
पुनहिलकी पुनमाया
पदयात्रामा प्रेम: ‘गए भयोन्त, कस्लाई सुनाको ?’
सुदर्शन न्यौपाने
‘तिम्रो सारै माया लाग्छ सरदार’, फक्रेको लालीगुँरासजस्तो मुस्कानसहित बोली पुनमायाले ।
‘हो र भनेको ? मेरो माया किन लागेको नि ? अरु ह्यान्ड्सम-ह्यान्ड्सम गाइडहरु छन् । म बाहुन । तिमी मगर । जात मिल्दैन । संस्कार फरक । अनि कसरी ?? म किसानको छोरो । तिमी लाहुरे (पेन्सनवाला)की छोरी ।’
मेरा प्रश्नहरु खस्न नपाउँदै आफ्नो सुकोमल हातले पुनमायाले मेरो मुख थुनी, ‘अब धेरै नबोल मेरो मन चोर्ने लुरे बाहुन ।’
‘लक्ष्मीप्रसादको कविता पढेको छैनौ ? मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन । अनि मन परेसी लाटोकोसेरो पनि ह्यन्ड्सम हुन्छ नि’, हल्का नखरा देखाउदै बोली पुनमाया ।
दिन रमाइलो । त्यहीमाथि अन्नपूर्ण हिमशिखर साँझ पखको सुर्यकिरणले धपक्क बलेकी । बादलुको घुम्टो र रङ्गीबिरङ्गी लालीगुँरास पाखाभरी फुल्दा लाग्छ, अन्नपूर्ण सिफनको सारी र मलमलको पछ्यौरीले सजिएकी दुलही हुन् । त्यही हिमश्रृंखला नियालिरहेकी पुनमाया आज औधि सुन्दर देखिएकी छिन् ।
अन्नपूर्ण हिमशिखरजस्तै सुन्दर सेता दन्त लहर । गहुँगोरो बटुलो चन्द्रमुखी अनुहार । ठुला ठुला ओठ । सुन्दर नयन । उसको सुन्दरतालाई शब्दहरुले वर्णन गर्नै सक्दिन । यत्ति भन्छु, ‘पुनमाया अन्नपूर्णकी छोरी मोनालिसा हो ।’

अरु सबै गाइड् र विदेशी आगन्तुकलाई खाना खुवाइन् पुनमायाले तर मलाई चाँही खान नपुगेकोले फेरि बसाएको रे । गाइड दाइहरु धेरै भोकाएका रहेछन् रे । त्यो उसको पुरानो बानी नै थियो, मलाई एक छिन भने पनि अबेरसम्म रोक्ने अनि जिस्कने । अन्डा (अम्लेट)सहितको स्वादिस्ट भोजन गराइ आफ्नो प्यारो बाहुनलाई, नजिकै बसेर मन्द मुस्कान छरेर । गाइड र सहयोगी मित्रहरु पुनमायाकी आमाले दिएको किट्लीमा तताएको नारीपा (रक्सी) रसोस्वादन गर्दै थिए । म भने पुनमायाको अनुहारको सौन्दर्यमै भुलिरहेको थिएँ ।
पुनमायालाई सत्य कथा र तथ्यकथाका पुस्तक औधी मन पर्छ । वियोगान्त घटना पढेर निकै भावुक हुन्छे ऊ । आज पनि मैले काठमाडौंबाट लगिदिएको तथ्यकथाका केही अंश पढिसकिछ ।
‘शहरका मानिस त कती निस्ठुरी !’, मतिर व्यङ्ग्य गर्दै थिई । मैले उसको कुरामा सहमति जनाएँ ।
‘हो, शहरमा निस्ठुरी, अवसरवादी र कपटी धेरै छन् । गाउँका मानिस झरनाको पानीजस्तै कन्चन । तिमी पनि रुप्छे छहराजस्तै सुन्दर र कन्चन छौ’, मैले पुनमायाको तारिफ गरेँ ।
मेरो कुरा सुनेसी कर्के नजरले हेर्दै पुनमायाले जवाफ फर्काइ, ‘हेर न, फुर्क्याएको फेरि ।’
सदा झै उसले मलाई सोधी, ‘अब फेरि कहिलेलाई छ ट्रेकिङ ?’
‘छन न त कम्पनीमा ट्रेकिङ छन् तर मेरो साहुजीको साला, जेठान र भाइ-भारदारहरु पनि काम गर्छन् । उनीहरुलाई सकेसम्म राम्रा गोराहरु दिन्छन् र व्यस्त पनि बनाउँछन । हामी त प्राथमिकतामा पर्दैनौं । खोइ कहिले पो हो ? प्याकेजमा नभए नि हायरिङ्ग पनि आउने हो पुनमायालाई भेट्न’, त्यति मात्र के भनेको थिएँ, ऊ मुस्कुराई ।
मलाई घोरेपानी पदयात्रा निकै मन पर्छ । साँच्चै किन किन मलाई बिरेठाटीबाट तर्पङे उकालो हिंडेर माताठाटीको कलधाराको टुटीमा मुख गाडेर कलकल पानी पिउन मन लाग्छ । रामगाईको बेलीसरा दिदीको घरआँगनको पेटीमा टुसुक्क बसेर पसिना पुछ्न औधि मन पर्छ । हिलेको ममता लजकी ममताकी आमा अनि तिखेढुङाको चन्द्र लजको माइली दिदीले लेमन जुस राखेर दिएको चिसो पानी ठमेलको मिन्ट कुलरभन्दा अब्बल लाग्छ । उलेरीको नाकै ठोक्किने उकालो त मामाघर गा बराबरै हो । उलेरी कटी नाग्गेठाटीको हङ्री आई रेस्टुरन्टमा कुखुराको झोल भातले काठमाडौंको बटर मसलालाई माथ गर्छ ।
… अनि घोरेपनीको पुनमायाको गेस्ट हाउस त मेरै घरजस्तो लाग्छ । प्रकृतिक छटाले सजिएकी घोरेपनीमा तिलोत्तमाजस्ती पुनमायासँग पिरेम बस्यो त । जात नमिले र के भो हात मिलेपछि । धन नभएर के भो, मन ठुलो भएपछि । पुनमायाको मन सफा छ । छलकपट कुन चरीको नामको उसलाई थाहा छैन । बिरेठाँटीको झरनाजस्तै सुन्दर र शीतल छे ऊ । उलेरी पाखाको सुनाखरीजस्तै बहुमुल्य छ उसको मुस्कान । घोरेपनी पाखामा फुल्ने गुँरासजस्तै फक्रेको उसको योवनमा म भिर माहुरी बन्ने छैन, जो रस चुसेर उड्छ । पुनमाया सुन्दर फूल हो अनि म त्यो फूल हेरचाह गर्ने माली । म फूल हेरिरहन्छु, आफुलाई नै बिर्सिएर ।

म टोलाएको देखेर पुनमायाकी आमाले भनिन्, ‘निकै टोलाइछ त केटा । नारीपा पनि खाउन्न केरे ।’
म झल्याँस्स हुन्छु । पुनमाया मेरो एकोहोरो हेराइले रातोपिरो हुन्छे । हैट, त्यो क्षण सायद सबैभन्दा मनपर्ने क्षण हो जीवनको ।
भोलि बिहानै गोरेहरु लिएर पुनहिल जानु छ । चाडै सुत्नु पर्ने छ ।
‘ल, म सुत्न जान्छु है’ भन्न पाउँदानपाउँदै नाटकीय पाराले पुनमायाले मायालु झटारो हानी, ‘गए भयोन्त, कस्लाई सुनाको ?’
सुनाउन त तिमीलाई नै सुनाको हो नि । एक्लै त्यो पट्यारिलो निस्पट्ट रात कसरी छिचोल्नु ? मनमनै गुनगुनाएर लागेँ ओछ्यानतिर ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
हैट्
डाह लाग्यो ।