तातोपानीः एक ‘माइक्रोस्कोपिक’ शल्यक्रिया

यात्रा स्मृति

दुर्गाप्रसाद शर्मा
बुटवल–४, लक्ष्मीनगर, रुपन्देही ।

केहि दशकदेखि सुन्दै आएको थिएँ, ‘तातो पानीमा गै डुवेर आईयो । ऐले केहि आराम भएको छ । वर्ष वर्षमा जानसके विभिन्न रोगको उपचार हुने थियो । जम्मा ३ दिन मात्र डुबुल्की मारें । अलि दिन बस्नु पर्ने । म त ७ दिन वसें । अर्काे ७ दिन सम्म बस्न पाएको भए धेरै राम्रो हुने थियो । हैनहैन, एक महिनासम्म तातो पानीको कुवामा डुवेको भए धेरै राम्रो हुने थियो ।’ आदि इत्यादि कुराहरु ।

आफ्नै गतीमा रमाउँदै हिँडेको म्याग्दी खोला । शान्त, मनोरम र अग्ला अग्ला पहाडको फेदीमा अवस्थित तातो पानी क्षेत्र अति रमणिय छ । एक पटक जो कोहि पनि जानु पर्ने देखिन्छ । साँच्चै प्रकृतिको अनुपम उपहार प्राप्त गर्न किन हिचकिचाउने त । छरछिमेकी, इष्टमित्र, दाजुभाईहरुको मुखारविन्दुबाट बारम्बार दोहोरिन्थ्यो, ढाड दुखेको, खुट्टाहरु सुनिएको, जोर्निहरु दुखेको, नशामा अप्ठयारो परेको र विभिन्न चर्म रोग भएकाहरुको लागि उपयोगि हुने कुरा ।

जान त म मुक्तिनाथ जाने क्रममा दाना तातो पानीमा गई त्यहाँ रहेको तातो पानी कुण्डमा पौडी खेलेको र तातै पानी आएको धारामा नुहाएको थिएँ । जुन काली गन्डकीको किनारमा रहेको छ । त्यस्तो अदभुत कुरा खासै देखेको थिइनँ । पानीको स्वादमा केही फरकपन मात्र पाएको थिएँ तर कुरा उठेको रहेछ म्याग्दी जिल्ला सिङ्गामा रहेको तातो पानीको ।

धौलागिरी अञ्चलको म्याग्दी जिल्ला सिङ्गा, म्याग्दी खोलाको किनारमा अवस्थित सदरमुकाम बेनी बजारदेखि उत्तरपश्चिम करिब ९ किलो मिटरको दूरीमा रहेको तातो पानी रमणिय स्थलमा २०६५ कार्तिक २० गते का दिन वुटवलदेखि वेनी वजार तर्फ ४ जनाको टोली तातो पानीमा डुबुल्कि मार्न विहानै बसमा चढी साँझ बेनी बजारको होटेलमा आराम गरी २०६५ कार्तिक २१ गते विहान ६ः०० बजे बसमा चढि विहान ७ः४५ बजे तातोपानी पुगि एउटा होटेलमा आश्रय लिई आफ्ना सबै सामानहरु त्यहि राखि विहानै ८ः३० बजे तातोपानीको जलकुण्डमा प्रवेश गर्ने अनुमति प्राप्त गरियो ।

बुटवलबाट सँगै गएका ४ जना
१. दुर्गाप्रसाद शर्मा आचार्य, तत्काल बु.न.पा.वडा नं.६, लक्ष्मीनगर ।
२. मोदनाथ शर्मा आचार्य, तत्काल बु.न.पा.वडा नं .६, लक्ष्मीनगर ।
३. विष्णुप्रसाद शर्मा आचार्य, तत्काल गजेहडा गा.वि.स.वडा नं. १, ठाकुरापुर, कपिल्वस्तु ।
४. टिकाराम पोडेल, तत्काल गजेहडा गा.वि.स.वडा नं. १, ठाकुरापुर, कपिल्वस्तु ।

हामी उपरोक्त नाम भएका व्यक्तिहरुमा खासै ठूलो रोग त थिएन तै पनि कसैको अनुहार फुलेको र ढाड दुखेको र कसैको सामान्य चर्मरोग (चिलाउने र फुन्सा–फुन्सि ) देखिने गरेको कुरा सुनेको थिएँ । मेरो आफ्नै भने दुवै खुट्टाको बुढी औलाको जोर्नीमा विषेश गरी जाडो मौशममा दुख्ने गर्दथ्यो र ग्याष्ट्रिकको पनि समस्या थियो ।

के रोग राम्रो हुन्छ के हुंदैन खासै हामीहरुलाई थाहा थिइन । समय मिलेको र प्राकृतिक सौंंदर्यमा रमाऊने वानी भएकोले त्यसतर्फ जाने मनसाय पहिलै बनाइसकेका थियौं । त्यहाँ गै बुझ्ने क्रममा निम्न कुराहरुको जानाकारी प्राप्त भयो ।

क) उपचार कुन र कस्ता रोगीहरुको हुंदो रहेछ भने,
१. कुनै किसिमको चर्म रोगी ।
२. वाथ (युरिक एसिड) रोगी ।
३. नशा सम्वन्धि रोगी ।
४. ग्याष्ट्रिकका रोगी ।

ख) जलकुण्डमा प्रवेश गर्न नहुने रोगीहरु,
१. जण्डिसको रोगी पटक्कै चोवलिन नहुने ।
२. क्षयरोगी (टि. वि. का रोगी) ।
३. अत्यधिक रक्तचाप (व्लड प्रेसर) का रोगी ।

जलकुण्डमा प्रवेश गर्नु भन्दा अगाडी त्यस समयमा रु. १००.०० शुल्क तिरी एउटा रसिद प्राप्त गर्नु पर्ने र त्यहां रहँदासम्म रसिद हराउन नहुने किनकी समय समयमा खास व्यक्ति हो होइन भनी छुट्टयाउनु पर्दोरहेछ । कसैकसैले शुल्क नतिरी जाने हुँदा रसिद साथमा राख्नु पर्ने भएको रहेछ । एक पटक काटेको रसिदको म्याद १५ दिन मात्र हुँदोरहेछ ।

जलकुण्डमा प्रवेश गर्न हामीहरुलाई हतास भै सकेको थियो तापनि कुण्डमा जानुअगाडी अपनाउनु पर्ने साधारण कार्यविधि निम्न रहेको पायौँ ।

१. तातो पानी कुण्डको कार्यालयहरु ( नजिकै रहेको छ ) मै प्रति व्यक्ति रु. १०० को रसिद काट्नु पर्ने ।

२. तातोपानीको कुण्डमा प्रवेश गर्नु भन्दा अगाडी कुण्ड नजिकै रहेको म्याग्दी खोलाको किनारा (कुण्डको उत्तर पट्टी) रहेका धेरै होँचा धाराहरु कुण्डमा रहेको पानाी भन्दा पनि धेरै तातो तर स्वाद भने एकै किसिमको मा गै नुहाई सकेपछि मात्र कुण्डमा प्रवेश गर्न अनुमति प्राप्त हुँदो रहेछ । कार्तिकको महिना केहि चिसो समय हुन लागेको भएतापनि कपडा खोलि धाराको पानी टाउकोमा खन्याउदा टाउकोको रौँ खसि खुर्केको जस्तो त भएको छैन भनि साँच्नु पर्दाे रहेछ तर एउटा पनि रौँ झरेको थाहा भएन । नाङ्गो शरिरमा त्यो धाराको पानी पर्दा छाला खुईलियो कि । तातो पानीले पोलेर फोका निस्क्यो कि भन्ने भान हुन्थ्यो त्यो पनि भएन । सकेसम्म ति धाराहरुको पानी पिउनु पर्दा रहेछ किनकि तातोपानीमा डुल्दा तिर्खा बढी लाग्ने र पेटमा रहेको वायु ग्याष्ट्रिक आदि निको हुने कथन पनि रहेछ ।

३. जलकुण्डमा प्रवेश गर्नु भन्दा अगाडी निश्चित ठाउँमा लेखिएका निर्देशनहरु राम्रोसँग अध्ययन गरी सोको पालना गर्नु पर्दाे रहेछ ।

४. महिला वा पुरुष दुवै थरिले लामो जाँगे लगाई कुण्डमा प्रवेश गर्न पर्ने र महिलाले लामो जाँगे तर पारदर्शि हुनु हुँदैन । पुरुषले अपारदर्शि लामो जाँगे लगाउनु पर्ने कट्टु मात्र लगाई प्रवेश गर्नु मनाहि छ । समष्टिगतमा उत्तेजना झल्कने पहिरन हुनु हुँदैन ।

५. जल कुण्डमा प्रवेश गर्नु भन्दा अगाडि कुण्डको माथिल्लो भाग दुवै तर्फको प्रवेश मार्गमा ससाना सिमेन्टका पोखरी बनाई त्यहि पोखरीमा पानी राखि त्यहि पानीमा खुट्टा चोभि सकेपछि मात्र कुण्डको पानी मा प्रवेश गर्न पाईदो रहेछ ।

६. एक पटकमा पुरुष र महिला गरी बढिमा ३०० भन्दा बढी जलकुण्डमा प्रवेश गर्न निषेध गरिएको छ । ३०० भन्दा बढी मानिसको चाप भएमा आलोपालो गरी कुण्ड प्रवेश व्यवस्था मिलाईँदो रहेछ ।

७. जलकुण्डको विच भागमा चौडाई तर्फ वारपार एउटा डोरीले पुरुष र महिलाको क्षेत्र छुट्टाईएको हुन्छ । सो डोरी नाघि न त महिला न त पुरुष यताउता गर्न मिल्छ । पूर्ण वन्देज लगाइएको छ ।

८. मौसम ऋतु हेरि जलकुण्डमा प्रवेश गर्ने समय विहान ६ः०० बजे देखि साँझ ५ः०० बजे सम्म मात्र तोकिएको हुन्छ । साँझ ५ः०० बजे देखि पूरा पोखरी सफा गर्नु पर्ने रहेछ ।

९. जलकुण्डमा महिनावारी भएको महिलालाई प्रवेश गर्न निषेध गरिएको छ ।

१०. जलकुण्ड भित्र वा बाहिर र कुण्डको क्षेत्र भित्र कुनै किसिमको फोहर मैला गर्न नपाईने । कुण्ड प्रवेश गरी सके पछि सुर्ति, खैनी, चुईङ्गम आदि प्रयोग गर्न पाउँदैन । सुर्ति वा अन्य पदार्थ मुखमा राखेर जलकुण्डमा प्रवेश गर्न समेत मनाहि गरिएको छ ।

११. कुण्ड वरिपरि वा कुण्ड भित्र हो हल्ला गर्न पाईँदैन आदि इत्यादि त्यहाँका नियमहरु पालना गर्नु पर्ने हामीले पायौँ । यो व्यवस्था धेरै राम्रो र सरल पनि लाग्यो ।

जलकुण्डको बनोट

केहि वर्ष अगाडिसम्म यी जलकुण्डहरु स–साना पोखरी को रुपमा रहेको रहेछ । कुण्ड विकास समिति गठन भए पछि यसको विकास र सम्वर्धन भएको छ ।

जलकुण्ड म्याग्दी खोलाको वहाव तर्फ लामो र (उत्तर दक्षिण लामो) र पूर्व पश्चिम चौडा आकारको छ । पहिला भू–बनौट पोखरीको रहेतापनि हाल मानव निर्मित सिमेण्ट तथा ढुङ्गा काृे करिब २० मिटर लामो र १० मिटर चौडाई भएको ०.७५ मिटर ( २ १÷२ फिट) गहिरो भएको जलकुण्ड निर्माण गरिएको छ । म्याग्दी खोलाको किनार ठूलठूला ढुङ्गाका चरमा यो कुण्ड बनाउन आफैमा गाह्रो कार्य हो तापनि त्यहाँको समाजले वडो सावधानी र साँेच विचार गरी बनाएको पाईन्छ । जलकुण्डको वरिपरिको भाग पक्की वनाएको छ । जलकुण्डमा धेरै वेर बस्न कटिन हुन्छ । घाँटी सम्मको सबै आँग डुबाई त्यहाँ करिव आधा घण्टा सम्म एक पटकमा बस्न सकिन्छ । त्यस पछि जलकुण्डकै वरिपरि बनेको सिँढीमा आराम गर्ने व्यवस्था रहेको छ । आराम गर्दा वा विश्राम गर्र्न चाहेमा आफ्ना एक वा दुबै खुट्टा जलकुण्डको पानीमा चोप्न सकिन्छ ।

वर्षायाममा जलकुण्डमा बाहिरको पानी नपरोस र घामबाट पनि समस्या नपरोस भनि टिनको टहरो बनाईएको छ । सो को बनावट उज्यालोको प्रकाश र हावा सजिलै वहन सकोसभनि वनाईएको छ । जलकुण्डमा केहि मिनेट बसिसकेपछि कमजोर महसुस हुनेहुँदा तातोपानी वरिपरि बनाएको ढुङ्गा तथा सिमेन्टको थुम्कामा बस्न सकिने व्यवस्था गरिएको छ ।

जलकुण्डको सतह भन्दा करिब ३ ईन्च तल जलकुण्डको उत्तरी खण्डको वारपार एउटा कुलो बनाईएको छ । त्यही कुलोको चरमा ठाउँ ठाउँमा तातो पानीको मूल देखिन्छ मूलबाट करिव २“ तलको नाला वा कुलो बाट फोहोर पानी फ्याक्ने निकाश बनाइएको छ । यस निकासबाट फ्याक्नेपानी जलकुण्ड भन्दा होचो भाग दक्षिण पूर्व पट्टी एउटा सिमेन्टको पोखरी बनाइएको छ । त्यही पोखरीको निकास द्वारबाट फ्याँकिने तातो पानी जम्मा हुन्छ । त्यस पोखरीको पनि सतहमा पानी निकासको प्वाल छ । त्यो प्वाल खोलिदिए पछि पानी सिधै म्याग्दी खोलामा मिसिन्छ । बन्दगरे पोखरी भरिन्छ । पोखरी भरिए पछि पनि पोखरीको माथिल्लो भागमा समेत पानी निकास प्वाल भएकोले तोकिए बमोजिमको पानी मात्र जम्मा हुन्छ । बाँकि खोलामा मिसिन्छ ।

मूख्य जलकुण्डको सतहको करिव २ १/२ फिट माथि बढि पानीको निकाश प्वाल छ । त्यही प्वालबाट जलकुण्ड भरिए पछिको पानी बाहिरिन्छ र तल्लो सिमेन्टको पोखरीमा जान्छ ।

विहान ६ः०० बजे देखि साँझ ५ः०० बजेसम्म मानिस बस्ने जलकुण्डको पानी साँझ ५ः०० बजे पछि जलकुण्डको तल्लो भागमा रहेको नालाको निकासबाट खोली जलकुण्डको सबै पानी फ्याकिन्छ । जलकुण्डलाई नालामा वगिरहेको मूलको पानीे बाल्टीमा निकाली जलकुण्ड र वरिपरिको सबै भाग सफा गरिन्छ । सफा कार्यगर्न २ जनालाई करिव एक घण्टाको समय लाग्दछ । जलकुण्ड सफा भै सकेपछि जलकुण्डको सतहमा रहेको नालाको निकास बन्द पछि पानीको सतह क्रमिक बढ्दै जान्छ र केहि घण्टा पछि पोखरी आफ्नो सतह पूरा गरी माथिल्लो प्वालबाट पानी वहन्छ ।

जलकुण्डको पानीको स्वाद र तापक्रम

जलकुण्डमा प्रवेश गरिसकेपछि जलकुण्डको उत्तर तर्फ रहेको (पहिलो दिन प्रवेश गर्नु भन्दा अगाडी र प्रत्येक दिन जलकुण्डबाट वाहिर निस्के पछि नुहाउने धारा) तातो पानीको धाराबाट ग्यालेनमा पानी ल्याई पिऊने व्यवस्था गरीएको छ । पिऊने पानीको स्वाद र जलकुण्डमा रहेको पानीको स्वाद एकै किसिमको रहेको छ । पानी सकेसम्म धेरै पिऊनु पर्ने भनाई पाइन्छ छ । पहिलो कुरा वायुको रोगीलाई राम्रोहुने दोस्रो जलकुण्डमा प्रवेश गरेको वखत पसिना धेरै आऊने हुनाले पानी पिऊनु वाध्यता समेत छ । पहिलो एक दुई दिन पानीको स्वाद पटक्कै मन पर्दैन । पानी धेरै तातो पिऊन कठिन, गन्धक र विरेनुनको रामै्र स्वाद तसर्थ पनि पानी पिऊन मन लाग्दैन । तर क्रमिक वानी पर्दैगएपछि ठिकै रहन्छ । पहिलो एक दुई दिन उल्टी आऊने, पखाला लाग्ने, कमजोर बनाउने र रिंगटा लाग्ने समेत हुन्छ । समग्रमा त्यो पानी प्राकृतिक चिकित्सा प्रणाली वा अन्य प्रणाली जुनसुुकै भए पनि स्वाथ्यकरनै रहेको छ ।

गन्धक, विरेनुन लगाएत अन्य लवण युक्त स्वाद रहेको पानीको तापक्रम ४५ डिग्री सेल्सेस देखि ५७ डिग्री सेल्सेस सम्म रहेको जानकारी प्राप्त भयो । जलकुण्डको पानीको मुलभए तर्फ ५४ डिग्री सेल्सेस देखि ५७ डिग्री सेल्सेस र जलकुण्डको फिंजारीएको भाग तर्फ ४५ डिग्री सेल्सेस देखि ४८ डिग्री सेल्सेस सम्म तापक्र रहेको छ ।

जलकुण्डको वरिपरिको क्षेत्र

म्याग्दी खोलाको किनार जलकुण्डको उत्तर दक्षिण (जलकुण्ड भन्दा केहि माथि) लामो गरी रहेको तल्लोवजार खोलाको कांल्लामा रहेको छ । वजारको बिच भागका ढुंगा विछाएको बाटो छ जुन बाटो पूरानो बाटो भनिन्छ । वजारको शिरमाथि कच्ची मूल सडक गएको छ जुन सडक बेनी वजारबाट लगिएको छ र सो बाटो खरवांग हुंदै ढोरपाटन सम्म लग्ने उद्धेश्य रहेको पाईयो ।

वजारको बिच बाटोको तलमाथि ससाना होटेल, पसल, भट्टी आदि रहेका छन् । तल्लो वजारको उत्तर तर्फ करिव आधा कि. मि. म्याग्दी खोलाको किनारामा उत्तर दक्षिण लामो गरी रहेको माथिल्लो वजार अवस्थित छ । स्वास्थ्य चौकी, पुलिस चौकि लगाएत केहि सरकारी अफिस, होटेल, भट्टी, पसल आदि रहेका छन् । सो वजारको बिचमा पनि मोटर गुड्ने बाटो रहेको छ ।

कुण्डको रेखदेख र संरक्षण

यस कुण्डको रेखदेख र संरक्षणको लागि स्थानिय स्तरमा समिति गठनगरि सोहि समितिबाट संचालन भएको छ । राज्यबाट सहयोग नपाएको गुनासो समितिमा रहेको छ । कुण्डको संचाल प्रवेश शुल्क र चन्दा दाताहरुको सहयोग, आजिवन सदस्य शुल्क आदिबाट प्राप्त रकम नै मुख्य श्रोत रहेछ । विदेशि वा स्वदेशि पर्यटक झुक्किएर मात्र त्यहां जांदा रहेछन् किनकि दाना तातो पानी मूक्तिनाथ जाने बाटोमा पर्ने भएकोले त्यसैलाई मूख्य तातो पानी सम्झंदा रहेछन् । जलकुण्ड समितिले आफ्ना कर्मचारी नियुक्ति गरेका छन् । जस्ले अहोरात्र खटेर जलकुण्डमा जाने अथितिहरुको सेवा गरी रहेको देख्न सकिन्छ । जलकुण्डमा प्रवेश गर्ने व्यक्तिहरुलाई नियम नितिको जानकारी, पिऊने पानीको व्यवस्था, कुण्ड लगाएत वरिपरीको सफा, पाईृखानाको रेखदेख (कुण्ड नजिकै राम्रो सुविधा भएको पाईखानाको व्यवस्था रहेको छ) हेरचाह, सोधपुछ, रसिद कटाई कुण्डको सहयोगार्थ दानविरहरुलाई उत्साहित गराऊने र कहिले कांहि मनोरन्जन युक्त कार्यक्रम प्रश्तुत गर्ने कर्मचारीहरुको दैनिकि रहेछ । मिठासिला, सहयोगी भावनाका धनी र आत्मियता भएका त्यहांका कर्मचारीहरुको गुण रहेछ । लगनशिल र मेहनतको कारणले नै स्थानिय स्तरमा यस कुण्डको विकास तिव्र रुपमा अगाडी बढेको पाईन्छ । त्यहाँ कार्यरत बैनी मेखि खत्री जीको मेहनत साह्रै सहरानिय पायौं । उहाँलाई हार्दिक धन्यवाद र उत्तरोउत्तर प्रगतिको कामना गर्दछौ । त्यस्तै भाई छन्टेललाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौ ।

वास वस्नको लागि ससाना होटेलको व्यवस्था रहेको भएता पनि अधिकांश उपचार गर्न जाने व्यक्तिहरुले आंफै खाना पकाएर खाने चलन रहेछ किनकि स्टिमवाथ गर्दा वा वाफिलो नुहाई भएकोले तागतिलो खानाको आवश्यक पर्दोरहेछ । होटेलको साधा खाना केहि महंगो पनि पर्दो रहेछ त्यतिबेला प्रति छाक रु. ७० देखि ९० सम्म लिएको हामीले पाएका थियौं ।

कुण्डमा चौविसै घण्टा वाफ ऊड्ने रहेछ । कुण्डमा पसिसकेपछि सरिरको तापक्रम वढे जस्तो भान हुने र टाऊको अलि भारी भएजस्तो हुन्छ । बोकेर ल्याएको वाथ रोगी कुुण्डमा प्रवेश गरेको दुई दिनमा आंफै उकालो सिंढी चढि ठयाप्ठयाप्ती हिंडेको आफ्नो आंखाले देख्ने मौका मिल्यो । अधिकांश भुक्तभोगिहरुको अनुभव र हाम्रो मूल्यांकनले पनि वाथ रोगी, चर्म रोगी र ग्याष्ट्रिकका रोगीलाई राम्रो भएको पाईन्छ तर घर फर्के पछि जथाभावी खानाखाने, मुख नवार्ने र लापरवाहि गरेमा केहि महिना पछि पुनः उस्तै हुन पनि सक्ने रहेछ । धरैजसो ५५ वर्ष भन्दा माथि उमेर भएका व्यक्तिहरुको जम्घट देखियो । उंहाहरु मध्य धेरै जसो वर्षमा एक पटक त्यहाँ आउने समेत गर्नु हुँदोरहेछ ।

नजिकाका जिल्ला र पहाडी भेगका मानिसहरुको ओईरो लाग्दो रहेछ । गल्कोट, म्याग्दी, वुर्तिवांग, निसिभुजी, खरवांग, सल्यान, ढोरपाटन,आदि मूख्य क्षेत्रहरु रहेका छन् तापनि देशका अन्य कुनाकाप्चा लगाएत, शहरवजार, तथा तराईमा वसोवास गर्ने पहाडी मूलका व्यक्तिहरुको नै बढि उपस्थिति देखिन्छ । हाम्रो एक हप्ते बसाईका क्रममा जम्मा २ जना विदेशि पर्यटक देखा परेका थिए । सुनिन्थ्यो तीनिहरु बाटो विराएर त्यसतर्फ लागेका रहेछन् ।

कुण्डको विस्तार गर्ने आगामी लक्ष्य रहेको पायौं ताकि विदेशिहरुलाई पनि त्यहां आकर्षणको केन्द्र बनोस् । प्रकृतिले दिएको संपदा हाम्रो लागि उपहार यस्तो राम्रो सम्पत्ती राज्यले समयमै उपयोग गर्न, यस्को संरक्षण र रेखदेख गर्न अपरिहार्य भएको देखिन्छ । मानिसलाई विश्वास लाग्नु र त्यसबाट सन्तुष्टि पाऊनु त्यो भन्दा राम्रो कुरा संसारमा आर्को केहि हुनैसक्दैन । यस कुण्डमा नत कसैले कसैलाई ठग्ने परंपरा छ नत कुनै किसिमको शोषण नै छ न त छुवाछुतको नै भेदभाव छ न त फोहरी राजनिति । सवैलाई समान व्यवहार, एउटै दृष्टि र एउटै लक्ष ।

अन्त्यमा, ‘प्रकृतिको अनुपम उपहार सिंगा तातो पानी अविरल वगिरहे, अविचल सेवा दिंदैरहे’, यहि नै हाम्रो शुभकामना ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button