
गाउँ दामी किताब हो, पर्यटकलाई पढाउनुस्
गाउँ पर्यटन
जनार्दन अर्याल
नेपालभर बोलिने नेपाली भाषा एउटै हो । तर, पूर्वेलीले बोलेको पश्चिमेलीले बुझ्न गाह्रो हुन्छ । यी दुवैले बोलेको काठमाडौँवासीलाई अनौठो लाग्छ । भाषा र भावना एउटै भए पनि प्रत्येक १० कोष परकाले व्यक्त गर्ने तरिका बेग्लै हुन्छ । उखानै छ, ‘पाँच कोसमा पानी फरक, दश कोसमा भाषा ।’
मान्छेको बानी जस्तो लगायो त्यस्तै बस्छ । एक्लै बस्दा घर, परिवार र समाजदेखि टाढा भएको भान हुन्छ । हामीले हाम्रो देशको समाज, रितिथिती र परम्पराबारे जान्नु जति आवश्यक छ, उत्तिकै स्थानीय जातिपाति, रहनसहन आदिबारे पनि जान्नु आवश्यक छ ।
यो र यस्तै कुरा थाहा पाउन सम्बन्धित स्थानमा पुगेर त्यहाँको संस्कृति, आनीबानी, व्यवहार र इतिहासबारे बुझ्ने कार्य नै अनुसन्धान हो । भिटोफसँग रामेछापको दोरम्वा पुग्दा अचम्ममा परियो । मगरहरुको बाहुल्यता रहेको त्यस क्षेत्रमा साँझ परेपछि काटमार गर्दा कुलायन रिसाउँछन् रे । साँझ परेपछि मादक पदार्थ समेत विक्री वितरण गर्न नहुने राती सुत्ने बेलामा घरधनीले बताए ।
बुटवल जाने बाटोमा चोरमारा भन्ने जंगल आउँछ । कुरो बुझ्दै जाँदा उक्त जंगलमा चोर काटेको भएर ठाउँको नाम नै चोरमारा रहन गएको रहेछ । घुम्ने सिलसिलामा यस्ता केहि चाखलाग्दा र केहि अचम्मलाग्दा कुराहरु भेटिन्छन् । यस्ता कुरा थाहा पाउन घरमा कोच्चिएर बसेर हुँदैन । एउटा झोला बोकेर पर्यटककै रुपमा गाउँ डुल्दाको आनन्द बेग्लै हुन्छ ।
हाम्रो जस्तो भुपरिवेष्ठित र प्राकृतिक सम्पदाले भरिपूर्ण देशको लागि विदेशी मुद्रा आर्जन गर्ने प्रमुख आधार नै पर्यटन हो । ताल तलैया, हिमाल्, हिमताल, मठमन्दिर, जंगल, नदी र विश्व सम्पदा पर्यटनका प्रमुख आधार हुन् । घुमफिर स्वदेशीका लागि पनि उत्तिकै आवश्यक छ । घुम्न निस्किँदा रमाइलो मात्र होइन, वर्षभरिको थकान समेत मेटिन्छ । यसको लागि स्थान छनौट गरिसकेपछि यात्राको लागि नभइ नहुने सामान व्यवस्था बोकेर हिँड्दा बाटोमा दःख पाइन्न ।
पर्यटन रमाइलो गराएर धन कमाउने व्यवसाय हो । हिमाल, तराइ, पहाड सबै ठाउँमा यो व्यवसाय फष्टाउँछ । स्वदेश तथा विदेशबाट घुम्न, रमाइलो गर्न र खोज तथा अनुसन्धान गर्न आउने पाहुनालाई उसको रुचि अनुसारको काम गराएर धन कमाउने व्यवसाय हो पर्यटन ।
हाम्रो देशमा पर्यटकको परिभाषा अचम्मको छ । नेपाली पर्यटकलाई पर्यटकको श्रेणीमै राखिँदैन । गोरो छाला भएकोलाई मात्र पर्यटक भन्ने चलन छ । सरकारलाई पनि नेपालको पर्यटन बजारको झण्डै ८० प्रतिशत आन्तरिक पर्यटनले धानेको छ भन्ने थाहा छैन वा थाहा भएर पनि मतलब गर्दैन । विदेशी पर्यटक निश्चित रकम बोकेर सिमित स्थान मात्र घुम्न आएको हुन्छ । खर्च जोगाउन एक बो्तल पानी र एक पाउन पाउरोटीले डाँडाकाँडा घुम्छ तर आन्तरिक पर्यटक आफु पुगेको ठाउँमा उसको इच्छा अनुसार सत्कार पाए मनग्य खर्च गर्छ । आन्तरिक पर्यटक भ्रमणको लागि छुट्याएको भन्दा अतिरिक्त रकम वोकेर हिँड्छ, स्थानिय उत्पादन चिनोको लागि खरिद गर्छ । पाल्पा पुग्नेले करुवार टोपी किनेकै हुन्छ । इलाम पुग्ने जो काहिले अलैँची ,कालिकोट पुग्नेले सिमी, जुम्ला पुग्नेले ओखर र रातोचामल वोकेकै हुन्छ । आन्तरिक पर्यटकले गर्ने खर्चको अनुपातमा वाह्य पर्यटकले गर्ने खर्च न्यून हुन्छ । वाह्य पर्यटकले व्यवसायीलाई मात्र फाइदा गर्छ भने आन्तरिक पर्यटकले स्थानीयलाई । विदेशी मुद्राको लोभमा आन्तरिक पर्यटकलाई स्विकार नगर्ने हो भने व्यवसाय नै धरापमा पर्दछ ।
गाउँ नै गाउँले भरिएको देशमा पर्यटन व्यवसाय चलाउन होटल खोलेर मात्र पुग्दैन । शहरमा सानादेखि ठूला तारे होटल जति जरुरी छ, उत्तिकै गाउँमा घरवास कार्यक्रम चलाउनु जरुरी छ । गाउँमा होटल खोल्न मिल्दैन । गाउँलेको जीवनस्तर उकास्ने भरपर्दो माध्यम घरवास कार्यक्रम नै हो । घरवास कार्यक्रम चलाउन ठूलो् रकमको आवश्यकता पनि पर्दैन र व्यवस्थापन पनि सजिलो छ । यसको लागि सफा चर्पी र सुत्ने कोठा भए पुग्छ । आफ्नो घरमा जे पाक्छ, आएका पाहुनासहित सबैले वाँडेर खाने हो । भरसक देशीमल नहालेको आफ्नै बारीको सागसब्जी र गाउँमै उपलब्ध माछा मासु खुवाउने । शहरबाट ल्याएको खानेकुरा प्रयोग नगर्ने । यसो गर्न सकेमा रकम गाउँमै रहन्छ ।
समुहमा यात्रा गर्दाको रमाइलो बेग्लै हुन्छ । एकअर्काको भावना र अनुभव साटासाट गर्न पाइन्छ । पीर व्यथा सबै बिर्सेर प्रकृतिसँग रमाउन पाउँदाको क्षण अविस्मरणीय हुन्छ । शहरजस्तो गाउँ सजिलो हुँदैन । कुनै कुनै गाउँमा दुःख पर्दा छिमेकी गुहार्न समेत झण्डै एक बिहान हिँड्रनुपर्ने हुन्छ । धारा खोल्नासाथ पानी आउने शहरलाई एक गाग्री पानीको लागि गाउँमा चारघण्टा हिँड्रनु पर्छ भन्ने के थाहा ? गाउँको मनोरञ्जनको साधन नै नाचगान घाटु, कौडा र मारुनी हो । त्यो पनि सधैँ कहाँ पाउनु ? जात्रा पर्व अथवा गाउँमा नयाँ पाहुना आए मात्र त्यसको मेसो मिल्छ । अस्ति भर्खरको कुरा हो, तनहूँ पर्यटन समाजको साथमा तनुहँको हर्कपुर पुग्दा गाउँलेहरुको् साथमा राती एक बजेसम्म कौडा नाचियो । राजधानीबाट नजिकै रहेको नयाँ पहाडी गन्थव्य नुवाकोटको फिकुरी जाँदाको रमाइलो त्यस्तै छ । त्यस्तो स्वर्गिय आनन्द हलमा बसेर सिनेमा हेर्नेले कहिले बटुल्न पाउला ?
खोजको अर्को नाम नै अनुसन्धान हो । नयाँ गन्तव्यको खोज गरी भ्रमण गर्नु पनि कुनै वैज्ञानिक खोज भन्दा कम हुँदैन । नयाँ स्थानमा पुगेर जातिपाति, कला, संस्कृति र रहनसहनबारे जानकारी लिने सिलसिलामा कष्ट पनि सहनु पर्छ । सोट्टोसँग खप्तडबाटट अछाम झर्ने क्रममा जंगल र खहरेको डोव हुँदै १८ घण्टा हिँडेको लेखकको अनुभव छ । ठमेलबाट बालाजु जानुपर्दा बस कुर्ने बानी लागेको शहरिया कसरी लगातार रातदिन नभनी १८ घण्टा हिड्यो होला ? अनुमान गरौँ त । बिहान ९ वजे विछौनामै चिया पिएपछि मात्र उठ्ने भलाद्मि वझाङको छन्नामा रातभर देउडा नाचेर भोलिपल्ट विहान ६ वजे खप्तडतिर उकालो लाग्ने शक्ति कहाँबाटट आयो होला ? घरबाट यात्रा सुरु गरेपछि सबै कुरा विर्सिएर गन्तव्य मात्र सम्झिन सके यात्रा अझै सहज हुन्छ ।
अलिकति घरबासबारे पनि कुरा गरौँ । यो कार्यक्रम चलाउन पकाउने र सफा सुग्धर गर्ने तरिकाबारे जान्न तालिम लिनै पर्छ । तामिको लागि होमस्टे एसोसिएशनमा सम्पर्क गरे, सबै सिकाइदिन्छन् । घरमा आएका पाहुनाको सत्कार गर्ने नेपाली परम्परा नै हो तर यी पाहुनाले पैसा तिर्छन् । पाहुनाले तपार्इंले पकाउन नजानेको कुनै खानेकुरा मागे भने निर्धक्क साथ मलाई बनाउन आउँदैन तपाईंलाई आउँछ भने पकाउनोस् भनेर अँगेना छोडिदिनुहोस् । आन्तरिक पर्यटक शहरको धुलो, धुवाँ र कोलाहालमुक्त गाउँको सोन्दर्यको रसास्वादन गर्न आएको हो । तपाई दिल खोलेर स्वागत गर्नुहोस् । उसले निस्फीक्री खर्च गर्छ । यति मात्र नभइ, जाने बेलामा तपाईंको् केटाकेटीहरुलाइ कापीकलम खर्च समेत दिएर जान्छ । मुख्य कुरो, रिझाउन जान्नुपर्छ ।
गाउँको अवस्था, संस्कृति, भेषभुषा आदिबारे जानकारि दिन पनि बिर्सनु हुँदैन । सोसाइटी अफ टुर्स एण्ड ट्राभल्स (सोट्टो) को आयोजनामा भएको् लुम्विनीदेखि स्वर्गद्वारीसम्मको आन्तरिक भ्रमणकै सिलसिलामा प्युठानको सौतामारेमा रातको १२ बजे पुगियो । सडक कच्ची, त्यसमाथि खाल्टाखुल्टी । हाम्रो बसको पछाडिको चक्का खाल्टोमा फस्यो । भ्रमणमा १५ जना थियौँ । वसबाट ओर्लिएर पत्कर बटुलेर आगो बाल्यौँ । त्यपछि हाल प्रधनमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गाउँको नाम कसरी सौतामारे रहन गयो कथा सुनाउन थाले । गाउँकै सात दिनकी सुत्केरिका श्रीमानले सौता ल्याएछन् । रिस खप्न नसकेर ती सुत्केरीले सौतालाई काटेर नजिकको पोखरीमा पुरिछन् । कालान्तरमा गाउँको नाम नै सौतामारे भयो । बुटवल जानेबाटोको चोरमारा, धरानको चारकोषे झाडी आदिे कुनै न कुथा कथा बोकेका छन् । कतै तपाईंको गाउँको नाम पनि यसरी नै रहन गएको हो कि पाहुनाको लागि रोचक हुन्छ । सुनाउनुहोस् । यस्ता किंवदन्तीहरु खोज तथा अनुसन्धान गर्न आउने पाहुनाको लागि महत्वपूर्ण खुराक हुन्छ । गाउँलाई खुल्ला किताब बनाउनुस्, पर्यटक पढ्न आउँछन् ।








