काष्ठमण्डपको सिंहसत्तल, ‘जसबारे काठमाडौंलाई नै थाहा छैन’

घुमघाम
प्रकाशप्रसाद उपाध्याय

देश–विदेशका क्षेत्र कोरोना (कोभिड-१९)को संक्रमणबाट ग्रस्त भइरहेको अवस्थामा मेरो घुमफिर पनि बन्द छ । पर्यटन मेरो रुचिको विषय भए पनि कोभिडका कारण म मात्र होइन, पर्यटन उद्योग पनि नराम्ररी प्रभावित भएको छ । घरभित्रको बसाइले ती दिनहरूको सम्झना गराउने गर्दछ जब म स्वच्छन्द चरोसरह कहिले एक्लै त कहिले पत्नीसँग घुम्न निस्कन्थेँ देशभित्र र बाहिर । विगत १७ वर्षको सेवानिवृत्त जीवनकालमा देश–विदेशका विभिन्न पर्यटकीय स्थलहरूको यात्रा गरेँ । त्यसका सम्बन्धमा लेखहरू लेखेँ, नियात्राका रूपमा ।

काठमाडौं देशको राजधानी हुनाको साथै मेरो निम्ति काठमाडौँ सदैव नै एउटा विस्मयकारी स्थल रहेको छ । पर्यटकीय महत्वको दर्शनीय स्थल पनि हो । यहाँ घुमफिर गर्दा पनि पर्यटकीय सुखको अनुभव हुन्छ । चारैतिरबाट हरिला–भरिला डाँडाहरूले घेरिएको र बेलाबेलामा सूर्यका किरणहरूबाट टल्किरहेका हिमशिखरहरू हेर्न पाउँदा म सदैव मन्त्रमुग्ध हुन्छु । यहाँका मठ–मन्दिरहरूका वास्तुशिल्प र त्यसमा भएका काष्ठकला, पर्यटकीय महत्वका दर्शनीय स्थल र मानसिक सुख र शीतलता प्रदान गर्ने मौसिम र मानिसहरूका हँसिला अनुहारहरूले हरेक पर्यटकलाई प्रभावित गर्ने गरेका छन् ।

यहाँ घुम्दै गर्दा मैले हरेक अवसरमा केही न केही नौला कुराहरू देख्ने र थाहा पाउने अवसर पाएको छु । यिनले मलाई नेपालको इतिहास, धर्म र संस्कृतिसित अवगत गराउने गर्दछन् । सेवाकालमा देखा नपरेका र थाहा हुन नसकेका कुरा सेवाबाट अवकाश पाएपछि देख्न र बुझ्न पाएँ । यिनमा प्रमुख छन् – बसन्तपुर दरबार क्षेत्रमा विद्यमान कोतपर्व भएको त्यो स्थल, जसले नेपालको इतिहासमा राणा शासनको स्थापना गरायो, नसल चोक, जहाँ राजाहरूको राज्याभिषेक हुने गर्दथ्यो, नजिक नै अवस्थित शहीद गंगालालका ऐतिहासिक भवन, सूर्यबहादुर भारद्वाजको त्यो भवन जहाँ नेपालका लौह पुरुष गणेशमान सिँह नक्खूजेलबाट भागेर शरण लिन पुगेका थिए, केही फर्लांग दक्षिणतर्फ नेपालको इतिहासका प्रमुख पात्र भीमसेन थापाको दरबार र काष्ठमण्डपको छेउमा अवस्थित सिंहसत्तल । यसको पनि एउटा इतिहास छ । पौराणिक महत्व छ । यसको सम्बन्धमा प्रचार र प्रसारको कमी रहेको पाएँ ।

काष्ठमण्डपको आफ्नै इतिहास छ, जसबाट अधिकांश पाठकहरू अवगत हुनुहोला । किनभने काठमाडौंको नाउँ नै यस भवनबाट परेको वृत्तान्त पाइन्छ । तर यसकै छेउमा अवस्थित सिंहसत्तलको सम्बन्धमा अनेक काठमाडौंवासीहरूलाई समेत जानकारी नरहेको थाहा पाउँदा यस सम्बन्धमा केही शब्द कोर्न चाहन्छु ।

सन् २०१५ को भूईंचालोले गर्दा क्षतिग्रस्त भएको र अहिले पुननिर्माणको क्रममा रहेको काष्ठमण्डप मन्दिरको दक्षिणपट्टि नै अवस्थित छ यो स्थल । यहाँ स्थापित वंशीधर कृष्णको मूर्तिले यसलाई एउटा पावनता र पौराणिक गाथाको माध्यमद्वारा भगवान् श्रीकृष्णको नेपाल यात्रा र काठमाडौंदेखि लगभग १७ किलोमीटर टाढा अवस्थित साँखुमा असुरराज वाणासुरसित उनले गरेका युद्धको स्मरण गराउँदछ । तर आजका दिनमा यस सत्तलमा भगवान श्रीकृष्णको एउटा भव्य मन्दिर छ । हाल ओझेलमा परेको भगवान श्रीकृष्णको यस मन्दिरमा भगवान श्रीकृष्णको विरल मूर्ति देखिन्छ । मानवरूपधारी गरुडमाथि आरुढ चतुर्भुृज भगवान श्रीकृष्णको यस मूर्तिलाई वंशीधर कृष्ण भन्ने गरिन्छ ।

भगवान् श्री पशुपतिनाथको यस नगरको छेउछाउका नगर र बस्तीहरुमा त देवताहरु मात्रै होईन, असुरको राज्य र वास थियो भन्ने कुरा हामी पौराणिक कथाहरुबाट थाहा पाउँछौं । यस्तै एउटा राज्य थियो– साँखु । काठमाडौंदेखि लगभग १७ कि.मी. उत्तर दिशामा अवस्थित साँखु, जुन पौराणिक गाथा अनुसार, एक समयमा शोणितपुरको नाउँबाट सुविदित थियो र राजा बलिका पुत्र वाणासुरको राजधानी थियो । वाणासुर भगवान शिवको महान भक्त थियो । आफ्नो तपस्याबाट भगवान शिवलाई प्रसन्न तुल्याएर उसले हजारौं भुजा प्राप्त गरेको हुँदा अत्यन्त शूरवीर पनि थियो । अत्यन्त शक्तिशाली भएकोले उ सदैव लडाईंका लागि उद्यत रहन्थ्यो र आफ्नो वरिपरि अशान्ति मच्चाई राख्दथ्यो ।

उसकी एक अत्यन्त राम्री छोेरी थिई उषा । उसले एक दिन सपनामा एक अत्यन्त सुन्दर र बलिष्ठ युवकलाई देखिछ । उनीसित सहवासको पनि उसलाई अनुभव भएछ । भोलिपल्ट उसले यो कुरा आफ्नी सखी चित्रलेखालाई बताउँदै त्यस युवकलाई भेटने र उससित विवाह गरी आफ्नो जीवन बिताउने व्याकुलता जाहिर गरिछ । चित्रलेखा एक योगिनी थिइ्र्र । उसले आफ्नो योगशक्तिको बलले विभिन्न युवकहरुको चित्र कोर्दै उषालाई देखाउन थालिछ । यस क्रममा चित्रलेखाले त्यस युवकको पनि चित्र कोर्दा उषाले युवकलाई चिन्न सफल भई र युवकलाई भेटाई दिन बिन्ती गर्न थालिछ । चित्रलेखाले आफ्नो योगशक्तिको बलले त्यो युवक कुनै साधारण व्यक्ति नभई द्वारिकावासी भगवान श्रीकृष्णको नाति रहेको थाहा पाई र एकदिन आफ्नो योगशक्तिको आधारमा अनिरुद्ध निर पुग्दै उषाको विरहगाथा अनिरुद्धलाई सुनाउँदछे ।

अनिरुद्धको मन पनि उषाको विरहगाथा सुनेर बेचैन हुन्छ । चित्रलेखा यसपछि अनिरुद्धलाई अपहरण गरी द्वारिकाबाट ल्याई उषासित भेट गराउँदछे । दुबै युवक–युवतीको भेट र जीवन रसमय हुन थाले । दिन खुशीको साथ बित्न थाले । वाणासुरले एक दिन यो कुरा थाहा पायो । उषाले अनिरुद्धसित विवाह गर्ने आफ्नो संकल्प जाहिेर गर्दा वाणासुर आफ्नो अपार शक्तिको अहंकार र सामाजिक प्रतिष्ठा आदिका कारण विवाहका लागि राजी भएन ।

उपाध्याय

यस सम्बन्धमा गीताका व्याख्याकार पण्डित महेशचन्द्र शर्मा भन्दछन्– शिवभक्त वाणासुरले क्रोधित भई आफ्नी छोरी उषालाई मात्र होइन, अनिरुद्धलाई पनि झ्यालखानमा थुन्दछ । कुरा द्वारिकासम्म पुग्दछ । श्रीमद्भागवत महापुराणको दशम स्कन्धको अध्याय ६२–६३ को कथाअनुसार उषा अनिरुद्धको विवाहका लागि द्वारिकाधीश भगवान् श्रीकृष्णले गरुडमाथि आसीन भई तत्कालीन पौराणिक नेपालमा उडेर आउनु प¥यो । भगवान् श्रीकृष्ण गरुडमाथि आरुढ भई द्वारिकाबाट आफ्ना दलबलका साथ शोणितपर आइ पुगेको देख्दा यद्धोन्मत्त वाणासुर लडार्इंका लागि अगाडि सर्दछ । वाणासुर र भगवान कृष्णमाझ भयंकर युद्ध हुन्छ । लडाईंमा भगवान श्रीकृष्णले आफ्नो सुदर्शन चक्रबाट वाणासुरका हजारौं भुजालाई छिन्नभिन्न पार्नुहुन्छ । वाणासुर भुजाहरु छिन्नभिन्न हुँदा शक्तिहीन भइ पराजित हुन्छ । आफ्नो घमण्ड र शक्ति क्षीण भए पछि वाणासुर विवाहका लागि राजी हुन्छ । उषा र अनिरुद्धको विवाह सुसम्पन्न हुन्छ । महेशचन्द्र शर्मा अगाडि भन्दछन्– ‘सम्धी भएपछि चतुर्भुज नारायण श्रीकृष्णले वाणासुरलाई पनि चतुर्भुज बनाई दिनुहुन्छ । भगवान शिव पनि आफ्नो भक्तको यस शुभकार्यमा उपस्थित हुनुभयो । यस्तो पावन अवसरमा भगवान गणेश र पार्वती उपस्थित नहुने कुरै भएन । उषा बुहारीको रूपमा द्वारिका पुग्छिन् । यसरी सिंह सत्तलमा स्थापित गरुडमाथि आरुढ भगवान कृष्णको मूर्तिले भगवान् नेपाल आउनुभएको कुरा सम्झना गराउँदछ ।’

मन्दिरको महत्व थाहा पाएर एकदिन भगवानको दर्शन गर्न पुगेँ । दर्शनको क्रममा चतुर्भुज रूपको भगवान श्रीकृष्णको प्रस्तरका मूर्तिको सुन्दरता मनोहारी पाइयो । भगवानको गलामा वैजयन्तीमाला, एक हातमा शंख, अर्कोमा चक्र, अन्य दुई हात बाँसुरी बजाउने क्रममा संलग्न, शिरमा मोरमुुकट, कानमा कुण्डल, चारै तिरबाट सप्तर्षि द्वारा घेरिएको मूर्ति दर्शनीय छ । मानवरूपधारी गरुडको मूर्ति पनि भव्य छ । उसको विशाल वक्ष, गलामा सर्पको माला, कामना कुण्डल, भरिलो गोला मुखाकृति र फैलिएका दुवै भुजामाथि आसीन भगवानको मूर्तिले श्रद्धालूलाई नतमस्तक गराउँदछ । गरुडमाथि आसीन भगवानको यस मूर्तिलाई प्रस्तरको एउटा चौकीमाथि स्थापित गरिएको छ । आसनको दुवै कुनामा शार्दुल सिंहको मूर्ति छ । स्वर्ण अलंकृत मंडपमाथि सप्तशांख शेषनाग र त्यसको शिरमा टल्किरहेको मणिले एउटा अलौकिक दृश्य र भाव उत्पन्न गराउँदछ । चार तल्ले मन्दिरको दोस्रो तल्लामा भगवानको मन्दिर र प्रार्थनाकक्ष छ । प्रार्थना स्थलको एक भागमा नमस्कार मुद्रामा गरुडको अर्को मूर्ति छ । प्रार्थनाकक्षभित्र चारैपट्टि राधााकृष्णका फ्रेम लगाइएका चित्रहरु झुण्डाइएका छन् जुन नेवाः सम्प्रदायका सदस्यहरुले आफ्ना दिवंगत पितृहरुको स्मृतिमा लगाएका छन् । मन्दिरको छानामाथि एउटा गजुर छ जसको निर्माण हर्षनारायण मानन्धरकी छोरी जोगमायाँले १९८६ सालतिर गराएकी हुन् । यसको अतिरिक्त जोगमायाँले मन्दिरको चार कुनामा सुनको जलप चढाइएको चार वटा सिंहहरुका मूर्तिहरु पनि स्थापित गराईन् । यिनका नाउँ हुन्–ज्वालामुखी सिंह, गजकेशर सिंह, शार्दुल सिंह र सिंह । यिनै सिंहहरुका कारण सिं सतः नाउँको यो सत्तल सिंह सत्तलको नाउँबाट प्रसिद्ध भयो ।

प्रकाश मानन्धर

यस मन्दिरको निर्माणको पृष्ठभूमि बताउँदै पुजारी उदयगोपाल झा यो पनि भन्दछन्– ‘इतिहासकार डा. जगदीशचन्द्र रेग्मीले आफ्नो पुस्तक काठमाण्डू शहरः सांस्कृतिक अध्ययन’ भाग १मा भने अनुसार ई. ९८७–९९० तिर राजा गुणकामदेवले एउटा विशाल अशोक वृक्षको काठबाट काष्ठमण्डप निर्माण गराएका थिए । निर्माणपछि यो मरु सत्तलको नाउँले चिनिन्थ्यो । तर पछि यसको नाउँ काष्ठमण्डप प¥यो । काष्ठमण्डपको निर्माणपछि उब्रेका काठहरुबाट सिं सत्तःको निर्माण गरियो र यहाँ गरुडमाथि आरुढ हुनुभएको भगवान श्रीकृष्णको त्यस ठूलो मूर्तिको स्थापना गरियो जुन मरु तहबिलका साहु सुब्बा धर्मनारायणको घर बनाउने क्रममा त्यसको जगबाट फेला परेको थियो । उनी भन्दछन्– सिं सतःको दायाँपट्टि सुब्बा धर्मनारायणको घरमा एकपल्ट आगो लाग्यो । आगोले पूरै घर डढेर खरानी भएको थियो । ती दिनहरुमा आगो निभाउने कुनै यान्त्रिक व्यवस्था नुहँदा १३ महिनासम्म आगो लागि रह्यो । आगोको स्वरूप र डढिरहेको घरको अवस्थाको निरीक्षण गर्न तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर घोडा चढेर आएका कुरा इतिहासकार पनि बताउँछन् । घर फेरि बनाउने क्रममा जग खन्दा जमिन मुनिबाट गरुडमाथि आरुढ हुनुभएको भगवान श्रीकृष्णको ठूलो मूर्ति फेला पर्दा सोही मूर्तिलाई सिं सतःमा स्थापना गरियो ।’

खोतल्दै जाँदा काठमाडौंको हरेक कुनाको इतिहाससित सम्बन्ध पाइन्छ । पौराणिक महत्वका कुराहरू थाहा पाइन्छन् । आवश्यकता छ त यस सम्बन्धमा खोजीको, जानकारी बटुल्ने चाहनाको ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button