
आधा बिहान त नक्कल पार्दैमा ठिक्क
सुप्रिया खनाल
जिन्दगीमा यस्तो उमेर पनि आउने रहेछ, आफ्नो छुट्टै संसार, मीठा मीठा सपना, चञ्चले मन ।
१६-१७ को उमेर । एकदम चट्पटे उमेर । आफूले गलत गरे पनि सही लाग्ने उमेर । अरूले सम्झाउँदा पनि गलत लाग्ने उमेर । के गरम, कसो गरम, त्यस्तो खालको एकदम चन्चलता । के गर्दा म राम्री देखिन्छु ? कसो गर्दा मलाई अरूले हेर्लान् ?
बिहानदेखि सुत्ने बेलासम्म नि यस्तै मात्र सोच आइराख्छन् दिमागमा । पढ्नलाई स्कुल जान लाग्यो, आधा बिहान त नक्कल पार्दैमा ठिक्क हुन्छ । घरमा आमाको गाली खाइखाइ भने पनि नक्कल त पार्नै पर्ने । बाटोमा जाँदै गर्दा मेरो मेकअप बिग्रियो कि ? कपडा लगाएको पो मिलिराको छैन कि ? मिल्ने भए गोजीमा ऐना बोकेर हिँडिन्थ्यो होला । राम्री बन्न मन लाग्नु पनि स्वाभाविक नै हो यस्तो उमेरमा । अनि कोही न कोही मन परेकै हुन्छ । मनका कुरा बाहिर ल्याउनु नल्याउनु, त्यो आफ्नो ठाउँमा छ । स्कुलमा गयो, कोही केटा साथीले यसो झुक्किएर हेरिराको रैछ भने नि ‘ओहो ! यसले त मलाई मन पराउँदो रैछ’ भन्नेवाला फिलिङ आइसक्छ । साथीलाई समेत भन्न भ्याइसकिन्छ, ‘यसले मलाई मन पराउँछ’ भनेर ।
अझै आफुलाई मनपर्ने मान्छे रैछ भने त उसको अगाडि एकदमै राम्री बनेर जान मन लाग्छ । ऊ आफूप्रति आकर्षित हुने कामहरू गर्न मन लाग्छ । हिँड्दै गर्दा कसैले सिठ्ठी मारोस् त मन मख्ख हुन्छ, आफू विश्वसुन्दरी जस्तो अनुभव हुन्छ । तर सिठ्ठी मार्नेको अनुहार राम्रो चाहिँ हुन पर्यो । यदि रंगमा अलि कालो रैछ भने ओइ कति नम्बरको चप्पलको छाप लगाउन मन छ गालामा भन्ने जस्ता गाली आइहाल्छ । उस्तै परे घरमा आएर कुरा नि लाउन भ्याइन्छ ।परीक्षामा समेत साइडमा कोही हेन्सम मान्छे पर्दियोस् झैं हुन्छ ।
साथीहरुसँग यस्तै उट्पटयाङ्ग कुरा गर्न पाइयो भने दिनभरि नै गरेर बस्न सकिन्छ । जिन्दगी त यतिकै आराम ले चलिहाल्छ भन्ने बुझाइ हुन्छ । अझै कतैको यात्रा गर्नु छ भने एकदिन अगाडिदेखि यस्तो सोच आउन थाल्छ, ‘भोलि सँगैको सिटमा कोही हेन्सम् केटा परोस् । म उसको काँधमा टाउको राखेर निदाऊँ ।’ पुरै फिल्मी सिनमा आफूलाई राखेर कल्पना गरिसकिन्छ । कोही नौलो मान्छे देखेपछि इम्प्रेस पार्न मन लाग्छ । यो उमेर नै यस्तै हो, यही उमेरमा कतिले आफुलाई काबुमा राख्न सक्दैनन् । कति त गलत बाटो हिँडेका पनि छन् ।
१६-१७ को उमेरपश्चात पनि वा जिम्मेवारी थपिँदैमा मनका भावनाहरू हराउँछन्, इच्छा र चाहनाहरू विलीन हुन्छन् भन्ने चाहिँ होइन । बस्, यी सबैलाई आफ्नो काबुमा राख्न सक्ने क्षमताको विकास हुन्छ । मान्छे रूपले होइन, मनले राम्रो हुँदो रहेछ भन्ने सोचाइ आउँछ । आफ्नो भविष्यप्रतिको सोच आउन थाल्छ । लाग्न थाल्छ, ‘जिन्दगी एउटा नमिठो भ्रम हो अनि हामी यही भ्रमभित्र रुमल्लिरहेका छौं ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



