हिमालयन हेरिटेज विशेषः चुम उपत्यकाको मिलारेपा गुफा


मोहनकुमार तामाङ

‘मेरो मनरुपी घोडा हावाको वेगमा हुँइकिन्छ ।
त्यसलाई भेट्टाउनु छ भने कुन पाशोले पक्रने ?
त्यसलाई बाँध्ने प्रयास गर्नु छ भने कुन लठ्ठामा बाँध्ने ?
उसलाई भोक लागेमा कुन दाना खुवाउने ?
उसलाई प्यास लागेमा के पेय दिने ?
उसलाई चिसो लागेमा कुन गुफामा लगेर आश्रय दिने ?
उसलाई समात्नु छ भने अद्वय पाशोले समात ।
उसलाई बाँध्नु छ भने गहिरो ध्यानको लठ्ठामा बाँध ।
भोको भएमा उसलाई गुरुको उपदेशले पोषित पार ।
प्यास लागेमा उसलाई स्मृतिको जलधारा पिलाऊ ।
चिसो लागेमा उसलाई शून्यताको गुफामा लगेर आश्रय देऊ ।
प्रज्ञा र उपायलाई काठी र लगामको रुपमा प्रयोग गर ।
अचल अक्षुण्णतारुपी आसनका पेटीहरु बाँध ।
प्राणवायुरुपी लगाम समात ।’
–सिद्ध मिलारेपा (मिलारेपाको जीवनी, पृ.१८५)

सिद्ध मिलारेपा अत्यन्तै कठोर तपस्या गरेर ज्ञान प्राप्त गरेका साधक हुन् । तिब्बतको माङ्युल गुङथाङ प्रान्तको क्या ङा चा भन्ने ठाउँमा ई.१०५३ मा पिता मिला शेरब र माता ञाङ छा कार ग्यनको पुत्रको रुपमा उहाँको जन्म भएको थियो । उहाँकी एक मात्र बहिनी पेता गोन् क्यी थिइन् । उहाँको बाल्यकाल सुखमय रहेता पनि पिता मिला शेरबको मृत्यु पश्चात मिलारेपाले घोर दुःख सहनु परेको थियो । आफ्नो जायजेथा हडप्ने फुपु र काकालाई कालो जादु सिकेका मिलारेपाले उनीहरुको घरमा विवाह उत्सव भई रहेको मौका पारी एकै ठाउँमा ३३ जनाको एकै चिहान बनाई बदला लिएका थिए । तर, आफ्नो क्रुर कुकृत्यका कारण उनी पश्चातापको आगोमा जले । यसै क्रममा उनी पश्चातापको आगोमा जल्दै कुशल गुरुको खोजिमा निक्लिए । आफ्नो पूर्व कुकृत्यको कारणले ज्ञान पाउन अति नै कठिन भयो । तैपनि, अथक प्रयासका कारणले मारपा लोकचक्षुपादबाट दीक्षा प्राप्त गरी विभिन्न अनकण्टार भीरपहरामा रहेका गुफाहरुमा गई ध्यान गरेका थिए । ती नै गुफाहरु मध्येका केहि गुफाहरु नेपालको हिमाली भेगमा पर्दछन् । बौद्ध धर्मावलम्बीहरु विशेष गरी दुई सम्प्रदायमा विभक्त छन् ।

१. थेरबादी (हिनयान)
२. महायान

महायानका पनि चार परम्पराहरु छन् । क) ञ्यीङ्मा ख) काग्यु ग) साक्य र घ) गेलुग् ।

यी मध्येका काग्यु परम्पराका महान प्रणेता मध्येका एक मिलारेपा हुन् । यिनै मिलारेपाले नेपालका हिमाली भागमा रहेका केहि गुफाहरुमा ध्यान गर्नु भएको थियो । ती गुफाहरु निम्न बमोजिम छन् ।
१. फुग् रोन् फुग् (परेवा गुफा), चुम उपत्यकाको अज्ञात गुफा
२. नेस्याङ कुर्ति गुफा : मनाङ जिल्लाको तत्कालीन भ्राका गा.वि.स.
३. ताग् फुग् सेङ्गे जोङ् : बाघ तथा सिंह गुफा, गुह्य गुफा, हेलम्बु,
४. ल्हासा पाकुः सुडाल, भक्तपुर (यसलाई नेस्याङकुर्ति पनि भनिन्छ)
५. लाछी दुदुल फुग् : असुर विजयी गुफा, लाब्ची, दोलखा

हिमाली बौद्ध परम्परामा उपयुक्त स्थानहरुलाई अत्यन्तै महत्वका साथ लिने गरिन्छ र ती स्थानहरुका बारेमा विस्तृत जानकारीको अभावका कारण पवित्र तीर्थहरु समेत ओझेलमा परेको देखिन्छ । ती स्थानहरुलाई उजागर गरि जनमानस सामु ल्याउनु आजको टड्कारो चुनौति रहिआएको देखिन्छ ।

गोरखा जिल्लाको उत्तरी सिमानामा पर्ने चुम उपत्यका विभिन्न रहस्यहरुले भरिपूर्ण छ । ‘नेपालको योल्मो गाङ्रा, सुप्रसिद्ध छ बाह्य गढ, अज्ञात छ आन्तरिक गढ, छ गुह्य गढ र अतिरिक्त दुई गढलाई जोड्दा २० गढ हुन्छन्’ भन्ने भट्टारक मिलारेपाको जीवन बृत्तान्त नामक चाङ ञोन् हेरुकद्वारा तिब्बती भाषामा लेखिएको पुस्तकको हिन्दी अनुवाद तथा मिलारेपाको जीवनी नामक नेपाली भाषामा अनुवाद गरिएको पुस्तकले नेपाल सिद्ध महापुरुषहरुको तपस्या स्थल र पूण्य भुमी हो भन्ने कुराको पुष्ट्याईँ गर्दछ । तिब्बती भाषामा लेखिएको छो–ङोन्–मि–रिग्स् पे–टुन्–खङ् द्वारा प्रकाशित नल–जोर–गी वङ्–छुग् छेन्–पो मि–ला रस्–पइ नम्–ग्युर पुस्तकमा उल्लेख भएका मिलारेपाका जीवन बृत्तान्त तथा दोहाहरुको सङ्कलनमा सिद्ध मिलारेपाले तपस्या गर्नु भएको पवित्र गुफाहरुको बारेमा बयान गरिएको छ । उक्त पुस्तकलाई हिन्दी भाषामा रमेश चन्द्र नेगीले अनुवाद गर्नु भएको छ । जसको शीर्षक मोक्ष–सर्वज्ञ मार्ग–प्रदर्शक सद्योगीश्वर भट्टारक मि–ला–रस्–पा का जीवन–बृत्तान्त (चङ् ञोन हे–रु–क) राखिएको छ । त्यसै गरी नेपाली भाषामा अनुवादकद्वय मीनबहादुर शाक्य र मिलन शाक्यले मिलारेपाको जीवनी (लाइफ अफ मिलारेपा) भनी शीर्षक दिनुभएको छ ।

ती दुवै पुस्तकहरुमा उल्लेख भएका गुफाहरु निम्न बमोजिमका रहेका छन् ।
६ वटा प्रख्यात बाह्य गुफाहरु
१. डक् कर् तसो उमाजोङ : उमाजोङ्का मध्य गुफा, (घोडादाँते सेतो पर्वतको गुफा)
२. मिन ख्युग् डिब्मा : (नक्षत्र छायाँ गुफा)
३. लिङ्वा दग् मार् जोङ् : रक्त गुफा
४. रग्–मा नम् खा जोङ् : बोधि रग्मा गुफा
५. क्यन् फन नम्–खा जोङ् : आकाशध्वज गुफा
६. डग् क्या दोर्जे जोङ् : चट्टान बज्र गुफा
छ वटा अज्ञात आन्तरिक गुफाहरुः
१. छोङ्लुङ् ख्युङ् जोङ : छोङ्लुङ्को गरुढ गुफा
२. किद् पा ङीमा जोङ् : किद्पा सूर्य गढ गुफा
३. खुजुग् एन्पा जोङ् : एक्लो कोइली गढ गुफा
४. शेल् फुग् छुशिङ् जोङ् : फट्किरी बाँस बृक्ष गढ गुफा
५. बे चे डोयोन : बेत्सेको कामगुण गुफा
६. चिग् पा खाङ् थिल् जोङ् : पर्खालको जग गढ गुफा

६ गुह्य गुफाहरुः
१. ग्याडाग् नाम् खा जोङ् : चट्टान र आकाश गढ गुफा
२. तग् फुग सेङ्गे जोङ : बाघ तथा सिंह गढ गुफा
३. बे फुग् मामो जोङ्मा : तृका गुह्य गढ गुफा
४. ल फुग् पेमा जोङ्कु : ञ्ज पद्म गढ गुफा
५. लङ्मो लुड्यु जोङ : नागराजको हस्तिद्वार गढ गुफा
६. ठोग्याल दोर्जे जोङ : क्रुर बज्रराज गढ गुफा
अन्य दुइ गुफाहरु
कि फुग् ङीमा जोङ् : सुखको सूर्य गढ गुफा र पोथो नाम् खा जोङ

चार सुप्रसिद्ध महागुफाहरुः
१. ञानाङ् डोपा फुग् : ञानाङ्को उदर समान गुफा
२. लाछी दुदुल फुग् : लाब्चीको असुर विजयी गुफा
३. डिङ्री डिचे फुग्ड्रि : नको ड्रि जिह्वा गुफा
४. ति से जु ठुल् फुग् : कैलाश पर्वतको अद्भूत गुफा

चार अज्ञात गुफाहरुः
१. चा को कङ् छुग्स् फुग् : अटल मूल गुफा
२. रोनको होशेल फुग् : रोनको प्रभाश्वर गुफा
३. र ला को ज हो फुग् : बाख्रा पर्वतको रेशम गुफा
४. कुथङ् को फुग् रोन् फुग् : कुथङ्को परेवा गुफा

उपर्युक्त २८ गुफाहरु मध्ये नेपालको हिमाली भेगमा मनाङको भ्राका गा.वि.स.मा गुह्य गुफा मध्येको तग् फुग् सेङ्गे जोङ् (बाघ तथा सिंह गढ गुफा) रहेको छ । त्यसैगरी चार सुप्रसिद्ध महागुफाहरु मध्येको लाछी दुदुल फुग् (लाब्चीको असुर विजयी गुफा) दोलखा जिल्लाको उत्तरमा पर्ने लाब्ची भन्ने ठाउँमा पर्दछ । यो स्थान नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा छ । मिलारेपाले आफ्नो जीवनको उत्तरार्ध विताउनु भएको स्थान पनि यहि हो । चार अज्ञात गुफाहरु मध्येको कुथङ्को फुग् रोन फुग् (परेवा गुफा) गोरखा जिल्लाको उत्तरी सिमान्त क्षेत्रमा पर्ने छेकम्पार –५ पर्दछ । नेपालको एक मात्र ठाउँ, जहाँ काटमार गरिदैन, त्यो चुम उपत्यका हो । खेन्पो तेन्जीन ल्हुन्डुपद्वारा लिखित ग्नस्–छेन्–स्बस्–युल–चुम्–ग्यी–लोर्ग्युस्–म्दोर्–ब्सदुस्–बेल–ग्तम्–बदुद्–र्चीही–थीग्–पा (ने छेन बे युल चुम ग्यी लो ग्यु दोर दु बेल ताम दुद् चीही थिग् पा) तिब्बती भाषामा लेखिएको पुस्तक हो । गुप्त निधिक्षेत्र चुमको बारेमा अमृत वाणी शीर्षक राखी लेखिएको यो पुस्तकमा ने हीग तेरमा (तीर्थको बयान भएको गुप्त निधि) समेतलाई राखी बयान गर्नु भएको छ । जसमा गुप्त निधिक्षेत्रको निर्देश र पदमार्गको बयान पनि गरिएको छ । मिलारेपाका साठी गीतहरु (सिक्स्टी सङ्स् अफ मिलारेपा) गर्मा सी सी चाङ्गद्वारा अनुवादित र भिक्षु खान्तीपालोद्वारा सङ्कलित जर्नल लेखमा समेत मनाङको नेस्याङ् कुर्ती गुफाको बारेमा उल्लेख गरिएको छ । चुम भ्याली ट्रेकिङको वेभ साइटमा पनि फुग् रोन फुग् (परेवा गुफा) को बारेमा उल्लेख गरिएको छ । गुरु रिन्पोछे बे युल चुम भ्याली टी हाउस ट्रेकको वेब साइटमा पनि गुरु पद्मसंभव र मिलारेपाका बारेमा उल्लेख गरिएको पाइन्छ । त्यसैगरी डा. नादिया नेउपोकोमा र उहाँको श्रीमान् भालेरी गार्केनले राखेका वेभ पेजमा पनि चुम उपत्यकाको बयानका साथै प्राचिन बौद्ध धरोहरहरुको अवशेषहरु रहेको कुरा चर्चा गरिएको पाइन्छ । कर्मा काग्यु बंश इतिहासमा मिलारेपाको बारेमा बयान गरिएको छ । लोकचक्षुपाद टोनी डफले लेख्नु भएको अ सङ् अफ मिलारेपा, मिलारेपा एण्ड द गेसे इन ड्रीन मा पनि जेचुन मिलारेपाको दोहाको बारेमा ब्याख्या गरिएको पाइन्छ । त्यसैगरी उहाँले नै अ सङ अफ मिलारेपा एन अथेन्टीक एक्स्प्रेसन अफ द मिडल वे मा मिलारेपाले अपनाउनु भएको मध्ययम मार्गको बारेमा ब्याख्या गरिएको छ । माउन्टेन हर्मिट मिल भनेर नोआ जोन्स्ले मिलारेपाको खुराक सिस्नोको वयान लेख्नु भएको छ । जस्टीन फिफिल्डद्वारा लिखित मिलारेपा बायोग्राफी ट्रान्स्लेसन, भोक्याबुलरी एण्ड ग्रामाटिकल पार्टीकल्स लेखमा जीवनी र मिलारेपासँग सम्बन्धित तिब्बती शब्दावलीहरुको अनुवाद गर्नु भएको छ । डान मार्टिनद्वारा लिखित द अर्लि एजुकेशन अफ मिलारेपामा उहाँको वाल्यजीवन तथा काग्यु परम्पराको वंशावली उल्लेख गर्नु भएको छ । नुब्री उपत्यकाको कठोर जीवन र दुःखको बारेमा जिओफ एचाइल्डले वर्णन गर्नुभएको छ । इसिमोडले तयार पारेको ग्रेट हिमालयन ट्रेल प्रिपेरेटोरी स्टडी चुम भ्याली गोरखा डिस्ट्रीक्टमा चुम उपत्यकाको भौगोलिक धरातल, हावापानी, जनजीवन तथा अन्य विविध विषयहरु उल्लेख छ ।

कुथङको फुगरोन फुगलाई स्थानीय चुम्बाहरु (चुममा बस्नेहरु लाई चुम्बा भनिन्छ) प्युरोन फुग भन्दछन् । गोरखा वा धादिङको आरुघाटबाट कस्सेर हिँड्दा ४ दिनमा मात्रै फुगरोन फुग पुग्न सकिन्छ । अत्यन्तै विकट अप्ठ्यारा भीरपहराको साँगुरो बाटोसँग पौंठेजोरी खेल्दै जानु पर्ने भए पनि प्रकृतिको मनोरम दृष्यले मनलाई हतास भने पार्दैन । मनास्लु संरक्षण क्षेत्र भएको हुनाले वन जंगल सुरक्षित देखिन्छ । गोरखाको सोतिखोला सम्म बस सुविधा छ । त्यसपछि पैदल यात्रा अनिवार्य छ । लापुबेंशी, खानीबेंशी हुँदै माछाखोलामा गएर बास बस्न सकिन्छ । त्यसपछि खोरलाबेंशी, तातोपानी, दोभान, यारुफाँट हुदै जगततिर बास बस्न सकिन्छ भने अलि हिड्नेहरु जगत, सल्लेरी, सिर्दिबास पुगेर बास बस्दछन् । अझ कस्सिएर हिड्नेहरु फिलिम पुगेर बास बस्दछन् । बिहान सबेरै उठेर हिडियो भने एक्लेभट्टि हुँदै लोक्पामा पुगेर खाना खान सकिन्छ । त्यसपछिको बास बस्ने ठाउँ भने चुम्लीङ नै हो । जसरी पनि पुग्नु पर्छ । लोक्पादेखि अलि पर पुगे पछि लार्केपास तिर जानेहरु देब्रे लाग्छन् भने चुम जाने दाहिने लाग्नु पर्छ । चुम्लीङबाट घो हँुदै छेकम्पार पुगिन्छ । छोकाङ पारो पुगेपछि समतल उपत्यका आउँछ । वरिपरि हिमाल र बीचमा उपत्यका मन त्यसै उद्वेलित हुन्छ । एउटा सानो गाउँ नाघेपछि लामागाउँ आउँछ । ३३०२ मिटर उचाईमा रहेको यो गाउँ चिसो भएता पनि मनमोहक छ । लामागाउँबाट करिब १५ मिनेटको पैदल दुरीमा बुर्जिगाउँ छ । त्यहि गाउँको उत्तर पश्चिम दिशामा फुगरोन फुग छ ।

फुगरोन फुगः (परेवा गुफा)
स्थानीयहरु यस गुफालाई प्युरोन फुग भन्दा रहेछन् । फुगरोन भनेको परेवा हो । यसलाई परेवा गुफा भन्न सकिन्छ । धेरै मानिसहरु मिलारेपा गुफा भन्ने गर्दछन् । बुर्जिदेखि हिँडर १५ मिनेटमा गुफा पुग्न सकिन्छ । अलि माथि पुगे पछि गाईवस्तु प्रवेश नगरोस् भनेर बार बारेर राखेको आग्लो खोलेर भित्र प्रवेश गर्न सकिन्छ ।

१. ध्वजा पताका राख्ने ठाउँः
लहरै ध्वजा पताका राख्नको लागि विशेष व्यवस्था गरेको छ । विशेष अवसरहरुमा भक्तजनहरु लुङ्ता दज्र्यू ल्याई यस ठाउँमा राख्ने गर्दछन् । फलामका खम्बाहरु गाडेर राखिएका छन् ।

२. ध्यान वा तपस्या स्थलः
त्यसपछि ध्यान गर्नका लागि भनेर रिठो (ध्यान गर्ने ठाउँ) बनाइएको छ । यो जिर्ण भई सकेको छ । कोठाकोठा बनाई ढुंगाको छानाले छोपेर बनाइएको ध्यान गृह देख्न सकिन्छ । उचित मर्मत सम्भारको आवश्यक्ता देखिन्छ । छ वटा ढोका र झ्याल भएको गुफा बस्ने घरको निर्माण गरिएको देखिन्छ ।

३. स्तूपाः
त्यसकै ठीक माथि साना साना आठवटा स्तुपहरु बनाएर राखिएका छन् । कतिपय स्तूपाहरु त भत्किसकेको अवस्थामा पुगेका छन् ।

४. गुफा (ओडार):
अलि माथि पुगेपछि ठुलो गुफा आउँछ त्यसको खासै स्याहार सम्भार भएको देखिन्न । गुफा खुल्ला छ । दुई ठाउँमा ढुंगाा चाङ लगाएर राखेको देखिन्छ । गुफा बाहिर झार उम्रेर नराम्रो देखिएको छ । गुफा भित्र प्रवेश गर्दा आङ ढक्क फुलेर आउँदो रहेछ ।

५. गुम्बा : त्यसपछि दोस्रो गुफा आउँछ त्यही गुफा भित्र गुम्बा बनाईएको छ । गुरु पद्मसंभवलाई बीचमा प्रतिस्थापन गरिनुले वेयुलको यथार्थता दिन्छ । यो गुम्बामा विशेष गरी औंसी पुर्णिमाको दिनमा पूजापाठ हुन्छ । यसलाई गुम्बा नभनि ल्हाखाङ भन्नु उपयुक्त होला । सबैभन्दा देब्रेतिर अवलोकितेश्वरको मुर्ति प्रतिस्थापन गरिएको छ भने त्यसपछि शाक्यमुनि बुद्धको प्रतिमा छ भने त्यसपछि गुरु पद्मसंभवको मुर्ति राखिएको छ । त्यसपछि भने मैत्रेय बुद्धको मुर्ति राखिएको छ । अनि अन्य दुई मुर्तिहरु राखिएका छन् । भित्ताभरी कलात्मक चित्रहरु कोरिएका छन् भने थाङ्काहरु पनि राखिएका छन् । पूजापाठ गर्नका लागि पनि यथेष्ट स्थान देख्न पाइन्छ । यो गुम्बा या ल्हाखाङ तलैदेखि भीरमा गारो लगाएर बनाईएको छ । तल्लो कुनामा मानिखोार्लो राखिएको छ । गुम्बा बनाउन सहयोग गर्ने दानपतिहरुको नाम तिब्बती भाषामा लेखेर राखिएको छ ।

६. मूल डुब्खाङ अर्थात मिलारेपाको ध्यान स्थलः
ल्हाखाङको पूर्व तर्फ लागेर १३ खुड्किला चढेर सिद्ध मिलोरेपाको ध्यान बस्ने ठाउँमा पुगिन्छ । यो सानो भएता पनि यसलाई व्यवस्थित गरी राखेको पाइन्छ । यसलाई डुब्खाङ भनिन्छ । यो ओडारको उचाई १०२ इन्चको छ । चौडाई १०६ ईन्चको छ भने गहिराई १० फिटको छ । यहाँ सिद्ध मिलारेपाको मूर्ति राखिएको छ । भिरको टुप्पोमा रहेको यो डुब्खाङमा तलबाट गारो लगाई व्यवस्थित बनाईएको छ । गुफाको दायाँ बायाँ गम्पोपा र रेछुङ्पाको चित्र कोरेर राखिएको छ । भित्ताभरि विभिन्न लामाहरुका चित्रहरु देख्न सकिन्छ । मिलारेपाको मुर्तिलाई काठको ढोका जस्तो बनाई कलात्मक रुपमा सजाएर राखिएको छ । ठीक मुनि अष्टमंगलका चित्रहरु कोरिएका छन् । यो ठाउँ सानो छ । धेरै मानिसहरु अट्न सक्ने देखिदैन ।

७. श्याब चे (मिलारेपाको पैतालाको छाप) :
यस ठाउँलाई मिलारेपाको भान्सा कोठा पनि भनिदो रहेछ । ल्हाखाङ र डुब्खाङको बीचमा भनौं ल्हाखाङदेखि माथि मिलारेपाको पैतालाको छाप अहिले नै हिलोमा टेकेर बनेको जस्तो देखिन्छ । तर, यो ठाउँको उचित स्याहार भएको देखिँदैन ।

चुमको आतिथ्यतालाई विर्सन सकिदैन भने यहाँको जटिल जीवन देखेर टीठ लाग्नु स्वाभाविकै लाग्छ । पारिपट्टि राछेन गुम्बाले १ सय ५० जना कलिला आनीहरुलाई पढाएर हिमाली बौद्धधर्मको शिर ठाडो पारेर बसिरहेको देखिन्छ । त्यसैगरी हरेक गाउँमा गुम्बा हुनुले र बौद्धधर्मप्रतिको अगाध आस्थाले यो ठाउँ साँच्चै गुप्त निधि क्षेत्र (बे युल) हो भन्ने भान दिइरहेको हुन्छ । आन्तरिक तथा बाह्य धार्मिक पर्यटनलाई उक्साउन सकेमा सिद्धहरुले सिँचेको भूमिमा पुगेर कुनै पनि श्रद्धालुले पुण्य संभार गर्ने कुरामा शंका छैन ।

भवतु सर्व मंगलम् ।

(लेखक तामाङ हिमालयन हेरिटेज विज्ञ हुन् ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button