बारपाकः न्यु भर्सेस् ओल्ड
५७३ घर रहेछ नयाँ वस्तीमा । तर, पुरानै बस्तीमा बस्नेरहेछन् मानिस । कारण- पानी, स्कुल, एक दुई वटा भेडा बाख्रा बाध्ने व्यवस्था नभएको घर, घर वरपर यौटा बोट खुर्सानी लाउन मिल्ने ठाउँको अभाव आदि रहेछन् । एनआरएनले पनि दुखै गरेर कमाएको सम्पत्तिको लगानी हो त्यो । तर, यसरी नै वेवारिसे छाड्ने हो भने केही वर्षमा थोत्रिएर माटोमा मिल्ने देखिन्छ त्यो लगानी ।
ग्राउन्डमा पुग्दाको मार्मिक अनुभुति
गौरी देवकोटा
आँबु खैरेनी स्रस्टा समाजको स्रस्टा सम्मान साथै कृति विमोचन कार्यक्रम थियो चैत्र १४ मा । इच्छुक साँस्कृतिक प्रतिष्ठानबाट जाने साथीहरू १३ गते नै गइसक्नु भएकोले १४ गते म एक्लै जाउँ कि नजाउँ भइरहेको मनलाई चुम्बकले झैँ तानिरहेथ्यो बारपाकले । पर्यटन प्रबर्द्धनको उद्देश्यसहित साहित्यिक सद्भाव यात्रा टोली आँबु खैरेनीबाट १५ गते बारपार हिड्दै थियो र मलाई त्यो यात्रा छुटाउन मन थिएन । त्यसैले निस्किएँ बिहान ६ः३० मा । ठूलाठूला मालवाहक गाडीहरूका जामका कारण नौविसे पुग्न तीन घण्टा लाग्यो । १ बजे कार्यक्रमस्थल पुग्दा भव्य रूपमा शुरु हुँदै थियो कार्यक्रम ।
आँबु खैरेनी स्रस्टा समाजले विगतदेखि नै देशमा सकारात्मक परिवर्तनको लागि योगदान गर्नुहुने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान र प्रतिभाहरूलाई पुरस्कृत गर्दै आएको रहेछ । समाजसेवी र साहित्य प्रेमीहरूद्वारा स्थापित सम्मान तथा पुरस्कारहरूमध्ये साहित्य सम्मानबाट प्रगतिवादी कवि तथा निबन्धकार मित्रलाल पँगेनीलगायत ५ अन्य शिर्षकका व्यक्तित्वलाई नगदसहित सम्मान गर्ने सह्रानीय काम स्रस्टा समाजले गर्यो । प्रा.डा. जगदीशचन्द्र भण्डारीको प्रमुख आथित्यता र वडा अध्यक्षको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्रस्टा सानुकाजी थापाद्वारा सिर्जित अनावरण कृतिको समीक्षासहित लोकार्पण पनि भयो । आँबु खैरेनी स्रस्टा समाजले साहित्यलाई मात्र हैन साहित्य सँगसँगै पर्यटन, शिक्षा, स्वास्थ्य र विकासलाई पनि प्राथमिकतामा राखेर आफ्ना गतिविधिहरूलाई सन्तुलित ढंगबाट अगाडि बढाइरहेको पाइयो जुन अनुशरणीय काम हो ।
कार्यक्रममा आँबुखैरेनी स्रस्टा समाजले गण्डकी प्रदेशको दश धार्मिक पर्यटकीय स्थलमध्ये एक छिम्केश्वरीलाई पर्यटन प्रबर्द्धनका लागि गन्तव्य छिम्केश्वरीको प्रस्ताव गाउँपालिकाको अध्यक्ष गीरबहादुर थापा समक्ष राखेको थियो र सो प्रस्तावलाई अध्यक्षले सम्बोधन गरेपछि हल तालीले गडगडाएको थियो, जुन पर्यटन क्षेत्र र स्थानीयको लागि महत्वपूर्ण साथै खुसीको कुरा थियो ।
साँझ ७ बजे शुभकामना होटलको सानो हलमा काव्य साँझ आयोजना गरिएको थियो । उक्त कार्यक्रममा चितवन, पोखरा, गोरखा, स्याङ्जा र काठमाडौबाट जम्मा हुनुभएका र स्थानीय स्रस्टाहरू गरेर १५ जनाले आ आफ्नो सिर्जना वाचन गर्नु भयो । सिर्जनाहरू राजनीतिक विकृति, वैचारिक विकृति र सामाजिक साँस्कृतिक विकृतिहरू न्युनिकरण गर्ने उद्देश्यसहित अग्रगमनका लागि सङ्घर्षहरू जारी राख्नु पर्ने आवश्यकतामाथि केन्द्रित थिए । काव्य साँझमा संज्ञानको पाटो, उद्देश्यको पाटो र कालिगढको पाटो बोध हुने कविता सुन्दर कविता हुन्छन् भन्दै कवितामाथि समीक्षात्मक मन्तव्य राख्नु भएको थियो वरिष्ठ समालोचक प्रा.डा. ताराकान्त पाण्डेले । सबै सर्जकहरू सिर्जनाको स्वाद लिइरहेका थियौँ तर स्रस्टा समाजका अध्यक्ष अनिल श्रेष्ठ भने हिजैदेखिको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै बारपाकसम्मकै व्यवस्थापनमा व्यस्त हुनुहुन्थ्यो र पनि आफ्नो सिर्जना सुनाउन भ्याउनु भएको थियो । यसले समाज र सिर्जनाप्रति उहाँको लगनशीलता र सद्भाव सहजै झल्काउँथ्यो ।
बिहान सात बजे आँबुखेरेनीबाट बारपाकको लागि हिँडियो । बसमा स्रस्टा, चालक र सहचालक सबै गरेर २९ जना थियौँ, जसमा महिला साथीहरू ९ जना थियौँ । गाडी १० किलोबाट छेपेटार हुँदै दरौँदीको तिरैतिर उत्तर लागेसँगै बारपाक पुग्ने मनहरूको दुरी पनि छोट्टिँदै गइरहेको थियो । अजिरकोटबाट सौरपानीलार्इ दाहिने र जौबारी जाने बाटो देब्रे पारेर साँघुरा र कच्ची सडकमा ठूलो गाडी कुशलताकासाथ बारपाकको लागि अगाडि बढाइरहेथे चालकले । स्रस्टाहरूको अनेक जिज्ञासा मेटाउने प्रयास गरिरहनु भएको थियो यात्राका संयोजक स्रस्टा मोदनाथ मरहट्टा र महेन्द्र मावि कुन्दुनटारका प्रअ गोपाल मरहट्टाले ।
दक्षिण एसियामा फैलिरहेको प्रदुषणले नेपाल पनि छपक्क छोपिरहेथ्यो । प्रदुषणले शहरलाई मात्र हैन हिमाल र कुना कन्दरालाई पनि छोपिरहेथ्यो । घाम तुवालोभित्र मधुरो थियो । स्नानको टर्निङमा ओर्लेर २०७२ मा गएको विनासकारी भुकम्पको इपिसेन्टर सिन्द्रा हेर्ने चेष्टा गरियो तर हाम्रो धोकोलाई पनि तुवालोले नै छोपिदियो । बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट र नेतृ भगवती तिवारी हाम्रो साथमै हुनुहुन्थ्यो १० किलोदेखि । उहाँहरू पनि नयाँ ठाउँमा जाँदै गरेका हामीहरू जस्तै उत्साहित देखिनुहुन्थ्यो, स्रस्टाहरूसँगको नौलो यात्राले ।
खैरेनीबाट तीन घण्टामा पुगियो बारपाक । लालीगुराँससहितको स्वागत ग्रहण गर्दै न्यानो आतिथ्यताका लागि कृतज्ञ थियौ यात्रा टोली । होम स्टेमा खानाको राम्रो व्यवस्था गरिएको रहेछ । खाना खाएर लाप्राक जाने योजना थियो । हामीले लगेको गाडी नजाने भएकोले सानो गाडीको खोजीमा केही अलमल हुन गयो ।
२९०० मिटर उचाइको लाप्राकको नया वस्तीमाथि डाँडामा ओर्लँदा पानी छिटाएथ्यो एकै छिन । पानी परेको भए भोलि विहान आकाश अलि खुल्दो हो तर परेन । डाडाबाट ओर्लँदै गर्दा एनआरएनले निर्माण गरेको नया वस्तीले आँखा तान्थ्यो र खुट्टा टेक्ने ठाउँ हेर्न बिर्सिइन्थ्यो । विभिन्न कोणमा लाप्राकको फोटो खिज्दै वस्ती पसियो । चिटिक्क लाइन मिलाएर बनाइएका रङ्गीन घरहरूको नया वस्ती असाध्यै मनमोहक देखिन्थ्यो टाढाबाट तर वस्ती पसे पछि थाहा भयो मानव विहीन घरहरू कति विरूप हुँदो रहेछ । हिड्दै गर्दा ठुला मान्छेले थुम्से भरी र साना नानी बाबुहरूले आधा थुम्से जम्बो बोतल बोकेर वस्तीको बीचतिर पानीको लागि हिडिरहेकाहरू भेटिए । अम्बिका मुडवरी जी ले सोध्नुभयो, दिदी यहाँ किन मान्छे नबसेको ?
उत्तर थियो, ‘ह्या के खाएर बस्ने ? हामी त ऊ … तल बस्छौँ । कोही बस्दैन यता म पनि स्कुल पढाउन मात्रै बसेको ।’
‘कता छ त स्कुल ?’
‘ऊ उता छ’, भनेर दक्षिण पश्चिम देखाउँदै उनी अगाडि बढिन् । उनकै पछि लागे साना नानीहरू । साथीहरू निकै तल पुगिसकेथे र हान्नियौँ हामी पनि ओरालो ।
५७३ घर रहेछ नयाँ वस्तीमा । तर, पुरानै बस्तीमा बस्नेरहेछन् मानिस । कारण- पानी, स्कुल, एक दुई वटा भेडा बाख्रा बाध्ने व्यवस्था नभएको घर, घर वरपर यौटा बोट खुर्सानी लाउन मिल्ने ठाउँको अभाव आदि रहेछन् । एनआरएनले पनि दुखै गरेर कमाएको सम्पत्तिको लगानी हो त्यो । तर, यसरी नै वेवारिसे छाड्ने हो भने केही वर्षमा थोत्रिएर माटोमा मिल्ने देखिन्छ त्यो लगानी । गाउँपालिकाको या एनआरएनको सोच र योजना त थाहा भएन । मलाइ भने लागिरह्यो, ‘उपयुक्त मौसमभरी दैनिक ठूलो संख्यामा घुम्न आउँछन् मान्छेहरू बारपाक र लाप्राक । यो सिर्जनालाई सदुपयोग गर्दै बरू गाउँपालिका वा वडाले होम स्टे चलाए यौटा राम्रो आयस्रोत हुन्थ्यो र त्यसैले अन्य पुर्वाधार थप्न सकिन्थ्यो ।’
भूकम्पको प्वाइन्ट जाने बाटो छोडेर हामी पुरानो वस्तीतिर लाग्यौँ । वस्ती निकै तल रहेछ । माथि डाडाबाटै वस्ती नियाल्यौँ । फोटाहरू लियौँ । पत्रकार साथीहरू आन्तरिक पर्यटकहरूको छोटाछोटा अन्तरवार्तामा लाग्नु भयो । पुरानो वस्तीका छाप्राहरू सजिव थिए । लाप्राकमै कार्यरत शिक्षक खगेश्वर सापकोटाले वस्तुस्थिति बताइरहनु भएथ्यो । साना तिना घरहरूको आडमा अस्वभाविक नया भव्य घर देखाउदै भन्नुभयो ऊ त्यो सत्तरी सालमा सत्तरी लाखमा बनेको घर हो । त्यस घरमा काठमाडौमा नपाउने चिज पनि पाइन्छ । त्यो सुपर मार्केट हो । हामीलाई पनि अनौठो लाग्यो र सोध्यौँ, अनि त्याँ किन्ने हुन्छन् त ? त्यहाँ किन्नेहरू पनि छन् नि । अन्यौल भयो यो दुखको पहाड हो या सौखिन उपभोक्ताको ?
हामीसँग समय थोरै थियो । साँझ कार्यक्रम गर्ने योजना पनि थियो र फर्कियौँ तर बारपाक आइपुग्दा धेरै ढिला भैसकेको थियो । फागुपुर्णेको रमझममा थियो दिनभर बारपाक । साँझ हाम्रो कार्यक्रममा स्थानीयको उपस्थित हुने छाँटकाँट नदेखिएपछि र हामी पनि थाकिसकेकोले भोलि पाल्खुमा मात्रै कार्यक्रम गर्ने मनस्थितिमा पुग्यौँ । तय गरेको बेलुकाको साहित्यिक कार्यक्रम हुन भने सकेन तर बारपाक पुगेपछि लाप्राक पुग्नै उपयुक्त थियो र गइयो पनि । बेलुका कार्यक्रम गर्न नपाए पनि लाप्राक घुम्न पाएकोमा नै सबै सन्तोष मानिरहेथ्यौँ । बारपाकबाट लाप्राक आउजाउ गर्ने तीन घण्टाको ढुङ्गे कच्ची सडकमा थिलथिलो भएको शरीर लिएर हामी महिला साथीहरूको लागि तयार पारेको यौटा ठूलो कोठमा पस्दा आठ बजेथ्यो । सुत्दा एघार बज्यो । यसबीचमा अत्यन्तै उपयोगी साँस्कृतिक परिवर्तनका कुराकानीहरू भए । आआफ्ना ठाउँका भिन्नाभिन्नै चलनहरू कति उपयुक्त र अनुपयुक्त थिए समीक्षा भए । एक अर्काका सिर्जना सुनियो । घर परिवारबारे अन्तरङ गफ गरियो । हामीहरू एक अर्कामा प्राय अन्जान नै थियौँ तर त्यो तीन घण्टामा वर्षौँदेखिका साथी जस्ता भयौँ ।
बिहान सात बजे कोटतर्फ उक्लियौँ । वातावरण मान्छेको मारमा नपरेको भए त्यहाँबाट वरपरका थुप्रै रमणीय दृष्यहरू देखिने रहेछ । कोटदेवी परिसरमा भेटिनु भएका पाका व्यक्तिहरू भन्दै हुनुहुन्थ्यो, सबै छेक्किहाल्यो के हेर्नु हुन्छ खै ? केही कुराकानीमै उहाँहरूको मन दुखाइ पनि पहिल्यायौँ । बाटो नबन्दासम्म यहीँको उब्जा खान्थ्यौँ, यहीँको ढुङ्मा माटाले घर बनाउँथ्यौँ । बाटो बन्यो बाटो सँगै सबैको सुख आयो । काम गर्नि ठाममा घर बन्यो । खाने कुरा आगनमा आइपुग्यो । आलु प्याज समेत किनेर खान्छ अहिले यहाँको मान्छे । कुरा सान्दर्भिक थियो र मार्मिक पनि । बाटोले विकास गर्यो या विनास ? गम्भीर प्रश्न फेरि उब्जियो ।
हामी काठमाडौ पुग्नु थियो । उनीहरूसँग मन भएर पनि कुरा गर्ने समय थिएन । कोटदेवीबाट हेर्दा देखिने मनमोहक दृष्यावलोकनलाई कल्पनामा सिमित गर्दै धुम्म परेको तुँवालोभित्र केही बेर चुकचुकायौँ । सामिप्यको बुद्ध हिमाल र अरू सानासाना हिमाली दृश्यलाई तुँवालोले ढाकेर देख्न देखाउन नपाएकोमा थकथकाउदै हुनुहुन्थ्यो यात्राको व्यवस्थापन गर्नुहुने स्रस्टा अनिल श्रेष्ठ पनि । बुद्धपार्कबाट ओर्लदै गर्दा स्थानीय दिदी बैनीहरूले जिज्ञासा राख्नु भयो, ‘कहाँ बस्नु भाको नि ?
भन्यौँ, ‘तल स्कुल नजिक होम स्टेमा ।’
‘हामीसँग पनि छ नि होम स्टे ।’
‘हामी धेरै जना थियौ । त्यहाँ ठूलो रहेछ अनि ।’
ती बैनीले भनिन्- ‘हाम्रो ८० जना बस्ने होम स्टे छ ।’
‘ए, हो र ? आज त फर्किन्छौँ । फेरि आयौँ भने तपाईंकाँ आउछौँ नि ।’
नेताको शैलीमा अनिश्चिचत आश्वासन किन दिएँ हुँला ? मनमनै भन्दै थिएँ । भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको र बन्दै गरेको भुकम्प स्मारक आइपुगेछ । मोबाइलले क्लिक गर्दै निर्धारित समयमा हाजिर भइयो टोलीमा ।
ठीक आठ बजे बारपाकबाट हिड्यो गाडी । हुँडी फाँटको कुनामा रहेको सीता गुफा हेरियो । अत्यन्तै राम्रा राम्रा कुँदेका जस्ता आकृतिले सजिएको सीता गुफा फुर्सदले हेर्न भने भ्याइएन । बत्तीको व्यवस्था पनि नभएकोले मोवाइल बालेर झल्याकझुलुक हेरियो । सुने अनुसार बीचमा घस्रेर जानु पर्ने गुफा आरुघाट निस्किन्छ रे । हो, होइन अध्ययन अनुसन्धानको पाटो रह्यो । तथ्यसहितको प्रचार प्रसार र प्रबर्द्धन हुन सके सीता गुफा पनि ठूलो सम्भावना भएको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हुनसक्ने चाहिँ निश्चित रहेछ ।
घुन्चोक सौरपानी हुदै पाल्खु पुगेर रोकियौँ, जहाँ बारपाक सुलिकोट गाउँपालिकाले हाम्रो लागि खानाको व्यवस्था गरेको थियो । मेरो माइती गाउँको खाना । अरूलाई त उस्तै लाग्यो होला तर मेरो लागि भने अनमोल स्वादको थियो । वरिपरि घुमेर हेरियो, सूर्यज्योति स्कुल नजिकै बन्दै गरेको गाउँपालिकाको भव्य भवन देख्दा लाग्थ्यो, गाउँसम्म सिंहदरबार भनेको यही रहेछ । बारपाक भन्दा माथिदेखिका जनाताले पाउने अपायक सुविधा अनुमान लगाउन गाह्रो थिएन । तुवाँलो उस्तै थियो । ताकुकोट र सुलिकोटसम्म पनि देख्न सकिएन । गाउँपालिका हलमा छोटो परिचयसहितको दुई कविता प्रस्तुत भयो । स्थानीय प्रतिनिधि र यात्राका प्रतिनिधिहरूबाट सद्भावपूर्ण मन्तव्यहरू अभिव्यक्त भए । जनयुद्धका पहिलो सहिद शिक्षक गुणनीधि देवकोटा र आशाकाजी श्रेष्ठसहित दस जना विद्यार्थीले सहादत गरेको स्कुल सूर्यज्योतिका तत्कालीन शिक्षक उदय देवकोटाबाट सूर्यज्योतिदेखि जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेलसम्मका घटनालाई सटिकमा सम्झाउनु भयो । साह्रै सुन्दर र अर्थपूर्ण भयो कार्यक्रम । वर्षौँपछि पुगेको म आफूले क ख चिनेको स्कुल टेक्नै थियो । हतार हतार गइयो सूर्यज्योतितर्फ । केही फोटा खिचियो र समायौँ गाडी । बाहाकोट कटे पछि मैलुङ देखिन्थ्यो । एकैछिन गाडि रोक्न भनेँ । अम्बिकाजीले मैलुङलाई पृष्ठभूमि बनाएर फोटो लिइदिनु भयो । मैलुङ पनि तुवाँलोमै रूमलिरहेथ्यो । बढ्यौँ अगाडि । दिलबहादुर रम्तेलको स्मृतिमा बन्ने पार्कस्थल हेर्न एकै छिन ओर्लियौँ । योजना अल्लि अगिदेखिकै भए पनि कामको शुरूवात केही रहेनछ । बुझ्ने बझाउने समय र व्यक्ति भएन । चढ्यौँ गाडी । गैरीछापबाट तल मामाली गाउँ नियाल्ने दुस्प्रयास गरेँ तर जित्यो तुँवालोले । मामाघर जाने बाटो कटियो । घ्याम्पेसाल कटियो शहिदहरूको बञ्जारा गाउँ पारी तुवाँलो मै छोप्पिइरहेथ्यो । अन्जान विरही र शिव श्रेष्ठको गाउँ रिठ्ठेपानी पनि कटियो ।
नेपाल सरकारले पहिलो पटक घोषणा गरेको १९ वटा नमूना माविमध्ये एक गोरखाको पहिलो महेन्द्र मावि, कुन्दुनटारका प्रधानाध्यापक गोपाल मरहट्टाले साथीहरूको आवश्यकतालाई अन्तरबोध गरी दस मिनेट मात्रै भन्दै स्कुलमा भित्र्याउनु भयो । स्कुलका शिक्षक शिक्षिकाहरूले सद्भावकासाथ चिया बिस्कुटले स्वागत गर्नुभयो र चिया सकिँदा समय अभावका कारण स्कुल र शिक्षक शिक्षिकाहरूको सामान्य परिचय पनि सक्काइयो । ६ बज्दै थियो । आँबु खैरेनीबाट हामीले आआफ्नो जिल्लातिरको बाटो समात्यौँ । कवि मित्रलाल पँगेनी र नर्मदाजी भोलि मात्रै आउने कुरा भयो र काठमाडौ आउने प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रा.डा. ताराकान्त पाण्डे, स्रस्टा शिला योगी र म यात्राको समीक्षा गर्दै आठ बजे उपत्यका आइपुग्यौँ ।
बारपाकमा घुम्दै गर्दा देख्न त ढुङ्गेधारामा भेडाको रौँ कुटिरहेका पनि देख्यौँ । ऊन कातिरहेका महिलाहरू पनि भेट्यौँ र आफ्नो भेषभुसामा रमाइलो गरिरहेका स्थानीयहरूको जमघट पनि हेर्यौँ तर मेरो मनमा भने विशेष गरेर घलेहरूको बाहुल्यता रहेको बाक्लो वस्ती र ठुल्ठुला चिल्ला ढुङ्गाले छाएको बारपाक लाप्राकको सौन्दर्यलाई कंक्रीटले विद्रुप पारेकामा नमीठो भाव अहिले पनि आइरहेछ ।
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । लेख्नुस् कविता, कथा वा निबन्ध र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)