जब फुलबारी गेटबाट उकालियो
हाइकिङ
शकुन्तला देवकोटा
टुर गाइड तालिम मसँगै लिएका भाइबहिनीहरु असाध्यै माया गर्छन्, मलाई । म क्लासमा उमेरले सिनियर र पढाईमा भाइबहिनी सिनिएर । हाम्रो दुर्भाग्य तालिम सकिएर काम सुरु हुने बित्तिकै कोभिड नामको भाइरसले मुलुकभर त्रास सुरु भयो । हाम्रो पेशामा पनि कालो बादल लाग्यो ।
कहिले कोभिड सकिएला र सबै साथी मिलेर घुम्ने भनेर भाइबहिनीहरु सम्पर्कमै थिए ।
यही चैत ७ गते शुक्रबार केही भाइबहिनीको साथमा नार्गाजुन (जामाचो) हाइकिङ जाने तयारी गरी बिहान १० बजे फुलबारी गेट भेट्ने सल्लाह गरियो । शुक्रबार अफिस परेकाले जान नपाएको कोहि भाइबहिनीको छुट्टै गुनासो पनि आयो । हाइकिङ भनेपछि कति एक्साइटेड भने भक्तपुरबाट आउने एकजना बहिनीले बिहान ७ः३० मै कल गरी ‘म हिँडे दिदी !’ भनिन् । म दङ्ग !
जब फुलबारी गेटबाट उकालो लागियो, म उकालो भनेपछि डराउने मान्छेलाई पनि सारै रमाइलो भयो । उकालो काटेको थाहा नै भएन किनकी भक्तपुरबाट आएकी बहिनी पुतलीजस्ती राम्री र फ़ुर्तिलो स्वभावकी । र, मलाई जस्तै बोलिरहन पर्ने । यति रमाइलो यात्रा बीचबीचमा थकाई मार्दै, हिड्दै, खाँदै गरियो ।
अशोक सिलवाल सर हाम्रो यो हाइकिङको गेस्ट हुनुहुन्थ्यो । उहाँ टुर गाइडमात्र होइन, पत्रकार पनि भएकोले भाइबहिनीसँग अनेक प्रश्न-उत्तर जस्तो गफ गर्दै हिँड्दा बाटो काटेको पत्तै भएन ।
जामाचो पुग्यौं, सबैले आ-आफ्नो झोला निकालेर आफुले घरबाट बनाएर ल्याएको परिकार बाँड्न थालियो । सारै रमाइलो ! थकाई, भोक अनि मिठो बास्नाको बिर्सन नसकिने परिकार ! रुबि बहिनीले ल्याएकी गुन्द्रुक-भट्मासको अचार, मधु बहिनीले ल्याएकी सेलरोटी अनि सहनाले ल्याएकी मुलाको अचार असाध्यै मीठो । त्यस्तै सम्झनाले ल्याएकी फलफूल । सबै बाँडेर रमाइलोसँग खायौं । अरु पनि थुप्रै परिकार थियो । हामीले पिकनिकको अनुभव पनि गर्यौं ।
बिड्म्बना ! हाम्रो गेस्ट अशोक सरको त्यो दिन ब्रत परेको रहेछ । अलि खल्लो महसुस सबैले गर्यौं । डाँडामा बसेर फलफूल खानु भयो, रमाइलो मानेर ।
त्यसपछि फर्किनु थियो हामीलाई । फर्कंदा सजिलो लाग्छ हिड्न भन्दै गएकी थिएँ । सोचेभन्दा धेरै गाह्रो ओरालोमा । लामो समयसम्म बसेर खाएको सहरमा । एकदिन मस्तसँग ओरालो-उकालो हिँडदा त म बिरामी परेँ । ३-४ दिनसम्म घरको भर्याङ हिँड्न पनि मुस्किल पर्यो ।
यो यात्राबाट राम्रो पाठ सिक्दै अब निरन्तर रुपमा महिनाको दुईचोटि भाइबहिनीसँग हाइकिङ गर्ने सोच्दै छु ।