भ्रुणहत्यामा सामेल भएँ, जान्दिनँँ सही गरेँ कि गलत ?

अम्बिका घिमिरे

धेरै दिनदेखि सन्चो थिएन । हस्पिटल गएर ओपिडिको टिकेट लिएँ । डाक्टर आइपुगेका भएको थिएनन् । दुई घण्टापछि मात्र पालो आउँछ भनेर टिकेट काट्दा नै सिस्टरले भनिसकेकी थिइन् ।

अति गर्मी थियो । ओपिडिबाट बाहिर निस्केर हस्पिटललाई एक चक्कर लगाएँ । घडी हेरेको पाँच मिनेट मात्र बितेछ । हस्पिटलको कम्पाउण्डभित्र सानो गार्डेन रहेछ । धुपीको फेदमा गएर बसेँ । गुरुप्रसाद मैनालीको नासो कथासंग्रह मोबाइलमा डाउनलोड गरेको थिएँ । त्यहि सुनेर दुई घण्टा बिताउने निर्णय गरेँ ।

धुपीको पछाडिपट्टि कलेजड्रेसमा एउटी केटी झोक्राएर बसेकी देखेकी थिएँ । धुपीको झ्याम्म परेको रुखले छेकेकोले उठेर गईन् कि त्यहि छिन् भन्ने थाहा भएन । उनलाई डिस्टर्व होला भनेर एयरफोन लगाएँ । सेतो कोट लगाएको अन्दाजी पच्चीस बर्ष जतिको एक जना मानिस मतिरै आउँदै देखेँ । सानै उमेरमा डाक्टर बनेको देखेर उसको कोटमा मैले गर्व गरेँ्र । धुपीको पछाडिपट्टि कलेजड्रेसको बहिनीतिर गएर पाँच मिटर परैबाट त्यो केटा चिच्याएको जस्तो सुनेँ । मोबाइल बन्द गरेर उनीहरुको सम्वाद सुन्न मन लाग्यो ।

‘कति फोन गरेकी ? फोन नउठाएपछि बिजी होला भनेर बुझ्दिनस् ?’, केटो भन्दै थियो ।

‘म धेरै टेन्सनमा छु’, ती केटीले रुँदै भनिन् ।

‘त्यो तेरो टेन्सन हो । मलाई टेन्सन नगरा । मैले हिजै धेरै पटक भनिसकें, एबोर्सन् गरेर त्यो बच्चा फाल् भनेर । यस्तो हालतमा म तँलाई बिहे गर्न सक्दिनँँ । तँजस्तो केटीसँग बिहे गर्दा मलाई समाजले के भन्ला ? मेरो परिवार, आफन्तले के भन्लान ? बिहे अगाडि मसँग रिलेसन राख्न सक्ने तँजस्ती केटीको के विश्वास, आफ्नो कलेजको आवारा यारहरुसँग मस्ती गरेर नासो मलाई भिडाउन आइस् कि डाक्टर देखेर ? तँलाई त्यो बच्चा चाहिन्छ भने राख् तर आजदेखि मलाई फोन, म्यासेज केही नगर बुझिस् ? नत्र तँलाई म चाहिन्छ भने अहिले नै एबोर्सन् गराईहाल’, केटो धेरै बेर एक्लै चिच्यायो ।

‘प्लिज ! त्यस्तो नभन्नुस् । म हजुरलाई धेरै माया गर्छु । म हाम्रो बच्चा मार्न सक्दिनँ । मलाई यसरी नछोड्नुस् । म बर्वाद हुन्छु । बुवाआमाको अगाडि मैले कसरी मुख देखाउनु ? हजुरले बिहे गर्नुहुन्न भने मैले आत्महत्या गर्नुपर्छ’, त्यति भन्दै उनी रोइरहिन् ।

‘तेरो गोहीको आँसुले मलाई केही फरक पर्दैन । तैले जे सक्छेस्, त्यही गर’, त्यति भन्दै केटो फटाफट हिँड्यो ।

मैले आफुलाई रोक्न सकिनँ । ती केटीको नजिकै गएँ । उनको कुममा हात राखेँ । उनी झस्किनन् । मैले उनीहरुको सबै सम्वाद सुनेको र उनको दुखमा मलम लगाउन चाहेको कुरा बताएँ । उनी झन् बेस्सरी रोइन् ।

‘तँलाई तेरो बच्चा चाहिन्छ कि म चाहिन्छ भन्नेसँग झुकेर रुनुको के फाइदा ? न तँ चाहिन्छ न तेरो बच्चा चाहिन्छ भन्न सक्ने बन्नुपर्छ । महिलाहरु शारीरिक रुपमा कमजोर छौँ । तर, मानसिक रुपमा पुरुषभन्दा कम छैनौँ । गल्ती गर्ने दुवै जना अनि दुख केटीले मात्र किन भोग्ने ? तिम्रो भविष्य बर्वाद् नगर । गल्ती भयो । यसबाट पाठ सिक्ने छौ । तिमीले विश्वास गरेको मान्छे नै गलत रहेछ । आफ्नो पेटमा समस्याको बिरुवा हुर्किन नदेऊ । आमा बन्नु नारीको सौभाग्य तर समाजबाट तिरस्कृत आमा बनेर तिरस्कृत बच्चा जन्माउनु दुर्भाग्य हो । तिमीले यो बच्चा फालिदेऊ । तिमी फेरि शिर उठाएर हिँड्न सक्छौ । फेरि पुरानै जिन्दगीमा फर्किन सक्छौ । एउटा गल्तीको सजायँ जिन्दगीभरी भोगेर नबस्’, यस्तै थुप्रै कुराले उनलाई सम्झाएँ ।

उनी एबोर्सन् गराउन तयार भइन् अनि सहयोगको याचना गरिन् ।

उनलाई एबोर्सन् सेन्टर लिएर गएँ । आफैँ साक्षी बसेर एबोर्सन् गराएँ । केही अप्ठेरो परे फोन गर्नु भनेर आफ्नो फोन नम्बर दिएँ । मैले न उनको नम्बर लिएँ न त नाम नै सोधेँ । एउटा भ्रुणहत्यामा सामेल भएँ । जान्दिन सही गरेँ कि गलत ? तर जे उपयुक्त देखेँ, त्यही गरेँ । आफ्नो उपचार गराउन गएकी थिएँ । उनको उपचारमा सामेल भएँ । ट्याक्सीबाट उनलाई उनको घरको गेटमा छोडेर घर फर्किएँ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button