रोमाञ्चकः एकै पटक धादिङ फेदीदेखि टुप्पोसम्म
शकुन्तला देवकोटा
मेरा थुप्रै आफन्त, साथीभाई धादिङ जिल्लाका भए पनि मलाई यसअघि कहिले धादिङ जाने अवसर जुरेको थिएन । २०७९ माघ महिना १८ गते मेरो पहिलो धादिङ यात्रा भिटोफ नेपालको फाम ट्रिपले जुराएको थियो ।
सोरखुट्टेबाट धादिङका लागि ५ वटा स्कार्पियोमा भिटोफ नेपालका साथीहरु र पर्यटन क्षेत्रसँग आवद्ध अन्य गरी ४० भन्दा बढीको संख्याको समुह बनेर जब बिहान हिँडियो तब मनमा कौतुहल बड्न थाल्यो, ‘कस्तो होला ठाँउ ? कति बेला पुगिएला ? धादिङको पनि अति दुर्गम ठाँउ जाँदैछौँ जम्बो टोली, साथीहरूलाई केही अप्ठ्यारो पर्ने हो कि ?’
यात्रा अघि बड्दै थियो रमाइलोसँग । बाटोको लागि भनेर राखिएको प्याकिङ ब्रेकफास्ट खाँदै दोहोरी सुन्दै यात्रा मज्जा हुँदै थियो । मलाई एक्कासी पेट बटार्यो । वाकवाकी होला जस्तै हुन थाल्यो । जब मलेखु पुगियो, गाडी रोकियो । एक जना साथी चितवनबाट आउँदै हुनुहुन्थ्यो । उहाँलाई पनि सँगै लग्न रोकिएको गाडी रोकिएको थियो । त्यहाँ एकछिन रेस्ट गरेपछि फेरि हिँडियो गफ गर्दै । ठुलो कुरा ! वाकवाकी भएन मलाई ।
त्यसपछि गाडी एक्कासी लापाङ फेदीको युनिक होटलमा रोकियो । खाना खाएर फेरि यात्रा जारी । जति अघि बड्यो उति अफ्ट्यारो बाटो !
‘हाम्रो देशको पहाडी भेगमा कहिले होला सररररर गाडी कुद्ने ? कहिले हुने होला वास्तविक परिवर्तन ? कस्को पालामा होला ? शिक्षित युवा वर्ग विदेश पलायन हुँदै छ्न्, अब झन कसरी बन्ला देश ?’, यी यस्तै गफ गर्दै अघि बढियो ।
झार्लाङ पुग्दा ४ बजिसकेको थियो । गाडी रोकियो । मज्जाले दुधको चिया बनाउन लगाएर खाइयो अनि सोधियो, ‘रुवीभ्याली पुग्न कति समय लाग्छ ?’
‘अब ३–४ घन्टा जति’, उत्तर आयो ।
अत्यासलाग्दो यात्रा फेरि सुरु गरियो । मनमा थोरै डर, धेरै उत्सुकता ! रमाइला साथीहरूसँग फरासिला गफ गर्दै अघि लागियो । यात्रा गर्दा हतार नगर्ने अनुभवी चालक पर्नु सौभाग्य नै मान्नु पर्छ । हाम्रो गाडीका चालक पनि, साहु पनि आफै पर्नु भएछ । सारै राम्रोसँग पुराउनु भयो बोराङ । त्यो ठाँउ रुवीभ्यालीको अन्तिम स्टेसन रहेछ । हामी जानू अझै एक-आधी घन्टा बाँकी नै । अँध्यारो भइ नै सक्यो । हाम्रो गाडी रुवीभ्यालिको सेर्तुङ पुग्नु छ । विस्तारै अघि त बढियो । चालक दाइ बाटो देखेर अलि आतिएको जस्तो । हामी त पछि बस्दै गफ हाँक्दै थियौं । अँध्यारोमा कस्तो छ भनेर बाटो हेर्न नि परेन । ढुक्क !
सेर्तुङ पुग्दा रातको ८ बजिसकेको थियो अनि सुरु भयो पैदल यात्रा । अघिसम्म गाडीले बोकेको ब्याग पनि आफै बोकेर मोबाइलको लाइट बाल्दै लागियो चालीस गाउँ । त्यहाँबाट ओरालो झरेको केही समयपछि पुगियो चालीस गाउँ ।
गाउँका आमा, बुवा, भाइ, बहिनीहरु पाहुनालाई स्वागत गर्न बाटोमै स्वागत गेट बनाएर बस्नुभएको रहेछ । आफ्नो संस्कृति अनुसार भित्र्याउनु भयो गाउँमा । हाम्रो लागि खाना तयार रहेछ । जाने बित्तिकै ठुलो आँगनमा सबै पाहुनालाई गोलो बनाएर राखेर खाना खुवाउनु भयो । धेरै थाकेको हुनाले खाना खाएर सुतियो । भोलि पल्ट बिहान ५ः ३० स्वागत गेटमा सबै जम्मा भएर एक–डेढ घन्टा हाइकिङ गर्ने कार्यक्रम रहेको थियो । सोही अनुसार नै हाइकीङ हिँडियो । मेरो हिँड्ने बानी अलि कम नै भएकाले अलि सकससँग पुगेँ गन्तव्यमा ।
माथि बुद्धको मन्दिर रहेछ । गणेश हिमाल पनि नजिकै देखिने । रमाइलो गरियो । नाच्ने, फोटो खिच्ने सबै काम भयो । फेरि फर्कने बेला भयो, उही पिर आफुलाई, कसरी हिँड्ने । तर, म सजिलैसँग झरेँ । संयोग, एक जना साथीले लठ्ठी दिनुभयो अनि सजिलो भयो हिड्न । तल गाउँपालिकाको वडाअफिसमा गाउँपालिकाले पनि पाहुनालाई स्वागत गर्न छुट्टै कार्यक्रम राखेको रहेछ । स्वागत कार्यक्रम सकेर चिया, भुटेको मकै, भटमास खायौँ र झरियो फेरि चालीस गाउँ ।
औपचारिक कार्यक्रम बाँकी नै थियो । खाना खाएर सुरु गर्दा तोकिएको समयभन्दा अलि ढिलो नै हुन गयो कार्यक्रम तर बत्तीको राम्रो सुबिधा भएको ठाँउ भएकोले बेलुका राम्रोसँग कार्यक्रम समापन गरियो । त्यो ठाँउको बारेमा स्थानीयको कुरा सुनियो । गुरुङ, तामाङको साँस्कृतिक नाचगान हेरियो, सुनियो, नाचियो अनि लागियो खाना खान मार्सी चामलको भात र आलु काउलीको तरकारी खाएर सुत्ने तर्खरमा ।
हामी ३ जना महिला थियौँ एक जना बुढीआमाको घरमा । आमासँग एकछिन भलाकुसारी गरियो र सुतियो ।
भोलिपल्ट नास्ता खाएर लागियो काठमाडौको यात्रामा । उही गाडी, उही बाटो । जाँदा बेलुका अँध्यारोमा नदेखिएको बाटो फर्कंदाको उज्यालोमा त कहाली लाग्दै रहेछ । म छेउमा बस्न डराएँ । गाडीको बीचमा बसेँ तर चालकले सजिलैसँग पार गराए । बोराङ आएपछि त अलि सजिलो बाटो । उही लापाङ फेदीमै खाना खाइयो र बेलुका ९ बजे आफ्नै सनराइज हाइट आइपुगियो ।
समग्रमा असाध्य स्मरणीय यात्रा गरियो एकै चोटि धादिङ फेदीदेखि टुप्पोसम्म ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)