गाइड: हिउँ र आँधीले चुटेका पलहरु संगाले पुस्तक बन्छ
सुरुमा भरिया भएर हेलम्बु गए, पछि त ट्रेकिङ गाइड भएर नेपालका अधिकाँश हिमाली क्षेत्र घुमे । र, घुमिरहकै छन् । पछिल्लो समय नाथममा ट्रेकिङ गाइडलाई ट्रेकिङ पढाउँछन् पनि । नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ गाइडमा जयनाथ भन्डारी ।
तपाईं ट्रेकिङ गाइड । कहिलेखि गाइडिङ सुरु गर्नुभयो ?
मेरो पथप्रदर्शन कार्यको शुरुवात सन् १९९३ तिर भएको हो ।
र, किन र कसरी सुरु भयो यो यात्रा ?
बेरोजगार हुँदा आफन्त र साथीहरुले यो गर त्यो गर भनेर अर्ति दिन्थे तर मेरो हृदयले स्वीकार गर्न सकेन । किनकि मेरो स्वभाव कसैको अधिनमा वा दवावमा काम गर्ने खालको हैन, स्वतन्त्र र आफ्नो आत्मसम्मानमा ठेस नलाग्ने काम गर्ने चाहना थियो । त्यस्तै कामको खोजीमा देशका विभिन्न भागमा पुगेँ । त्यसै सिलसिलामा भौंतारिंदै काठमाडौं आइपुगेँ । एउटै पार्टीका चिनजानका साथीहरुको माध्यमबाट दिपक महतसँग भेट भयो, जुनबेला माउन्ट सिँहलिलाबाट थर्डपोल ट्रेक्स एण्ड एक्किपडिसन बन्दैथियो । उहाँले पर्यटक आउनासाथ मलाई काम दिने विश्वास दिलाउनु भयो । त्यही बर्षको मार्चमा भरियाको रुपमा म हेलम्बु पदयात्रामा सामेल भएँ । केही समय म भरियाकै रुपमा काम गर्दै गएँ । विदेशी पाहुनासँग निर्धक्क बोल्न सक्ने र परम्परागत पदयात्रा क्षेत्रबारे पर्याप्त जानकारी भएपछि गााइडमा पदोन्नति भएँ । त्यहीबाट मेरो पदयात्रा जीवन शुरु भयो । त्यो बेलादेखि अहिलेसम्म हाम्रो सहयात्रा चलिरहेको छ ।
खासमा यो गाइडिङ भनेको के हो ?
गाइडिङको अर्थ धेरै लाग्छ तर पर्यटन क्षेत्रमा पथप्रदर्शन (गाइडिङ) भनेको पदयात्री या पर्यटकलाई गन्तब्य क्षेत्रबारे आवश्यक जानकारी प्रदान गराउदै सुरक्षितपूर्वक उनीहरुको होलिडे वा यात्रा सफलतापूर्वक सम्पन्न गराउन नेतृत्व प्रदान गर्नु हो । यो भनेको यात्रा अवधिभर होस् वा यात्रापश्चात पनि आफ्नो देशमा रहेका पर्यटकीय आकर्षणहरुबारे जानकारी गराई देशको राजदुतले जस्तै भूमिका खेल्दै देशभित्र अधिकाधिक पर्यटकहरु भित्र्याउन देशलाई सहयोग गर्नु पनि हो ।
झट्ट हेर्दा गाइडिङ भनेको फन् जस्तो लाग्छ । तर, के यो फन् मात्रै हो त ?
हो, झट्ट वा सरसर्ती हेर्दा रमाईलो जस्तो लागे पनि धेरै संवेदनशिल र जिम्मेवारीपूर्ण हन्छ यो पेशा । यात्राको तयारीदेखि सम्पन्न गर्दासम्म गाइडले धेरै जिम्मेवारीहरु पुरा गर्नुपर्ने हुन्छ । पर्यटकलाई कुनै पनि जोखिमबाट जोगाउनु, सुरक्षित यात्रा तय गर्नु र यात्रा सम्झनालायक र पर्यटकलाई सन्तुष्ट बनाउनु । यस्तो पूर्ण जिम्मेवारी असल पथप्रर्दशकले मात्र गर्न सक्छ ।
असल गाइडमा हुनुपर्ने पाँच गुण के हुन् ?
पेशागत विषयबस्तुमा जानकार र जानकारी दिन दक्ष, इमान्दर, समयनिष्ठ, जोखिम तथा समस्या समाधान गरी मनोरञ्जन दिन सक्ने र सक्षम नेतृत्वकर्ता । मेरो मतलब, असल गाइड त्यो हो, जोसँग यी गुण हुन्छन्, समयनिष्ठता, इमान्दारीता, सञ्चारज्ञान (सूचना सूचित गराउने शैली वा ज्ञान), नेतृत्वज्ञान वा दक्षता, बिषयबस्तुको ज्ञान र पाहुनालाई मनोरञ्जन दिलाउन सक्ने सीप । यदि उपर्युक्त गुण वा सीप भएन भने कोही पनि असल गाइड (पथप्रदर्शक) हुनसक्दैन । उचयाभककष्यलब िनगष्मभ।
गाइडिङ गर्दाका केही सम्झनायोग्य प्रसंग होलान् । सम्झनुस्न् ।
सम्झनलायक प्रसंग त थुप्रै छन् । अन्नपूर्ण, एभेरेष्ट, लाङटाङ, मुस्ताङ, रारा, मकालु, मनास्लु, कोशीटापु, बर्दिया, चितवनलगायत नेपालका थुप्रै ठाउँका यात्राहरु सम्झनलायक छन् । विभिन्न देशका पर्यटकहरुसँग लामो र उचाइमा रहेका भञ्ज्याङहरु, भिर, पखेरा, घनघोर वन तथा जंघारहरुको बाटो छिचोल्दा, १२ देखि १७ घन्टा एकै दिन हिँडेका, आफु हिँड्ने बाटो हराउँदाका, हिउँ र आँधीले चुटेका र अन्य रमाइला पलहरु संगाल्यो भने केही सँख्यामा पुस्तकहरु बन्छन् ।
म यहा तपाईलाई गणेश हिमाल ट्रेकिङ जाँदाको एउटा प्रसंग सुनाउँछु ।
सन् १९९६ को तिहारताक चारजना फिनिस नागरीकहरुसँग त्रिशुली, बेत्रावती, सिङ्लापास हुँदै गणेश हिमालको क्याम्प ट्रेकिङ सकेर गोरखा निस्किनु थियो । कार्यतालिका अनुसार सम्पूर्ण तयारीका साथ यात्रा शुरु पनि भयो । पहिलो रात बेत्रावतीमा बित्यो । दोस्रो दिन भाल्चेमा, त्यस दिन तिहारको मौका थियो । सबैजना तिहारको रमझममा रमाउन थाले । त्यो रात त रमाइलै भयो तर एकजना भरियालाई भने ठर्राले उठ्न नसक्ने बनाएछ । आखिर त्यो भरियालाई त्यहीँ छोडेर उसको भारी डेण्डी शेर्पाले व्यवस्थापन गरेपछि हामी सिङ्लापासतिर लाग्यौं । सिङ्ला पास गरिसकेर बोराङ जाने दिन हामीले बाटो बिरायौं । किनकि त्यो एक घना र निर्जन क्षेत्र थियो । बाटो खोज्दैमा ३ घण्टा अलमलियौं, हरायौं । त्यो बाटो सहयोगी, सहकर्मी सबै पहिलो चोटी गएका रहेछन्, हामी धेरै । पर्यटकहरु सशंकित होलान् र त्यो यात्रा नरमाइलो होला भनेर त्यो कुरा पाहुनालाई कुनै छनक नहोस भनेर आखिर बाटोको खोजीको नेतृत्व म आफैले लिएपछि हामी सजिलै बोराङ पुग्यौं । त्यो बाटोको खोजीको बेला पनि पाहुनाहरुले कुनै सुइको पनि पाएनन् कि हामीले बाटो हराएको । बाँकी यात्रा पनि मनोरञ्जनपूर्ण र सहज रुपमा सम्पन्न भएको थियो ।
गाइड हुनुअघि र गाइड भइसकेपछि तपाईंले आफैले आफैलाई कस्तो फरक पाउनु भयो ?
गाइड हुनुपहिले म बेराजगार थिएँ । गरिब थिए । जीविकोर्पाजनको आधार थिएन । परिवारको व्यवस्थापन गर्न त्यत्तिकै मुस्किल थियो । जब एडभेण्चर थर्डपोल ट्रेक्समा गाइडमा पदोन्नति भएँ, त्यसपछि विस्तारै जीवन चलाउन केहि सहज हुनलाग्यो । विस्तारै पर्यटन क्षेत्रको महत्व बुझ्दै जाँदा आवश्यक तालिमहरु लिनुपर्ने देखियो । मैले पनि वास्तविक गाइड (प्राफेसनल गाइड) बन्न गाइड तालिम पनि लिएँ । ईको टुरिज्म एण्ड इन्भाइरोमेन्ट वर्कसप, बेसिक जर्नालिजम एण्ड फोटोग्राफिक ट्रेनिङ फर गाइड, लिडरसिप र ट्रेनिङ अफ ट्रेनर जस्ता टेनिङ लिएपछि ट्रेनिङबाट प्राप्त ज्ञान आप्mनो कार्यमा प्रयोग मेरो गाइडिङ जीवन निकै फरक पाएको छु ।
अहिले कोभिडक्रमले तपाईहरुको पेसा त चौपट्टै भयो । व्यवहार र दिनहरु कसरी बितिरहेका छन् ?
हो, अब जीवन बाँच्न पनि धौ धौ हुने स्थिति आइसक्यो । पर्यटनलाई पुनरोत्थान गर्न सरकारले अब छिट्टै पर्यटकलाई झन्झटिलो नहुने गरी नयाँ स्वास्थ्य प्रावधान तयार गरी पर्यटक आगमनका लागि सहज वातावरण सृजना गर्नु पर्छ । पर्यटन सम्बन्धि कुनै गतिविधि नभएपछि काम पनि नहुँदो रहेछ । अरु काम गर्न केही जानिएको पनि छैन । त्यसैले शरीर र दिमागलाई चुस्त राख्नका लागि भए पनि घर बाहिरको यात्रा बिशेष गरी डेहाईक, बर्डवाचिङ र छोटो पदयात्रा तय गरेर दिन बिताउन परिरहेको छ ।
आफ्नो पेशासँग खुशी हुनुहुन्छ ?
म मेरो पेशा र कामसँग खुशी नभएको भए अहिलेसम्म पर्यटन क्षेत्रमा नै रहने थिइन होला । खुशी भएर नै यत्तिका बर्ष यही क्षेत्र र पेशासँग आवद्ध भएर काम गरिरहेको छु । किनकी म प्रकुतिसँग रमाउन र भ्रमण गर्न चाहने ब्यक्ति हुँ । र, यसै पेशामा रहेर काम गर्दा नै विभिन्नि देशका नागरिकहरुसँग देशका विभिन्न भागको भ्रमण गर्दै र प्रकुतिसँग साक्षात्तकार भई रमाउन र खुशी हुन सकेको छु ।
नयाँ आउने गाइडहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
पदयात्रा पर्यटन सामान्य नभएर महत्वपूर्ण र संवेदनशील क्षेत्र हो । सरसर्ती हेर्दा यो क्षेत्र सहज देखिए पनि ज्ञान, सीप , दक्षता र इमान्दारिता भएको जनशक्ति नभै हुँदैन । तर, त्यो बिना नै यस क्षेत्रमा काम गर्ने गराउने गरिन्छ । जसले गर्दा स्वयम, पर्यटन क्षेत्र र देशले नै क्षति ब्यहोर्नु परेको अवस्था छ । त्यसैले यस पर्यटन क्षेत्रमा पथप्रदर्शक बन्न चाहनेहरुले आधिकारिक निकायबाट आवश्यक ज्ञान, सीप वा दक्षता अभिवृृदि गराउने कार्यशाला तथा गोष्टीमा सहभागी भएर वा तालिम लिई सकारात्मक र सेवाभावका साथ मात्र आउन अनुरोध गर्न चाहन्छु ।
अन्त्यमा केही विशेष भन्नु छ भने भन्नु होस् ।
साहसिक पर्वतीय पर्यटन क्षेत्रमा काम गर्ने पथप्रदर्शकसम्बन्धि मेरा आप्mना कुरा भन्ने अवसर दिनुभएकोमा नेपालनाम्चा डट कम लाई मुरी मुरी धन्यवाद छ ।