पर्यटनको भित्तामा भिटोफको अनुहार

सन्दर्भः भिटोफ निर्वाचन

राजेन्द्रमान डंगोल

२०५४ सालमा स्थापित भएर अनगिन्ती आरोह–अवरोह पार गर्दै आजका दिनसम्म आइपुग्दा ग्रामीण पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ)ले सामाजिक रूपमा एउटा उचाइ मात्र हाँसिल गरेको छैन, यसले पर्यटनसँग सम्बन्धित अन्य संस्थाहरूभन्दा पृथक मूल्य र मान्यतालाई पनि स्थापित गर्न सफल भएको छ ।

हरेक दुई–दुई वर्षमा नेतृत्व परिवर्तन हुने परम्पराअनुसार यही चैत्र २० गते कार्यसमिति निर्वाचन पनि हुँदै छ । वार्षिक साधारण सभा भिटोफको इतिहास र भविष्यलाई प्रतिबिम्बित गर्ने ऐनामात्र होइन, यसको सुदुर भविष्य जोड्ने निरन्तरताको क्रम पनि हो । सम्पूर्ण व्यवसायीका व्यवसायिक हक हित र सह–अस्तित्वका खातिर स्वयम् भिटोफले परिलक्षित गरेका लक्षहरू हाँसिल गर्दै सुदूर भविष्यतर्फ अगाडि बढ्नका लागि उमङ्गका पाइला उठान गर्ने शुभमुहर्त पनि हो यो दिन ।

भिटोफका त्यस्ता थुप्रै इस्यु, एजेन्डा र जिम्मेवारीहरू पनि छन्, जसलाई यसको भावी नेतृत्वले समेट्न र सम्बोधन गर्न सक्नुपर्दछ । भिटोफका लक्ष्य र परिकल्पनाहरूसँग सम्बन्धित समस्याहरू, नयाँ गन्तव्य पहिचान एवम् प्रबर्ध्दनात्मक र बजारीकरणका गतिविधिहरू फेरि पनि सरोकारका विषयहरू हुन् । भिटोफलाई अझ उन्नत, अनुशासित, व्यवस्थित र गरिमामय बनाउनु, विगतको पृष्ठभुमि र वर्तमानको वास्तविकतालाई आत्मसात गर्दै समयअनुरूप यसका तमाम उदेश्यहरूका दायरालाई फराकिलो पार्दै लानु पनि अर्को आवश्यकता हो ।

संस्थालाई सफलताको शिखर आरोहण गराउने वा असफलताको रसातलमा पु-याउने भन्ने कुरा नेतृत्वले निर्वाह गरेको भुमिका, उनीहरूको कार्यशैली र उनीहरूमा भएको परिदृश्य, संस्थाप्रतिको लगाव र जिम्मेवारी बोध आदीमा भरपर्छ । संस्थाको नेतृत्व सम्हाल्नु आफैँमा चुनौतिको विषय हो । भिटोफमा साच्चिकै नेतृत्वदायी भुमिका निर्वाह गर्नसक्ने व्यक्तिको अभाव छ । त्यसैले पनि सरोकारवालाहरू त्यस्तो नेतृत्वको पर्खाइमा छन्, जसले वर्तमान चुनौति र अवसरहरूलाई पहिचान गरेर नेपालको ग्रामीण पर्यटन विकासका लागि ठोस योगदान पु-याउदै भिटोफलाई चलायमान संस्थाको रूपमा स्थापित गर्न सकोस् ।

भिटोफको आगामी नेतृत्वको सवाल कसैको रहर वा बाध्यताभन्दा पनि कुन व्यक्ति वर्तमान अवस्थाको भिटोफलाई आवश्यक छ भन्ने कुरा आँकलन गर्न सक्नुमा हाम्रो बुद्धिमानी हुन्छ । छापाहरूमा जोजसका नामहरू आएको भएता पनि पर्यटन उद्योगलाई बुझेको, अनुभवी, भिटोफको मर्म र भावनालाई आत्मसात गर्नसक्ने व्यक्ति आगामी नेतृत्वको सही विकल्प हुन्छ । हामी चाहन्छौँ– अबका भिटोफ राजनैतिक रङ र गन्धविहीन होस् । हामी चाहन्छौँ– भिटोफमा एउटा स्वाभिमानी इतिहास भर्न हामी सवै समर्पित हुन सकौँ । प्रतिस्पर्धामा कसैको हार वा जित आ–आफ्नै ठाउँमा रहला तर फेरि दोहरिने ग्लानीपूर्ण इतिहास सिङगो भिटोफको निमित्त दुर्भाग्य हुन सक्दछ । हामी भिटोफका सम्पूर्ण सदस्यहरू सजग भई सबैले सहीे विवेक प्रयोग गर्ने यो एउटा सुन्दर अवसर हो ।

भिटोफको सदस्य हुनुको नाताले निश्चय पनि निर्वाचनको सवालमा हामी चासो नराखिरहन सक्दैनौँ । तर विडम्बना, एउटा भयानक विपत्तिपछि नाजुक अवस्थामा पुगेको नेपालको ग्रमीणको पर्यटनको साख जोगाउन भिटोफको चूनौतिपूर्ण आगत रहेको यथास्थितिमा परस्पर सहयोग समझदारीको भावना अभिवृद्धि गर्दै एकजुट भई अगाडि बढ्नुपर्ने यस घडीमा पनि हामी समूह–समूहमा विभाजित भएर चुनावी मैदानमा उत्रेका छौँ । हारजितका खेलका लागि हामी फेरि समय र शक्ति लाखौँ रूपैयाँ खर्च गर्दैछौँ । यसरी हामी उही सनातन परम्पराको पुनरावृति गरिरहेका छौँ । अभिशापपूर्ण विगतलाई मेट्न समर्पित हुनुको साटो हामी फेरि उही प्रवृत्तिलाई दोहो-याइरहेका छौँ । हामी सत्ताको आड लिएर आफ्नै साथीहरूमाथि निषेधको राजनीति गरिरहेका छौँ । वास्तवमा हामी आफ्नै छाता सङ्गठनको अट्टहास गरिरहेका छौँ ।

हात्तीको देखाउने र चपाउने दाँत झैँ देखाउने र चपाउने दाँतहरू छन् पर्यटन क्षेत्रमा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल ट्रेकिङ एन्ड टुर एसोसिएसन (नाट्टा), नेपाल पर्वतारोहण संघ(एनएमए), नेपाल एसोसिएसान अफ -याफ्टि एजेन्ट्स (नारा)लगायतका संस्थाहरू व्यवसायिक संस्थाका रूपमा अस्तित्वमा छन् । तिनै संस्थाका सदस्यहरूको अर्को एउटा साझा संस्था हो– ग्रामीण पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) । अर्थात् भिटोफ देखाउने दाँतमध्येकै एक हो ।

जाति विशेषसँग सम्बन्धित एक–दुई संस्थाबाहेक नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघ, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी मञ्च र नेपाल पर्यटन परिषदजस्ता संगठनहरू राजनीतिक दल विशेषलाई प्रतिबिम्बित गर्ने संगठनहरू हुन् । यी हुन्– चपाउने दाँत ।

चैत २० को प्रतिक्षा गर्दै गर्दा एक खालको तरङ्ग उठिसकेको देखिन्छ । केही छापाले केही व्यक्ति विशेषलाई ‘भिटोफको आगामी नेतृत्वको दाबेदार’ भनेर समाचार सम्प्रेषण गर्दै गर्दा चपाउने दाँतहरूका बीचमा प्रतिस्पर्धा हुन गइरहेको प्रतीत हुन्छ । अझ विडम्बना त केहो भने– चपाउने दाँतहरूकै बीचमा पनि तीव्र अन्तरसङ्घर्ष चल्छ ।

टान, एनएमए र नाट्टामा जस्तै भिटोफको निर्वाचन पनि राजनीतिक दलको इज्जतसित गाँसिन पुग्यो । त्यसैलाई हामीले व्यवसायिक जीवनको सफलता ठान्न थाल्यौँ । नेतृत्वको लागि हुने हामीबीचका लडाइँहरूमा आफ्ना नेताको आशीर्वाद थाप्ने अनौठो परम्पराको सुरूवात ग-यौँ । अस्वाभाविक राजनितिक वर्चस्व कायम गर्ने प्रतिस्पर्धामा हामीले आफ्ना आस्था र विचारकै आधारमा मत जाहेर गर्ने परिपाटी बसाल्यौँ ।

भिटोफका यावत इस्यु र एजेन्डाहरूलाई उठान गर्न सक्ने, तिनको व्याख्या र विश्लेशण गर्न सक्ने, भिटोफको भविष्यलाई उज्यालो पार्न सक्ने दूरदर्शीता भएका नेतृत्वका लागि लायक सदस्यहरू सँधै ओझेलमा परेका छन् । ‘मै खाऊँ, मै लाऊँ, सब सुख सयल वा मोज मै गरूँ’ भन्ने सोच र प्रवृत्तिले हामीमा गहिरो जरा गाडेको छ ।

हामी व्यवसायीहरू कतातिर गइरहेका छौँ त ? कस्तो खेल खैल्दै छौँ ? कस्तो इतिहास रच्दै छौँ ? के हामी स्वाभिमानको पाइला उठाएर हामी आफ्नो कर्म क्षेत्रमा स्वतःको गौरवपूर्ण गीत सुसेल्न सकिरहेका छौँ ? हामीले ग्रहण गरेको विचारलाई हामी आफैले गलत ढङ्गले प्रयोग गरिहेका त छैनौँ ? फेरि पनि विडम्बना ! हामीहरू नै भनिरहेका छौँ– संस्थामा दलीय राजनीति हावी भयो भनेर । हामी यो पनि भनिरहेका छौँ– कि नेतृत्व पूर्णरूपमा व्यवसायीक हुनुपर्छ भनेर । राजनीतिक दलको बिल्ला भिरेर निर्वाचनको मैदानमा उभिएका हामीहरूले दिने नेतृत्व कस्तो होला ? के यसरी संस्थालाई उन्नत, अनुशासित, व्यवस्थित र गरिमामय बनाउन सक्छौ त ? स्वतन्त्र मतदाताका यी यावत प्रश्नहरू हाम्रै सामु तेर्सिएका छन् ।

वास्तवमा ‘पर्यटन’ शब्दलाई आत्मसात गर्ने हो भने देखाउने दाँतहरू मात्र नै काफी छन् । चपाउने दाँतहरूको आवश्यकता र औचित्य छैन ।

दूरदर्शिता, नीतिगत व्यवसायिक चिन्तन र सोचका बिचमा प्रतिस्पर्धा हुँदा मात्र भिटोफको भविष्य उज्जल हुनसक्छ र भिटोफको सौम्य इतिहासमा लागेका दागहरू मेट्न सकिन्छ । भिटोफमात्र होइन व्यवसायिक सस्थालाई माथि उठाउन खोज्ने चेतनशील मन र सिर्जनशील हातहरू अब अलिकति कठोर बन्नु पर्छ ।

(लेखक डंगोल भिटोफका पूर्व कोषाध्यक्ष हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button