गाइडः १ बर्ष नाघ्यो विदेशीको अनुहार देख्न नपाएको
नियमित स्तम्भमा गाइडमा नेपालनाम्चा प्रस्तुत गर्छ, ट्रेकिङ गाइडिङ दिल गुरुङ ।
कहिलेदेखि ट्रेकिङ गाइडिङ सुरु गर्नुभयो ? र, किन र कसरी सुरु भयो यो यात्रा ?
म पर्यटन मजदुरको रुपमा २००४ मा यो क्षेत्रमा प्रवेश गरेको हुँ । मेरो बाबा हिमाल चढने काम गर्नु हुन्थ्यो । हिमालबाट फर्केपछि बाबासँग भलाकुसारी हुन्थ्यो । बाबासँग अंग्रेजीमा बोल्ने प्रयास गर्थें । बाबाले हिमालबाट छोराछोरीलाई भनेर मायाले ल्याएको चकलेट पाउँदा उत्साहित हुन्थेँ अनि हिमालमा प्रयोग हुने इकुपमेन्ट देखेर दंग पर्थें । हिमाल कस्तो होला ? कसरी चढ्छन् होला ? विदेशीहरु कस्तो होलान् ? कौतुहल हुन्थेँ । ठुलो भएपछि म पनि बाबाले जस्तै हिमाल चढछु, धेरै पैसा कमाउँछु भनेर सपना बुन्थेँ । प्राय दिनैपिच्छे बाबाले हिमाल चढ्दाका रमाइलो र कष्टकर अनुभव कथाजसरी सुनाउनु हुन्थ्यो । रमाइलो ठाउँ, त्यहाँको धर्म, जाती, भेषभुषा आदिको पनि बयान गर्नु हुन्थ्यो । बाबाको काम र अनुभव सुनेर पर्यटन क्षेत्रमा लाग्छु भनेर प्रेरित भएँ । २०४० तिर धादिङबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति हुनु हुन्थ्यो मेरो बाबा ।
पर्यटन क्षेत्रमा लागेर अहिलेको यो अवस्थासम्म आउनुको पहिलो श्रेयय बाबालाई दिन चाहन्छु ।
खासमा यो गाइडिङ भनेको के हो ?
ट्रेकिङ जादा विदेशी पाहुनाहरुको लागि गास, बास, कपासको बन्दोबस्त गर्ने र त्यहाँ भएको प्रकृति, जातजाती, धर्म, संस्कृतिको विशेषता पहिचान गराउने, निश्चित गन्तव्यामा पुराएर सुरक्षित यात्रा गराउने जिम्मेवारी बहन गर्नु नै गाइडिङ हो ।
झट्ट हेर्दा गाइडिङ भनेको फन् जस्तो लाग्छ । तर, के यो फन् मात्रै हो त ?
आफुसँग गएका पाहुना प्रमुख गन्तव्या पुगेपछि जब ग्रुप फोटो खिचिन्छ, त्यतिबेला खुशीको सीमै हुँदैन । ट्रेकिङ जाँदा रमाइलो मात्रै नभएर सिक्ने र सिकाउने प्रकृया पनि हुन्छ ।
असल गाइडमा हुनुपर्ने पाँच गुण के हुन् ?
१. ह्रस्टपुस्ट प्लस निरोगी २. तालिम प्राप्त (सम्बन्धित काममा दक्ष) ३. जिम्मेवार ४. हेल्पफुल (फ्रेन्डली) ५. विदेशी भाषा र संस्कृतिको ज्ञान ।
गाइडिङ गर्दाका केही सम्झनायोग्य प्रसंग होलान् । सम्झनुस्न् ।
सवै पाहुनासँग राम्रो मित्रता रहयो तर सबैभन्दा बढी सम्झनलायक आइल्यान्ड पिक चढ्दाको छ । चस्माले काम नगर्दा आखाँ देख्न छाड्यो । आइस क्लाइबिङ गर्ने आधी बाटोबाट फर्कंदा चिप्लिएँ र म खरपासमा झुन्डिन पुगेछु । किनभने, मसँग ओरालो झर्दा प्रयोग हुने फिङगर ऐट साथीले अगाडि टपमै पुराइदिएछ। बिना ज्ञान, साधन र सुरक्षित बाटो नअपनाई पटमुर्ख तरिकाले हुँदैन रहेछ भन्ने ज्ञान सिकियो । त्यो क्षण अविस्माणिय ।
गाइड हुनुअघि र गाइड भइसकेपछि तपाईंले आफैले आफैलाई कस्तो फरक पाउनु भयो ?
गाइड बन्नुअघि अरुको अन्डरमा हिडनु पर्थ्यो । फिजिकल्ली हार्डवर्क गर्नु पर्थ्यो । बेलुका क्याम्पमा पुगेपछि आनन्दले निदाउन सकिन्थ्यो । तर, गाइड बनेपछि जिम्मेवारी थपिदो रहेछ । २४ घन्टा ड्युटी गरेको महसुस हुन्छ । आफुसँग गएका विदेशी पाहुना र भरिया साथी विरामी नपरुन्, सकुसल गन्तव्यमा पुगेर फर्किन पाइयोस्, विदेशी पाहुनालाई आफनो कामबाट खुशी बनाउन सकियोस् भनेर भगवान गुहारिरहन्छु ।
अहिले कोभिडक्रमले तपाईहरुको पेसा त चौपट्टै भयो । व्यवहार र दिनहरु कसरी बितिरहेका छन् ?
१ बर्ष नाघ्यो विदेशीको अनुहार देख्न नपाएको । अरु पेसा रोजौं भने लगानी छैन । र, यो पेशाबाट विस्थापित होला भन्ने डर लागिरहेको छ । कहिलेकाहीँ गाउमा खेतीकिसानी गर्न सघाएको छु । परिवार यतै भएकोले प्राय काठमाडौं नै बसेको छु । विदेशी पाहुना कहिले आउला र कोरोना कहिले परास्त होला भन्दै साथीभाईसँग चियागफ हुन्छ । आजकालको राजनिती परिवेशबारे धेरै छलफल हुन्छ साथीभाइको तर मेरो इन्ट्रेस्ट छैन ।
पेशासँग खुशी हुनुहुन्छ ?
खुशी थिएँ । यो कोरोनाले चौपट भयो ।
नयाँ आउने गाइडहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
आफुले नजानी, नबुझी अरुको ‘लै लै’मा लागेर ‘बाटो देखाउने काम त हो, सकिन्छ’ भनेर हेलचेक्राईं नगर्नुस् । सम्बधित विषयमा तालिम लिनुस् । भाषा सिक्नुस् । नेपालको धर्म संस्कृति भाषा जातजाती र प्रकृति र हिस्टोरिकल साइटहरुको बारेमा अध्यन गर्नुस् । र, आफुसँग गएका पाहुनाको धर्मसंस्कृतिको सम्मान गर्नुस् ।
जिम्मेवार बनेर आदरसत्कार गरी आफु खुशी रहेको आफ्नो पाहुनाहरु समक्ष देखाउनुस् ।
अन्त्यमा केही विशेष भन्नु छ भने भन्नु होस् ।
के भन्नु र खै ? पर्यटनसँग सम्बन्धित संघसंस्थाहरु नाम मात्रैका भए । व्यवसायी र मेजदुरको हित हुने कुनै नियम बनाउन सकेनन् । राजनिती गर्ने र आफ्नो पहुँच देखाउने काम मात्रै भयो ।