चिसापानीमा उमेरले हाफ सेन्चुरी छुन आँटेका दुई

मोहन के. श्रेष्ठ

होली (फागु पुर्णिामा)को दिन हाइकिङ गर्ने भनेर दुई दिनअगाडि बालसखा गोपालको फोन आउँछ । पेशाले ऊ मेडिकल डाक्टर ।

‘को को’, सोध्छु म ।

‘हामी दुई जना मात्र ।’

‘हुन्छ हुन्छ, चिसापानीको होटल बुक गरे पनि हुन्छ ।’

दुई दिनपछि (२०७८ सालको फागु पर्व, चैत्र ३ गते बिहीवारको दिन) चिसापानी हाइकिङको लागि घरबाट निस्केँ बिहान ७ बजे नै । सुन्दरीजलसम्म स्कुटी लिएर पुगें र सुन्दरीजलमा भाई बालकृष्णको घरमा स्कुटी थन्कायौं र सुरु भयो हाइकिङको लागि हिँड्ने यात्रा हाम्रो सुन्दरीजलबाट ।

मन चंगाजस्तै रोमान्चित थियो । दुई जना बालसखा । दुवैजना हिँड्न मन पराउने हामी दुई तालु खुइलेहरु । दुवै हामी उमेरले हाफ सेन्चुरी छुन आँटेका अर्धवैंशेहरु ।

सुन्दरीजलमा हल्का चियापानपछि हाम्रो हिडाई ठाडो सिंडिबाट सुरु हुन्छ । सायद त्यो समय बिहानको ९ बजेतिर होला । धोरै मात्र ठाडो उकालो हिँडेपछि आर्मी चेकपोस्टमा टिकट काटौं । त्यसपछि जंगलको ठाडो उकालोको हिँडाइको सुरुवातीमा थोरै गाह्रो जस्तो हुन्छ । सायद शरिरलाई हिँड्नलाई थोरै वार्मअप भएको होला । जंगलको ठाडो उकालो र कहिँकहिँ थोर थोरै समथरजस्तो बाटो आउदा मन हलुका हुने र निकै रमाइलो हिँडाई सुरु हुन्छ हाम्रो त्यहाँबाट, चिसापानीको हाइकिङ । जंगलको बाटो करिब अढाई घण्टाको हिँडाईपछि हामी मुलखर्क भने ठाउँमा पुग्छौं । जहाँ खाना खान प्रवेश होटल भन्ने होटल रहेछ । प्रायले त्यसैमा विहानको खाना खाने रहेछ । होलीको दिन रहेकोले त्यहाँ केही जवान केटाहरु साइकलिङ गरेर घुम्न आएका जमातहरु भेट्यौं । बडो मज्जा गर्नु पर्ने केटाहरु देख्दा कता कता आफ्नो जवानीको समयको झझल्कोले हल्का काउकुती लगायो । मैले मेरो छोराहरु पनि अब यसरी नै घुम्छ होला भनेर कल्पन भ्याए । खैर, जीवनमा जोस र रमाइलोलाई सगालेर बाच्नु पर्छ जस्तो लाग्छ । यदि त्यस्तो भएमा भने सधैं जवान नै रहन्छु नि, के को सुर्ता ? मनमनै फुर्ति लगाएँ ।

हामी एक डेढ घण्टा नै त्यहाँ खाना बनाउन लगाएर खाना खानसम्म बिताएका थियौं । केही फोटोहरु ती केटाहरुसँग पनि खिचौं । हामी त्यहाँबाट हिँड्ने बेलासम्म दिउँसोको करिब पौने एक बजिसकेको थियो । हिँड्नैलाग्दा हामी केही बाटो अलमल्यौ । अचम्म के भो भने त्यति नै बेला एउटा परिवारसहित हाइकिङ आइरहेको हाइकिङको अनुभवी ब्यक्तिसँग हाम्रो भलाकुसारी हुन्छ । उहाँको नाम भने म पछि लेख्ने छु । उहाँले हामीलाई यस्तो राम्रो दिशानिर्देश गर्नु भयो कि साँच्चै नै मनमोहक, हामीले सोचेकै जस्तो बाटो जान सुझाउनु भयो ।

त्यसपछिको हाम्रो हिँडाई यति रमाइलो ठाउँमा भयो कि वाह वाह वाह । स्विटजरलाण्ड, उहाँले भने जस्तै शब्दले बर्णन गर्न नसकिने ठाउँ । खोलाको किनारा नै किनाराको त्यो बाटो हिँड्दा मैले स्वर्ग नै बिर्सेँ । खोलाको कलकल बगाई वनैभरी धपक्क फुलेको लालिगुराँस । आहा, त्यस्तो मनमोहक ठाउँमा हिँड्दा सायदै कसैको मन प्रफुल्ल नहोला । हामी खोलाको तिरैतिरको बाटो हुँदै गयौं । खोलामै पसेर पनि हामी खेल्यौं । अनेकौ भिडियो बनायौं । फोटो खिच्यौंं, रमायौ, हरायौं । केही क्षण हामीले हाम्रो जीवनलाई प्रकृतिमुनि नै लुकायौं । वाह जिन्दगी, जिन्दगीको भारी पनि त्यही बिसायौं । आनन्दको शून्य मुद्रामा पुग्यौं हामी । बालकजस्तै खेल्न थाल्यौं, प्रकृतिमा काखमा । धन्य, प्रकृतिले यो जन्म नै सार्थक भएको जस्ता अनुभुति गरायो हामीलाई । साँच्चै नै फाट्टफुट्ट मान्छेको आवतजावतबाहेक सुनसान जंगलमा हिंड्दै लिएको मज्जाले पछिसम्मको लागि रमाइलो सम्झनाको पल बन्यो त्यो समय ।

खैर छोडौं । यात्रालाई नै जोडौं ।

दुई घण्टाको हिँडाइपछि हामी एउटा माने दोभान भने चौबाटोमा पुग्यौं । जहाँ विश्राम गरेर चिया खान पाउने रहेछ, चिया बाजेको पसलमा । चिया खाएर केही बेर त्यहाँ आराम लियौं । त्यहाँबाट सिधा गयो भने हैबुङ, प्रकृति रिसोर्ट भएको ठाउँमा पुग्न सकिने रे दाहिनेपट्टि लाग्यो भने जर्सिङपौवा हुदै नगरकोट पुग्न सकिने र हामी भने देब्रे बाटो हुँदै चिसापानीतिर लाग्यौं ।

त्यसपछिको केही समय हामीले मोटर, बाइकहरु हिँड्ने बाटो हिड्नुपर्दा केहि नरमाइलो पनि महसुस गर्‍यौं । हाइकिङ रुट छुटेर हाइवेको धुलो खानु केही नमज्जा लागे पनि सुनसान त्यति धेरै बाइकहरु न आउने तर त्यो दिन होली मनाउन आएकाहरु केही मान्छेले बाइक कुदाउँदा उडेको धुलोको कारण थोरै नरमाइलो महसुस भयो ।

खैर, हिँडाइ हाम्रो रमाइलो कुराकानीसँगै जीवनका तितामिठा संगालोको भलाकुसारीसँगै बीचत्रबीचमा पुराना पप गीत गुन्गुनाई दिने गोपालको रमाइलोपनले यात्रामा रोमान्चित हुन चुकेनौं । चौबाटो छोडेर केही हिँडेपछि नै एउटा हामी ड्याम्मसाइडमा पुग्यौं । त्यति हिँडाइपछि हामी चिसापानीको निकै नजिकतिर पुगिसकेको थियौं । ड्याम्मसाइडमा केही बेर बस्यौं । फोटोहरु र केही भिडियो क्लिप पनि बनायौं । त्यहाँ पुग्दा हामीले पहाडको निकै टुप्पोमा पुगेको र केही चिसो हावा चलेको महसुस गर्‍यौं ।

ड्यामसाइड छोडेर फेरि हामी जंगलकै मोटरबाटो हिँड्यौ । डाँडाको टुप्पो हिँड्दै गर्दा पहाडको फेदतिर हेर्दाको रमाइलो सायद स्वर्ग भनिराखेको यहि हो कि भन्ने भान हुन्छ । जमिनदेखि क्षितिजसम्मै जोडिरइहेको मनमोहक दृश्यले सायदै कोहि आनन्दित नहोला । केही फोटो खिच्ने काम गर्यौं त्यहाँ पनि र थोरै हिँड्नेबितिकै हामी सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौ छुट्याएको त्यो चिसापानी डाँडामा पुग्यौं ।

बेलुकाको ६ बजिसकेको थियो । दिन लामो भएकोले त्यतिन्जेलसम्म उज्यालो नै थियो र हामी ७२ सालको भुकम्पले ढलेको घर जस्ताको तस्तै रहेको ठाउँदेखि अलि तल होटल हिमालय भिस्टामा पुगेर विश्राम लियौं । त्यहाँ हामीलाई चिसो नहोस् भनेर फायरिङअगाडि राखेर खानापानसहित स्वागत गरेको धेरै नै राम्रो लाग्यो । त्यहिबाटै मैले बाटोमा खिचेका केही क्लिप र फोटोहरु फेसबुकमा पोस्ट गरेको थिएँ त्यो दिन ।

रातको मीठो निन्द्रापछि बिहान ५ बजे नै मेरो आँखा खुल्यो र सनराइज हेर्ने लोभका कारण छिटै उठें । साथीलाई पनि उठाएँ । कोठाबाटै देख्नसकिने रहेछ सनराइज । तुवाँलो लागेको मौसमका कारण आकाशचाहिँ खुलेको थिएन तर पनि सनराइज राम्रै थियो र साथीले पहिलोपल्ट देखेको भनेर निकै रमाइलो मानेको थियो ।

केही क्षणपछि ब्रेकफास्ट गरेर होटलबाट बिदा भयौं, बिहान ८ बजेतिर । सँगै रहेको भ्युटावर चढेर एक छिन हिमाल लगायतका दृश्य केही नियाल्यौं । मौसम त्यति सफा थिएन र पनि लोभलाग्दो डाँडाकाडाको छुट्टै मज्जा आउने रहेछ । त्यस दिन हामी अर्कै बाटो हिड्ने तर्खरमा गर्यौं । त्यो बाटो हामीलाई थाहा थिएन । होटलको दुई कुक भाइहरुले हामीसँगै आई जंगलको अर्कै हाइकिङ गर्ने बाटो देखाइदिए ।

जंगलमा गजबको अनुभव भयो । सुनसान त्यो जंगलको बाटो हामी दुईजना मात्र हिँड्दै थियौं । अचानक कता कता जंगली जनावरहरुको डर पैदा भयो हामीलाई । बाटोमा जनावरहरु हिँडिरहेको निशानाहरु देख्न थाल्यौं । र, एक ठाँउमा त साथीले जनावरको बास्ना पनि सुँघ्न भ्यायो । मनमा कता कता डर पैदा भएको त्यो एकछिनको समय त हामीलाई बिर्सनै गाह्रो जस्तो पो भयो । घनाजंगलमा हिड्दा साथी गोपालले कुरा गर्दै हिँड्यो भने जंगली जनावरहरुले केही नगर्ने भनेर उपाय सुझाउन थाल्यो । र, मोबाइलमा गीत बजाउन भनेपछि मैले गीत बजाउँदै हिड्न थाल्दाको त्यो पल सम्झँदा आङ सिरिङ हुन्छ ।

गीत बजाएर हिँड्दा केहि डर कम भएको महसुस गर्दै त्यो जंगलको बाटो हुँदै चुपचाप हामी हिड्दै रह्यौं । केही छिन हिँडेपछि मात्र एक ग्रुप मान्छे हिँडेको भेटेपछि भने हाम्रो डर सबै फु मन्तर भयो । डर पुर्ण रुपमा हट्यो र जंगलको हिँडाइको आनन्दमै फेरि हामी अघिल्लो दिन जस्तै हराउन थाल्यौं । त्यो घटनाको कारणले हाम्रो हाइकिङमा थप रोचकता पनि थपियो ।

करिब १० नाघ्यो होला समय हामी एउटा विश्रामस्थल पुग्दा । विश्रामस्थलमा विश्राम लिदै थियौं । अर्को परिवारसहित हाइकिङ आइरहेकोसँग भेट भयो । हो अघिल्लो दिनदेखि हाम्रो यात्रालाई रोमाञ्चक बनाउने अनुभवी हाइकर उहाँ नै हुनुहुन्थ्यो, बरालजी । चिनापर्ची भयो । उहाँ बुढानिलकण्ठ बस्नु हुन्छ र ताप्लेजुङको हुनुहुन्छ भन्ने थाहा पायौं । ढुङ्गा खोज्दा देवता मिले जतिकै थियो उहाँ भेटेको हामीलाई । त्यही हाइकिङ बाटो हुँदै बुढानिलकण्ठ पनि निस्कन मिल्ने रहेछ र सुन्दरीजल पनि । उहाँबाटै थाहा पायौं त्यो कुरा । उहाँले हामीलाई निकै गाइड गर्नु भयो । त्यो छुटिने बाटोको बारे हामीलाई थाहा नै थिएन । उहाँले नै सोझ्याइदिनुभयो । हामी सुन्दरीजलपट्टि लाग्नु पर्ने अनि उहाँहरु बुढानिलकन्ठपट्टि । दोबाटोमा छुट्नु अगाडिसम्म उहाँसँग हाम्रो रमाइलो कुराकानी पनि भयो । पेशाले उहाँ ब्यापारी भए पनि हाइकिङमा निकै अनुभवी र सौखिन भनेर बुझ्यौं र छुटिने क्रममा उहाँहरुसँग केही फोटोहरु खिच्यौं । छुटिने बेलामा फेसबुकमार्फत फोटो पठाउन उहाँको नाम सर्च गर्दा पो थाहा भयो, उहाँको नाम रहेछ रमेश बराल । धन्यवादको पात्र । उहाँहरुले बुढानिलकण्ठपट्टिको रुट समात्नुभयो र हामीले मुलखर्क हुँदै सुन्दरीजलपट्टिको ।

त्यतिन्जेलसम्म हामी २ घन्टा जति हिँडिसकेका थियौं र धोरै भोक पनि लाग्न सुरु भैसकेको थियो । त्यहीँबाट हामीले मुलखर्कमा खाना बनाउन अर्डर पनि दियौं ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button