
आमायाङ्री अर्थात हेलम्बुमा पुनहिल
यात्रा
जय भण्डारी
किपको टिओटी कार्यक्रमपछि अमित खड्काजीले हेलम्बुको आमायाङ्री जान मन छ भने । यो प्रसंग सुनिल गुरुङले किपले सञ्चालन गरेको टिओटी लगत्तै ओभरनाइट आउट अफ होम गर्नु पर्छ भनेपछि निस्केको थियो ।
‘अमितजीले कुरो निकालेपछि मलाई पनि जामजाम लाग्यो र समय मिलाएर जाउँ न त, तर को को जाने ? साथीहरु मिलेर जान पाए रमाइलो हुन्थ्यो’, मैले भनेँ । आखिर जाने बेला अमितजी र म मात्र भयौं । तर, मौसमी अवस्था भने त्यति भरपर्दो थिएन । अमितजी र मैले निकै दिन मौसमकै कारण अलमलिन बाध्य भयौं । कोभिड महामारीका कारण धेरै जसो पर्यटनकर्मीहरुलाई काम नहुँदा समय काट्न मुस्किल भएको अवस्थामा आमायाङ्री जानु पनि एक ठूलै साहसिक काम नै मान्नुपर्ने अनि त्यसैमा फुलेल हुनु पर्ने हाम्रो विवशता ।
हामी दुई भाईको यात्रा श्रीपञ्चमीकै दिन जुर्यो । एउटा मोटरबाइकमा दुई भाइले यात्रा तय गर्यौं । बिहान साढे सात बजे अमितजीलाई चाबेल भेट्ने गरी म घरबाट निस्किएँ । चाबेलमा म समयभन्दा केहि अगाडि पुगेँ । अमितजी पनि त्यही आसपासमा पुग्नु भएछ । तर, हाम्रो पर्खिने टुँगो फरक परेछ अनि हामी फरकफरक ठाउँमा एक अर्कोलाई पर्खिबसेछौं । हाम्रो मूर्धन्य चेतनाले बबुरोको ठाँउ लिएछ ।
हामी भेट भएपछि चाबेलबाट हामी सालीनदी पुगेर एक महिने स्वस्थानी ब्रत मेलामा खाजा खाने सल्लाह भए बमोजिम हामी त्यतै लाग्यौं । तर, तीर्थयात्रीहरुको खचाखच घुँईचोले बाटो नै व्यस्त थियो । त्यसैले हामी सालीनदी नगई मेलम्ची जाने सडकसडकै अघि बढ्यौं र एउटी तामाङ्नी दिदीको चिया पसलमा खाजा खान रोकियौं ।

खाजा खाएर उकालो लाग्यौं । सिन्धुपट्टि लागेपछि बाटो ओरालियो । ओलिैदै गर्दा हरिया बुच्का, रुख, खेतबारी र खोला, बगरलगायतका रमाइला भूभागहरुमा विभिन्न प्रजातीका पूतली र पंक्षीहरुसँग साक्षात्कार गरियो । एउटा मोटरसाइकल थियो, आलोपालो गर्दै मेलम्ची बजार पुगियो । भोक निकै लागेकोले त्यहीँ एउटा राम्रो भोजनालय पसेर खाना खायौं । त्यो भोजनालयले भबिष्यमा ठूलै स्तरीय होटेलको रुप लिंदै थियो, मेलम्ची र समग्र सिन्धुपाल्चोकको पर्यटनको आकर्षणको धरोहर बन्लाजस्तो । अमितजी र म त्यो दिन तार्केघ्याङ पुग्नुपर्ने भएकोले खाना खाइसक्नासाथै बाटो तताइहाल्यौं ।
मेलम्ची, तालामराङ, महङकाल र टिम्बुदेखि ककनी र तार्केघ्याङसम्मको ठाडो उकालो । मैले अठाईस बर्ष पहिले ट्रेकिङ गरेको थिएँ । र, जिन्दगीमा कैयौं चोटी हिँडिरहे तर यसपाली भने बाइकमा । पहिले पर्यटकसँग त अहिले आफै पर्यटकको रुपमा ।
तार्केघ्याङ पुग्नुपहिले ककनीमा केही छिन आराम गरेका थियौं । त्यसले निकै विकासे रुप लिइसकेको थियो । केहि छिन त म अलमलिएँ पनि, त्यो कुन ठाउँ हो भनेर । नेपालका धेरै जसो ठाउँहरु आप्mनो सुन्दर रुपबाट बदलिएर कुरुप भइसकेका छन् । थोरै मात्र यस्ता ठाउँ छन्, जहाँ विकासले राम्रा भएका र प्राकृतिक सुन्दरता नगुमाएका । ककनीले पनि आधुनिकताको स्वाद चाखिरहेको थियो । तर, सन् २०१५ को भूकम्पले क्षतविक्षत तार्केघ्याङ भने उठन सकेको थिएन । खै, त्यहाँका बासिन्दाहरुमा पुननिर्माणको सोच नै हराएको हो कि जस्तो । तर, त्यहाँ बुद्ध मन्त्रसहित फरफराइरहेका झण्डाहरुले भने त्यो ठाउँको सुन्दरता र अस्तित्वलाई बचाइराखेका थिए ।

तार्केघ्याङ पुगेपछि बासको हामीलाई कुनै निश्चितता थिएन । त्यसैले चौरमा भेटिएकाहरुसँग त्यहाँ भएका लज तथा होमस्टेको बिषयमा सोधखोज गरियो । उनीहरुका अनुसार पुराना लज तथा होटेलहरु प्राय बन्द भइसकेका र भएका केही पनि महङगा भएको बताए । हामी त्यहाँको नेपालीहरुलाई मध्यनजर गरी बनाइएको याङग्रीपिक लजमा बस्ने निधो गर्दै त्यतैतिर लाग्यौं ।
‘साहुजी , बास बस्न पाइन्छ ?’, मैले सोधेँ ।
साहुजी बोले, ‘पाइन्छ, तपाईहरु माथि आउनुस ।’
‘अरु नेपाली पाहुना पनि भएकोले अलि हल्ला नहुने कोठामा तपाईहरु सुत्नुस्’, कोठा देखाउँदै साहुजीले भने ।
‘यत्तिको भए भैगो नि आज एकरातको लागि’, अमितजीले थपे ।
झोलाको पोको कोठामा थन्क्याएर हामी तल झर्यौं ।
अहिलेको जमाना वाइफाइको भएको छ । पहिले तिर्खा मेट्न पानी माग्ने चलन थियो तर अहिले मान्छेले सहज श्वास फेर्न वाइफाइ माग गर्छन् । तर, हामीले पानी पनि मागेर खायौं र वाइफाइ पनि सोध्यौं । त्यसरी दुवै जमानाको प्रतिनिधित्व गरियो । तर, वाइफाइले काम गर्दै थिएन ।
हामी दवबै जना लामो यात्राक्रममा बाइककले थर्काई र भोकले गर्दा लखतरान परेका थियौं । चाउचाउ बनाउन लगाएर भोक मेट्यौं ।
उज्यालो छदै तार्केघ्याङमा नजर डुलाउने विचारले बाहिर निस्कियौं । त्यो दिन श्रीपञ्चमी र ल्होसार परेकोले केही स्थानीय त्यहाँको धर्मशालामा नाचगान गर्दै थिए । हामी पनि गाउँ डुल्नुको साटो नाचगान गरेतिरै मोडियौं । निकै रौंनक थियो त्यहाँ, त्यो ठाउँको नयाँ बर्षको उत्सवले । यायावर बनेर गएका हामी त्यहीँको रौनकमा एकछिन घुलिन पुग्यौं ।
प्राय दिन चाडपर्व र उत्सवहरु मनाइरहने देश हो नेपाल । त्यसमध्ये नयाँ बर्षको उत्सव नै छ सातवटा मनाइने गरिन्छ । यहाँ ल्होसार नै तीन चारवटा मनाउने गरिन्छ । गुरुङ, तामाङ, शेर्पा र अन्य केही जातीय समुहको ल्होसार, तमु, सोनाम र ग्याल्बो, ल्होसार । हेलम्बुका ह्योल्मोहरुले सोनाम ल्होसार मनाइरहेको त्यही उच्चतम क्षणमा बिलायौं हामी ।
कार्यतालिका अनुसार भोलिपल्ट हामी बिहानै आमायाङ्री चढ्नु पर्ने भएकोले त्यसैको तयारीमा लाग्यौं ।
बिहान सबेरै उठेर आमायाङ«ीतिरको उकालो लाग्यौं । अघिल्लो दिनको ल्होसारको ह्याङओभरले मलाई छोडेको थिएन । अँध्यारो छउञ्जेल हामी सगसँगै बाटो काट्यौें । जब उज्यालो छरिदै आयो, बाटो सजिलै गरी ठंम्याउन सकिने भयो र म अलि पछिपछि हुँदै गएँ । म पछि हुनुका दुई कारण थिए । एक त ल्होसारको ह्याङओभरले छोडेको थिएन । दोश्रो, बाटो वरिपरि केही सुन्दर पंक्षीहरु देख्नेहेर्ने मेरो मोह ।
हिउँदको समय भएकोले केही रैथानेबाहेक अरु धेरैजसो चराहरु जाडो छल्न न्यानो वासस्थानतिर बसाईँ सरेको र फर्किने समय पनि नभैसकेकोले त्यति धरै चराहरु देखिएनन् । जति थिए, तिनीहरुले पनि आफ्नो सुन्दरता झल्काएकै थिए । त्यसरी सुन्दर क्षणको लयमा म उकालो काटीरहेको थिए भने अमितजी मभन्दा पाँच–सात मिनेटअगाडि आप्mनै लयमा बढ्दै ।
हामी करिब ३२ सय मिटरको हाराहारीमा पुग्दा झुमोथाङ नामको एउटा रमाइलो भञ्ज्याङ भेटियो । त्यहाँ केही साइनबोर्डहरु थिए । र, एउटा लज पनि । हामी एक छिन त्यही सुस्तायौं । साथमा लगेको चकलेट र बिस्कुट खाएर भोक मेटायौं । त्यहाँ केही चराहरु सुनौलो घामको राप र तापसँगै सिरसिरे हावामा कावा खाँदै थिए । रातो कैचीठूडेका एक दुई बथान त्यहाँ आए । चौरलाई छपक्कै ढाके । आप्mनै साम्राज्य जमाए । मनै आनन्द हुने गरी एक रमणीय वातावरणको सुवास फैलाए । त्यस्तै क्षितिजतिर तिलस्मी हिमाली दृश्यहरुले हामीलाई त्यत्तिकै मोहित पार्दै थिए । एक दुई सट् फोटो खिचेर फेरि हामी उकालो लाग्यौं ।
अमितजीको गति पहिलेको भन्दा तीव्र लाग्दै थियो, मेरो लागि । विभिन्न सोचहरु दिमागमा आउन थाले । स्वास्थ्य कमजोर बन्दै थियो । यतिका बर्ष एड्भेञ्चर क्षेत्रमा रहेर जस्तोसुकै अवस्थामा कठिनतम्भन्दा कठिनतम् उकालो र भीरहरु छिचोल्दा पनि केहीजस्तो लाग्दैन्थ्यो तर आमायाङ«ीको यात्रामा भने मलाई कायल पार्यो । केही आराम गरेपछि केही सहज बन्दै गयो । म बिस्तारै उकालो चढ्दै गएँ । दुई सय मिटर जति हिडे उनलाई भेट्न सक्थे ।
अमितजीसँग भेट भयो । त्यसपछि हामी सँगै रमणीय आमायाङ्री डोमेस्टिक टुरिजमको एउटा राम्रो गन्तब्यको रुपमा परिचित हुँदै गएको छ, जसले पुनहिलको जस्तै आभास दिलाउँछ ।को काखैकाख शीरतिर लाग्यौं । भञ्ज्याङदेखि नै रमणीय दृश्यहरुे फैलिदै थियो र शीरमै (लगभग ३८०० मि.) पुगेपछि त लामो श्वासले फोक्सो भरिदा निशब्द भयौं । त्यसै त्यसै त्यहाँको दृश्यहरुको तिलस्मी मादकताले लट्ठ भयौं । बन्दै गरेको मन्दिर र त्यहाँ हावामा फर्फराइरहेका बुद्धमन्त्रसहित पहिराइरहेका झन्डाहरु, हिमालीचाँदीका घेरा, कुलुिम्बयस बादलका आँचलहरुले त्यो ठाउँमा हामीलाई पवित्र र स्वर्गीय आनन्दको आभास दिइरहेका थिए । हामी त्यही अलप भयौं अनि फेरि त्यहीँ आप्mनो अस्तित्व महसुस गर्यौं ।

ह्योल्मोहरुको मनोकाङ्क्षा पुर्याउने देवीको आवास स्थान आमायाङ्री डोमेस्टिक टुरिजमको एउटा राम्रो गन्तब्यको रुपमा परिचित हुँदै गएको छ, जसले पुनहिलको जस्तै आभास दिलाउँछ । काठमाडौंबाट एक दिनको गाडीको यात्रा, त्यसपछि एकदिनको उकालो चढाईमा पुग्न सकिने र चाहेको खण्डमा भोलिपल्ट काठमाडौं आउन पनि सकिने त्यो गन्तव्य ।