जय पर्यटनः हामी अझै कोमामै छौं

नेपालाम्चाको नियमित स्तम्भ ‘जय पर्यटन’मा गोपाल थापा

के तपाईं पनि बेलाबेला जय पर्यटन भन्ने गर्नु हुन्छ ?
पर्यटनमा लागेको २ दशक बढी भयो। जय पर्यटन बेला बेला मात्र होइन, धेरै जसो भनिन्छ र मन मस्तिस्कमा बसेको छ, जय पर्यटन ।

तर, पछिल्लो एक बर्षदेखि पर्यटनमा जयको ठ्याक्कै उल्टो भइरहेको छ । कत्तिको प्रभावित हुनहुन्छ ? वा तपाईंका वैकल्पिक पेशा व्यवसाय छन् ? र, त्यसैले टिकाइरहेको छ ?
यो महामारीले गर्दा पर्यटन मात्र होइन, धेरै ब्यबसाय धरासायी हुन पुग्यो तर अरु ब्यवसाय विस्तारै लयमा फर्कदै गर्दा पनि पर्यटन अझै कोमामा नै छ। पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सरकारले पनि कुनै पहल गरेको छैन । यो महामारीले पर्यटन ब्यवसाय प्रभावित हुँदा हामी ब्यवसायी प्रभावित नहुने भन्ने प्रश्न नै हुँदैन। हामी प्रभावित भएका छौ । पर्यटनका अलावा म रेस्टुरेण्ट ब्यवसाय संचालन गरिरहेको छु, यसले जेनतेन टिकाइराख्न मद्दत गरेको छ ।

पर्यटनमा कसरी र कहिले आइपुग्नुभयो ?
म जन्मेको फुलखर्क, यस्तो गाउँ हो जहाँ एउटा एक दुइ जना परिवारका सदस्य पर्यटनसँग नजोडिएको घर छैन । अझै भन्दा मनास्लु र गणेश हिमाल पदयात्रामा जाने बाटो मेरै घर नजिकै पर्छ। त्यहि बाटो हुँदै गएका पर्यटकसँग पनि घुलमिल हुने गर्थे । त्यहाँको वातावरणले मलाई विस्तारै पर्यटनमा लेरायो । २१ बर्षअगाडि गाउँबाट काठमाडौँ पढाईको लागि आएको थिएँ र पढाइसँगै कामलार्इ अगाडि बढाउने क्रममा हाम्रै गाउँका अग्रज पर्यटन ब्यवसायी ज्योति अधिकारीको कम्पनीमा काम गर्ने वातावरण मिल्यो, त्यसले मलाई पर्यटनमा जोडिन मद्दत पुग्यो ।

पर्यटनको प्रस्थानविन्दुबाट यहाँसम्म आइपुग्दा यो यात्राको संघर्ष र सफलतालाई सम्झनुस्न । कस्ता दिन भोग्नुभयो र अहिले तपाईंको पोजिसन के हो ?
जब म कम्पनीमा काम गर्न थालेँ, सुरु सुरुमा रमाइलोसंगै आम्दानी पनि राम्रै भयो । तर, विस्तारै संघर्षका दिनहरु अगाडि बढ्दै गएँ र काम सुरु गरेको करिब १४ वर्ष पछाडि मैले आफ्नै कम्पनी सुरु गरेँ, लिफ होलिडेज ट्रेक्स एण्ड एक्पेडिसन प्रालि । कम्पनी राम्रै संचालन भैरहेको छ । यो महामारी कालको कुरा बेग्लै भयो । अहिले म गाउ पर्यटन प्रबर्धन मञ्च नेपालको द्दितीय उपाध्यक्ष तथा एसोसियन अफ कैलाश टुर्स अप्रेटर्स नेपालको सचिवको जिम्मेवारीमा छु ।

पर्यटनले तपाईंलाई के दियो ? र, तपाईंले पर्यटनमार्फत अरुलाई, समाज र देशलाई के दिनुभयो ?
अहिले म जुन स्थानमा छु, त्यो सबै पर्यटनको देन हो । अहिले म पर्यटनबाहेक अरु सोच्न सक्दिन तर पर्यटनमार्फत मैले समाजलाई जति दिनुपर्ने थियो त्यो गर्न सकिरहेको छैन । अब बिस्तारै म पर्यटनमार्फत समाजसेवामा पनि लाग्ने विचार गर्दै छु, जसको माध्यमबाट मैले समाज तथा राष्ट्रलार्इ योगदान दिन सकौं ।

पर्यटनकर्मीका रुपमा तपाईंले धेरै देशका धेरै मानिसलाई भेट्नु भयो, क्लाइन्टको रुपमा । र, के फरक पाउनुहन्छ विदेशी र नेपालीबीच ?
भाषा, शैली, रहनसहन धेरै कुरा फरक पर्छ । तर, मैले जतिलार्इ भेटे, उहाँहरु सबैमा एउटा समानता भेटें, त्यो भनेको मानवियता हो । हामी नेपाली जति दयालु हुन्छौ, विदेशी पनि त्यति दयालु र मायालु हुन्छन् । मानवियता सबैमा समान देखिन्छ ।

तपाईंहरु त डलर, युरोमा काम गर्ने मान्छे । नेपाली रुपियाँ त पैसै होइन जस्तो लाग्ला है ?
आफ्नुसँग अरुको कहिले पनि तुलना हुँदैन । आफ्नी आमा जति गरिब भए पनि आफ्नु आमा भनेको आफ्नै हुन्छ, अरुसँग कहिले तुलना हुँदैन । हामीलाई यहि राष्ट्र र यहिको रुपियाँले यहाँ पुरायो । यसलाई पैसा नै होइन जस्तो लाग्ने कुरै हुदैन ।

पर्यटनमा यत्तिका समय बिताउनुभयो । यसका सुखदुख के हुन् ?
पर्यटनमा लाग्नेले धैर्यता राख्नु पर्दछ । सानो सानो समस्याले प्रभावित हुने ब्यवसाय हो यो । सानो सानो समस्यामा आतिने मान्छे यो पेशामा टिक्न गारो हुन्छ ।

तपाईंको बुझाईमा पर्यटन भनेको के हो ? र, तपाईंले चाहेको पर्यटन कस्तो हो ?
पर्यटन भनेको नेपालको अर्थतन्त्रको लागि एउटा खम्बा हो । यो ब्यवसाय टिकाई राख्दा मात्र राष्ट्रको उन्नति हुन सक्छ । तर, पर्यटन जति सहज हुन पर्ने थियो, त्यति हुन सकेको छैन । यसभित्र रहेका नराम्रा पक्ष तथा झन्झट हटाएर तन्दुरस्त बनाउन जरुरी छ ।

अहिले कोरोनाको कुरा एउटा भयो । र, अर्को दीर्घकालीन । नेपालको पर्यटनलाई थप व्यवस्थित, व्यवसायिक र उनन्त बनाउन के कस्तो सुधार गर्नुपर्ला ? त्यसमा राज्य, सरकार वा मन्त्रालयले के गर्नुपर्ला र पर्यटनकर्मीहरुबाट के गर्नुपर्ला ?
खास पर्यटन ब्यवसायीको समस्या के हो यसमा ध्यान दिन जरुरी छ । अहिले पनि ब्यवसायीको नाममा वास्तविक ब्यवसायी नभएर ब्यबसायीका दलालहरुलार्इ मात्र राज्यले सुन्छ । तिनीहरुलार्इ मात्र खास पर्यटन ब्यवसायी सोच्छ । तर, जो ब्यवसायी पर्यटनका नेता बनेर राज्यका तालुकदार मन्त्रालयदेखि अन्य निकायमा पुग्छन्, उनीहरुलार्इ वास्तविक पर्यटनकर्मीको दुख र समस्याको ज्ञान हुँदैन । यसमा राज्यले ध्यान दिन जरुरी छ ।

नेपाली पर्यटनका ३ राम्रा र ३ नराम्रा पक्ष के हो भनेर सोध्दा तपाईंको उत्तर के हुन्छ ?
विश्वका १४ ओटा ठुला हिमालमध्ये हामीसंग ८ ओटा छन् । विभिन्न तालतलैया छन् र भिभिन्न चराचुरुंगी । सँगै वन्यजन्तुको बासस्थान यहिँ छ । नेपाल आउने पर्यटकले एकै चोटी हिमाल, तालतलैयादेखि विभिन्न राष्ट्रिय निकुञ्जसम्मको अवलोकन यहिँ गर्न पाउँछन् । त्यस्तै धार्मिक पर्यटनको पनि यहाँ प्रचुर सम्भावना छ । तर, यहाँको पर्यटन ब्यवसाय सारै तरल छ । सानो सानो समस्याले यहाँको पर्यटन प्रभावित हुन्छ ।

हिजोको पर्यटन र भोलिको पर्यटनमा के फरक हुनपर्ला ? वा, जे जसरी चलिरहेको ठिकै छ ?
पर्यटनमा हाम्रो मौलिक तरिका छ, जसलाई सुधार गर्दै यसैलाई जोगाएर अगाडि बढ्नुको विकल्प छैन । हामीसँग भएको मौलिक नीतिलाई थोरै परिमार्जन गर्दै समयसापेक्ष सुधार गर्दै लग्नु नै आजको आवश्यकता हो ।

नेपाल पर्यटन बोर्ड र पर्यटनसँग सम्बन्धित संस्थाहरुको भुमिकाप्रति तपाईंकोे के कस्तो धारणा छ ?
पर्यटन बोर्डलगायत पर्यटन संघसस्थाको उपस्थिति यहि महामारीको समयमा झल्कन पर्ने हो तर तिनीहरुको उपस्थिति यहाँ झल्कन सकेको छैन । तपाई हामीले देखेकै छौं, पर्यटन बोर्डलगायत संघसस्थामा नियुक्ति हुँदा धेरै पैसाको चलखेल हुने गरेको पनि सुनिन्छ । त्यस्ता नियुक्ति योग्यताको आधारमा हुनु पर्नेमा पैसा र राजनीतिक आस्थाको आधारमा हुने गरेका छन्, जसले गर्दा यस्ता संस्थाहरुले आफ्नु उपस्थिति देखाउन सकेका छैनन् ।

अन्त्यमा भन्नुपर्ने, भन्न मन लागेका थप केही ?
हामी पर्यटन ब्यवसायी अहिले असामान्य अवस्थामा छौं । यसमा राज्यले हेर्नु पर्ने देखिन्छ अन्यथा धेरै पर्यटन ब्यवसायी पलायन हुने देखिन्छ । राज्यले पनि राजनीतिक रुपमा भेदभाव गर्नुभन्दा वास्तविक ब्यवसायीलार्इ संरक्षण गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button