त्यो यात्राः बल्थलीमा ‘बबालै’ भो
शहरमा बस्दाबस्दा तपाईंलाई वाक्क लागेको होला भन्ने ठान्दै एउटा यात्रामा लाँदै छु । शहरबाट अलि पातलो शहरतिर र अन्तत गाउँतिर । जाने होइन ?
यस्तो अनुभव गर्नुस्, तपाई पढिरहनु भएको छैन बरु हिडिरहनु भएको छ । हो त, तपाईं हिंडिरहनु भएको छ । म तपाईको पदचाप सुनिरहेको छु ।
लैनचौरको अमृत साइन्स क्याम्पस (अस्कल) पछाडि जम्मा भएका छौं हामी । मसहित यो यात्रामा झन्डै दुई दर्जन पर्यटन व्यवसायी छन् ।
एक्कासी पानी परेपछि यात्रा सुरु गर्नुअघि नै एकजना सहयात्री भन्दै छन्, ‘क्लाइमेटले च्यालेन्ज दियो त ?’ अरुको पनि त्यसमा समर्थन भए झैं देखिन्छ । भन्दै छन्, ‘त्यही त ।’
हामी काठमाडौंको ठमेलबाट ४२ किलोमिटर पूर्वमा रहेको काभ्रेको बल्थलीको लागि टुरिस्ट कोचमा चढ्छौं । पर्यटनकर्मीहरु प्यासेन्जर भए । यो कोचमा अरु बेला विदेशी पर्यटक चढ्थे ।
पर्यटन सुस्ताएको थियो, अहिलेजस्तै । हामी कोटेश्वर पुगिसकेका छौं । शनिबार भएकोले सडक तुलनात्मक रुपमा शान्त छ । त्यत्तिकैमा दीपक महतको ठुलो स्वरले सबैको ध्यानाकर्षण गर्छ, ‘पहिलो कुरा प्रथम हुन्छ । मुख्य कुरा महत्वपुर्ण हुन्छ ।’ बसभरिका हामी सबै एकैपटक हाँस्छौं । रामचन्द्र लामिछाने, अर्जुन पाण्डे, सुरेश अम्गाईं, चेवन देवकोटा, अर्जुन सिम्खडा, बद्री रिजाल, प्रकाश देवकोटा, रामसुन्दर थापालगायतमध्ये को हाँसे को हाँसेनन् । मलाई याद छैन ।
तर, त्यसरी सुरु हुन्छ, यात्राको संसार ।
छेउको सीटमा देवेन्द्र वाग्ले, मदन आचार्यलगायत अरु सहयात्री संविधानका कुरा गर्न थाल्छन् । मन्त्री र सचिवबीचको सम्बन्धमाथि उनीहरु विमर्श गर्दैछन् । सचिवको पार्टी हुन्छ कि हुँदैन भनेर उनीहरुले निकै बेर छलफल गर्छन् । तर, सचिवको कुनै पार्टी हुनु हुँदैन भन्ने उनीहरुको निष्कर्ष रहन्छ । र, निकै पछि मात्र उनीहरु विषयान्तर हुन्छन् ।
दिउँसोको १ बज्नै लागेको छ । हामी सूर्यविनायक छेउ पुगेका छौं । म झ्यालसीटमा छु । मास्क लगाएका वा स्कार्फले अनुहार छोपेका स्त्रीहरु गुडिरहेका बाइकहरुका पछाडि दुई शरीर एक भएर बसेको झ्यालबाट देख्दैछु । स्त्री किन भनेको भने, मास्क वा स्कार्फले अनुहार छोपिएकोले मैले उनीहरुको उमेर अडकल गर्न सकिन । तर, शरीरले उनीहरु भर्खरका वा अधवैशे हो भनेर बुझ्न मलाई कत्तिबेर पनि लागेन ।
एक होइन, अनेक बाइकको स्थिति त्यस्तै छ । काठमाडौंतिरबाट हुईंकिएका उनीहरुको गन्तव्यवारे मैले थप सोच्न चाहिनँ । मलाई लाग्यो, यो जोडी रोड हो । तर, कस्तो जोडी ? त्यसबारे पाठक आफै अनुमान लगाउनुस् । वा त्यसबारे केही अनुमान नलगाउन पनि स्वतन्त्र हुनुहुन्छ ।
‘यो साँगा हो ?’, सहयात्रीमध्ये कसैले सोध्छ । अर्कोले उत्तर दिन्छ, ‘महादेवको ठुलो मूर्ति जहाँ देखिन्छ, त्यो हो साँगा ।’ त्यसो भनिरहँदा हामी जगातीको डोलेश्वर मोडमा आइपुगेका छौं । पर्यटन व्यवसायी भएर पनि त्यति जानकारी नराख्नु वा नहुनुले हाम्रो पर्यटन क्षेत्र कस्तो छ भन्ने देखिन्छ भन्ने मनमनै सोच्दै गर्दा मैत्री हनुमान, आरके अजिमा आदिजस्ता लेखिएका इट्टाभट्टाका चिम्नीहरु धुँवाबिनाका देखिन्छन्, परतिर । ती चुपचाप छन् । अरु कतिपटक त्यो बाटो हिंड्दा त्यहाँबाट निस्केका धुवाँले मलाई त्यता जानै मन लाग्थेन । एकदम फोहारी देखिन्थ्यो, धँुवाले त्यहाँको आकाश । तर, अचेल साँगाको आकाश सग्लो छ ।
साँगाको फनपार्क शनिबार भएकोले भरिभराउ छ । महादेवको ठूलो शालिक पनि भव्य देखिन्छ । मैले झ्यालबाटै कही तस्विर खिच्दैछु । काठमाडौंबाट भक्तपुर हुँदै वनेपा तन्किदै गर्दा झ्यालबाट म मझौला कदका हरिया पहाडहरुसँग मोहित भइरहेको छु ।
वनेपा नपुग्दै बल्थली इको हिल रिसोर्टका संचालकमध्येका एक शिव लामिछाने मेरै सीटमा आइपुगेका छन् । सहचालक झैं उनी घरी मेरो सीटमा त घरी अरु नै सीटमा पुग्छन् । मेरो कानै नजिक आएर उनी भन्दै छन्, ‘नगरकोट, काठमाडौंमा इन्डोर ट्रेनिङ गर्दा हाजिर गरेर भाग्ने गर्छन् । तर, बल्थलीमा यातायत सहज नभएकोले ट्रेनिङको लागि पनि यो ठाउँ पपुलर छ । र, गाडी नपाएपछि यहाँबाट भाग्न मिल्दैन ।’
अर्को संचालक यदु लामिछाने बल्थलीको विशेषता थप्दै छन्, ‘पहिलोे गाउँले जीवन हो । दोस्रो, खुलेको बेला हिमाल देखिन्छ । भिलेज भिजिट र जंगल वाक पनि गर्न सकिन्छ । बर्ड वाचिङ र फिसिङ पनि सम्भव छ । तर, संचालनमा आइसकेको भने छैन ।’
बल्थलीजस्ता हजारौं गाउँ छन् नेपालमा । सिंगो नेपाल टुरिज्म प्रडक्ट हो । तर, बल्थली पछिल्ला केही बर्षहरु आफूलाई उभ्याउन खोज्दैछ । देशका असँख्य गाउँहरु यसरी नै उभिनसक्छन् ।
पनौती आइपुग्दा गणेश सिम्खडा, बलराम न्यौपानेलगायतको स्वर एउटै छ, ‘यो पनि गजज्बै ठाउँ हो ।’ सीएन पाण्डे, राजकुमार बस्नेतलगायतले सही थप्छन्, ‘यो त एउटा चट्टानमाथि छ नि । त्यसैले …’
धान खेतको आलीमा मकै र भट्मास बोट सरोबर फलिरहेका छन् । पछाडि सीटबाट आवाज आउँछ, ‘यहाँको किसान त खतरा रहेछन् ।’
हामी पनौतीबाट अलि अगाडि बढिसकेका छौं । यो यात्रामा हामीले रेशम खेती क्षेत्र देख्यौं, झ्यालबाट । नेपालकै दोस्रो जलविद्युत केन्द्र देख्छौं ।
बनेपाबाट पनौती हुँदै खोपासी पुगेपछि हामी दुई घन्टा जति उकालो आरालो लाग्छौं । उकालिदै गर्दा म क्यामरासँग अलमलिन्छु । सहयात्री मलाई छाडेर निकै अगाडि गइसकेका छन् । गाउँमा चोकहरु भेटिन्छन् । यता जाने कि उता जाने हुन्छ । त्यही बेला पानी पनि जोडजोडले पर्न थाल्छ । तर, यात्रामा पछि पर्नुको राम्रो पक्ष के भने, बाटो सोध्ने बहानामा स्थानीयसँग कुरा गर्न पाइन्छ । उनीहरुको सहयोगीपन बुझ्न पाइन्छ । साथी छुटे पनि नयाँ साथ मलाई रमाइलो र ज्ञानबद्र्धक लाग्छ । हरियो बाटोमा हरियो मन । ।
स्थानीयको सहयोगमा म बाटो पहिल्याउँछु ।
हुर्किदै गरेका धानका हरिया फाँटमा रंगीचंगी दिदीबहिनी खाजा खान लाग्दैछन् । तिनको मुस्कान मीठो । सानी नानी आँखाभरी आफैले थाहा नपाएको सपना बोकेर उभिएकी छिन् । बुढी आमा सेतो कपालमा जीवनको सौन्दर्य पोखिरहेकी छिन् । यस्ता अनेक दृश्यले यो यात्रामा मलाई मख्ख पार्दैछन् ।
साँझ नेपाने गाउँ अलि मात्तिएको छ । गोविन्द पन्त भन्दै छन्, ‘म रिसाएको होइन मेरो स्वर ठुलो हो । सो डन्ट माइन्ड ।’ सहयात्री विनोद खरेल बेलाबेला हामीलाई वेटर झैं सर्भिस दिन आउँछन् र भन्छन्, ‘सर म कहाँ छु ?’ अझ हौसिएर हसाँउँछन् ‘सर मेरो नाम के हो ?’
यता सीएन पान्डे अलि गम्भीर झै भएर भन्न थाल्छन्, ‘हाम्रो (पर्यटन)को गाडीको प्लेट हरियो हो । त्यसैले हामी हरियो पार्टी हो । व्यवसायमा रहुन्जेल हाम्रो पार्टी हरियो हो । त्यसपछि निक्लेपछि आ–आफ्नो आस्था त छँदैछ ।
उता संगीत नृत्यमा सल्बलाउन थालिसकेको छ । रामप्रसाद सापकोटा बुर्लक्क आइपुग्छन् । शशी लामछिाने र अरु पनि छन्, त्यसरी नाच्नेहरु । म नाच्नमा भन्दा पनि नाचेको भिडियो खिच्नमा रमाउँदै छु ।
तालतालको नाच हेरेर हाँस्दै छु । क्यामरा समाएको मेरो हात पनि हल्का हल्लिरहेको छ ।