यात्रा संस्मरणः नैनीताल, देहरादुन, मंसुरी ,हरीद्धार, ऋषिकेश

नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।

लक्ष्मण ज्ञवाली
तिलोत्तमा १, नीलगिरिपथ, शंकरनगर, रूपन्देही

०७४।६।९

धेरै पहिलेदेखी मनमा रही रहेको नैनीताल मसुरी देहरादुन हरिद्धार ऋषिकेश घुम्ने रहर यसपालीको दशैंमा पुरा हुन लागेका छ । यस बर्ष दशैं टिका न भएकाले भाई नारायणले नेपालगंज आउनु भनेर बोलायो । हामी श्रीमती सीता, छोरा सुदीप र म भएर बिहान ९ वजे हाम्रो वासस्थान रूपन्देहीको शंकरनगरबाट नेपालगंज का लागि हिड्यौं । साँझ ६ वजे तिर नेपालगंज पुग्यौं। हाम्रो प्रतिक्षामा भाई नारायण ,बुहारी निर्मला ,छोरी प्रशंसा रहेछन । भेटघाट संन्चो बिसन्चो पछि भतिजा सागर संग फोनमा कुराकानी भयो । केही छिन पछि सागरको घरमा गएर बुहारी सरिता ,नातिनीहरु सदिक्षा , सन्ध्या समेत सवै जना जम्मा भएर यात्राको रुट तय गरयौ । भाईको घरमा खाना खाईवरी सुत्यौं ।

०७४।६।१०

हिजो को सल्लाह बमोजिम हाम्रो यात्रा नेपालगंज देखी महेन्द्र नगर बनवासा हुँदै नैनीताल जाने रुट बन्यौ । बिहान ६ वजे हामी ज्ञवाली परीवार (लक्ष्मण, सीता, नारायण, निर्मला, सुदीप, प्रशंसा, सागर, सरीता, सन्ध्या, सुदिक्षा) १० जनाको टोली उत्तरान्चल भारतको भ्रमणको लागि कोहलपुर हुंदै चीसापानी पुगे पछि कर्णाली नदीको रमणीय दृश्यहरुमा रमाउँदै कर्णाली नदी पुलपरिसरमा फोटाहरु लियौ । नेपालमा सबैभन्दा लामो र आधुनिक गनिने यो पुल निकै मनमोहक छ । पुलको मँझधार मा पुगी उत्तर पट्टी नियाल्दा कर्णालीबाट निश्रीत चिसो हावाको झोक्काले हरकोही यात्री हरूलाई रोमान्चित पारिरहन्छ ।हामीहरू पनि त्यसरीनै रमायौं ।

पुलपारी पुगेपछि चिसा पानी बजारको हिमालय होटलमा मिठो खाना खायौं ।चीसापानीको लोकल माछाको स्वाद स्मृतिमा लिदै हाम्रो साधन महेन्द्रनगरको लागी अगाडि बढ्यो । नितान्त पारिवारीक भ्रमण भएको हुंदा छोरा छोरी नातिनीहरुका जिज्ञासाहरुलाई मेटाउदै लंकी, मुंठा,
अतरिया हुँदै ३ बजेतिर हामी महेन्द्र नगर पुग्यौं ।

वनस्टप ट्राभल एण्ड टुर सोलुसन प्रालिमा नैनिताल जाने गाडी तयगरी चीया नास्ता पछि नैनितालको यात्रा सुरू गरयौ । झण्डै ४।५ घन्टामा नैनिताल पुग्न सकिने कुरा गाडी चालकले बताए हाम्रो गाडि टनकपुर बोडरमा झण्डै १घन्टा रोकियो सो समयमा हामी नेपालीहरु नराम्रोसंग ठगिएको प्रोजेक्ट टनकपुर ब्यारेजको अवलोकन पनि गर्यौ । पानी बढी भएको बेला फाटक बन्द गरेर सवै पानी नेपालतिर पठाउने, अरु बेला नेपाल तर्फ सुख्खा पारेर सवै पानी आफनो तर्फ लैजाने सवै तालाकुची भारत कै हातमा हुने यस्तो विभेदपुर्ण कार्यहरु भै रहदा नेपालले बिना कुनै प्रतिकृया टुलुटुलु हेरी बस्न पर्ने उदेक लाग्दो अवस्था देखेर मन खिन्न पार्दै ब्यारेज अवलोकन गरयौं ।

बोडर खुलेपछि हाम्रो यात्रा बनबासा हुँदै नैनितालका लागि अगी बढयौ । भारत तर्फ केही ठाँऊ बाहेक अधिकांश बाटाहरु फराकिला चौडा र अत्यन्त आकर्षक पारिएका रहेछन बिच बिचमा चिया जलपानको लागि बिसाउँदै हाम्रो यात्रा अगाडि बढी रहयो ।

बिच बाटोमा नानकमत्ता भन्ने ठाँउमा पुग्यौ । त्यहाँ हजारौ एकडजमिनमा फैलिएको सिंचाई जलाशय रहेछ । जस्लाई नानक सागर डेम भन्दा रहेछन । अत्यन्त मनमोहक देखिने त्यो जलाशय , उत्तराखण्डको आर्थिक मेरुदण्ड रहेछ त्यहाँबाट सिंचाईको प्रवन्ध गरिदिएर सरकारले किसानहरुको जीवन स्तरलाई माथी उठाएको रहेछ । साथसाथै त्यो बिराट जलाशय अवलोकन गर्ने पर्यटकहरुको पनि उतिकै घुँइचो लाग्दो रहेछ । त्यस्तै बाटोमा अनेकन मनोरम दृश्यहरु हेर्दै हामी ७ वजेतिर नैनिताल पुग्यौं ।

फेसबुक र अन्य चित्रहरुमा देखेर लोभिएका हामीहरु नैनितालमा पाइला हाल्दै थियौ। वरी परी चारै तर्फ अग्ला पहाडहरुले घेरीएको बिच पिधंमा बटुको जस्तो ताल “नैनी ताल “सोली आकारमा सजिएको ताल “नैनिताल “या भँनु आँखाको नानी जस्तै अत्यन्त सुंदर र झिलीमिली धपक्कै बलेको देखिन्थ्यो ।

पहाडहरुमा जताततै घर होटलहरु ठुला ठुला समुन्नत कलेज प्रतिष्ढानहरू ,तालको वरी परी फेरो लगाएको आकर्षक मोटर बाटो ताल परिसरमा सयौ मोटर बोटहरु ,बाटो किनारमा पर्यटकीय किन वेच का समाग्रीहरुका पसल , आकर्षक विजुली वत्तीका झल्लरहरु ,दशैंको समय भएकाले दुर्गा पुजाका पण्डालमा दुर्गा पुजाका श्लोक हरुले गुन्जायमान त्यो चकाचौंध वातावरणले हामीलाई मन्त्र मुग्ध बनायो ।

त्यसपछि हामी जु मार्गमा अवस्थित होटल प्रशान्त मा पुग्यौं ।जस्को लागि हामीलाई महेन्द्र नगरमै ट्राभल एजेन्सी वालाले सुझाएको थियो । यो सिजन टुटिष्टहरुको अफ सिजन भएकोले ५० प्रतिशत कम गरी रेट तय भएको कुरा होटल वालाले बतायो । साँझको समय ,नैनिताल हेर्ने घुम्ने खास समय रहेछ । हामी बसेको होटल अलि हाइटमै भएको हुँदा दृश्यावलोकन धित मर्ने गरि गरीयो । बजार घुम्ने र बोटिङ्ग गर्ने काम दिनभरका थकान ले गर्दा भोलीको लागि थॉंती राख्दै खाना खाईवरी बिश्राम गर्यौं ।

०७४।६।११ गते सबेरै उठेर सबै जना तयार भयौं र चीया नास्ता गरेर नैनिताललाई नजिकबाट नियाल्ने प्रयन्त स्वरुप राजभवन गयौं जो ११७ वर्ष पुरानो थियो। जस्मा ७५ वटा कमरा ,पुरानो ठुलो ऐना ,फोल्डीङ्ग चियर, सुल्तान डाँकुसंगबाट बरामद गरिएको हातहतियार पुराना राजपाटका प्रचलनका सामाग्रीहरु इजलासहरु आदी कुराहरु राखिएको गाइडले देखाएका थिए ।

त्यसपछिको हाम्रो गन्तब्य “लभ प्वाइन्ट “देखाउने भनेर गाइडले भने । अलि उकालो बाटो भएको हुंदा घोडा चढनपर्ने कुरा गाइडले गरे । हामीले घोडा नचढने हिडेरै जाने भनेर घोडा इन्कार गर्यौ ।हिडेर त्यस ठाउँमा पुग्यौ। लभ प्वाइन्ट एउटा बडे मान्को ढुङ्गा रहेछ । त्यो भन्दा तलबाट एउटा सुख्खा खोला देखिन्छ । त्यसको पारी पट्टी एउटा बनस्पति बिहिन अग्लो नाङ्गो डाँडा उभिएको छ । त्यही दृष्यलाई भजाएर नैनीताल बासीहरुले कमाई गरी रहेका रहेछन । हामीलाई हाम्रो देशका असंख्य त्यस्ता लभप्वाइट बनाउन सकिने ठाँउहरुलाई संझेर लोभ लागेर आयो । थोरै एउटा ८।१० जना बस्न मिल्ने बेन्च, पिउनेपानीको व्यवस्था । डस्ट बीनको ब्यवस्था । राम्रो ढुङ्गा रहेछ मरम्मत अनि सिंगारेर राख्ने काइदा। पेकेटीङ्ग फुडसको व्यवस्था । मिठो गरी सम्वोधन गर्ने बानी । बस्ने खाने ठुलाठुला होटल नभएपनि साना चिटिक्क र सरसफाई युक्त कटेजहरुको ब्यवस्था । ति स्थलसम्म पुग्ने बाटो । यती न्युनतम कुराहरुको व्यवस्थापन गर्न सक्ने हो भने हाम्रो देशमा पनि हरेक ४।५ कि।मी दुरी भित्र त्यस्ता लभप्वाइन्ट बनाउन कुनै योजना सहयोग कुर्न नपर्ने कुरा हामी एकापसमा गर्यौ ।

अब भने हामीले गाइडलाई बिदा गर्यौं र सामन्य जानकारी लिएका भरमा त्यहाँ अवस्थीत मैनादेवी मन्दीर घुम्यो नामी पुराना सिनेमाका हिरोहरु अमिताभ, राजकुमार, देवानन्द, घर्मेन्द्र आदी तथा राजनितिज्ञहरु ,गान्दी तथा नेहरू परिवार आदीले अध्ययन गरेका शैक्षिक प्रतिष्ठानहरु हेर्यौं ।

बिचबिचमा धुपी सल्ला लोठ सल्लाका रुखहरु र लहरे फूलहरुले सिंगारीएका होटल तथा वासस्थानहरु निकै सुन्दर देखिन्थे । त्यसपछि तालमा बोटिङ्ग गरेर केही घन्टा बितायौ । बजार परिक्रमा अवलोकन र सानोतिनो किन मेल पनि सक्कायौं । ताल वरीपरी पिच बाटोले घेरिएको ठाँउ पहिलो दोश्रो तश्रो चौथो लहर परिक्रम गर्न मिल्छ साधनबाट होस वा पैदल बडो सुन्दर र सफा छ । ब्रिटिस इन्डीया कंपनीले गर्मि याममा गर्मि छल्न निर्माण गरेको नैनिताल दिउसो भन्दा साँझको समयमा अत्यन्तै चित्तार्कषक देखिदो रहेछ । ठाँउ ठाँउमा फोटो सेसन कार्य जारी रह्यो ।्

यहाँ धेरै जसो श्रमिकहरु नेपालका हुँदा रहेछन दार्चुला बझांड वाजुरा तिरका । हामी बसेको होटलमा पनि ३।४ जना नेपालीहरु थिए । दार्चुला घर बताउने उनीहरु न्युनतम पारिश्रमिक मा खटिरहेका थिए ।बिकल्पहिन दुखस् ले उनीहरुलाई गाँजी रहेको प्रतित हुन्थ्यो । खाना खाई सकि एकों र घुमघाम गर्ने ठांउहरू पनि लगभग सकिएको महसुस गर्यौं ।दिउसो को १।३० बजी सकेको थियो ।

अब भने हामी आजै देहरादुन प्रस्थान गर्ने सोंच बनाई रहेका थियौ तर काठ गोदाम हल्द्धानीबाट देहरादुन जाने रेल गाडी छ रछैन कतिखेर छ रु यो सब पत्ता लगाउन हामी बसपार्क पुग्यौं । राती ८ बजे हल्दानीबाट लोकल ट्रेन देहरादुन जादो रहेछ । हामी ५ बजे नैनिताल छोड्ने गरी टिकट लिएर होटल पुग्यौ र आ (आफना झोला ,हेनकेरी लिएर बसपार्क पुग्यौं । हाम्रा नैनितालका उत्सुकता मेटिएका थिए अब भने मन मष्तिष्कमा देहरादुन सल्बलाई रहेको थियो ।

पाल्पाबाट बुटवल झरे जस्तै लाग्ने उक्त सडकको यात्रा गर्दै ८ बजे हल्दानी रेलवे स्टेशन पुग्यौ ।त्यहींबाट रेल सुरु हुने हुँदा त्यति भिडभाड थिएन। टिकट रिजर्वेसन गराउन पर्दैन भन्ने सुझाव पाए पनि बालवच्चाहरु संगको यात्रा हुनाले ६ जना रिर्जबेसन र ४ जना साधा टिकट लिएर यात्रा शुरु गरयौं । रेल चल्न सुरु भयो । रेल नचढेका हाम्रा साना छोरीहरु खुशीले रमाएँ । ६।६ पैसा ६।६ दाम रेलको ताललाई जसो बनाउदा नी हुने । हरेक स्टेशन आउदा नयाँ नयाँ खाना परिकार चिच्याउदै ल्याउने बेयराहरुले स्टेशन गुन्जाएमान हुन्थ्यो। हाम्रा साना थरेका खुशीको सिमा हुन्थेन मौसम न जाडो नगर्मी त्यसले पनि यात्रा सहज बनाएको थियो ।

रेलयात्रा कै क्रममा राती १२।१ बजे तिर आउने स्टेशनहरुमा अत्याधिक भीड, चोरी चकारी हुन्छ भन्ने सुन्यौ । सजग त्यसै पनि हुन पर्ने त्यसमा पनि थाहा पाए पछि त निदाउने कुरा भएन सागर ,नारायण र म चौकन्ना भएर बस्यौं, महिलाहरु र वालवच्चा टोलीलाई ३ वटा वर्थमा सुत्ने व्यवस्था मिलायौं । हामी एउटा सिटमा बसेर गार्डको भुमिका निर्वाह गर्यौं ।

राती १२।१ वजे तिरको स्टेशन सायद लखिम पुर खिरी कुनै हुनुपर्छ , भीडभाड मच्चीयो । मानिसहरु जतासुकैबाट छिरे सुतेका महिला टोलीहरुलाई पनि उठाउन खोजे विमार छन वच्चावाला छन भनेर बडो अनुनय विनय गर्नु पर्यौ । हामी ३ जना बस्नेमा ६ जना कोचिएर बस्यौं । झण्डै २ घन्टा पछि ति हल्ला खोर टोलीहरू सबैजना ओर्लिय स्थिति शान्त भयो । बिहान ८ बजे तिर हामी देहरादून पुग्यौं ।

०७४।६।१२

होटल मैसुरीमा हाम्रो आजको बसाई तय भयो । केही समय आराम गरयौ र खाना त्यहीं खायौं । अनी होटलवाला संग देहरादुनका खास खास ठाँउहरुको बारेमा जानकारी लिन चाल्यौं । उस्ले हामीलाई एउटा ब्रोश्चर दियो । १ दिन मे तो यह सव जगह घुम नही पाएगें दो चार दिन ठहरना पडेगा । अच्छा ८।१० जगह घुम सकते है । टेप्पो हायर किजिय इनमेसे मनपसन्द जगह चुन कर लिजिये सामतक होटलमे आ सकते हें। भन्दै टुरिष्ट मेनु देखाउदै होटल वालाले सहजीकरण गरयौं । २वटा टेम्पो हायर गरयौं। १।१ हजारमा अनि घुम्ने ठाँउहरु निश्चीत गरयौं ।

होटलवालाले दिएको ब्रोसर (मेनु) अनुसार २०।२५ वटा स्थानहरु उल्लेख थिए जस्को सबै अवलोकन सम्भव थिएन हामीले ५।६ वटा स्थानहरुलाई मात्रै चुन्यौं ।

ब्रिटिस इष्ट इन्डीया कंपनीको पालामा गृष्मकालिन राजधानीको रुपमा विकशीत गरिएको ठाँउ यो उपत्यका रहेछ ।। शैनिक छाउनीहरु खडा गरी शैन्य गतिविधिहरु संचालन गरिने ठाँउ भएकोले अधिकारिक आर्मी रिटायर मानिसहरुको बाक्लो बस्ती रहेछ । राणाका पालामा राणाहरुलाई आफनै खलकले लखेटेको बेला त्यहाँ धपाईन पुगेका राणा परिवारका बासस्थानहरु पनि रहेको कुरा थाहा लाग्यो । भारतको उत्तर पश्चिमको रेल यात्राको अन्तीम पडाव भन्न मिल्ने देहरादुन ,नाचघर ,ब्यापारिक प्रतिष्ठानहरु ,उधोगहरु भएको ब्यस्त शहर रहेछ ।

हामीले अबलोकन गर्न रोजेका केही स्थलहरु

बोटानिकल गार्डेन –वनस्पति विज्ञान अनुसन्धान केन्द्र
प्रकटेश्वर महादेव मन्दीर
डाँकु गुफा र झरना
साई बाबाको मन्दीर
सहश्रधारा
केवलकार, उडनखटोैला

बोटानिकल गार्डेन हाम्रो पहिलो रोजाई रह्यौ । हामी त्यतै लाग्यौं । होटल भएको ठाँउबाट ३० किमी पश्चिममा यो गार्डेन पर्दो रहेछ । हजारौ एकड जमिनमा निर्माण गरियका यो प्रतिष्ठानका भब्य आकर्षक शैलीका संरचना र बोटानिकल क्षेत्रको खोज अनुसन्धानमा बिश्वमै ख्याति फैलिएका कारण दर्शनीय स्थल बनेको रहेछ । पर्यटकहरुको खचाखच उपस्थिति रहने यो अनुसन्धान केन्द्र निकै पुरानो र नामी रहेछ । यस भीत्र का अलग अलग अनुसन्धानका प्रभागहरु मसिनो गरी अवलोकन गर्न हप्तौ घोत्लीएर लाग्नु पर्ने रहेछ। हामीले बाहिर बाहिरका बोर्डहरु हेर्दै १।२ घन्टा बितायौं बाहिर चौरमा गएर केही फोटोहरु लियौं ।त्यसपछि लाग्यौं अर्को गन्तव्य तर्फ ।

२। डाँकु गुफा र झरना
भारतीय इतिहासमा डाँकु मान सिंह को नाम कुख्यात रुपमा लिने गरिएता पनि । गरीव गुरुवा आवाज बिहिनहरुका लागि भगवान बनेका अनेकन कथा सुन्न पाइयो । उनले ठुला ठुला जमिन्दार शोषक फटाहा तस्करहरुको धन संपती लुटेर गरिव गुरुवाहकहरुलाई बाँड्थे रे उनलाई शोषक जमिनदारको सरकारले सधै पिछा गरिरहन्थे र घना जंगलका विचमा रहेको सो गुफा उनको बासस्थान हुन्थ्यो भने नजिकै रहेको अनकन्टार खोल्सो हुँदै २ कि।मी तरेपछि त्यसका शीर तीरबाट झर (झर झरिरहेको पानी । झरना कै आकार दिईरहेको थियो। त्यो ठाँउ उन्को पानी खाने ठाँउ रहेछ यधपी त्यो त्यति हाइटबाट झरेको झरना भने होइन रहेछ । हो त्यस्तै ठाँउमा गौंडा ढुकेर मानसिहं डाँकुको ईहलिला तत्कालिन प्रशासकले समाप्त पारेको रेहेछ ।

त्यसै घटनालाई उजागर गर्दै त्यस ठाँउलाई त्यहाँको सरकारले पर्यटकिय स्थल बनाएको रहेछ ।भीत्र जादा लुगा भिज्ने ठेलम ठेल भिडलाग्ने रहेछन् । २ किमी जती घुंडा घुंडा सम्म पानीमा पैदल हिड्दा को रोमान्चक यात्रा ,त्यस पछि छहरा झरना मा थापीएर लुगै सित नुहाउदाको औधी रमाइलो क्षण त्यहाँका विशेषता रहेछन । एउटा कुख्यात डाँकुको प्रशस्ती भनौं या उस्को बहादुरी को निसानी ,प्रशासनिक दासताको सिकन्जालाई चुडाल्दै दीन दुखीको सेवामा आफ्नो जीवन अर्पण गर्ने ब्यक्ति जस्लाई अझैपनि जनमानस ले श्रद्धाभाव ले हेर्दा रहेछन भलै सरकारले डांकू क़रार गरेको होस ।थाम्न नसक्ने त्यो भिड सायद त्यसैको प्रभाव होला । त्यो ठाँउसम्म बाटो पुरयाएर ,त्यस बेलाको इतिहासलाई संरक्षण गरेर , पर्यटकिय गन्तब्य बनाएर राज्यको आम्दानी बढाएर , स्थानीय जनताको जीबिकोपार्जन मा योगदान गर्न सक्नु । निकै राम्रो लाग्यो ।

त्यसपछि हामी लाग्यौं प्रकट मन्दीर र साई बाबाका मन्दीर तिर । मन्दिर परिसरमा प्रवेश गर्दै ,दर्शन गर्दै ,केही बेर भक्ती भावका भजन किर्तनहरु मा सरिक भयौं । मन्दिरहरू बडो भब्यताका साथ श्रृंगार गरिएका देखिन्थे । जथाभाबी फूल अक्षता अबिर चढ़ाउन नपाईने , दान दिन मन लागे दानपात्रमा राख्ने परिपाटी राम्रो लाग्यो । मन्दीरको व्यवस्थापन राम्रो थियो ।

त्यसपछिको हाम्रो यात्रा शहश्रधाराको लागि शुरुभयो यहाँबाट १५ कि मी पुर्वमा अवस्थीत सहश्रधारा अग्लो पहाडबाट रसाएका पानीका मुलहरु तल नदी किनारमा खस्दा रहेछन् झण्डै कुहिरेभीरको संझना गराउने ति पहाडबाट रसाएका पानीका मुलहरु तल नदी किनारमा खस्दा रहेछन ।ति पहाड बाटझरेका अविरल मुलका पानी धाराहरुलाई सहश्रधारा नाम दिइएको रहेछ ।पारी पट्टी किनारमा रिसोर्टहरु रहेछन ।खोलामा सानो झोलुङ्गे पुल तरेपछि धारामा नुहाउन जाने ठाँउ रहेछ । गन्धक मिसिएको गन्ध आउने पानी भएको हुनाले यो पानीमा नुहाएमा चर्मरोगहरु हराएर जाने किंवदन्ती रहेको हुँदा स्नान गर्नेहरुको घुँइचो यहाँ पनि थियो । हामीलाई लाग्यो यस्ता सहश्रधारा हाम्रो देशमा अनगीन्ती छन थोरै मात्रै व्यवस्था मिलाउने र बाटो पुरयाउने हो भने पर्यटन नेपालको लागि १ नं आय आर्जनको ढोका हुनेमा शंका छैन ।

दौडा दौडीमा हामी थाकेर लखतरान भै सकेका थियौं । अबको हाम्रो हेर्ने पालो –उडनखटोलाअर्थात केवल कार। जो हामीले नेपालमै अति उच्चतम प्रविधि जाडित केवलकार धेरै चोटी चढी सकेका थियौं । सबैजनाको मन त्यस उडनखटोला तिर गएन ।त्यही रिसोर्टमा नास्ता गर्ने योजना बनाएर १ घन्टा जती त्यही आराम गरयौ । फोटोहरु लियौं ।देहरादुनको अवलोकन भ्रमणको आनन्द लियौं । यधपी हेर्ने ठाँउ धेरै थिए एक दिनमा सबै संभब थिएन । टेम्पो वालाले हमाीलाई समयको सुचना दिईरहेको थियो । हामीले उस्लाई कम रफतारमा बजारको बाटो हुँदै होटल पुराउन आग्रह गर्यौं । उस्ले तेसै गर्यो । झण्डै दाङ्ग उपत्यका जस्तै लाग्ने देहरादुनको पुर्वि र पश्चिम भागका ठाँउहरु साना खहरे खोल्साहरु थुम्का थुम्की अली उवड खावड जस्तो लागे भने उत्तर दक्षिणका भागहरु समथल सम्म परेका रहेछन ।

यहाँ बाट उत्तर पहाडी पर्यटकिय ठाँउ मंसुरी रहेछ । जहाँ जानको लागि हामी व्यग्र प्रतिक्षमा थियौं । यसरी बजारको फन्को लगाउदै हाम्रो दिनभरको यात्रा होटलमा पुगेर विश्राम लियो ।

०७४।६।१३ सबेरै हामीले बुक गरेको गाडी आइ पुग्यो हाम्रो आजको यात्रा मैसुरी तर्फको थियो । ब्रिटीसकै पालामा निर्माण गरिएको देहरादुन मैसुरी मार्ग अत्यन्तै फराकिलो रमणीय र हरीयाली युक्त रहेछ । तानसेनको श्रीनगर डाँडा संग तुलना गर्न मिल्ने डाँडोमा बजार अवस्थित रहेछ । टुरिस्टहरुको बाक्लो उपस्थिती रहने मैसुरीलाई पहाडकी रानी को उपमा दिंदा रहेछन । हामी मैसुरी बजार हुँदै ५ कि।मी उत्तरमा पर्ने माउन्टेन फल्स ९ ह्वाक्ने छहरा ०हेर्न गयौं ।अत्यन्तै भिडभाड युक्त सो ठाँउमा छहरामा नुहाउनेहरुको ताँती थियो। वरीपरी नुहाउदा कपडा फेर्ने कटेजहरु निर्माण गरिएका रहेछन । आफना लुगा त्यही राखेर पौडी खेल्ने लुगाको पनि प्रवन्ध रहेछ । लेडीजहरुले तेसै गरे जेन्सहरु आफनै कपडामा नुहाँए ठुलो पहाडबाट खसेको नदी छहरा बनेको छ र भुँइमा बजारीयको पानीको भुल्को भुल्कोहरुको मुल्को उढेको दृश्य बडो रमाइलो देखिदो रहेछ ।साहसी पर्यटकहरु त्यसैमा पौडिन थापीन रमाउंदा रहेछन । त्यो आनन्द लिएपछि माथी रोडमा निस्केपछि लहरै फोटो खिच्ने फोटोग्राफर स्टलहरु रहेछन । त्यँहाको संस्कृति झल्किने राजा महाराजा महारानीका पोशाक लगाएर फोटो खिचाएर १० मीनट मै फोटो दिदो रहेछ । ति पोशाक लगाएर हामीले पनि फोटो खिचायौं । पोशाकले सुसज्जीत हुंदा एकापशमा हेरा हेर गरेर पेट मिचि मिचि हाँस्यौं । यस भ्रमणको यो नै स्मरणीय क्षण रह्यो ।हामी त्यही ठाँउमा नास्ता खाएर मैसुरी आयौं केही सामान खरिदारी गर्ने काम भयो । मैसुरीमा पनि पश्चिम नेपालका जिल्लाहरुबाट तमाम नेपाली दाजुभाई दिदी बहिनीहरु काम गर्न जादा रहेछन भारी बोक्ने सानातिना फुटपाथ पसलहरु चलाउने, मकै पोलेर बेच्ने ,अन्य सिजन अनुसारका पहाडी तरकारी फलपुलहरु बेच्ने काम गरेर आफनो गुजारा गर्ने गर्दा रहेछन । थोरै धेरै पैसा वचाउन सकियो भने खेतिलगाउने समयमा वा दशैंमा नेपाल फर्किने उनीहरुको रुटिङ्ग हुँदो रहेछ । यस्तै यस्तै कथा ब्यथाहरु सुन्दै मैसुरीको भ्रमण गरेर हामी त्यहाँबाट देहरादुन हुंदै हरिद्वार जाने रुट बनायौं । बाटोमा खाना खाई वरी देहरादुन तर्फ लाग्यौं । देहरादुन नपुग्दै बाटोमा पर्ने चिडिया घरमा १ घन्टा बितायौ । सयौ एकडमा फैलिएको सो चिडियाखाना का केही पार्टहरु हरेर मनोरन्जन लियौ ।छोरा छोरीहरु रमाए । हिड्न जाँगर नगर्नेहरु गेट नजिकै गार्डेनमा बसेर आराम गरे ।

त्यसपछि हामीलाई हाम्रो गाडीले सिधै देहरादुन हरिद्धार वाला बसमा चढाई दियो । बस को रफतार विहान देखी अनबरत जारी रह्यो ।विश्राम को कुनै चान्स थिएन । धन्न बिच बिचमा पिशाव फेर्न सम्म जान पाउने सुविधा थियो ।। साँझ ८ बजे मात्र हरीद्धार बस पार्कमा ओर्लियो । अटो प्रति व्यक्ती रु १० मा होटल सम्म जानको लागि तय गरियो ।श्रवणनाथ नगरमा होटलहरु प्रशस्त रहेको भन्ने सुचनाका आधारमा त्यहां पुग्यौं ।अग्रीम बुक नभएकोले होटल सोध्दै हिड्यौं । हाम्रो १० जनाको टोली भएको र अलग अलग होटलमा नबस्ने भनेपछि होटल खोज्दै धेरै समय बित्यो । रिक्साले प्रति व्यक्ती २० गोद्यो । अवतार यात्री निवास हर मिलाप भवन श्रवणनाथनगर हरिद्धार मा कोठा मिल्यो । हाम्रो बसाई त्यँही हुने भयो । खाना खान बाहिर ढावा तिर निस्क्यौं। रुची अनुसारका खाना खाएर होटल पुग्यौं ।दिन भरको थकाईले १।२ घन्टा त निदायौ होला । त्यसपछि जताततै टोक्ने चिलाउने गर्न थाल्यो। एक दुइवटा मिचेर सुङ्गदा त उडुसको गन्ध पो आयो त बा।।। । जुरुक्क उठेर बत्ती बाली हेर्छु त उडुसको ताँती राती एक वजेको समय होटल काउन्टरमा कोही छैन कस्लाई भन्नु रु भुईमा लुङ्गी बिछाएर पल्टें। पल्टेर के गर्नु बाहिर मच्छड तलबाट उडुस रात आँखा झिमिक नगरी कट्यो । बिहान छिटै सबैलाई उढाँए नुहाई धुवाई सकाएर ऋषिकेश जाने प्लान गरेर चीया खायौं । होटलवाला लाई रातीको सास्ती बताए। भाई भतिजाहरुले पनि सकस भएको कुरा थपे । डनलप बिस्तरा सबै सेट फेर्ने सर्तमा आजको दिन पनि त्यसै होटलमा बस्ने भइयो ।

त्यसपछि बिहानै ऋषिकेशका लागि हिड्यौं ।हरिद्धारबाट ६० कि मि दुरीमा पर्ने ऋषिकेश सफा सुन्दर तिर्थस्थल रहेछ । गंगानदीको तटमा अवस्थीत यो पावन भुमिमा स्नान गर्यौं अनेकौं देव देवाधिहरु संगका किंवदन्तीहरु बोकेका ,मन्दीरहरुको दर्शन अबलोकन ,गर्दै त्यहाँको अत्यन्त रमणीय लामो पुल अबलोकन गर्यौं । एक छिनको घुमघाम पछि वैष्णव भोजनालयमा भोजन गरी पुन हरीद्धार फर्क्यौं ।

अबको हाम्रो यात्रा लक्ष्य हरीद्धार को आरती हेर्ने । मानस मन्दीर जाने र बजार घुम्ने र केही किनमेल गर्ने योजना बाँकी थियो । हरकी पौडी सुवाषघाट हरिद्धारमा ७ वजे आरती सुरु हुँदै थियो हामीसंग समय कम थियो सबैले आरती हेर्ने सल्लाह पास भयो। लाखौं मानिसहरु जुटेर आरती गर्ने जोग परेको शुभ अवसर रहेछ । यो भिडभाडमा कोही छुटीएला कि भन्ने डर पनि लागि रहेको थियो । दुई दुई जना हात पक्डेर हिड्ने क्रममा हामी बुढाबुढीको जोडी छुट्टीएर फस्या फस्या भईयो धन्न ५।१० मिनटमै मिलन भयो त्यस पछि त हात समातेको समातै कस्ले छोडोस् ।

७ बजे गंगानदी हरिद्धारका घाटहरु सवै झिलिमिली थिए हजारौं भक्तजनहरु आरती हेर्न र आरती पुकार्न तम्तयार थिए अनेको ठाँउमा माइकहरु जडान गरिएका थिएं एकै समयमा आरतिका मन्त्रहरु पाठ भए दियाहरु जले ज्योती प्रजोलित प्रकाश माथी दीप प्रज्वलित आकाश गुन्जायमान भयो । विश्वका हिन्दु धर्मावलम्वीको आस्थाको द्धार हरिद्धारमा माहा आरती भयो ।जयजयकार भयो ।

हामीले पनि दीप प्रज्वलन गर्यौं ।त्यहाँ को ब्यवस्थापन समितीमा सक्दो सहयोगको रसीद कटायौं । त्यति ठुलो जनमानसलाई व्यवस्थित गरेको देख्दा धन्यवाद पनि दियौं । आरती सकिएपछि हामी रामलिला जलेसा हेर्न गयौं । केही बेर रामलिला अवलोकन पछि बजार धुमधाम र सरसामान किनमेलका काम सकाएर खाना खाएर होटलमा गयौं ।आज बिस्तरा सेट फेरी दिएको हुँदा राती छटपटाउनु परेन उडुसले टोकेन ।

७४।६।१५ सबेरै उठेर आज नेपालगंज फर्केने तयारीमा जुटयौ ट्रेनको रिजर्वेसन गर्न सकिन्छ कि भनेर अनलाइन कोशिष भयो होटलबाट । तर तत्कालको लागि सम्भव नहुने भएपछि बसबाट हरिद्धार रुपैडिया तिर लाग्यौं ।

बस यात्रा । रेलको रिर्जव गरेर हिडे जस्तो सहज त रहेन तर पनि परिवारिक भ्रमण भजन किर्तन गर्दै रमाइलो वातावरणमा साँझ ६ बजे रुपैडिया पुग्यौं । रूपैडियाबाट टांगा चढेर नेपालगंज लाग्यौं । टांगाको टक टक आवाज संगै स्वदेश फिर्ता हुदाको क्षण सबै परिवारका अनुहारहरू खुशीले उजेलिएका थिए ।एक किसिमको सुखानुभूति भैरहेको थियो । कुनै डर त्रास शंका उप शंका बांकी थिएन थियो त केवल आफ्नो मातृभूमि को स्नेह ,तराई पहाड हिमाल का परिदृश्य , छर छिमेक साथी भाई संगका सुमधुर पलहरू, यिनै सुखद संझना गर्दा गर्दै टांगा नेपालगंज पुगेको पत्तै भएन । हामी टाँगा बाट ओर्लियौं ।सागरका परिवार आफनो घरतिर लागे । हामी भाई नारायणको घरतिर लाग्यौं । भोली पल्ट पुर्णीमाका दिन आमाको तीथि परेकोले यस बर्ष को आमाको श्राद्ध नेपालगंजमै सम्पन्न गरीयो ।

समग्रमा भन्नु पर्दा भारतमा हामी घुमेको ठाँउ हरू भन्दा धेरै राम्रा ठाँउहरु हाम्रो देशमै छन । पाथीभरा , बुढासुब्बा, बराह क्षेत्र ,चतराधाम ,जनकपुरधाम देवघाट ,रुरुक्षेत्र ,मुक्तीनाथ , वाग्लुडंकाली ,गोसाईकुण्ड ,दामोदर कुण्ड, तालबाराही ,भैरवस्थान ,सुपादेउराली ,स्वर्गद्धारी ,वागेश्वरी ,काँक्रीविहार ,रारा ,खप्तड ,बडीमालिका ,आदी अनेकौं दर्शनीय स्थल उपत्यका बाहिर छन भने उपत्यकाका तिन शहर त मन्दीरै मन्दीरको शहरले स्वर्णाक्षर अंकित नै छ जहा देवाधिदेव पशुपतिनाथको मन्दीर स्तुत्य छ । मात्र खाँचो छ यि रमणीय दर्शनीय स्थानहरुको प्रचार प्रसार भौतिक पुर्वाधार बाटो घाटो मर्मतसंसार आधुनिकीकरण र यात्रीहरुलाई सहज बनाउने विधिहरुलाई प्रभावकारी बनाउने ।यती गर्न सके हाम्रो नेपाल जस्तो राम्रो देश संसारमा कुनै छैन ।कतै छ भने पनि खर्च गरेर बनाईएको अर्टिफिसियल छ । हाम्रो देश त प्रकृतिमय देश । त्यसै राम्रो देश ।

जय मातृभुमि ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button