‘वाउ ! तिमी माउन्ट एभरेष्टको देशबाट हौ ? चढेका हौला नि है ?’

नेपाल र हिमश्रृङ्खला

केशवराज

म खासै विदेश गएको छैन । तर जति गएको छु त्यहाँ विदेश जाने आमनेपालीहरुले झैँ एउटा प्रश्नको सामना गर्ने गरेको छु, “वाउ ! तिमी सगरमाथा (माउन्ट एभरेष्ट) को देशबाट हौ ? तिमी त सगरमाथा चढेका हौला नि है ?”

नेपाली हुँदैमा सगरमाथा चढ्न सहज छैन भन्ने कुरा बुझेकाले त्यो प्रश्न नगरे पनि अर्को प्रश्न चाहिँ तेर्साउँछन्, “तिमीले सगरमाथा (माउन्ट एभरेष्ट) देखेका हौला नि है ?” हिमालयन श्रृङ्खला बारे चासो भएकाहरुले नेपालका अन्य हिमालहरु बारे पनि जिज्ञासा राख्न सक्छन् । त्यस्तो बेला हरेक नेपालीलाई लाग्दो हो यसपटक नेपाल गएका बेला त सगरमाथा हेर्छु, हेर्छु ?

हाम्रो देश नेपाल हिमालै हिमालको देश भएता हामी धेरै नेपाली आफ्नै आँखा अगाडि उभिएका हिमालहरु बारे प्राय: अपरिचित रहने गरेका हुन्छौँ ।

यस आलेखमा सबै चुचुरा चिन्नुपर्छ भन्न खोजिएको होइन न त यो कुनै सामान्य ज्ञानको प्रतियोगिता नै हो । तर जुन हिमश्रृङ्खलाले हाम्रो देशलाई संसारकै विशिष्ट देश बनाइदिएका छन् ती हिमश्रृङ्खला बारे अलि बढी जान्न खोजेमा पक्कै पनि रमाइलो हुन सक्दछ । हिम र चट्टानबाट बनेका तथा ठिङ्ग उभिएका जस्ता देखिएता पनि हिमाल मानव सभ्यताको इतिहास र संस्कृतिका धरोहर हुन् भन्ने तथ्य बुझ्यो भने हामीलाई हिमाल बारे अलि बढी रुची जाग्न सक्छ ।

हिमाली पर्वत, उपत्यका र नदीहरूको गाथा हिमालहरू जत्तिकै उच्च र गहिरा छन् । जति जान्न खोज्यो त्यति नै जान्न बाँकी रहेको तथा जति पढ्यो उत्तिकै पढ्न बाँकी रहेको तथ्य हिमालहरु प्रति चाँसो राख्न थाले पछि बल्ल खुल्दै जान्छ । त्यसको शुरुवात चुचुरो विशेष र श्रृङ्खलाहरूको चिनारी बटुल्नु तथा तिनको अवस्थिति र नदीहरुसँगको अन्तरसम्बन्ध बारे थाहा पाउनुबाट गर्न सकिन्छ ।

नेपालमा एकातिर संसारकै अग्ला पर्वतहरु रहेका छन् भने अर्कातिर संसारकै गहिरा खोंच रहेका छन् । हिमाल र नदीका बीच अभिन्न सम्बन्ध रहेको पाइन्छ । हिमालय पर्वत एउटै अटुट श्रृङ्खला नभइ तिनलाई ठूला नदीहरूले ठाउँ ठाउँमा छुट्याइदिएका छन् । उदाहरण: कञ्चनजङ्गा र महालंगुर हिमश्रृङ्खलालाई अरुण र तमोर नदीले, रोल्वालिङ्ग र जुगल हिमश्रृङ्खलालाई भोटेकोशीले, लाङटाङ र गणेश हिमाललाई त्रिशूलीले, गणेश र मानसिरी हिमश्रृङ्खलालाई बुढीगण्डकीले, मानसिरी र अन्नपूर्ण हिमश्रृङ्खलालाई मर्स्याङ्दीले, अन्नपूर्ण र धौलागिरी हिमश्रृङ्खलालाई कालीगण्डकीले अलग गराइदिएका छन् ।

कञ्चनजङ्गादेखि गणेश हिमालको मध्यभागसम्म हिमश्रृङ्खलाको पानीढलो नेपाल तिब्बत सिमानाको रुपमा रहेको छ । गणेश हिमालको मध्यभागबाट पश्चिम लागे पछि भने हिमश्रृङ्खला उत्तरपट्टि पनि नेपालका भूभाग रहेका छन् । नेपालको सिमाना उत्तर–पश्चिम तर्फ लम्केको छ तर हिमश्रृङ्खला चाहिँ पश्चिम तर्फ मात्र लम्केका छन् । त्यसैले गर्दा चुम् उपत्यका, लार्के भोट, मनाङ, मुस्ताङ, उत्तरी डोल्पो आदि हिमाल पारीका तिब्बती पठार क्षेत्र पनि नेपालमा नै पर्दछन् ।

हाम्रो सामाजिक र साँस्कृतिक विकासमा इतिहास जत्तिकै भूगोलको हमत्वपूर्ण भूमिका रहेको छ । त्यसैले हिमाल चिन्दा आफूलाई चिन्न मद्दत हुन सक्छ । हाम्रा हिमालका इतिहास, नामाकरण, जैविक विविधता, नदीनाला र साँस्कृतिक बनोट बारे जानकारी राख्न कोशिश गर्दा हामीलाई आफ्ना हिमालप्रति अझ बढी स्नेह जाग्न सक्दछ । नेपालका मधेस, तराई, पहाड, उपत्यका, डाँडाकाँडा प्राय: ठाउँबाट विभिन्न कोणमा हिमश्रृङ्खला देखिन्छन् । विभिन्न कोणबाट हेर्दा उही हिमाल अलग अलग देखिन्छन् । त्यसरी विभिन्न कोणबाट हेर्दा उही हिमाल अलग अलग देखिनु नै हिमाललाई चिन्ने मुस्किल तथा सजिला उपाय पनि हुन् । विभिन्न कोणबाट उही हिमाल अलग अलग देखिनुले चिन्न मुस्किल पार्छ भने सजिलो चाहिँ ती कोण र हिमालको भूगोल जानेपछि तिनको सहयोगमा वरपरका अरु हिमाल छुट्याउन सकिन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button