
पर्यटन अब एक सपना
ब्राह्मणपुत्र लकडाउन डायरी–२५
भरत शर्मा
महामारीले तपाईं हाम्रो जीवनको रंग फेरिदिएको छ । घरभित्र बसेका छौ, दैनिक आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोञ्जनका लागि तोकिएको २४ घण्टाको समय सबै आराममै बितेको छ । घरभित्र बस्दा अनेक सोच-विचार आउनु स्वभाविक हो ।
यो महामारी कहिले हट्ने होला ? घरबाट बाहिर सहज तरिकाले निस्कने कहिले हो ? कक्षा कोठामा बसेर पढ्न पाउने कहिले हो ? अफिस र पसलमा बस्ने दिन कहिले पो हो ? अनलाइनको चटारोबाट कक्षा कोठामा गएर पढाउने दिन कहिले आउने होला ? यस्ता तर्कना र प्रश्नहरु सबैका मनमा उठिरहेको छन् । महामारीमा खटिएका डाक्टर र नर्सका व्यथा त कति हो कति ? शहरका सडकहरु सुनसान छन् । मठ मन्दिरमा देवताहरु भक्त नआएको भन्दै मौन होलान् ।
धेरैका दुःख लेखियो, आज आफ्नै पेशा व्यवसायको दुःख लेख्न मन लागेको छ ।
आज बिहान पढेँ,
समाचार–१, दोस्रो लहरको कोरोना महामारीका कारण पर्यटकविहिन बन्यो, चितवन, लुम्बिनी र पोखरा
समाचार–२. एक बर्षमा पर्यटन क्षेत्रले २ खर्ब रुपियाँ आम्दानी गुमायो
समाचार–३. पर्यटन क्षेत्रमा लागेको १७ प्रतिशत व्यवसाय सदाका लागि बन्द, बेरोजगारी भए पर्यटन व्यवसायी
समाचार–४. सन् २०२३ को मध्यसम्म पर्यटक आउन नसक्ने प्रक्षेपण
हामी पर्यटनकर्मीहरुले आफ्नो व्यथा कसलाई सुनाउने र कसले सुन्ने ? हाम्रा दु्ःखको कथा सुन्ने पनि कोही छन् कि भनेर आज डायरीमा आफ्नै कथा सुनाउन लागिपरेको छु । यो मेरो मात्र कथा होइन, समग्र पर्यटन क्षेत्रमा लागेको सबैका कथा हो ।
एकजना पर्यटक नेपाल आउँदा कतिले रोजगारी र आम्दानी गर्थेे ? यसो चिन्तन गरेको त आँखाअगाडि आएः
१) हवाई कम्पनी, जुन कम्पनीको जहाजमा चढेर पर्यटक आउँछन् ।
२) विमानस्थलबाट होटलसम्म ल्याउने मोटर, डाईभर ।
३) होटल व्यवसायी ।
४) टूर–ट्रेकिङ कम्पनी ।
५) टूर-टेकिङ गाइड ।
६) पर्यटकीय क्षेत्र ।
७) पर्यटक फर्कदा नेपालको चिनो किन्ने उपहार पसलहरु, आदि ।
एकजना पर्यटकले कति क्षेत्र ओगटेको रहेछ ? अहिले पर्यटन क्षेत्र बन्द हुँदा कतिको रोजगारी, आम्दानी गुमेको भनेर यसै अनुमान लगाउन सकिन्छ ।
दुई बर्ष भयो हरियो डलर, चिनियाँ युवान र भारतीय रुपैंया र अरु विदेशी मुद्रा देख्न नपाएका पर्यटन क्षेत्रका व्यक्तिहरु महामारीको राप र तापले पिल्सिएर बसेका छन् ।
महामारीको पहिलो चरणपछि बीचमा केही समय आन्तरिक पर्यटकको चहलपहलले यसो मुन्टो उठाउँदै थिए । फेरि दोस्रो चरणले उही पुरानै दिन सम्झन बाध्य बनायो ।
कोरोनाको दोस्रो लहरपछि पनि तेस्रो आउने खबरपछि त अझै २ बर्ष पर्यटकलाई स्वागत गर्न नपाउने संकेत देखिएको छ ।
राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा मात्र सञ्चालनमा आएका होटल, रेष्टुरेन्ट, ट्रेकिङ, ट्राभल, कार्गो, जलयात्रालगायतका पर्यटन व्यवसाय पूर्णरुपमा बन्द भएको सर्वेक्षणको खबर छ । यो खबर सरकारका जिम्मेवार अधिकारीले पढे भने पनि उनीहरुबाट राहत र उत्थानका लागि केही हुने आशा छैन ।
रोजगारीका लागि सबैभन्दा बढी व्यक्तिहरुको सहभागिता हुने क्षेत्र हो पर्यटन । आम्दानी पनि सबैलाई भागशान्ति गर्ने यो क्षेत्रमा लागेका दिग्गज व्यापारी भनिनेहरु पनि अबका दिन अझै कठिन हुने बताउँछन् ।
नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीको अगुवाईमा काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसस्थाहरुको समन्वयमा व्यबसायीहरुको सहभागितामा सर्वोक्षण गरेको थियो ।
होटलहरुको साझा संस्था होटल संघ नेपाल (हान), ठमेल पर्यटन क्षेत्र विकास परिषद् (टीटीडीसी) र पर्यटन क्षेत्रका मजदुर संगठनको सहकार्यमा भएको अध्ययनले भन्छ, ‘सबैभन्दा बढी ठमेल क्षेत्र यसबाट प्रभावित छ ।’ केही ठूला लगानीबाहेक साना लगानी गर्ने व्यवसायीहरु अहिले त्यहाबाँट पलायन हुनुपरेको छ । महङ्गो भाडा मात्र तिरेर बस्न नसकेपछि पहिलो लकडाउनमा भागेका विदेशी रकम साट्ने मनी चेन्जरहरु हुन । त्यसपछि क्रमशः अन्य व्यापारीहरु पलायन हुँदै गए ।
पहिलो महामारीका बेला बन्द भएका आन्तरिक उडान गर्ने हवाई कम्पनीले केही समयअघि लयको बाटो लिँदै थिए । तर अहिले उनीहरु पनि विचरा अवस्थामा छन् ।
ठमेलतिरको एक समयको कुरा हो, बैकको ऋण लिएर भए पनि चटक्क परेको नयाँ कोट र टाइ लगाएर हिँड्ने साना व्यापारीहरुले कोट टाइ लुकाउनु परेको अवस्था छ । ठमेलका पर्यटन व्यापारीहरुले भेटघाटमा हसिमजाक गर्दा तपाईको कोट कुन बैकको हो भन्ने गर्दा बैकका नाम भन्ने गर्थे । व्यवसायीले चढ्ने मोटर, लगाउने कोट र टाइ सबै बैकको ऋण हुने भएकाले यसो भन्ने गरिन्थ्यो ।
ऋणको ब्याज र किस्ताको ताकेता लागि अहिले बैंकले टेलिफोन गर्दा व्यबसायीहरु ‘पर्खौं केही समय, म प्रयास गदैछु’ भन्ने अवस्थामा पुगेका छन् । ठमेलका एकजना पर्यटन व्यापारी मित्रले भने, ‘निजी बैंक सुखका साथी मात्र रहेछन् । दुःखमा यिनीहरुको साथ पाउने छाँट छैन ।’
हिजो साँझ एक जना मित्रले भने, ‘हरेक दिन बैंकबाट फोन आउँछ, अहिले त भन्न थालेको छ हामीले जनताको पैसा लिएर तपाईंलाई व्यापार गर्न दिएका हौं । हामीलाई थाहा छैन, कहाँबाट कसरी हुन्छ छिटो रकम जम्मा गरिदिनुहोस् । नत्र हाम्रा नियम लागु हुन्छन् भनेर तर्साउन थालेका छन् ।’
‘म’ पनि बेरोजगार
आज त आफ्नै दुःखको कथा लेख्दा कम्प्युटरका किबोर्ड समेत थरथर काँपेको छ ।
पर्यटन क्षेत्रमा लागेको ६५ प्रतिशत मजदुर बेरोजगार भएको भनेर सर्वेक्षणले भनेको छ । यो ६५ प्रतिशतमा म पनि छु । अर्थात् म पनि अहिले पर्यटन क्षेत्रमा लागेको बेरोजगार श्रमिक हुँ ।
सर्वेक्षण अनुसार सरकारले ७२ करोड रुपियाँ राजश्व गुमाउनु परेको छ तर सरकारलाई ‘यता नभए उता, उता नभए यता’ छँदैछ । सरकारले जनताको टाउको ऋण थपिदिँदै मागेर भएपनि मोज गर्छ । दुःख त हामीलाई नै हो ।
अहिले हिमाल आरोहण चलिरहेको छ । आजमात्र केही आरोहीले सफलतापूर्वक आरोहण गरेको खबर छ । त्योबाहेक सबै क्षेत्र मौन छ ।
भारतीय पर्यटकलाई मुक्तिनाथ यात्रा गराउने दुई मित्रलाई आइतबार बिहान लकडाउनमा दिन कसरी बिताउँदै हो भनेर सोधेको थिएँ ।
‘बेरोजगार छ जिन्दगी’, मित्रहरुले भने ।
मित्रद्वय अमृत अधिकारी र आरसी पन्तले दुवैले एउटा कुरा गरे, ‘पढ्न खोज्छु सक्दिन । मोबाइलमा सामाजिक सञ्जाल हे-यो, नेताको अनुहार मात्र देखिन्छ । लेखौं न त भनेर कापी कलम लिन्छु, लेख्न सक्दिनँ । अन्य बर्ष भए यतिबेला पर्यटकको सेवा गर्ने र काउन्टरमा पैसा गन्ने समय हो हाम्रो ।’
‘अचेल घरमा बगैंचा गोडमेल गरेर समय बिताउदै छु । ओइलाएका फूलको बोटमा पानी हालेर दिन बिताउँदै छु’, अधिकारीले भने, ‘ठमेलमा रहेको अफिसमा ताल्चा मारिएको छ । २५ दिन भयो अफिस नगएको । अब कति महिना र बर्ष नजाने हो थाहा छैन । तर अहिले आफू र परिवार महामारीबाट सुरक्षित हुने मात्र सोच्छु, भविष्यमा व्यापार गरेर ठमेलका घरमालिकलाई भाडा दिने जोश छ मरेको छैन ।’
‘हाम्रा बारेमा आज आएका समाचार मैले पनि पढेँ, मनमनै दुःख लाग्यो । हाम्रो व्यवसायमा ठूलो परिवार छ, रोजगार गुमेको छ’, उनीहरुले भने, ‘हामी पनि बेरोजगार व्यबसायी हौं । अहिले घरमा बसेका छौं ।’
‘ए, देशमा चुनाव हुने कुरो छ रे नि ?’, मित्रद्वयले भने, ‘तपाईं–हामी त भोट नदिने है ?’
मैले पनि ‘हुन्छ’ भनेँ ।
हामी यो देशका पर्यटन व्यवसायी, आज आफ्नै दुःख आफैले, आफैमाथि लेख्दैछौं । पर्यटन क्षेत्रमा लागेका लाखौं हामी मजदुरहरु सबैले मनमा धैर्य, अठोट, जोश र जाँगर थाती राखौं ।
सन् २०२४ तिर तीर्थयात्री लिएर मुक्तिनाथ जाउँला ।



