अँध्यारो पर्यटनमा लोकतन्त्रको उज्यालो

राजन सिम्खडा

प्रकृतिप्रेमी भएकाले ट्रेकिङमा रमाएँ । अहिले पनि पदयात्रा या घुमघामका लागि प्रकृतिको समिप पुग्दा शरीरको स्फूर्ति र अनुहारको आभा बेग्लै हुन्छ । हिमालनजिक पुग्दा मन एकाएक अल्हादित हुन्छ । मेरो मान्यता छ, मनैदेखि रमाएर गरिएको काममा मात्र सफलता पाइन्छ ।

आफ्नै निर्णयमा अघि बढ्ने मेरो स्वभावलाई पर्यटन क्षेत्रमा जागृत गराउने काम भने मैले मुस्ताङ डुलाएका विदेशी पर्यटकले गरिदिए । अमेरिकी पर्यटक दम्पती डेमियान र कार्मेलासँग ३७ दिन मुस्ताङ घुम्दा धेरै अन्तरङ्ग भलाकुसारी भए । एक प्रसङ्गमा डेमियानले भनेका थिए, ‘तिमी आफैंले हामीजस्ता पर्यटकलाई लजिस्टिक सपोर्टसहित केयर गरे हुँदैन र ? बरु यसमा म तिमीलाई सहयोग गर्न सक्छु । तिमी र म मिलेर त्यस्तो कुनै बिजनेस गर्न सक्छौं ?’

डेमियान मात्र हैन, मैले घुमाउन लगेका अन्य विदेशी पाहुनाले पनि बारम्बार ‘तिमी आफैं यो बिजनेस किन गर्दैनौ ?’ भनेर उक्साइरहन्थे । उनीहरू भन्थे, ‘आखिर काम त तिमीले नै गर्ने हो, तिमी आफैंले यो बिजनेस किन सुरु गदैनौ ?’

मेरो दिमागमा त्यो कुरा घुमिरहेकै थियो । हो त, मैले आफैं किन ट्रेकिङ एजेन्सी नखोल्ने ? धेरैजसो ट्रेकिङ कम्पनीका सञ्चालकको कथा पनि त्यस्तै थियो । उनीहरूले पनि दुई–चार वर्ष गाइड भएपछि आफैं एजेन्सी खोलेका थिए । मैले पनि त्यस्तो पृष्ठभूमि तयार गरिसकेको थिएँ ।

सन् १९९९ मा अमेरिकी पर्यटक डेमियानले भने, ‘राजन, हामी फेरि मुस्ताङ ट्रेकिङमा आउँदैछौं, यसपटक चाँहि तिमीले नै लजिस्टिक केयर गरेको देख्न चाहन्छौं ।’ म हौसिएँ । सन् १९९९ को मार्चमा मैले सँगै काम गरिरहेका गाइड साथीहरू सुदर्शन र सरोज न्यौपानेसँग सल्लाह गरें । भनें, ‘साथी हो, फस्र्ट इन्भायरोमेन्टलमा म अब धेरै बस्दिनँ, आफ्नै कम्पनी खोल्ने तयारी गर्दै छु, तिमीहरू पनि तयार छौ भने मिलेर काम गरौं ।’ तर, उनीहरू मानेनन् । त्यसपछि निश्चल कुँवर दाइलाई सम्झिएँ ।

टेलिसिरियलहरूमा खेल्दा र ज्ञानु रिमालको होटलमा जमघट हुँदा उहाँ भन्नुहुन्थ्यो, ‘राजन, तिमीले कुनै बेला व्यवसाय सुरु ग-यौ भने मलाई सम्झ है, मिलेर काम गर्नुपर्छ । ठमेलमै जन्मे–हुर्केको मान्छे, मलाई पनि पर्यटन क्षेत्रमा केही गर्न मन छ ।’ मैले टेकिङ कम्पनी खोल्ने प्रस्ताव गर्दा उहाँले उत्साहित हँुदै भन्नुभयो, ‘मेरा दुई साथी कमर्स र इन्जिनियरिङ पढ्दै छन् । उनीहरू पनि तगडा छन् । उनीहरू अफिस हेर्छन्, तिमी फिल्ड हेर । हामी सँगै मिलेर काम थालौं ।’

निश्चल दाइ, उहाँका साथीहरू नवीन सापकोटा र पवन अधिकारी अनि म, हामी चार जना मिलेर २५-२५ प्रतिशत सेयरमा ट्रेकिङ एजेन्सी खोल्ने भयौं । संस्थाको नाम जुराउन धेरै छलफल ग-यौं । ‘वाइल्ड अर्थ’, ‘लफ्टी माउन्टेन्स्’, ‘ट्वीन पिक्स’ लगायत धेरै नाम सोच्यौं । तर ती नाममा सहमति जुटेन । अन्ततः ‘अर्थबाउन्ड एक्सपिडिसन’ सबैलाई मनप-यो । संस्था दर्ता ग-यौं । लोगो पनि कलात्मक बन्यो– ‘इ’ र ‘बी’ दुई अक्षरबाट ।

यिनै दुई अक्षरभित्र धर्तीको आकृति पनि समेटियो । अमेरिकी साथी डेमियानले पनि निकै मिहिनेत गरे । संस्था दर्ता गरेको ६ महिना पुग्दानपुग्दै सेप्टेम्बरमा हामीले आफ्नै अफिसबाट औपचारिकरूपमै टे«किङ चलायौं । कम्पनी खोल्दा हामी सबैजना जोशिला युवा थियौं, निकै उत्साहित पनि । म २३ वर्षको मात्र थिएँ । मेरो परिवारमै कसैले बिजनेस गरेको थिएन । त्यसैले सुरुवाती दिनमा कताकता डर पनि लागेको थियो, कतै असफल त भइँदैन ? तर मलाई लाग्छ, त्यो ठीक समयमा चालिएको सही कदम थियो ।

नेपालमा पर्यटकको चहलपहल तीव्र हुँदै थियो । अघिल्लो वर्ष मात्र मनाइएको ‘भिजिट नेपाल – ९८’ कार्यक्रमका कारण नेपाल आउने पर्यटकको सङ्ख्या पाँच लाख पुगेको तथ्याङ्क सार्वजनिक भएको थियो । त्यसैको प्रभावले सन् १९९९ मा पनि पर्यटक भित्रने क्रम बढ्यो । हामी नयाँ हुँदाहुँदै पनि ‘ठूलो केक काटिँदा’ हाम्रो प्लेटमा पनि ‘केहि टुक्रा’ आइपुग्यो । सन् २००० को सुरुमा मैले चिनियाँहरूको ग्रुपलाई घोरेपानी टे«किङ गराएँ । हाम्रो उत्साह बाँसको तामाजस्तै हलक्क बढ्न थाल्यो ।

मुलुकमा पर्यटक आगमन बढिरहेको र हाम्रो व्यवसाय पनि भर्खर फस्टाउन खोजेको बेला पर्यटन–आकाशमा एकपछि अर्को कालो बादल मडारिन थाल्यो– ऋतिक रोशन काण्ड, राजदरबार हत्याकाण्ड र इन्डियन एयरलाइन्सको विमान अपहरणकाण्ड । सन् १९९६ बाट मुलुकमा सुरु भएको माओवादी सशस्त्र सङ्घर्षको असर देखिन थाल्यो । माओवादीले दाङस्थित सैनिक ब्यारेकमा हमला गरेर केही हतियार लुटेपछि मुलुकमा सङ्कटकाल लाग्यो । विश्वभर नेपालको नकारात्मक प्रचार भयो । प्रतिकूल अवस्थामा पनि पर्यटक भित्र्याउने प्रयत्नमा हामी लागिरह्यौं ।

नेपालमा भर्खरभर्खर इमेल प्रयोग सुरु भएको थियो । हामीले चार सय रूपयाँ तिरेर हटमेल अकाउन्ट खोल्यौं र इमेलमार्फत सम्भावित पर्यटकसम्म आफ्नो कम्पनीको पहुँच बढाउने कोसिस गरिरह्यौं । तर मुलुकको सङ्कटपूर्ण अवस्थाका कारण पर्यटन क्षेत्रमा मन्दी छाउन थाल्यो ।

सन् २००१ मा म तेस्रोपटक मुस्ताङ टे«कबाट फर्किएको भोलिपल्टै नारायणहिटी राजदरबारमा हत्याकाण्ड भयो । राजा वीरेन्द्रको वंश नै सखाप भएको त्यो त्रासदीपूर्ण घटनाका कारण विश्वभर नेपालको नकारात्मक प्रचार अरू तीव्र भयो । त्यसले पर्यटन क्षेत्रमा धेरै नराम्रो असर ग¥यो । दरबार हत्याकाण्डलगत्तै राज्य र माओवादी पक्षबीच सङ्घर्ष झन् चर्कियो । नेपालमा आँखा केन्द्रित गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले माओवादी सशस्त्र द्वन्द्वका बारेमा बढाइचढाइ प्रचार गर्न थाले ।

सन् २००३ मा काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण भयो । भारतीय मिडियाले त्यही निहुँ पाएर ‘नेपालको विमानस्थल सुरक्षाका दृष्टिले कमजोर’ रहेको प्रचार गरिदिए । भारतीय मिडियाको गोयवल्स शैलीको दुष्प्रचारले विश्वभर ‘नेपाल असुरक्षित गन्तव्य हो’ भन्ने भ्रम फैलन पुग्यो । त्यसै त घटिरहेका पर्यटक, झन् घट्न थाले ।

त्यसैमाथि भारतीय नायक ऋतिक रोशनले ‘मलाई नेपाली मन पर्दैन’ भने रे भन्ने हल्लाकै आधारमा राजधानीमा उपद्रव मच्चियो । यी सबै कारणले खासगरी नेपाल आउने भारतीय पर्यटक स्वाट्टै घटे । त्यसअघि नेपालमा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्न मात्र हैन, क्यासिनो खेल्न र पोखरामा हनिमुन मनाउनसमेत भारतीय पर्यटकको ताँती लाग्थ्यो । सन् २००१ देखि २००४ सम्म नेपालको पर्यटन क्षेत्र पूरै सुस्तायो । धेरै साथी पेसा छाडेर विदेश पलायन भए । सन् १९९८ ‘भ्रमण वर्ष’ को प्रभावले सन् १९९९ मा नेपालमा ५ लाख ५० हजार हाराहारी पर्यटक भित्रिएका थिए । सन् २००३ मा त्यो सङ्ख्या घटेर ३ लाख ३० हजार मात्र भयो । ट्रेकिङ मात्र हैन, होटल–रेस्टुराँ व्यवसाय र हस्तकलाका पसलहरूसमेत धराशयी बने । मुलुकको राजनीति झन् झन् अन्योलपूर्ण बन्दै गयो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५९ जेठ ८ गते मध्यराति राजा ज्ञानेन्द्रको उक्साहटमा प्रतिनिधिसभा विघटनको सिफारिस गरे । राजाले तत्कालै विघटन गरिदिए ।

२०५९ कात्तिक २७ गते निर्वाचन गरिने घोषणा भयो । तर, सशस्त्र विद्रोही माओवादीको अवरोध र संसदवादी दलहरूको असहयोगले गर्दा देउवाले निर्धारित मितिमा चुनाव गराउन नसक्ने भए । त्यसैले देउवाले २०५९ असोज १८ मा अर्को सिफारिस राजाकहाँ चढाए, जसमा २०६० मंसिर ३ गतेका लागि चुनावको मिति सार्न भनिएको थियो । राजाले त्यही मौकाको फाइदा उठाउँदै प्रधानमन्त्री देउवालाई ‘असक्षम’ घोषणा गरी हटाए । २०५९ असोज २५ गते लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाइयो । सत्ता सञ्चालनमा राजदरबार हावी भयो ।

माओवादी सशस्त्र विद्रोह उत्कर्षतिर थियो भने संसद्वादी दलहरू पनि आन्दोलित । परिस्थिति सम्हाल्न नसकेपछि प्रधानमन्त्री चन्दले २०६० जेठ १६ गते राजीनामा दिए । राजा ज्ञानेन्द्रले ‘स्वच्छ छविको प्रधानमन्त्री’ बनाउने नाममा विभिन्न नेतालाई दरखास्त हाल्न उक्साए र २०६० जेठ २१ मा सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । थापाले पनि सम्हाल्न सकेनन्, २०६१ जेठ १९ गते राजीनामा गरे । राजाले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा एमाले, सद्भावना र राजाका प्रतिनिधि रहेको सरकार गठन गरे । देउवाले ‘गोर्खाली राजाबाट आफूले न्याय पाएको’ बताए । एमाले पनि ‘प्रतिगमन आधा सच्चिएको’ भन्दै सरकारमा सहभागी भयो । तर काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले भने दुई वर्षअघि विघटित प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने अडान राखे । यही राजनीतिक अस्थिरताबीच राजाले आठ महिनामै २०६१ माघ १९ गते देउवा नेतृत्वको संयुक्त सरकारलाई बर्खास्त गरेर सम्पूर्ण शासन आफ्नै हातमा लिए । राजा ज्ञानेन्द्र स्वयं मन्त्रिपरिषदको अध्यक्ष भए भने पञ्चायतकालीन दुई प्रधानमन्त्री डा. तुलसी गिरी र कीर्तिनिधि बिष्टलाई उपाध्यक्ष बनाए ।

राजाको कदमपछि मुलुकमा द्वन्द्व झन् चर्कियो । माओवादीले फौजी कारबाहीलाई तीव्रता दियो भने संसद्वादी दल सडकमा उत्रिए । राजाको कदमले संसद्वादी र माओवादीलाई नजिक ल्यायो । २०६२ मंसिर ७ गते माओवादी र सात दलबीच भारतको नयाँदिल्लीमा बाह्रबुँदे समझदारी भयो । २०६२ चैत २४ गतेदेखि ‘निरङ्कुश राजतन्त्रविरुद्ध आन्दोलनको आँधीबेहरी’ सुरु भयो ।

मुलुकको त्यो सङ्क्रमणकालमा पनि हामी भने पर्यटक कसरी भित्र्याउने भन्ने ध्याउन्नमै थियौं । हाम्रै कम्पनीका केही साझेदार त्यसबेला बाहिरिएका थिए । तर, केदार गजुरेलजस्ता उत्साही युवा कम्पनीमा समाहित हुन आइपुगे । प्रतिकूल परिस्थितिको सामना गर्न हामी कस्सिरह्यौं । आखिर बत्ती बाल्ने भनेकै अँध्यारोमा हो । त्यसैले जति सम्भव हुन्छ, त्यति नै पर्यटक भित्र्याउन हामीले इमेलमार्फत धेरैभन्दा धेरै सन्देश पठायौं, ‘नेपालमा शान्ति छ, घुम्न आउनुस् ।’ कतिले सकारात्मक प्रतिक्रिया दिन्थे भने कतिले ‘यस्तो अवस्थामा नेपाल घुम्न आउँदा हामी सुरक्षित हुन्छौं ?’ भनेर सोध्थे । सशस्त्र द्वन्द्वको बेला नेपाल भ्रमण गरेर फर्केका पर्यटकहरूले भने आ–आफ्नो देशमा सकारात्मक सन्देश नै फैलाएका थिए । त्यसले हामीलाई पर्यटक भित्र्याउन केही हदसम्म सहयोग मिलेको थियो ।

राजनीतिक द्वन्द्वको त्यो चरम अवस्थामा अत्यन्तै मिहिनेत गरेर गुजारा गर्नुपर्ने स्थिति थियो । विदेशी साथीहरू मलाई ‘यतै आऊ, यतैकी केटी बिहे गर, हामी काम खोजिदिन्छौं’ सम्म भन्थे । मेरा अधिकांश साथीभाइ र भाइ–भतिजाहरू विदेशमै थिए । उनीहरू बारम्बार भन्थे, ‘किन नेपालमा बसिरहेको ? यतै आउनुप-यो ।’ तर मेरो मनले कहिल्यै देश छोड्ने सोचेन । मलाई मान्छेहरू ‘अन्ध राष्ट्रभक्त’ भन्छन् । भनुन्, मलाई मेरै माटो मनपर्छ । मेरै हिमाल मनपर्छ । मेरै देशमा विवेक लगाउन र पसिना बगाउन मन पर्छ ।

म दशौंपटक विदेश गएको छु, धेरै ठाउँ घुमेको छु । त्यहाँको विकास र सभ्यतालाई नजिकबाट नियालेको छु । भोगेको छु । तैपनि मेरो मन त्यता कहिल्यै रमाउन सकेन । विदेशको चमकधमकले मलाई कहिल्यै तानेन किनकि त्यो भूमिमा नेपालीपन छैन । त्यहाँको विकास र सम्पन्नतासँग नेपाल गाँसिएको छैन । नेपाली भएकोमा गर्व गर्ने ठाउँ छैन त्यहाँ ।

केही दिन घुम्नका लागि, त्यहाँको सम्पन्नता र विकासबाट केही सिक्नका लागि विदेशयात्रा गर्नुपर्छ तर स्थायी रूपमा नेपालमै बस्नुपर्छ, नेपालकै सिस्टम राम्रो बनाउनुपर्छ भन्ने भाव ममा जागिरह्यो । विदेशका धेरै पर्यटकीय थलोमा गएँ तर त्यहाँ पनि मेरै देशको हिमाल, सनराइज र सनसेटको सम्झना आइरह्यो । आदर्श छाँटेको होइन, विदेशी भूमिमा पुग्दा मलाई आमा, श्रीमती, छोराहरू र घरभन्दा पनि बढी नेपाल आमाको याद आउँछ । विदेश जान उक्साउनेहरूलाई मैले भन्ने गरेको थिएँ, ‘एक न एक दिन नेपालमै पर्यटन फस्टाउँछ, म अन्त कहीं जान्नँ, मैले नेपालमै सुनौलो भविष्य देखिरहेको छु ।’

मेरो असीम विश्वास छ– नेपालमा पनि पर्यटक आउँदैनन् भने संसारको कुनै पनि ठाउँमा पर्यटक जाँदैनन् । नेपाल पर्यटकीय गन्तव्य होइन भने संसारको कुनै पनि ठाउँ पर्यटकीय गन्तव्य बन्न सक्दैन । नेपालमा जस्तो सुन्दर हिमाल, संस्कृति, एडभेन्चर अन्त कतै छैन । सर्वोच्च शिखर सगरमाथाको देश, बुद्धको जन्मभूमि नेपालमा नआउने पर्यटक उसो भए कहाँ जान्छन् त ? त्यत्ति हो, हामीले ‘पाहुना परमेश्वर’ लाई सेवा–सुविधा भने दिन सक्नैपर्छ ।

‘मेरो देश मैले नबनाए कसले बनाउँछ ?’ भन्ने मेरो मान्यता हो । विदेश गए पनि पैसा कमाउने त दुःख गरेरै हो । दुःख नै गर्ने हो भने किन आफ्नै देशमा नगर्ने ? यही मान्यताले पनि मलाई आफ्नै देशमा सङ्घर्ष गर्न ऊर्जा दिएको थियो, दिइरहेको छ ।

कुनै पनि काममा सफल हुन मिहिनेत र धैर्य चाहिन्छ । आइग्लासमा सूर्यको प्रकाश संश्लेषित गर्दा कागज बल्छ । त्यो एउटा प्रविधि हो । तर, सूर्यको प्रकाश आइग्लासमार्फत संश्लेषित भएर ताप उत्पन्न हुन त्यसलाई कम्तीमा चार–पाँच मिनेट नहल्लाइ राख्नुपर्छ । धैर्य भएन र हातको आइग्लास हल्लिन थाल्यो भने कागज बल्दैन । काममा सफलता पनि त्यस्तै हो । तपाईं जुन काम गरिरहनुभएको छ, त्यसैमा केन्द्रित हुनुस्, निरन्तर गर्नुस्, त्यसको लयलाई असन्तुलित नबनाउनुस् । अवश्य सफलता मिल्छ । यही मान्यता र स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका कारण सशस्त्र द्वन्द्वकालका कठिनभन्दा कठिन दिनमा पनि मेरा खुट्टा कामेनन् ।

खोल्नासाथ बाँसको तामाझैं हलक्क बढेको हाम्रो कम्पनीको मुना पनि त्यो द्वन्द्वले निमोठिएको थियो । पर्यटक नेपाल आउन त्रसित थिए । धेरैजसो नेपालीमै पनि घोर निराशा थियो । सशस्त्र विद्रोही माओवादी पक्षबाट होस् वा राज्य पक्षबाट किन नहोस्, हरेक दिन नेपाली नागरिक मारिन्थे । कतै यो द्वन्द्व नै नरोकिने हो कि ? गौतम बुद्धको जन्मभूमि नेपालमा शान्ति कहिल्यै नआउने हो कि भन्ने चिन्ता सर्वत्र व्याप्त थियो । मेरो मनमा भने आशाको दीयो टिलपिल टिलपिल बलिरहेकै थियो । म त्यतिखेर वेदको बहुचर्चित मन्त्र स्मरण गर्थें, ‘असतोमा सतगमय, तमसोमा ज्योर्तिगमय …।’ घोर अन्धकार छाएको त्योबेला पनि मेरो दृढ विश्वास थियो, ‘रातपछि बिहान अवश्य आउँछ ।’

नयाँ बिहानी

नभन्दै सात दलको नेतृत्व र माओवादी समर्थनमा २०६२ चैत्र २४ बाट प्रारम्भ भई १९ दिन चलेको जनआन्दोलनले राजा ज्ञानेन्द्रलाई झुक्न बाध्य पा-यो । २०५९ जेठ ८ गते विघटित प्रतिनिधिसभा २०६३ वैशाख ११ गते पुनस्र्थापना भयो, काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । मुलुकमा शान्तिप्रक्रियाले गति लिन थाल्यो । राज्य र सशस्त्र विद्रोही माओवादीबीच बृहत शान्तिसम्झौता भयो । अन्तरिम संविधान, अन्तरिम संसद् र सरकार बन्यो । २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो ।

२०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गर्दै नेपाललाई गणतन्त्रात्मक मुलुक घोषणा ग-यो । त्यसपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने भने गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव निर्वाचित भए ।

मुलुकको मूलनीति राजनीति सुध्रिएसँगै हाम्रो पर्यटन क्षेत्रमा पनि सुधार देखिन थाल्यो । शान्ति सम्झौताको पहिलो वर्ष नै नेपाल आउने पर्यटकको सङ्ख्या १५ प्रतिशत बढ्यो । सन् २००७ मा २६ प्रतिशत र सन् २००८ मा पर्यटकको सङ्ख्या २८ प्रतिशतले बढ्यो ।

पर्यटक आगमन बढेपछि त्यसको लाभ स्वाभाविक रूपमा हामीलाई पनि भयो । हामीले सन् २००६ देखि नै टे«किङको ‘वेभ मार्केटिङ’ सुरु गरेका थियौंँ, परिस्थिति अनुकूल हुनासाथ त्यसको प्रभाव देखिन थाल्यो । त्यतिबेला लोन्ली प्लानेट साइटमा अर्थबाउन्डलाई ‘राम्रो कम्पनी’ का रूपमा उल्लेख गरिएको थियो । न्युयोर्क टाइम्सले पनि हाम्रो कम्पनीका बारेमा कभरेज गरिदिएको थियो ।

सन् २००९ मा वेभ मार्केटिङ अझ विस्तार भयो । हाम्रो कम्पनीमा ६÷७ जना गाइड काम गर्थें । भ्याएजति पदयात्रा म आफैं ‘लिड’ गर्थें त्यतिखेरसम्म ।

देशमा आएको नयाँ बिहानीमा व्यवसाय फस्टायो । हामीले व्यावसायिक रणनीति परिवर्तन गरेर मास मार्केटिङ सुरु ग¥यौं । विजनेश भनेको इनोभेसन हो, यो परम्परागत ढङ्गले मात्रै चल्दैन भन्ने मलाई थाहा थियो । त्यसैले पर्यटनसँग सम्बन्धित अन्य क्षेत्रमा पनि लगानी गर्न थाल्यौं ।

समग्र पर्यटन बजारलाई आफ्नो ‘ग्रिप’ मा लिनकै लागि हामीले सबै व्यवसायलाई एउटै बास्केटमा राख्न थालेका थियौं । पर्यटकका लागि उपयुक्त भ्यान, हायस गाडीहरू जोडिसकेका थियौं । अब ट्रेकिङ आउने पर्यटकहरू काठमाडौंमा दुई रात र पोखरामा दुई रात आफ्नै होटलमा बसुन् र पैसा आफैंसँग रहोस् भन्ने सोच कार्यान्वयनमा ल्यायौं ।

(‘हिँडे पुगिन्छ’बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button