हरेक दिन टेलिफोनबाट सल्लाह दिन्छु । १४ दिन आरामसँग घरमा बस्नुस् । तपाई पत्रकार भए पनि अध्यामिक मार्गमा लागेको पात्र भएकाले तपाईले सजिलै कोरोनालाई जित्नु हुन्छ ।’ उहाँले ज्वरो कम भएको छ भने कागतीपानी, बेसारपानी र समयमा खाना खानुहोस् ठीक हुन्छ भने ।
डा.पाण्डेले भने, ‘भरतजी ! महामारीको बेला हामी सबै यो रोगका पीडित हौं । त्यसैले घरमा आराम गर्नुस् । कुनै बेला अप्ठारो प¥यो, अलि स्वास्थ्य समस्या भयो भने मलाई फोन गर्नुस् । तपाईको उपचार ब्यबस्था म तुरुन्तै मिलाउँछु । तपाई स्वास्थ्यबारे लेखिरहने पत्रकार हो । तपाईले गरेको योगदान हामी कहाँ भुल्न सक्छौं ! तपाई आफै पनि धेरै जानकार हुनुहुन्छ । केही चिन्ता लिनुपदैन । ठीक हुन्छ । १४ दिन घरमा आराम गरेर बस्नुस् ।’
स्वास्थ्य मन्त्रालयका पूर्वसचिव, हाल स्वास्थ्य सेवा बोर्डका अध्यक्ष डा. उप्रेती र महामारीमा खटिएका विज्ञ डा.पाण्डेले पहिलो दिन नै मलाई कारोनामुक्त भएजस्तै महसुस गराइदिए । दुवै डाक्टरले १४ दिने घर बस्ने, आराम गर्ने प्रेस्किप्सन दिएपछि आज्ञाकारी भएर बस्नुको विकल्प थिएन । अब कडा भएर शुरु भयो कोरोना गुप्तबास । त्यसो त मेरो कोरोना पोजेटिभ रिर्पोट आएको दिनदेखि नै म स्वस्थ भइसकेको थिएँ । कताकता शरीरका अंगहरु दुखेको र कहिलेकाँही सुख्खा खोकी लागेजस्तो मात्र अनुभव थियो ।
कहिले सोच्थेँ, साँच्चै ! मलाई कोरोना लागेको हो ? साँझ श्रीमती सुशीला ‘रिर्पोट के आयो ?’, भन्दै ढोकामा आएर प्रश्न सोध्नै थिइन् । मैले भनेँ, ‘पोजेटिभ’ । उनले भनिन् ‘डराउनु पदैन, आरामसँग अब बस्ने, तपाई जोगीलाई एक्लै बस्न झन् रमाइलो हुन्छ नि ।’ मैले मुसुक्क हासेर हुन्छ भनेँ । म धेरै हिड्ने, घुमिरहने घुमन्ते भएर मलाई श्रीमतीले जोगी भन्दा म खुसी हुन्छु । अहिले त गृहस्थ आश्रममा छु । गृहस्थको जिम्मेवारी पूरा गरेपछि मैले वानप्रस्थ आश्रम रोज्नेबारे सुशीलालाई जानकारी दिइसकेको छु । त्यसको लागि दामोदरकुण्ड र गोसाईकुण्डको पवित्र पावन संगम देवघाटमा बस्ने निधो गरेको छु ।
विद्यालय जीवन पूरा गरेपछि यात्रामा दौड्न थालेको २५ बर्ष पुरा भयो । यात्रा रजत बर्षको अवसर पारेर मैले १४ दिन एक्लै बस्ने अवसर प्राप्त भयो । यसो सोचेँ, यो त मलाई मेरो परम मित्र भगवान शिवजीले दिनुभएको उपहार हो । २५ बर्षको बीचमा यति लामो समय विरामी बनेर कोठाभित्र बस्नुपर्ने, समयमा खान पाउने भएपछि के चाहियो !
कोरोना पोजेटिभ आएको खबर दुई चिकित्सकपछि पशुपतिनाथका अर्चकलाई जानकारी गराएँ । प्रमुख अर्चक श्री गणेश भट्ट र सहायक श्री नारायण भट्टलाई भनेँ ‘गुरु ! मैले अब १४ दिन आराम गर्नुपर्ने भयो । श्रीसँग मेरो प्रार्थना छ, म समयमा निको हुन पाऊँ ।’ दुवै गुरुले भन्नुभयो, ‘तपाईलाई केही हुँदैन । तपाई सेवक हो । तपाईंले अझै धेरै भक्तहरुको सेवा गर्नुपर्ने छ । तपाईको लागि हामी अहिले नै प्रार्थना गछौं । भोलिबाट तपाई घरमा बसेर आफ्नो काम गर्नसक्नुहुन्छ ।’
केही दिनपछि राष्ट्रिय धर्मसभाका अध्यक्ष एवं आदरणीय गुरु प्रा.डा माधव भट्टराईलाई कोरोना पाजेटिभ भएको जानकारी दिएँ । उहाँबाट पनि आध्याामिक आशीर्वाद पाएँ ।
त्यसो त म पशुपतिनाथको परम भक्त हुँ । काठमाडौंमा बस्न थालेदेखि हरेक सोमबार र विहीबार, एकादशी र पूर्णिमाको दिन श्रीको सपिपमा जान जाने गरेको छु । देश छोडेर भारत, चीन, मलेसिया वा युरोप जानुभन्दा अगाडि र फर्कदा रातको १० बजे पनि पशुपतिनाथको दर्शन नगरी म घर आउने गरेको छैन । देशदर्शनामा मुक्तिनाथ, गोसाइकुण्ड, देवघाट जाँदा पनि जल लिएर पहिले पशुपतिनाथ पुग्ने गरेको छु । यो मेरो आध्यात्ममार्गको नियम हो ।
कोरोना पोजेटिभ देखिएको भोलिपल्टदेखि मैले आफ्नो पढ्ने, लेख्ने, र पढाउने कामलाई नियमित राखेँ । तर, विहान र साँझ शरीरमा शक्ति अलिकति कम भएको महसुस भयो । त्यसैले भिटामीन सी, डी र हरेक दिन जीवनजल खाने गरेँ । तातोपानी बढी पिउने गरेँ । सामाजिक सञ्जाल हेर्न कम गरेँ । समयतालिका बनाएँ । बिहान उठेर सबैभन्दा पहिले सामान्य योग, ध्यान र मन्त्र स्नान गर्नेख (भजन र मन्त्र सुन्ने), विगत तीन महिनादेखि भारतको महाराष्ट्रबाट गीता अध्ययन केन्द्रले सञ्चालन गरेको श्रीमद्भगवत गीताको अनलाइन कक्षामा सहभागी हुने र आठ बजेदेखि ९ बजेसम्म जुममार्फत देवघाटस्थित महेश संस्कृत सन्यास आश्रममा मठाधीश १००८ स्वामी रमणानन्दको मान्डूक्यकारिका प्रवचन सुन्ने तालिका पुरानै थियो ।
स्वामी रमाणानन्दको प्रवचन सुन्दै आएको १० महिना हुन लाग्यो होला । उहाँको दार्शनिक प्रवचनले जीवन, जगत, आत्मा परमात्मा र निराशालाई भगाएर आशा, विश्वास आत्मबल र ज्ञान ह्दयमा भरिदिनुहुन्छ । एक दिनको प्रवचनमा कोरोना र आत्मतत्वको केही प्रसङ्ग पनि उठाउनु भयो । उहाँले आत्मज्ञान भएकाले सजिलै कोरोना जित्न सक्छन् भनेर ठोकुवा गरिदिनु भयो ।
१४ दिने गुप्तबासको तालिकामा विहानको समय प्याक थिए । यो मौका हो, दिउँसोको समयमा कर्मकाण्ड, ज्योतिष र श्रीमद्भागवत् महापुराण सुन्ने, पढ्ने कार्यतालिका बनाउनुपर्छ भन्ने निश्चय गरे । म गुप्तबास बसेको कोठामा २५ बर्ष यात्राका क्रममा संकलन गरेका पुस्तक मेरा साथी थिए । पत्रकारिता, साहित्य, राजनीतिक, कूटनीति, अध्यात्मका पुस्तकले भरिएको दुईवटा दराज र सुन्ने सामग्री संकलन गरेर राखेको हार्डडिक्स पनि साथमा थियो । अब के चाहियो ? म खुसीले गद्गद् भएँ ।
विरामी हो, शरीरमा कमजोरीपन भए पनि मैले महसुस नगरी पढ्ने र सुन्ने काममा समय बिताउदै गर्दा टेलिफोनका केही घण्टी बजे । कुरा गरेँ तर अधिकाँशलाई मैले आफुलाई कोरोना लागेको बताउन भुलेछु ।
राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक श्याम रिमाल, पत्रकार छत्र कार्की, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका सहप्राध्यापक आदरणीय गुरु बद्री पौडेलसँग कुरा भयो । विरामी भएको भन्नै भुलेछु । एक महिने नेपाल साइकल यात्रामा हिडेका लेखक एवं फिरन्ते पत्रकार अशोक सिलवाललाई चाहिँ म कारोना पोजेटिभ भएको जानकारी दिएको थिएँ ।
पछि एमफिल (दर्शनाचार्य) अध्ययन पुरा गरेर र विद्यावारिधीको तयारीमा जुटेका सहपाठीद्वय कपिल काफ्ले र अर्जुन कार्कीलाई गुप्तबासमा रहेको कथा भनेँ । मेरो ट्राभल कम्पनीका सहयात्री कृष्णबहादुर थापाले आत्मबल बलियो बनाएसजिलै कोरोना परास्त गर्नु हुन्छ भनी मलाई उत्साह दिइरहे । उनी टे«किङ गाइडका साथै ध्यान र आयुर्वेदका जानकार पनि हुन् ।
यसबीचमा भारत र चीनमा रहेका मेरा मित्रहरुसँग कुराकानी भइरहे । मैले चीनमा रहेका छात्रछात्राहरुलाई अनलाइनमा पढ्ने पढाउने काम र विश्वविद्यालयका प्राध्यापकहरुसँग कुरा भए । तर, कसैलाई पनि म कोरोना पोजेटिभ भएछु भनेर भन्ने यादै भएन । प्राध्यापक वाङ चुङ, ह, ह्वाङ, माओले, सुछियन, स्वाओ र मेरा नेपाली, हिन्दी पढ्ने छात्रहरुसँग कुरा भए तर कसैलाई पनि विरामी भएको पत्तो भएन । किनकी मैले विरामी भएको अनुभव जम्मा तीन दिन मात्र गरेँ । कोरोना पोजेटिभ आएपछि म निको भइसकेको थिएँ । केही दिनपछि त्रिवि पत्रकारिताका विभाग प्रमुख प्रा. चिरन्जीवी खनाल, उपप्राध्यापक देवराज अर्याल र श्रीराम पौडेलसँग कुरा भयो । पौडेल विद्यावारिधी छात्र हुन् । पौडेलको अनुसन्धान प्रश्नावलीको पढेर उत्तर पठाइदिएँ ।
यसबीचमा बनारस, मुम्बई, हरिद्वारमा रहेका मित्रहरुसँग कुरा भए तर दक्षिण भारतका एक अनन्य मित्र गोपालकृष्ण उड्पालाई मात्र भनेछु । उनी मेरा निकै दुःखका सहयात्री हुन् । २०७२ को भूकम्पपछि मेरो पर्यटन ब्यवसाय अत्यन्त नाजूक अवस्था गुज्रिएको बेला २०७३ सालपछि कोरोना शुरुभन्दा अघिसम्म दक्षिण भारतबाट सयौंको संख्यामा पशुपतिनाथ र मुक्तिनाथ यात्रा गर्ने यात्री पठाउन सहयोग गर्ने मेरा परम मित्र हुन् उनी । उनको सहयोगबाट मेरो कम्पनी स्प्रिच्युअल टुर एण्ड ट्राल्भस्ले सयौं यात्रीको सेवा गर्ने मौका पाएको थियो । कम्पनीले अहिले दक्षिण भारतीय र भारतबाहिर दक्षिण भारतीय तीर्थयात्रीलाई मात्र यात्रा गराउने नीति अंगीकार गरेपछि निकै उत्साहजनक सेवा गर्दै आएको थियो ।
गोपालकृष्ण अहिले पनि हरेक हप्ता मलाई टेलिफोन गरी कोरोना महामारी सकिएपछि सयौं यात्री पशुपतिनाथ र मुक्तिनाथ यात्राका लागि तयार भएको जानकारी दिएर उत्साहपूर्ण खबरले मन भरिदिने गर्दछन् ।
कोरोना गुप्तबासमा मलाई सबैभन्दा बढी हजुरबाको सम्झना आयो । म सानैदेखि मामाघरमा बसेर हुर्के–पढे । मेरो हजुरआमाको तीन दिदीबहिनी । तीनैजना हजुरबुबामध्ये जेठो भागवतवाचक पं.दण्डपाणी लोहनी, माहिलो हजुरबुबा कर्मकाण्डी पं.भवकृष्ण पाण्डे र कान्छो ज्योतिषी रघुनाथ.लोहनीमध्ये म माहिलो हजुरबुबाको छोरीको छोरा हुँ । कोरोना गुप्तबासमा भागवत पढ्न लाग्दा जेठो, कर्मकाण्डका पुस्तक पढ्न लाग्दा माहिलो र ज्योतिष पढ्न लाग्दा कान्छो हजुरबाको यादले निकैं सतायो । उहाँहरुलाई सम्झेर पुस्तकका पाना पल्टाउदै पढेँ ।
म तीनैजना हजुरबाको प्रिय नाति थिएँ । सबैले मलाई निकै माया गर्ने कारण थियो, मैले काशीमा गएर संस्कृत पढ्नु र अध्यात्ममार्गमा हिँड्नु । अहिले तीनैजना हजुरबा बैकुण्ठतिर पुगीसक्नुभयो ।
म कुनै पनि तीर्थमा पुग्दा हजुरबुबाहरुको नाममा तर्पणादी कर्म गर्दै आएको छु । मुक्तिनाथको कागवेनी, रसुवाको गोसाइकुण्ड, तनहुँको देवघाट होस् वा काशी गया, जगन्नाथ जहाँ पुग्दा पनि सबैभन्दा पहिले यी हजुरबुबाहरुलाई सम्झेर आशीर्वाद मागेको छु ।
यसो सम्झेँ, मैले दराजमा भरेका अध्यात्मका पुस्तकहरु यिनै हजुरबुबाहरुले दिनुभएको रकमबाट किनेको रहेछु । जेठो हजुरबुबाको महिलो छोरा रोहिणी मामाको विवाह चितवनमा गएको बेला बेहुली पक्षबाट पंण्डित अट्को परेपछि हजुरबुबाको आदेशमा ‘नाति केटा ! अगाडि बढ् कर्म गर्’ भनेपछि जन्ती जाँदा लगाएको कोट फुकालेर धोती लगाएर मामाको विवाह सम्पन्न गरेको थिएँ ।
यसको प्रत्यक्ष साक्षी नेपालनाम्चाका सम्पादक समेत रहेका मेरा पत्रकार मित्र अशोक सिलवाल हुन् । उनी बेहुली पक्षबाट विवाहमा सहभागी थिए । त्यसबेला हजुरबुबाले खुसी भएर मामाले थाहा नपाउने गरी दिएको धनराशिबाट मैले श्रीमद्भागवत महापुराण र अन्य पुराणको पुस्तक खरिद गरेको थिएँ । तीनै हजुरबुबाका छोराहरु विद्यालय शिक्षक र शिक्षित मात्र भए । नाति पुस्ताले कर्मकाण्ड र ज्योतिष अध्ययन गरेका छन् । हजुरबाको प्रिय नाति भए पनि मामाहरुको दैलो नटेकोको बषौं भयो ।
महामारीले मलाई निकै ठूलो अवसर दियो । बाल्यकालदेखिका सङ्घर्षका कथा, काशीदेखि काठमाडौंमा दुःख गरेर पढेका दिनहरु सम्झने र लेख्ने । हरेक दिन एउटा लेख लेख्ने गरेँ । बीच–बीचमा थकाइ लाग्दा लोकगीत र लोक भजन सुनेँ । हार्मोनियम बजाएर मन आनन्दित पारेँ ।
कोरोना कस्तो रोग रहेछ ? मैले त भेउ पाउन सकिनँ । म कारोना पोजेटिभ रे । खाने थाल, पानी पिउने गिलासदेखि शौचालयसम्म अलग प्रयोग गरेर अछुत जस्तो गरी म बसँे । छिमेकीहरुले गाईगुई कुरा काटेको सुनेँ । धेरै दौड्ने भरतजीले घरमा कोरोना लिएर आयो रे भन्ने नभन्नु है भन्ने तर कुरा लुकाउन नसक्ने महिलाहरुका मुखबाटै सुनेँ । ठीकै छ ! यस्ता कुरामा त्यति चासो नदिने र हाँसेर बिर्सने बानी छ मेरो ।
भगवान रामले रावणसँग युद्ध गर्न लाग्दा अगत्स्य ऋषिले दिनुभएको ‘आदित्यहदयस्त्रोत्रम्’ र श्रीमद्भागवत महापुराणको षष्ठः स्कन्धःको आठ अध्यायमा विश्वरुपले इन्द्रलाई दिएको सुरक्षा कवच अर्थात ‘नारायण कवच’ नियमित सुनेँ र पढेँ । महामारी, दुःखसंकटका बेला स्तोत्र र कवच पाठ गर्दा, सुन्दा कष्टबाट पार तर्न सकिन्छ । पंण्डित हजुरबुबाले निकै बर्ष पहिले देवघाटधाम घुमाउन लैजादा भन्नुभएको थियो ‘नाति केटा ! दुःखकष्ट परेको बेला शक्ति प्राप्त हुने आदित्यहदय स्तोत्रम् र नारायण कवच हो । शुद्व पाठ गर्न सिक्नु ।’ मैले हुन्छ हजुरबा भनेको थिएँ । विगतमा कहिलेकाही पाठ गर्ने गरको हो तर कोरोना गुप्तबासमा हरेक विहान र बेलुका यो सुनेँ अनि पढेँ ।
१७ दिनको गुप्तबासपछि पुनः परीक्षण गर्दा मेरो शरीरबाट कोरोना भाइरस हटेछ । रिर्पोट नेगेटिभ आयो । त्यसपछि घरमा श्रीमती र दुवै छोरामा खुसी छायो ।
नेगेटिभ रिर्पोट आएको खबर डा. उप्रेती, शल्य चिकित्सक डा. उत्सवमान श्रेष्ठलाई दिएँ । डा.श्रेष्ठको पनि कोरोना पोजेटिभ भएर अघिल्लो दिनमात्र नेगेटिभ रिर्पोट आएको थियो । उनले आफू बसेको कोठा सेनिटाइनज गर्न र दुई दिनपछि मात्र परिवारसँग घुलमिल हुने सल्लाह दिए ।
नेगेटिभ रिर्पोट श्रीका अर्चकहरुलाई पठाएँ, केही मित्रमण्डलीलाई पठाएपछि मनमा शतप्रतिशत उत्साह भरियो ।
म सधै पोजेटिभ सोचेर अघि बढ्ने सोच राख्छु । तर, मेरो शरीरमा कोरोना नेगेटिभ आउँदा खुसी छायो । यसको चुरो कुरो के रहेछ, भएन आफ्नो चिना आफै हेर्छु भनेर ल्यापटप खोलेर जन्ममिति राखेर ग्रहगोचर अध्ययन गरेको त मंसिर १ गतेदेखि राहुले घरमा प्रवेश गरेको रहेछ । यो राहुले करिव ६ महिना दुःख कष्ट दिने रहेछ । मैले भनेँ, हे राहु ! विगत ९ महिनादेखि बन्द श्री पशुपतिनाथ मन्दिर १ पुसदेखि खुलेपछि शिवजीलाई भेटेर गुनासो गर्छु । अनि थाहा पाउने छ राहुले !
साँझ यसो समाचार पढेको त, सरकारले कोरोना बिमाविमकलाई तीन दिनभित्र १ लाख रुपियाँको विमा रकम दिनु भन्ने आदेश दिएछ । होइन, अब विमारकम तीन दिनमा पाउने हो त मैले पनि ? गत साउन महिनामा कोरोना बिमा गरेको थिएँ, ‘अजोड’ विमा कम्पनीमा ।
कम्पनीको दोस्रा तहका हाकिम सुरेन्द्र थापा मेरा मित्र हुन् । उनी हरेक हप्ता मेरो कार्यालय अध्यात्मज्ञानका कुरा गर्न आउँछन् । भन्छन्, ‘हप्तामा एकपटक अध्यात्मको कुरा गर्दा मनमा उर्जा थपिन्छ ।’
अब थापाजीलाई भेटेर बिमा लिने विधि सिक्नु पर्ला भनेको त श्रीमती सुशीलाले अफिसबाट आवश्यक कागजपत्र, निवेदन तयार गरेर ल्याइदिइन् र भनिन, ‘आइतबार बिमाको लागि पहल गर्नु, अब तीनदिनभित्र बिमा पाइन्छ रे ।’
‘हस्, हजुर’, मैले भनेँ, ‘कोरोना जीतेँ । भोलि आइतबारबाट पुरानै दिनचर्या शुरु गर्छु ।’
काेराेना संक्रमणबाट मुक्त भएपछि लेखिएका धेरै व्यक्तिहरूका अनुभूति अध्ययन गरें । प्रायः सबैले काेराेना संक्रमण मुक्त हुनु मृत्युकाे मुखबाट फर्कनु जस्तै भनी अाफ्ना अभिव्यक्ति प्रस्तुत गरेकाे पाइयाे । तर यहाँले सहज र सामान्य रूपमा काेराेनामाथि विजय प्राप्त गर्नु भएकाे सन्देश दिनुभयाे, ज्यादै राम्राे लाग्याे । साथमा काेराेना पाेजेटिभ देखिएपछि संक्रमित व्यक्तिले के खाने, के नखाने, के गर्ने के नगर्ने अादि बारेमा स्पष्ट जानकारी दिनुभएकाे पाएँ । धन्य हाेस् सकारात्मक चिन्तन बाेक्नु भएका यहाँ जस्ता अाध्यात्मिक चिन्तकलाइ !
सुन्दर तथा रोमाञ्चक लेख भाञ्जा । अन्य प्रतिक्रियाा जनाउने दुस्साह म कसरी गरूँ !