
मलाई मेरो देशका हिमालहरूले बोलाइरहेका रहेछन्
पर्यटनमा पहिलो पाइला
राजन सिम्खडा
गणेश हिमालको सर्लक्क पहेंलो स्वर्णिम दृश्य मेरो मानसपटलमा अमीट छाप बनेर बसिरहेकाले हो कि, मेरो नियतीमा चार्टड एकाउन्टेन्ट बन्नु नै रहेनछ । आम्दानी र खर्चका हिसाबकिताब र वासलातहरूले हैन, मलाई मेरो देशका हिमालहरूले बोलाइरहेका रहेछन् ।
डाँडाकाँडा, पाखापखेरा, नदीनाला, तालतलैया, झर्ना–खोलाहरूले डाकिरहेका रहेछन् । मलाई डाँफे र मयुरहरूले बोलाइरहेका रहेछन् । हिसाबकिताबका ती जटिल सूत्र छिचोल्नुअघि नै म प्रकृतिका रमणीय छटा नियाल्ने र चुम्ने काममा लाग्नुपर्ने रहेछ । सामान्य किसानको छोरालाई खर्चका हिसाबले पनि ‘सिए’ बन्नु सहज थिएन । दाजुभाइ नै सहरमा बसेर पढ्न्े । गाउँमा आयआर्जनको माध्यम खेतीकिसानी मात्रै थियो । खर्च धान्न हम्मे पर्दै थियो ।
हामी वर्षायामको बिदामा घर जान्थ्यौं । खेतीपातीमा सघाउँथ्यौं गथ्र्यौं । मलाई पहिलेदेखि नै खेतीपाती गर्न मज्जा लाग्थ्यो, बोटविरुवा रोप्न औधी मन पर्ने । आफ्नो खेतबारीमा विभिन्न थरी घाँस तथा फलफूलका बिरुवाहरु रोप्थें, फलफूलका बिरुवा सार्थें । प्रमाणपत्र तहमा पढ्दा पनि हामी वर्षायाममा खेती लगाउन गाउँ गएका थियौं । काठमाडौं फर्कने अघिल्लो दिन घरमा कुरोमा कुरो चल्दा बुवाले भन्नुभयो, ‘हेर छोरा हो, तिमीहरूको पढाइको खर्च धान्न गाह्रो भयो । अब तिमीहरूले स–सानो भए पनि जागिर खानुप¥यो ।’
पुछारघरको माइला काका तोयानाथ सिम्खडा त्यतिबेलै टुप्लुक्क आइपुग्नुभयो । हाम्रो दोहोरो नाताका उहाँ मेरी आमालाई दिदी, बुबालाई दाइ भन्नुहुन्थ्यो । तोयानाथ काका हाम्रो घर आइरहनुहुन्थ्यो । गाउँलेले जस्तै बुवाले पनि उहाँलाई ठूलो कान्छा नै भन्नुहुन्थ्यो ।
‘छोराहरूको पढाइ खर्च धान्नै गाह्रो भयो । यसो जागिरतिर अल्झाइदिन पाए हुन्थ्यो भनेर सल्लाह गरिरहेको, केही उपाय छ त ठूलो कान्छा ?’ बुवाले कुरा झिक्नुभयो ।
‘हाम्रा ज्ञानु रिमाल भाइले ट्रेकिङ अफिस खोलेर निकै उन्नति गरेका छन् । उनले केटाहरूलाई जागिर दिन सक्छन् दाइ ! म पनि केही दिनपछि काठमाडौं जाँदै छु, केटाहरूलाई लगेर ज्ञानुसँग चिनाइदिन्छु । ढिलोछिटोमात्रै हो, जागिर पक्कै हुन्छ’, तोयानाथ काकाले ढाडस दिँदै भन्नुभयो ।
ज्ञानु रिमालकी आमा र तोया काकाकी आमा मितिनी । त्यही साइनोले हो, तोया काकाले ज्ञानुलाई भाइ भन्नुभएको । नभन्दै साउनको अन्त्यतिर तोयानाथ काका काठमाडौं आउनुभयो । उहाँले क्षेत्रपाटी, भुरुङखेलस्थित गणेश हिमाल होटलमा लैजानुभयो । हामी गार्डेनमै बसिरहेका थियौं । केही बेरपछि एकजना डल्लेडल्ले मान्छे आए ।
तोयानाथ काकाले चिनाइदिनुभयो, ‘राजन र दीपक मेरा भतिजा हुन् ज्ञानु, क्याम्पस पढ्दै छन्, तिमीले कतै जागिरमा अल्झाइदिनुप¥यो ।’
‘ल ठीक छ, मलाई भेट्दै गर्नू’ भनेर, तोयानाथ काकासँग केही बेर पारिवारिक कुरा गरी उनी छुट्टिए ।
दीपक दाइले ज्ञानुकहाँ जागिर खान त्यति चासो राख्नुभएन । म भने उनको होटल र टे«किङ अफिसमा पटक–पटक धाएँ । होटलभन्दा पनि ट्रेकिङ अफिसतिर बढी जान थालें । अफिसका भित्तामा हिमालका चित्र झुन्ड्याइएको हुन्थ्यो । कतै बाक्लो ज्याकेट लगाएका मान्छेको फोटो, कतै अर्धनग्न कुइरेहरूको फोटो राखिएको थियो । टुरिस्टको आवतजावत चलिरहेको हुन्थ्यो । गाइड, कुक र पोर्टरहरू पनि खचाखच नै हुन्थे । मचाहिं कहिले जागिर पाइएला र टुरिष्टको यस्तो रमाइलो संसारमा समाहित हुन पाइएला भन्ने व्यग्रप्रतीक्षा गरिरहन्थें ।
हुन पनि त्यतिखेर पर्यटन व्यवसायमा निकै चर्चित नाम थियो– ज्ञानु रिमाल (उनको खास नाम ज्ञानप्रसाद रिमाल भए पनि सबैले ज्ञानु रिमाल नै भन्दा रहेछन् । काठमाडौंमा उनको ‘गणेश हिमाल होटल’ र ‘गणेश हिमाल ट्रेकिङ कम्पनी’ मज्जाले चलेका । उनी पर्यटक रिझाउन सिपालू रहेछन् । विमानस्थलतिरबाट आफैं मान्छे लिएर आउने, डिल गर्ने र ट्रेकिङ लैजाने काममा साह्रै सक्रिय । ट्रेकिङ कम्पनीबाहिर पश्चिमा पर्यटक उनको ब्रिफिङ (ट्रेकिङ डिलिङ) सुन्न लाइन लागेर बस्थे ।
त्यतिबेला इन्टरनेट–इमेल थिएन, पर्यटक यहीं आएर सबै कुरा बुझेर घुम्न जान्थे । जसले मिठो बोल्थ्यो, राम्रो प्याकेज डिल गथ्र्यो, उसैको कम्पनीमार्फत ट्रेकिङ जान्थे । ज्ञानु रिमाल त्यो मामिलामा पोख्त रहेछन् ।
तिनताक म कलाकारका रूपमा पनि अलि अलि चिनिन थालिसकेको थिएँ । ट्रेकिङ अफिसका स्टाफमाझ कसैले मेरो कला प्रतिभाबारे चर्चा गरिदिएछ । त्यसैले उनीहरू मलाई अभिनय गर्न आग्रह गर्थे । म पनि विभिन्न नेताको क्यारिकेचर गरिदिन्थें, प्यारोडी गीत गाउँथें । ज्ञानु सरसँग भेट्दा पनि केही न केही ‘आइटम’ देखाउनैपथ्र्यो । मेरो हँसिलो, रसिलो, फरासिलो र मिजासिलो स्वभावबाट उनी प्रभावित हुँदै गए ।
आखिर त्यो दिन पनि आयो, जसको केही महिनादेखि प्रतीक्षा थियो । ज्ञानु रिमालले मलाई पोर्टर (भरिया) बनाएर ६ दिनको घान्द्रुक पदयात्रामा पठाउने भए । दुई इटालियन पर्यटक र गाइड बलबहादुर (बले)का साथ ।
जीवनकै पहिलो व्यावसायिक पदयात्रा सुरु भयो । काठमाडौंबाट पोखरासम्म स्विस ट्राभलमा गइयो । हामी ड्यामसाइडमा बास बस्यौं । अहिले पनि मलाई ड्यामसाइड मनपर्छ । ‘फस्र्ट इम्प्रेसन’ हो कि ! डयामसाइडमा ‘होटल रारा’ रहेछ, अनिल दाइको ।
पोखरा सफा र सुन्दर सहर । हरेक घर र लजको आँगनमा बगैंचा । होटलमा अट्याच बाथरुम । पहिलोपटक पोखरा पुग्दा हिमाल देख्न नपाएकोमा भने नमज्जा लागिरहेको थियो । भदौ महिना बित्नलाग्दा पनि डम्म बादल लागेको थियो । तैपनि पोखराको अन्य सौन्दर्यले लोभ्याइरह्यो ।
अर्को दिन ब्रेकफास्टमा टोस्ट, बटर र कफी खायौं । केहीबेरमै बस चढेर घोरेपानी–घान्द्रुकतर्फ लाग्यौं । नौडाँडाआसपास पुगेपछि बस धेरैबेर रोकियो । डिजेल सकिएछ । एक जर्किन डिजल थपेपछि गाडी अगाडि बढ्यो । म छतमा थिएँ । पछि कुइरेहरू पनि छतमै आए । पहाडी छटा नियाल्दै, घुम्ती सडक छिचोल्दै नयाँ पुल पुग्यौं । हाम्रो बसयात्रा त्यहींसम्म थियो । मैले बोक्नुपर्ने झोला अलि गह्रुँगो नै रहेछ । एउटा नाम्लो नै किन्नुप¥यो ।
वीरेठाँटीसम्म हिंडेपछि लन्चको तयारीमा जुट्यौं । इटालियन जोडीचाहिं प्रेमालिङ्गन र चुम्बन साँट्न व्यस्त भए । पहिलोपटक विदेशी पर्यटकसँग हिंडेकाले होला, मलाई भने खुलेआम प्रेमलीला असहज लागिरहेको थियो । गाइडहरूको खाना खाने र बस्ने आ–आफ्नै ‘जक्सन’ हुने रहेछ । ‘जुन घरमा धेरै राम्रा चेली हुन्छन्, त्यहीं गाइड बस्छन्’ भन्थे । तर कोही भने ‘होटलवाली’ गुरुङसेनी, थकाल्नी र मगर्नीहरू कुराले मात्र चिप्लो पार्ने हो पनि भन्थे ।
पहिलो दिन तिखेढुङ्गामा बस्यौं । चन्द्र लज हाम्रो मुकाम भयो । भोलिपल्ट उल्लेरीको उकालो चढ्दा झमझम पानी परिरहेको थियो । झोलालाई प्लास्टिकले छोपेर बोकेको थिएँ । भोलिपल्ट दिउँसोतिर घोरेपानी पुग्यौं । हुस्सुले डम्म ढाकिएको घोरेपानीमा गणेश हिमाल टे«किङका चर्चित गाइड दोर्जेसँग भेट भयो । दोर्जे हरेक वाक्यमा हसाउँथे । एउटी पर्यटक केटी लिएर गएका रहेछन् ।
‘हिंड्दा हिंड्दा थाकिछन् बौरा’ भन्दै दोर्जे तिनको खुट्टा मसाज गरिरहेका थिए । ‘गोरी’ पनि आनन्द मानिरहेकी थिई ।
भोलिपल्ट पुनहिल जाने तयारी थियो तर ठूलो पानी परेकाले उक्लिएनौं । सिधै घान्द्रुकतर्फ लाग्यौं । बाटोमा जताततै जुकैजुका । बस्तुभाउका गोबर पनि बाटैभरि । विदेशी निकै आत्तिए । चिप्लो बाटो, कुहिरो र जुका देखेर अचम्म मानिरहेका पर्यटकलाई हाम्रा गाइड बलबहादुरले अनेक कुरा गरेर हँसाए ।

‘जुकामार्ग’ छिचोल्दै टाढापानी पुग्यौं । दिनभरि झरीमा रुझेको ज्यानलाई त्यहाँ केहीबेर ओभाउन दियौं र राति अबेर घान्द्रुक पुग्यौं । अन्नपूर्ण गेस्टहाउसमा बस्ने चाँजो मिलायौं । त्यतिखेर अन्नपूर्ण गेस्टहाउस लामो टहरोजस्तो थियो । किचनको आगोमा भिजेको ज्यान सेकायौं । हाम्रो र अरू अरू टोलीका गाइडहरू रक्सी खान थाले । मलाई भने यी सबै कुरा नौलो लागिरहेको थियो ।
भोलिपल्ट घान्द्रुकको ओरालो झर्दै नयाँपुलसम्मको बाटो छिचोल्दा अरू दिनभन्दा रमाइलो लाग्यो । ढुङ्गा छापेको खुड्किलै खुड्किला भएको बाटो । झमझम झरी । म भारी बोकरहेको थिएँ । हिमाल फिटिक्कै नदेखिए पनि झरीबीच हरिया पहाडको बीचबीचमा कुहिरो कुदेको दृश्य रोमाञ्चक थियो ।
ओरालो लागिरहँदा कसैले जिस्क्याएर सोध्यो, ‘भाइ, भारी त गहुँ्रगै छ है ?’
‘हो दाइ !’ मैले छोटो जवाफ दिएँ ।
‘कति पैसा पाइने हो कुन्नि ?’
‘त्यो त थाहा छैन ।’
यस्तै यस्तै गफको सुरमा नयाँपुल पुग्यौं । बस चढेर पोखरा फर्कियौं ।
पोखरा पुग्नै लाग्दा हेम्जातिरबाट मनसुनी बादलका टुक्रामा कतै छोपिएको माछापुच्छ्रे (६,९९३ मिटर) को टुप्पो देखियो । झट्ट हेर्दा विदेशीलाई हिमाल र बादलको छटाबीच कुन हिमाल हो भनेर छुट्याउन कठिन हुन्थ्यो । तर बलबहादुरले पर्यटकलाई ‘लुक लुक फिस्टेल पिक’ भन्दै देखाउन भ्याइहाले । हिमालको त्यति सानो टुक्रा देख्न पाउँदा पनि ती इटालियन रोमाञ्चित भए । उनीहरूले हत्तपत्त फोटो खिचे ।
पोखरामा अनिल दाइको होटलमै बस्यौं । अर्को दिन स्विस ट्राभल्सकै बस चढेर काठमाडौं फर्कियौं । गाइडको पारिश्रमिक दैनिक १२५ रूपैयाँ र पोर्टरको ६० रूपैयाँ रहेछ । मैले ६० रूपैयाँको दरले ६ दिनको ३६० रूपैयाँ बुझें । त्यो नै मेरो पहिलो कमाइ थियो । त्यसले एउटा कुर्ची र क्यासेट प्लेयरसहितको सेकेन्डह्यान्ड रेडियो किनें ।
क्यासेट प्लेयर मेरो ठूलो रहरको चिज थियो, आफ्नो क्यारिकेचर रेकर्ड गर्दै आफैंले सुन्नका लागि । आफैंले कमाएको पैसाले त्यो रहर पूरा गर्न पाउँदा खुसीको सीमा रहेन ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)