जय पर्यटन: पर्यटन बोर्डलाई खारेज गर्दा फरक पर्दैन
नेपाल एशोसिएसन अफ र्याफटिङ एसोसिएसनका पूर्व उपाध्यक्ष उनी सुचारु ब्यापार, हिमालयन रिभर फन (र्याफटिङ), रिभरफनवीच रिसोर्ट र रियल एडभेन्चर् नेपाल ट्राभलका पनि संचालक पनि हुन् । नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ ‘जय पर्यटन‘को उद्घाटन अंकमा पर्यटनका अनेक आयाम र अन्तरकुन्तरबारे पर्यटन अनुभवी शंकर अधिकारीसँग अन्तरंग ।
के तपाईं पनि बेलाबेला जय पर्यटन भन्ने गर्नु हुन्छ ?
हो नि । सधै नै भन्ने गर्छु । यसबाट नै मेरो परिचय बनेको छ, मेरो दैनिकी चलेको छ र धेरै हितैषी निस्वार्थी मित्र बनाउने मध्यम पनि यो पर्यटन हो ।
तर, पछिल्लो एक बर्षदेखि पर्यटनमा जयको ठ्याक्कै उल्टो भइरहेको छ है ।
हो, हामी पर्यटनकर्मी केहि प्रभावित भएका छौं । झट्ट हेर्दा स्थिति जय पर्यटनको उल्टो जस्तो पनि देखिन्छ । तर, यसलाई मैले पर्यटनमा लाग्दालाग्दै लागेको थकाइ मार्न मिलेको मौका जस्तो लाग्छ । र, फेरि हामीलाई केहि सिक्न दिएको मौका पनि हो कि जस्तो लाग्छ । त्यो भनेको के हो भने हरेक कामहरु गर्दा विकल्पसहित गर्नुपर्छ, जसले हामीलाई पुरै प्रभावित पार्न नसकोस् ।
कत्तिको प्रभावित हुनहुन्छ ?
१४-१५ महिनादेखि आन्तरिक तथा बाह्य पर्यटकीय गतिविधि शुन्यप्राय थियो । तर, हाल केहि आन्तरिक पर्यटन गतिविधि सुरु हुने छनकले केहि उत्साही छु ।
वा, तपाईंका वैकल्पिक पेशा व्यवसाय छन् ? र, त्यसैले टिकाइरहेको छ ?
पर्यटनभन्दा बाहिर त्यस्तो वैकल्पिक पेशा त ठ्याकै छैन तर अबचाहिँ गर्नु पर्छ कि भन्ने सोचमा छु। टिकेको त पर्यटनमार्फत त्यही पहिले भएको कमाइले हो नि । तर, अब त आन्तरिक पर्यटनको चहलपहलले अलि सरल होला किी ?
पर्यटनमा कसरी र कहिले आइपुग्नुभयो ?
एसएलसीपछि उच्चशिक्षाको लागि हेटौडाको मकवानपुर बहुमुखी क्याम्पस मेरो छनोटमा पर्यो । २ वर्षको अध्यनपछि थप अध्यानको लागि काठमाडौँ आइयो र बीकमका लागि सरस्वती क्याम्पसमा भर्ना भइयो । पछि म स्नातकोत्तर गर्न चाहिं शंकरदेव गएँ । अध्ययनक्रममा मेरो जोडबल अध्ययन र काम सँगसँगै भन्ने थियो । त्यही भएर काम खोज्ने काम सुरु भयो । धेरै आफन्तहरु पर्यटन क्षेत्रमा भएका कारणले पर्यटन नै मेरो रोजाइमा पर्यो। दाजु ज्योति आधिकारीलाइ अनुरोध गरी इको ट्रेकमार्फत वासु अधिकारी र रविन्द्र अधिकारीको नेतृत्वमा दुइवटा ट्रेकिङ गरेँ । त्यो नै मेरो अन्तिम ट्रेकिङ रह्यो, पछि विभिन्न कम्पनीहरु मिलेर रिभर फन नामक र्याफटिङ कम्पनी खोल्ने निर्णय भएको जानकारी पाएँ । र, दाजु ज्योतिलाई पढाइ र रोजगार सँगै लानको लागि मलाई यो उत्तम हुन्छ भनेर काम दिलाइदिन अनुरोध गरेँ । र, २०५८ तिरै हुन पर्छ, र्याफटिङ कम्पनीमा काम सुरु गरेँ ।
पर्यटनको प्रस्थानविन्दुबाट यहाँसम्म आइपुग्दा यो यात्राको संघर्ष र सफलतालाई सम्झनुस्न । कस्ता-कस्ता दिन भोग्नुभयो र अहिले तपाईंको पोजिसन के हो ?
यो स्थानसम्म आउन दुख धेरै गरियो । ७ वटा कम्पनी मिलेर बनेको र्याफटिङ कम्पनी २ बर्ष पनि नपुग्दै लगानीकर्ता तथा मेनेजमेन्टको बेमेल तथा कामको लय नमिल्दा बन्द हुने स्थिति आयो र सो कम्पनीको मुल्यांकन समेत गरी सामान बेच्ने कन्फर्म भएछ । सो लगतै दिपक महत सरले भोलिदेखि कम्पनी बन्द हुदै छ र कम्पनीको सम्पूर्ण सामान ५ लाख रुपियाँ बेच्ने निर्णय सुनाउनु भयो । तब म झसंंग भएँ । यो पेशामा लागेको २ बर्ष लागि सकेको थियो । फेरि अर्को काम जिरोबाट सुरु गर्नु कठिन थियो र सो समय दिपक सरलार्इ अरु सामान बेचे पनि पुरानो डुंगा र कम्पनी मलाई दिनुहोस्, म कमाएर तिर्छु भनेँ । एक छिन गम्भीर हुनु भयो र जानु भयो । बेलुका अफिसमा रहेको बेला ज्योति अधिकारी दाइले तिमी राम्रोसँग काम गर्ने हो भने हामी ४ जना (ज्योति अधिकारी, शंकर अधिकारी, देवेन्द्र वाग्ले र कुल गुरुङ) भएर काम गर्ने प्रस्ताव राख्नु भयो । मैले सहर्ष स्वीकार गरे र मेरो भागमा परेको रु १ लाख २५ हजार रुपियाँ दाजु ज्योतिलार्इ २ किस्ता गरी बुझाएँ । र, ढुक्कसँग काम गरेँ । तर, पछि समय परिवेशसँगै सबैले आफ्नो हिस्सा छोड्नु भयो । र, म एकल कम्पनी संचालक भएँ । र, अहिलेसम्म पनि काम सिक्दै छु, अगाडि बढ्ने कोसिस गर्दै छु ।
त्यो बीचका दिनहरुमा धेरै उत्तरचढावहरु आए होलान् । म सफल वा असफल मैले होइन, समाज र उद्योगले मुल्यांकन गर्ने हो । मैले आफैले गर्नुपर्दा हिजो पनि सिक्दै थिएँ, आज पनि सिक्दै छु ।
पर्यटनले तपाईंलाई के दियो ?
पर्यटनले मलाइ शंकर अधिकारी भन्ने परिचय दियो । आज धेरैजस्तो पर्यटकीय भेगका मान्छेले मलाइ चिन्नु हुन्छ । खुशी लाग्छ, पर्यटनले मलाई सब थोक दिएको छ ।
तपाईंले पर्यटनमार्फत अरुलाई, समाज र देशलाई के दिनुभयो ?
मैले पर्यटनमार्फत प्रतयक्ष रुपमा सानो संख्यामा भए पनि रोजगार सिर्जना गरेको छु, जुन रोजगारीबाट उनीहरुको रोजीरोटी चलेको छ । नयाँ नयाँ ठाउँ र गतिविधिको परिचय गराउने कोसिस गरिरहेको छु । पर्यटनमा नयाँपनको परिकल्पना गरी कार्यान्वयनतिर लाने कोसिस गर्दै छु, जसले समाजलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग होस् र देशमा भएको बेरोजगारी हटाउन तथा आर्थिक निर्भरता कम गर्नका लागि आफुले सक्ने कोसिस गरेको छु ।
पर्यटनकर्मीका रुपमा तपाईंले धेरै देशका धेरै मानिसलाई भेट्नु भयो, क्लाइन्टको रुपमा । के फरक पाउनुहन्छ विदेशी र नेपालीबीच ?
खासमा नेपाली र विदेशीमा खासै फरक छैन । दुवै पाहुनाहरु साहसिक पर्यटनलाइ रुचाउनु हुन्छ, नयाँ नयाँ गन्तब्य पुग्न रुचाउनु हुन्छ तर मात्र फरक के भने विदेशीहरु हिसाब गरेर खर्च गर्छन् भने नेपालीहरु हिसाब गर्दैनन्, विदेशीहरु समयको ख्याल गर्छन् भने नेपाली समयको त्यति ख्याल गर्दैनन् । नेपालीमा धैर्य गर्ने बानी छैन तर विदेशीमा धैर्यता बढी हुन्छ ।
तपाईंहरु त डलर, युरोमा काम गर्ने मान्छे । नेपाली रुपियाँ त पैसै होइन जस्तो लाग्ला है ?
हाहा, मलाई त नेपाली रुपियाँ नै मन पर्छ । डलर लिए पनि शुद्द काम गर्नेलाई नेपाली रुपियाँ र डलरमा खासै अन्तर हुँदैन जस्तो लाग्छ ।
पर्यटनमा यत्तिका समय बिताउनुभयो । यसका सुखदुख के हुन् ?
कुनै पनि काम उत्साहसाथ गरेको हुन्छ, जसको राम्रो परिणाम आउँँदा खुशी लाग्छ, नराम्रो परिणाम आउँदा दुख लाग्छ । तर ,मलाइ भन्नु हुन्छ भने मैले त्यति दुख भोगिन र चरम सुख पनि । त्यसैले पर्यटनमा मेरो सुखदुख मिस्रित छ ।
तपाईंको बुझाईमा पर्यटन भनेको के हो ? र, तपाईंले चाहेको पर्यटन कस्तो हो ?
हामीसँग भएका प्राकृतिक सुन्दरता, हाम्रो संस्कृति, हाम्रो कलालगायत विश्व वा अपरिचित मानिस सामु पुर्याउनु नै पर्यटन हो, जसले ती स्थानको अवलोकन गर्न मानिस आउने गरोस् । हामीले चाहेको पर्यटन भनेको हामीसँग जे छ, त्यो परिचय गराउने हो । हामीकहाँ साहसिक पर्यटकिय गतिविधि धेरै हुने हुनाले जल पर्यटन, प्रकृति अवलोकन पर्यटन, धार्मिक पर्यटन, पर्वतीय पर्यटन आदि हुन् ।
अहिले कोरोनाको कुरा एउटा भयो । र, अर्को दीर्घकालीन । नेपालको पर्यटनलाई थप व्यवस्थित, व्यवसायिक र उनन्त बनाउन के कस्तो सुधार गर्नुपर्ला ? त्यसमा राज्य, सरकार वा मन्त्रालयले के गर्नुपर्ला र पर्यटनकर्मीहरुबाट के गर्नुपर्ला ?
नेपालको पर्यटनलाई थप व्यवस्थित गर्न ट्रेकिंग जाने विदेशी पर्यटकले अनिवार्य रुपमा नेपाली गाइड लानै पर्ने, एकद्वार प्रवेश शुल्क नीति लिनु पर्ने, हवाई भाडा दरमा एकरुपता हुनु पर्ने, विदेशी अनलाइन कम्पनीहरुलाई सरकारी नियमनमा लेराउन र गन्तब्यको परिचय सरकारको मन्त्रालयबाट हुन जरुरी छ । साथसाथै, व्यवसायीहरुबीच पनि अस्वस्थ प्रतिस्पर्धाको चलन भत्काएर स्वस्थ प्रतिस्पर्धा हुन आवश्यक छ।
नेपाली पर्यटनका ३ राम्रा र ३ नराम्रा पक्ष के हो भनेर सोध्दा तपाईंको उत्तर के हुन्छ ?
पक्ष राम्राः १. एक घन्टाको हवाई यात्राबाट नेपालको सबभन्दा गर्मी भूभाग (केचना) र जाडो ठाउँ सगरमाथा बेस क्याम्प पुग्न सकिने । २. विश्वको उच्च शिखर सगरमाथादेखि विश्वको दोस्रो जलसम्पदा भएको मुलुक । ३. नेपालमा मात्र पाइने एक सिंगे गैडा तथा गौतम बुद्ध जन्मेको देश नेपाल ।
पक्ष नराम्राः १. अति अव्यवस्थित शहर र सडक तथा सवारी साधन । २. सबै ठाउँमा हवाई र राम्रो रोड संजालको अभाव । ३. ठुलो अन्तरास्ट्रिय एरपोर्टको अभाव ।
हिजोको पर्यटन र भोलिको पर्यटनमा के फरक हुनपर्ला ? वा, जे जसरी चलिरहेको ठिकै छ ?
भोलिको पर्यटनको लागि चाहिने भनेको पूर्वाधारनै हो, त्यो भनेको रोड संजाल, हवाई संजाल र होटेल आदि पूर्वाधार नै हो ।
नेपाल पर्यटन बोर्डको भुमिकाप्रति तपाईंकोे के कस्तो धारणा छ ?
खासमा पर्यटन बोर्ड जुन उद्धेश्यले निर्माण भएको थियो, त्यो अनुसार काम गर्न तथा चल्न सकेको छैन । केवल राजनीतिक दलका कार्यकर्ता भर्तिकेन्द्र जस्तो भएको छ । खासमा बोर्डलाई खारेज गर्दा पनि फरक पर्दैन । किनकि, यसको काम भनेको विनियोजित बजेट शीर्षक मिलाएर अनउत्पादक ठाउँ र शीर्षकमा खर्च मात्र गर्ने गरेको देखिन्छ।
पर्यटनसँग सम्बन्धित संस्थाहरुको भुमिकाप्रति चाहिँ तपाईंकोे के कस्तो धारणा छ ?
सामाजिक संघ संस्था पनि अति धेरै भयो । समान उद्धेश्य हुनेहरु मर्ज गर्दा पनि फरक पर्दैन । र, संघ संस्थामा प्रतिनिधित्त्व हुदै गर्दा पनि पार्टीको कार्यकर्ताभन्दा पनि व्यवसायिक प्रतिनिधित्व भयो भने मात्र सम्बन्धित व्यवसायको मर्म अनुसार काम हुन्छ ।
अन्त्यमा भन्नुपर्ने, भन्न मन लागेका थप केही ?
आफ्ना कुरा भन्ने अवसर दिनुभएकोमा नेपालनाम्चा डट कम र टिमलाइ मुरी मुरी धन्यवाद् छ ।