रुबीभ्याली: गाउँ पर्यटनका लागि गज्जब

लेख

तेजबहादुर गुरुङ
फोटोः अशोक सिलवाल

ग्रामीण जनजीवनलाई केन्द्रित गरी गाउँलेकै प्रत्यक्ष र सकृय सहभागीतामा स्थानिय स्वाद पस्किनको लागि गरिने सबै पर्यटकिय गतिविधी नै ग्रामीण पर्यटन हो । गाउँको संस्कृति, परम्परा, रहनसहन, आस्था, विश्वाश, धर्म, भेषभुषा, भाषा, लोकभाका, लोकनाच, लोकसाहित्य, पञ्चेबाजा सांस्कृतिक रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्दछ । गाउँघरमै उब्जनीबाट बन्ने ढिंडो, गुन्द्रुक्, सिस्नु, लोकल कुखुरा र खसीको मासु, भट्मास साँधेको, सुकुटी र तीनपाने रक्सी, न्युरो, कुरिलो, च्याउजस्ता स्थानिय परिकारहरु चाख्न पर्यटकहरु लोभिन्छन् ।ग्रामीण भेगको निश्चल, कन्चन र स्वच्छ हावापानी, भौगोलिक सुन्दरता, शान्त र मनोरम दृश्यले प्राकृतिक रुपमा मन तान्छ । सरल जीवनशैली, हार्दिक आथित्यता र नम्र भावनाले पाहुना मोहित हुन्छन् ।

ग्रामीण पर्यटनले गाउँको जीवनस्तर उकास्नमात्रै सहयोग गर्दैन, संस्कृतिको प्रचारप्रसार, संरक्षण र प्रबर्धन गर्नुको साथै दिगो पर्यटनलाई टेवा पुर्याउँछ । पदयात्रा, पर्वतारोहण्, जलयात्रा, छाँगो अवरोहण, राष्ट्रिय निकुन्ज भ्रमण, घरबास, सामुदायिक लजजस्ता सबै पर्यटकिय गतिबिधीहरु र ब्यवसाय कुनै नै कुनै रुपले ग्रामीण पर्यटनअन्तर्गत नै पर्दछ ।

नेपालमा सत्तरी र असिको दसक अधिकांश क्याम्पिङ ट्रेकिङ गर्ने पर्यटकहरु आउँथे ।अधिकांश खाद्यसामाग्रीहरु गाउँमै किनेर ब्यबस्थापन गर्थे । नब्बेको दसकदेखि भौतिक पूर्वधार निर्माणले गति लियो । पर्यटन प्रबर्धन गर्न विभिन्न प्रचारात्मक अभियानहरु संचालन भए ।पदमार्ग क्षेत्रहरुमा विस्तार विस्तार घरबास, लज, होटेलहरु खुल्दै गए । गाउँगाउँमा पर्यटनसम्बन्धी जनचेतना फैलियो । ग्रामीण पर्यटनको महत्व बढ्यो ।पर्यटकहरुबाट आर्थिक उपार्जन हुँदोरहेछ भन्ने कुरा स्थानियहरुले पनि बुझ्न थाले । फलस्वरुप ग्रामीण पर्यटनको सम्भावना खुल्यो ।

पर्यटकहरु गाउँले जनजीवन हेर्न रुचाउने, विभिन्न जातजातिहरुको भाषा, भेषभुषा र संस्कृतिमा मुग्ध हुने, गाउँको हावापानीमा रम्ने र स्थानिय स्थानिय उपभोग्य सामाग्रीहरु रुचिको परिकार बन्न थालेपछि गाउँलाई केन्द्रित गरेर होमस्टे (घरबास), रिजोर्ट, लज र पदयात्रा प्याकेज सन्चालनमा आए । घान्द्रुक गाउँ होमस्टेले अन्नपूर्ण क्षेत्रको पर्यटकिय सम्भावनाको ढोका खोल्यो । यसै अवधारणालाई पछ्याउँदै सिरुबारी घरबास, भुजुङ घरबास, चित्लाङ घरबास, तामाङ हेरिटेज घरबास, सलाङनलाङ घरबास , घलेगाउँ घरबास, खाल्डे घरबास र रुबीभ्याली घरबास संचालनमा आएका छन् । गाउँ पर्यटनलाई नै केन्द्रित गरी म्याग्दीको नादीनार्च्याङ गाउँहरुलाई सामुदायिक लज मोडल अपनाइ मोहरेडाँडा सामुदायिक पदयात्राको रुपमा स्थापित गरेका छन् ।

विभिन्न संघसंस्थाहरुले अप्रत्यक्ष रुपमा गाउँ पर्यटनको प्रवर्धन गरे पनि संस्थागत रुपमा प्रत्यक्ष र मुख्य उद्देश्य राखी गाउँ पर्यटन प्रवर्धन मन्च, नेपालको स्थापनापश्चात ग्रामीण पर्यटनले गति लिएको देखिन्छ । हाल देश संघिय संरचनामा गइसकेको र ग्रामीण क्षेत्रहरुलाई पर्यटन, कृषि र हाइड्रो जोडिने गरी गाउँपालिकाको रुपमा स्थानिय सरकार बनेकोले ग्रामीण पर्यटनको सम्भावना झनै बढेर गएको छ ।

स्थापित र प्रमुख पदयात्रा गन्तव्यहरुमध्ये गणेश हिमाल पनि एक हो । यो क्षेत्रलाई नयाँ ढंगले प्रबर्धन गर्नको लागि यस क्षेत्रमा पाइने अमुल्य खनिज धातु रुबीको नामबाट नामाकरण गरी माथिल्लो रुबीभ्याली र तल्लो रुबीभ्याली क्षेत्रको रुपमा प्रबर्धन गर्न गणेश हिमाल पर्यटन विकास समितिले जोड्तोड्साथ लागिरहेको छ । साबिकको तिप्लिङ, सेर्तुङ, लापा, झार्लाङ, दार्खा र सत्यदेवी गाविसलाई माथिल्लो रुबीभ्याली र बाँकी क्षेत्रलाई तल्लो रुबीभ्याली भनिन्छ ।

प्राकृतिक र सांस्कृतिक दुवै दृष्टिकोणले उत्तिकै धनी रुबीभ्याली छोटो दुरी २-३ देखि २०-२१ दिनसम्मको पदयात्रा गर्न सकिन्छ । ग्रेट हिमालयन ट्रेल अन्तर्गत पर्ने माथिल्लो रुबीभ्याली क्षेत्रमा तामाङ, घले, गुरुङ, नेवार र दलित बसोबास गर्छन् । बुद्ध धर्म र क्रिस्चियन धर्म मान्ने यी समुदायहरुको गुम्बा, चर्च, मन्दिर, छोर्तेन, माने, स्तुपाहरुजस्ता धार्मिक स्थलहरु छन् ।गणेश हिमश्रृंखला, पाबिल हिमाल र पाल्दोर पिक यो क्षेत्रको मुख्य आकर्षण हो । सेतो दह, कालो दह, गणेश कुन्ड र तातोपानी गहनाको रुपमा रहेको छ ।

तल्लो रुबीभ्यालीमा छोटो दुरीको पदयात्रा र टुरको धेरै सम्भावना छ ।निकै चर्चित त्रिशुली राफ्टिङ यसैमा पर्दछ । अत्यन्तै चर्चामा रहेको गंगाजमुना, ज्याम्रुङ दरबार, सिद्दलेक र थुप्रै गुफाहरु अवलकोनीय छ । मगर, नेवार, तामाङ, बाहुन, क्षत्री, गुरुङ र घलेको बाहुल्यता रहेको हिन्दू मन्दिर, धार्मिक स्थलहरु, पार्टी, पौवा, गुम्बा, घाटहरु तल्लो रुबीभ्यालीका सांस्कृतिक आकर्षण हुन् ।

२ वटा नगरपालिका र ११ वटा गाउँपालिका भएको धादिङ जिल्लामा रहेको रुबीभ्यालीमा ग्रामीण पर्यटनको दृष्टिकोणले अत्यन्तै सम्भावना छ । गाउँ नै गाउँले भरिएको रुबीभ्यालीमा थुप्रै जातजातिहरुको धर्म, संस्कृति, खानपान, रहनसहन, भेषभुषा र चाडपर्वहरु हेर्न, देख्न र अनुभव गर्न सकिन्छ । मगर संस्कृतिको अनुभुति गर्न सलाङनलाङ होमस्टे सन्चालनमा आएको छ भने गुरुङ समुदायको जनजीवन अवलोकन गर्न चालिस, खादिङ, तिर, रिचेत र लाप्चेत गाउँहरु माथिल्लो रुबीभ्यालीमा रहेका छन् । त्यस्तै खाल्डे होमस्टे एउटा नमुना घरबासको रुपमा प्रबर्धन भइरहेको छ । साइक्लिङ, हाइकिङ, ट्रेकिङ, टुर, प्याराग्लाइडिङ, रकक्लाइम्बिङजस्ता पर्यटकिय गतिबिधिको उच्च सम्भावना भएको यस क्षेत्रमा नेत्रतालको बोटिङ थप आकर्षण हो । तामाङ जातिको बाहुल्यता रहेको यस क्षेत्रमा सुन्दर तामाङ बस्तीहरु तिप्लिङ, सेर्तुङ, लापा, बोराङ, झार्लाङ, रि, सत्यदेवी र खनियाबासमा घरबासको व्यवस्था छ । रुबीभ्यालीको सबै गाउँहरुमा घरबास र ग्रामीण पर्यटनको उत्तिकै सम्भावना छ ।

अन्त्यमाः यी सम्भावनाहरुलाई सम्भव तुल्याउनको लागि सबै सम्बन्धित निकाय तथा सरोकारवालाहरुको ध्यान जान आवश्यक छ । स्थानियहरुमा पनि पर्यटनको जनचेतना जगाउनको लागि गाउँगाउँमा जनचेतनामुलक कार्यक्रमहरु गर्नुपर्छ । धादिङको सबै पर्यटन व्यवसायीहरु एक हुन आवश्यक छ । रुबीभ्यालीको सबै राजनैतिक दलहरुले आफ्नो क्षेत्रको आर्थिक सम्बृद्धिको लागि पर्यटन प्रबर्धनमा हातेमालो गर्नैपर्ने देखिन्छ ।

(गुरुङ गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष हुन्)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button