मुक्तिनाथमा ‘मौन’ मुक्ति
ब्राम्हणपुत्र लकडाउन डायरी – ११
भरत शर्मा
के तपाईं मुक्तिनाथ जानुभएको छैन ?
जीवनमा एकपटक जानै पर्ने ठाउँ हो मुक्तिनाथ । त्यस क्षेत्रको रमणीयता देखेपछि स्वर्गयात्राको अनुभूति हुन्छ । सनातनी हिन्दू र बौद्वमार्गीहरुको आस्थाको पवित्र तीर्थस्थलमा जानुभएको छैन भने ढिलो, चाँडो जाने योजना बनाउनु होला ।
हिमाल पारीको जिल्ला मुस्ताङको ‘मुक्तिनाथ’ मन्दिर समुन्द्र सतहदेखि तीन हजार सात सय १० मिटरको उचाईमा छ । त्यसैले त्यहाँ जाँदा केही पूर्वतयारी गर्नुपर्छ । पहाडबाट एक्कासी हिमालको उच्चस्तरमा जाँदा मानिसमा कमी हुने ‘अक्सिजन’ नै हो ।
सनातनीहरुको मुक्ति क्षेत्र मुक्तिनाथ । बौद्वमार्गीहरुले तिबब्ती भाषामा छुमिङ ग्यात्सा (सय पानी) भन्छन् । मन्दिरमा एकसय आठ धाराका साथै र पाप र धर्म दुई कुण्ड र विष्णु भगवानको मूतिको दर्शन गर्न पाइन्छ ।
हिमालयको काखबाट बगेर हिन्दुस्तानमा पुग्ने गङ्गा र भागीरथी यात्रा गरे पनि कालीगण्डकी नदीमा स्नान नगर्दासम्म मुक्ति प्राप्त हुदैन भन्ने मान्यता राख्छन् दक्षिण भारतीय साधकहरू ।
नेपालमा चारधाम पशुपति क्षेत्र, मुक्तिनाथ, रुरुक्षेत्र र वराहक्षेत्र हुन् । ने मुनिले पाँचहजार बर्षभन्दा पहिले नामाकरण गरिदिएको मुक्तिनाथ क्षेत्र ‘गण्डक’ क्षेत्रले पनि चिनिन्छ । यही गण्डकी नदीको माथिल्लो भाग मुक्तिनाथबाट बगेर आउने नदी रुरुक्षेत्र, देवघाट बाट नवलपरासीको त्रिवेणीधाम हुँदै उत्तरदेखि दक्षिणक्षेत्रसम्म बगेको छ । त्रिवेणीधामलाई शास्त्रमा ‘गजेन्द्रमोक्ष’ भनिन्छ ।
जमिनमुनीबाट बलिरहेको ज्वालाको दर्शन र त्यहाँबाट देखिने दृश्यले कयौं दिन लगाएर मुक्तिनाथ पुगेको सबै दुःख भुल्ने गरिन्छ । ‘शालिग्राम भगवान’ (कालो ढुङ्गाको शीला) संसारमा एकमात्र नदी गण्डकीमा पाइन्छ । शालिग्राम पाइने गण्डकी नदीमा सुन समेत पाइन्छ । अर्थात शालिग्रामभित्र सुन पनि भेटिन्छ ।
कथा पहिलेको हो, पतिव्रता स्त्री वृन्दाले भगवान श्री विष्णुलाई ढुंगा हुनु परोस् भनेर श्राप दिएकीले भगवानले गण्डक क्षेत्रमा कालो शालिग्राम शीला भई बसेको हुनाले गण्डकी नदीलाई‘ कृष्णाभा’ पनि भनिन्छ । यही ‘कृष्णभा’ नदीमा जमिन र आकाश मार्गबाट मैले यात्रा शुरु गरेको १८ बर्ष टेक्दैछ । २०६० सालमा पहिलोपटक आश्विन पितृपक्षमा गएदेखि लगातार २०७५ सालसम्म हरेक बर्ष यात्रा गरेका अनेकौं अनुभव छन् ।
मैले तीर्थयात्रीलाई भन्ने गरेको छु, ‘मुक्तिनाथ भनेको त्रिदेव हुन् ।’ सृष्टिकर्ता ब्रह्मा, पालनाकर्ता विष्णु र संहारकर्ता शिवको संयुक्त स्वरुप मानिन्छ । यसो भन्दा तीर्थयात्रीहरु प्रफुलित हुन्छन् ।
सबै धाम क्षेत्रलाई ‘नाथ’ शब्दसँग नेपालका ‘पशुपतिनाथ’ ‘मुक्तिनाथ’ र हिन्दुस्तानमा रहेको ‘काशी विश्वनाथ’ र ‘जगन्नाथ’ यात्राका लागि हजारौं यात्रीलाई यात्रा गर्न प्रेरित गरेको छु । ‘नाथ’का सेवक भएर होला, भारतको उत्तरप्रदेशमा रहेको काशी विश्वनाथ र उडिसा राज्यमा रहेको ‘जगन्नाथ’सहित २०७० सालको साउनमा चारै नाथको दर्शन गर्ने सौभाग्य मिलेको थियो ।
अब यस्तो संयोग कहिले मिल्ने हो ?
तीर्थयात्रीले मुक्तिनाथको बारेमा सोधे भने मैले भन्ने गरेको अर्को बाक्य हो, ‘जीवात्माहरुको मुक्ति हुने स्थान हो मुक्तिनाथ क्षेत्र ।’
मुक्तिनाथ यात्रामा जाँदा मौन बस्नु निकै फाइदा हुन्छ श्वासप्रस्वासका लागि भनेपछि फर्कदा मुक्तिनाथ यात्रा पछिको आनन्द स्वंम यात्रीले सुनाउन शुरु गर्छन् ।
‘मन, वचन र कर्म पवित्र हुने यस्तो क्षेत्रमा आउँदा मौन बस्नु र मुक्तिको कामना गर्नु’ भनेर यात्रीलाई मौन गराउने मेरो गाइड गर्ने कला तपाईलाई कस्तो लाग्छ कुन्नि ?
त्यहाँ १ सय ८ धारा र दुई कुण्डमा स्नान गरेपछि (मन्दिरभित्र रहेको चतुर्वाहु भगवान विष्णुको मूर्तिमा तामाको ढलौटबाट बनेको दायाँ, बायाँ दुवै सरस्वती र लक्ष्मी धातुका मूर्ति पनि छ) मूल मन्दिरको एकापट्टी कुनोमा सानो प्वालभित्र हात राखेर माग्ने चलन छ ।
मैले त अहिलेसम्म एउटै कुरा मागेको छु, ‘तीर्थयात्रीलाई दर्शन गराउने अवसर पाइरहुँ ।’
त्यसपछि ब्रह्माजीले यज्ञ र अनुष्ठान गरेको स्थलमा अहिले ज्वालामाईको मन्दिर छ, अहिले पनि त्यहाँ अखण्ड ज्वाला निस्केको प्रत्यक्ष दर्शन गर्न सकिन्छ ।
विगत सात बर्षदेखि दक्षिण भारतीयलाई ‘मुक्तिनाथ’ दर्शन यात्रामा लिएर जाँदा उनीहरु धुुरुधुरु रोएका दृश्यहरु देखेपछि म पनि कयौं पटक रुँदै फर्केको छु ।
भारतको उष्ण गर्मी ठाउँबाट आएका तीर्थयात्रीले मुक्तिनाथको शीतलता पाएपछि यति खुसी हुन्छन् कि बाटोमा यात्रा गर्दा देखेका भीर, पखेरा अप्ठारा उकालो, ओरालो र यात्रा गर्दाका सबै दुःख भुलेर धन्यवाद र आशीर्वाद दिन थाल्छन् ।
तथ्य तलमाथि हुनसक्छ, करिव १० हजार यात्रीलाई मुक्तिनाथ दर्शन गराएँ होला । अब ११ हजार पु-याउने लक्ष्यमा कोरोना महामारी–२ तगारो बनेको छ । दुई बर्ष हुनलाग्यो, मुक्तिक्षेत्रमा पाइला टेकेको छैन ।
मुक्तिनाथ यात्रा गर्दा सडक मार्गबाट जाँदा माथि पहाडबाट झर्ने ढुङ्गा र हवाईमार्गबाट जाँदा ‘फट्याङ्गा’ उफ्रेजस्तो गरी जहाज हल्लिदा पनि मेरो मन कहिल्यैं विचलित भएन । रातविरात सडकमा रात कटाएको दिन, गण्डकी नदीमा विचार नगरी मोटर कुदाउँदा नदीले बगाएर पनि मोटर, यात्री र आफू सकुशल भएको ती दिन सम्झदा ‘मुक्तिनाथ’ भगवानले सेवकलाई साथ दिएको आत्मानुभूति हुन्छ ।
अहिले कोरोनाकालमा मानिसलाई आत्मबल चाहिएजस्तै मुक्तिनाथ यात्रा गर्न मनोबल र आत्मबल दुवै चाहिन्छ । एकपटक पोखरादेखि जोमजोमसम्म हवाई यात्राको टिकट थियो । यात्रीहरुले सानो विमान देखेर हल्लाउछ कि के हुने हो भनेर सोधे ?
‘म साथमा छु, म मुक्तिनाथको प्रतिनिधि सेवक हुँ । त्यसैले तपाईहरुलाई केही हुँदैन’, त्यसो भनेपछि ढुक्क भएर आकाश यात्राबाट जोमसोम विमानस्थल उत्रेपछि जय मुक्तिनाथको नारा लगाए ।
उड्ने र गुडने दुवै साधनबाट मुक्तिनाथ जानुभन्दा पहिले पशुपतिनाथमा गएर मुक्तिनाथ जाने यात्रीको नाम, गोत्र, जाने दिन, बार, नक्षत्र, योग र करण उच्चारण गरेर पशुपतिनाथबाट सिधै मुक्तिनाथलाई खबर दिने गरेको छु । सायद यही कारण हुनसक्छ, आजसम्म मुक्तिनाथ यात्रा गर्दा र यात्री लिएर जाँदा सबैजना हर्षित बनाएर पठाउने ‘तीर्थयात्री सेवक’को सम्मान पाएको छु ।
अहिले त मुक्तिनाथ मन्दिर पनि बन्द छ । त्यस क्षेत्रमा म मात्र होइन, कोही तीर्थ यात्री जान पाएको छैन । गण्डक क्षेत्र जाने–आउने क्रममा मुस्ताङका जिल्ला समन्वय समितिका सरकारी हाकिम सुरेन्द्र थापासँग काठमाडौंमा वातचित गर्दा मुक्तिनाथ गएको अनुभव भयो । त्यसो त अहिले त चारै नाथको दर्शन दुरसञ्चारबाटै हुने गरेको छ ।
पशुपतिनाथका प्रधान अर्चक गणेश भट्ट, विश्वनाथका अर्चक टेकनारायण पौडेल, मुक्तिनाथका सरकारी हाकिम सुरेन्द्र थापा, जगन्नाथ उडिसाका मित्र सशांकसँग हरेक हप्ता दुरसञ्चारमार्फत ‘चार नाथ’को हालचाल बुझ्ने र नाथहरुलाई सम्झने गरेका छु ।
कालखण्ड र समयको खेल यस्तै भयो । कोरोना महामरी भाग–१ पछि चारै नाथको यात्रा गर्ने जोहो गरे पनि अहिले घरभित्र नाथयात्रा सम्झेर बस्नु परेको छ ।