लाजमर्दोः टान एजीएममा राजेन्द्रमानले जे देखे, त्यही लेखे

एक्सरे

राजेन्द्रमान डंगोल

बिहान साढे सात बजे उद्घाटन समारोह हुन्छ भन्ने थाहा पाएको थिएँ ।

कार्यक्रमस्थल– हायात होटल । चाबहिल चोकको ट्राफिक छिचोलेर त्यहाँसम्म पुग्नु चानचुने कुरा होइन । एक त टाढा, अर्को कुरा पाँचतारे होटल भएकोले महङ्गो त्यत्तिकै ! बाटोभरि सोच्दै थिएँ– बुढोगोरुले गाई ओगटेजस्तै रित्तिएको कोष ओगटेर बसेको ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले यति महङ्गो होटलमा कार्यक्रम किन गर्नु परेकोले होला ? बरु नयाँबजारको नेवा ब्याङ्केटमा गरेको भए के बिग्रन्थ्यो र ! नजिक पनि ! सस्तो पनि ! त्यति महङ्गो ठाउँमा कार्यक्रम गर्नुले ‘लुटको धन, फूपुको श्राद्ध’ भन्ने उखान चरितार्थ गथ्र्यो ।

आम्दानीको नाममा अस्ति भर्खर साधारण सदस्यहरूले नवीकरण गरेवापत तिरेको रकम र उम्मेदवारहरूले मनोनयन दर्ता गर्दा असुलेको शुल्क मात्र हो । योबाहेक हालको अवस्थामा अन्य कुनै विशेष आम्दानी भएको मेरो जानकारीमा छैन । त्यसो त आफू टानको पर्खालबाहिर भएकोले पनि त्यहाँभित्र भएका धेरै कुराहरू देख्नबाट बञ्चित छु । टानभित्रको असली गतिविधिलाई पर्खालले धेरै सदस्यलाई पहिलेदेखि नै ओझेलमा पाथ्र्यो, पारिरहेकै छ ।

सुनेको थिएँ– कार्यक्रममा प्रधानमन्त्रीलाई ल्याउने रे । फेरि प्रधानमन्त्रीजस्तो मान्छे आउने भएपछि चानचुने ठाउँमा कार्यक्रम गर्ने कुरा पनि भएन । इज्जतको सवाल जो छ टानको नेतृत्वकर्तालाई ।

टानमा जुन पार्टीको अध्यक्ष आयो, उसैको पार्टीका नेता ल्याउने र एकैछिन भए पनि ड्यासमा कुम जोडेर बस्ने चलन छ । हुन पनि अचम्मकै सौख छ हाम्रा मित्रहरूलाई । टानमा मात्र होइन, पर्यटनका अरु संस्थामा पनि यस्तै संस्कार बसेको छ । अचेल त झन् चुनाव जित्नेबित्तिकै शीर्षस्थ नेताका दैलोदैलो पुगेर आशीर्वाद थापेको तस्बिर समाजिक सञ्जालमा पोस्ट्याउने चलन ब्याप्त छ । टानका अध्यक्ष पनि काँग्रेससम्वद्ध व्यवसायी भएकाले काँग्रेस सभापति एवम् प्रधानमन्त्री ल्याउनु नौलो कुरा थिएन । आफू र नेताबीचको निकटताको सन्देश दिने विचित्रको कायदा पनि हो यो । यसरी डाकिएका प्रमुख अतिथिसँग कार्यक्रम अवधीभर कुम जोड्न पाए त झन् कति गौरवान्वित महसुस हुन्थ्यो होला । कार्यक्रम नसकिँदै दुई शब्द बोलेर प्रमुख अतिथि बिदा हुँदा आधाघण्टा पनि कुम जोड्न पाएका हुँदैनन् । वास्तवमा यसो हुँदा मित्रहरूलाई कुम जोडेर बस्ने धित मरेकै हुँदैन । तैपनि किन यसरी मरिहत्ते गरेका होलान् ? योभन्दा पनि मलाई बढी चिन्ता चाहिँ आज फेरि स्टेजमा बस्दै गर्दा प्रमुख अतिथी निदाएको र उनले राल चुहाएको हेर्नुपर्ने भयो भन्नेमा थियो । मुलुकमा पनि चुनावी सरगर्मी बढिरहेको छ । गठबन्धनका लागि मिटिङ त गर्नै परिगो । बिचरा उनले रातभर सुत्न पाएका थिए कि थिएनन् कुन्नि ! खुल्दुली थियो ममा ।

हायात होटलको प्राङ्गणदेखि नै उभिएका थिए, चुनावी मैदानमा उभिएका उम्मेदवारहरू । कतिपय उम्मेदवार त मतदाताहरूलाई नमस्ते गर्न बाटोसम्मै आइपुगेका थिए । भोलिदेखि मैले नमस्कार गर्नुपर्नेहरू सबै मलाई नमस्ते गर्दै थिए । भित्रभित्रै लज्जित थिएँ म । नमस्ते गर्ने उम्मेदवारहरू कोही चिनजानकै थिए भने कोही अपरिचित । चिनजान नभएकाहरूसँग पनि चिनजान गरियो । होटल प्रवेश गर्ने ठाउँदेखि नै उम्मेदवार र तिनका सहयोगीहरूको नमस्ते खाँदै अगाडि बढियो । यस्तो लाग्थ्यो– आज उनीहरू विशेष पाहुनाहरूको स्वागत गर्दै थिए । भोटको स्वार्थमा जहाँ पनि कृतिम स्वागत र सत्कार हुन्छ नेपालमा ।

यो पटक काँङ्ग्रेस, माआवादी र स्वतन्त्र उम्मेदवारहरू निर्वाचनको मैदानमा थिए । काँङ्ग्रेस र माओवादीको तामझामको त कुरै नगरौँ । कार्यक्रमस्थल जाने भ-याङसम्मको बाटो उनीहरूकै कब्जामा थियो । सक्रिय थिए तिनका सहयोगीहरू । कोही मतदाताका सुविधाका लागि ल्यापटप र फोटोकपी मेसिन समेत लिएर बसेका । कोही मतदाताका हातहातमा पम्प्लेट थमाउँदै । कोही भोट हाल्न अनुरोध गर्दै । हेर्न लायक थिए दृश्यहरू । त्यही एउटा कुनामा कित्रिक्क एकथान टेबल र त्यसमाथि केही थान पम्प्लेट राखेर बसेका थिए- स्वतन्त्र उम्मेदवारका केही सहयोगी ।

भ-याङ ओर्लेपछिको बेसमेन्टमा टान सचिवालयका कर्मचारीहरू रजिस्ट्रेसन गराउँदै रहेछन् । भिड थियो, नाम दर्ता गराउने व्यवसायीहरूको । मैले पनि लाइन बसेरै उपस्थिति जनाएँ । बदलामा उनीहरूले टान लेखेको झोला थमाए । आइडी कार्ड चाहिँ सबै नआइपुगेकोले पछि लिन आग्रह गरे । कार्यक्रम सुरु हुन लगिसक्दा पनि आइडी कार्ड नआइपुग्नु चाहिँ व्यवस्थापकीय कमजोरी नै थियो । त्यसो त सक्षम मान्छेहरू टानमा पुगेका भए पो व्यवस्थापन पनि चुस्त र दुरुस्त हुन्थ्यो त ! चित्त बुझाएँ मैले । थमाएको झोलामा मूलतः आज महासचिव र कोषाध्यक्षले पेस गर्ने रिपोर्ट होला भन्ठानेको थिएँ । तर त्यसभित्र एक थान डायरी, एक थान म्यागेजिन, एक थान डट्पेन र सानो तीन पाना मेमो राखिएका रहेछन् ।

नौ बज्दा पनि कार्यक्रमको सुरसार थिएन । कारण के रहेछ भने– प्रधानमन्त्री नआउने भएछन् । हेर त फसाद ! कुम जोडेर बस्ने सपना हठातै तुहियो कसैको । उनको ठाउँमा अर्कै आउने भएपछि म चाहिँ ढुक्क भएँ ।

उपस्थितिमा नाम दर्ता गर्दा ब्रेकफास्ट र लन्चको कुपन पनि थमाएका थिए । हलबाहिर धमाधम ब्रेकफास्ट खाँदै रहेछन् मतदाता साथीहरू । लाइनमा बसेँ । कुपन दिएँ । ब्रेकफास्ट छानीछानी खाएँ । कार्यसमितिमा त दलसँग आवद्ध व्यवसायीबाहेक अरुले चिह्याउनै पर्दैन । टानको साधारण सदस्य हुनुको फाइदा भनेको ब्रेकफास्ट र लन्च गर्नु मात्रै हो, म र मजस्ता सदस्यका लागि ।

त्यही बेला टानका पूर्वअध्यक्ष आरपी पन्तले ब्रेकफास्टका लागि उचालिसकेको प्लेट पनि फिर्ता गरेको देखेँ । उनले एक कप चियामात्र पिए । कारण थियो उनीसँग कुपन थिएन । कम्तीमा टानको अग्रज एवम् पूर्वअध्यक्ष आरपी पन्त जस्ता अतिथिका लागि विशेष व्यवस्था हुनुपथ्र्यो । टानलाई आजको मितिसम्म ल्याउन र सिङ्गो नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन विशेष योगदान छ– उनै आरपी पन्तको । मान्छे हो, उचालिसकेको प्लेट राख्नुपर्दा एकखालको ‘शर्मिन्दा’ त हुन्छ नै । सायद उनले पनि यो कुरा महसुस गरे होलान् भन्ठान्छु । अतिथिको सम्मान गर्न नसक्ने भए किन आमन्त्रण गर्नू !

मन्त्री जीवराम श्रेष्ठको आगमन भएपछि उद्घाटन सत्र सुरु भयो । प्रमुख अतिथि र टान अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूले स्टेज भरियो । अँ, त्यहाँ निवर्तमान अध्यक्ष पनि थिए ! आयाेजक मन्चमा, अतिथि दर्शक दिर्घामा । आहा ! प्रमुख अतिथिबाहेक मञ्चासिन अन्यलाई देख्दा भने मञ्चमा बस्ने बानी नभएको जस्तो वा संकोच मानीमानी बसेजस्तो अनुभूत गर्न सकिन्थ्यो । उनीहरूलाई देख्दा यस्तो लाग्थ्यो– मानौँ उनीहरूले केही हराइरहेका छन् वा केही पाएको महसुस गरिरहेका छन् । मान्छेमा हर्ष र संकोचकको अनुभूति एकैसाथ हुँदा त्यस्तो देखिँदोरहेछ भन्ने संवेदन भइरहेथ्यो मलाई ।

उद्घोषणको भूमिका निभाइन् टानका महासचिवले । उद्घोषकले आकर्षक ढङ्गले कार्यक्रमको उठान गरेर अगाडि बढाउनुपर्छ । तब मात्र कार्यक्रमको रौनक हुन्छ । यसै पनि त्यो कार्यक्रम तीन वर्षको अन्तरालमा हुँदै थियो । खैर, व्यवसायीहरूले हल नभरिए पनि त्यहाँ जति थिए, तिनका मुहारमा एकखाले उत्साह र उमङ्गका तरङ्ग दौडिरहेको भान हुन्थ्यो । कार्यक्रमको उद्घोषक त एउटा आकर्षण नै हो । अपसोस के भने उनी त्यो आकर्षण बन्न सकिनन् । यसर्थमा कि– एक त उनले बोलेका कतिपय शब्दका उच्चारण गलत थियो । यसो भन्दै गर्दा उनले नेपाली बोल्नै नजानेको भन्ने होइन । कारण उनी हड्बडाइरहेको कुरा प्रष्टरूपमा अनुभूत गर्न सकिन्थ्यो । कार्यक्रमको विधि र प्रकृया हुन्छ । पूर्वराज्यमन्त्री समेत भइसकेकी पर्यटन व्यवसायी याङ्किला शेर्पा र टानका पूर्व अध्यक्षहरू आरपी पन्त, दीपक महत, रमेश धमला र एनएमएका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाजस्ता व्यक्तित्वलाई पनि आसनग्रहण मञ्चमै आमन्त्रण गरिनुपथ्र्यो । तर त्यसो गरिनन् वा आवश्यक ठानिनन् । टानका अध्यक्ष र निवर्तमान अध्यक्षले पनि सल्लाह दिन सक्थे । तर उनीहरूले पनि त्यसो गरिएको देखिएन । आसनग्रहणका लागि नाम लिँदा उठिकन पाइला सार्न खोजेका आरपी पन्तलाई यथास्थानमै आसनग्रहण गर्न भनियो । उद्घोषकले याङ्किला शेर्पालाई पनि त्यसै भनिन् । अचम्म चाहिँ के भने कार्यक्रममा सभापतित्व गरिरहेका सभापतिले भने ‘माथि नै आउनुस् न !’ भनेर डाक्दै थिए । यो देख्दा ….कुन्नि केलाईभन्दा देख्नेलाई लाज भने जस्तै प्रतीत हुन्थ्यो । आसनग्रहणको कुरा यतिमै थाती राखौँ होला ।

अब आयो स्वागत मन्तव्यको प्रसङ्ग ।

उद्घाटन सत्रमा प्राय: अध्यक्षले नै स्वागत मन्तव्य दिने प्रावधान छ । त्यहाँ पनि त्यसै भएको थियो । तर एउटा औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदा संस्थाको आन्तरिक विषवस्तु र दुखेसो पोखिँदैन । त्यस्तो अपेक्षा नगरिएको भए पनि गरे । साथीहरूले टान कार्यसमितिको कमजोरी औंल्याएको, टानको विरोध गरेको केके… केके … । कोभिडको समयमा कार्यसमितिबाट भएको कामको प्रशंसा मज्जैले गरे । आफ्नो प्रशंसा आफैले गरिन्न, त्यो त अरुले गरिदिने कुरा हो । उनले मन्तव्यमा असान्दर्भिक कुरा राख्दा सोच्दै थिएँ– टानका अध्यक्षले एउटा नयाँ संस्कार बसाउन खोजेछन् । त्यसै त ‘भरियाको संस्था’ भनेर हेप्छन् टानलाई । त्यसमाथि संस्थाको नेतृत्वकर्ताको अभिव्यक्ति नै त्यस्तो भएपछि के भन्ठाने होलान् प्रमुख अतिथिले !

स्वागत मन्तव्यकै क्रममा टान अध्यक्षले ‘दुई वर्ष दश महिना टानको कार्यसमितमा बसेर आज म दुलही अन्मिए झैँ अन्मिदै छु’ भन्दा कोही कोही त हाँस्दै थिए तर मलाई नारी संवेदनाले छोएथ्यो । मनले भन्दै थियो– बरु एक कार्यकाल उनैलाई थप गर्न मिल्ने प्रावधान टानको विधानमा भइदिएको भए हुन्थ्यो ।

पर्यटन प्रवर्द्धनमा योगदान पु-याएवापत झन्डै एक दर्जन मिडियाका पत्रकारहरू सम्मानित भए । सम्मान गर्नु नेपाली संस्कार नै हो । त्यो लिस्टमा नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पु-याउँदै आइरहेको नेपालनाम्चाको नाम आयो कि आएन, त्यो चाहिँ थाहा भएन । कोभिडको समयमा फुडब्याङ्कसँग सम्बन्धित काम गरेवापत टान कार्यसमितिकै कतिपय सदस्यले प्रमुख अतिथिको हातबाट ‘लेटर अफ एप्रिसिएन’ लिइरहँदा पनि पछिल्तिरबाट गाइँगुइँ आवाज आइरहेथ्यो । उनीहरू काम गर्नकै लागि गएका हुन् । जे जति गरे, त्यसका लागि यसै पनि उनीहरू धन्यवादका पात्र छँदै थिए । ‘लेटर अफ एप्रिसिएन’कै आवश्यकता थियो र ? भन्ने प्रश्न असान्दर्भिक जस्तो चाहिँ लाग्थेन ।

हिउँदका बेला फोहोरको डङ्गुर बोकेर बागमती नदी घस्रे जस्तै घस्रेको कार्यक्रम सकिएपछि बाहिर निस्क्यिौँ । पूर्वअध्यक्ष आरपी पन्त र अग्रज याङ्किला शेर्पाको छेउ पुगेँ । उद्घाटन सत्रमा रौनक नभएको कुरा उनीहरूलाई पनि महसुस भएको रहेछ । सबैले महसुस गरेका कुरा हो क्यारे ! उनीहरूले पनि किन नगरून् ! उद्घाटन सत्रमा लगभग सत्तरी प्रतिशत कुर्सी खालि नै थिए । कारण धेरैलाई चुनाव लागेको थियो । कार्यक्रमभन्दा महत्वपूर्ण भोटको कुरा थियो । चुनावका उम्मेदवारहरू उद्घाटन सत्रमा हलमा उपस्थित हुनुपथ्र्यो भन्ने भनाइ थियो, याङ्किला शेर्पाको । जायज थियो उनको कुरा । शुभकामना मन्तव्यका क्रममा मन्त्रीले केही कुरा बोलेका थिए । केही आश्वासन दिएका थिए । जसलाई थाहा हुर्नुपर्ने हो, उसलाई थाहा नभएपछि कार्यक्रमको अर्थ र औचित्य के नै भयो र !

सुरु भयो बन्द सत्र । फेरि पनि हलमा व्यवसायीहरूको उत्साहजनक उपस्थिति थिएन । महासचिव र कोषाध्यक्षले कनीकुथी पढेका प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पनि सुनियो । अझ भनौँ– सुन्नलायक थिएन । मान्छेहरूमा धैर्यता देखिन्नथ्यो, हलमा बस्नेको त कुरा छाडौँ, ड्यासमा बस्ने साधारणसभाका प्रमुख पदाधकिारीहरूमै पनि धैर्यता शून्यप्रायः देखिन्थ्यो । आफ्नो प्रतिवेदन सुनाएपछि ड्यासमा महासचिव नदेखिँदा एकजना व्यवसायीले प्रश्न पनि उठाएका थिए । जो अन्तिम समयसम्म बस्नुपर्ने थियो, ऊ नहुँदा सभा केवल औपचारिकताका लागि मात्र हो भन्ने लाग्थ्यो । पदीय जिम्मेवारी नदेखिनु एउटा विडम्बना नै हो । त्यति बेला कसैलाई आफ्नै लागि भोट माग्नु थियो । कसैलाई अरुका लागि भोट माग्नु थियो । कुरा भोटको मात्र थियो । यस्तो लाग्थ्यो– टान भन्ने संस्थाको उपादेयता चुनाव गर्ने र भोट माग्नकै लागि मात्र रहेछ ।

वैरागलाग्दो साधारणसभा सकियो । यत्तिको झुर साधारणसभा टानको इतिहासमै पहिलो पटक भएथ्यो होला । एउटा राम्रो कुरो चाहिँ के भयो भने उम्मेदवारी मनोनयन दर्ता शुल्क रु. एक लाख, पचासी हजार र पचास हजार भएकोमा आपत्ति जनाउँदै सदस्य व्यवसायी ऋृषि नेपालले रु. दश हजार, पाँच हजार र तीन हजार कायम गर्न गरेको प्रस्तावलाई सभाको बहुमतले पारित गर्‍यो । कम्तीमा एकजना व्यवसायी सचेत भएकोे देख्दा पनि खुशी लाग्दोरहेछ ।

हलबाहिर मान्छेहरू आ–आफ्नै तालगाँठीमा थिए । उम्मेदवारहरू भोट माग्दै । टानका नेताहरू पनि आ–आफ्नै गुटका लागि भोट माग्दै थिए । तानातान भइरहेका थिए मतदाता व्यवसायीहरू । यो देख्दा काठमाडौँको गोङ्गबुतिर पोखरा जाने यात्रुलाई माइक्रोबसका विचौलियाहरूले तानातान गरे जस्तै भान हुन्थ्यो ।

अचम्म चाहिँ के भने– बिहान त्यही बाटो भएर आउँदा नमस्ते गर्ने उही उम्मेदवार र तिनका सहयोगीहरूले मतदान स्थलबाट बाहिरिँदै गर्दा भने देख्दै नदेखे झैँ गरे ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button