गणेशले सबै हिमालप्रति असीम मोह जगायो

दार्खा सुन्दरी हो भने गणेश हिमाल ती सुन्दरीको शीरमा सजिएको चम्किलो ताज ।

राजन सिम्खडा

म जन्मिएको घर खासमा धन्सारघर रहेछ, जिजुबुवा रामनाथको ‘माझघर’को जगमै बनेको । बुवाहरूबीच अंशबन्डा हुँदा नयाँ घर भनेर चिनिने मूलघर कृष्ण काकालाई, सँगैको अर्को घर ठूलो बुवालाई तथा माझघरको घर माइला बुवालाई र धन्सार घर बुवालाई परेछ । दाजु दीपक, म र जुम्ल्याहा बहिनीहरू गङ्गा र जमुनाको जन्मपछि घर साँघुरो भएकाले त्यसैमा बुर्जा थपिएछ । त्यहि घरमा बिताएका जीवनका प्रारम्भिक ती दृश्य अहिले पनि मेरो मानसपटमा झल्झली आउँछन् ।

बुर्जाको माथिल्लो तलामा हामी सुत्थ्यौं । धुरीको चिममा सारौले गुँड लगाएका थिए । जब हामी बिहान ओछ्यानमा जाग्थ्यौं, कानमा सारौको ‘च¥याङचुरुङ’ आवाज ठोक्किन्थ्यो । ती सारौ हामीभन्दा पहिल्यै जागिसकेका हुन्थे । हामी सुत्ने बुर्जाको पूर्वतर्फको झ्यालबाट माइला बुवाको घर देखिन्थ्यो । कसैले कसैलाई बोलाएको मात्र हैन, बातचित गरेको समेत प्रष्टै सुनिन्थ्यो । हाम्रो घरको ठ्याक्कै उत्तरपट्टि ठूलो कटहरको रुख थियो । गाउँको मूलबाटोछेउमा रहेको त्यो कटरको बोट हाम्रो चिनारी थियो ।

तामाङहरू दीपक दाइ र मलाई ‘कटार धुङ साँइलै झ’ अर्थात ‘कटहर फेदको साइँलाको छोरा’ भन्थे । धेरै मान्छे कटहर बोटकै कारण हामीलाई चिन्थे । संयोग कस्तो भने मेरो मावली नुवाकोटको विदुर, पिपलटार । उनीहरू पनि कटहरबोटे गजुरेलकै नामले प्रख्यात । हाम्रो घरपछाडि गाई तथा भैसींको गोठ थियो । त्यो नजिकै मूलबाटो । जन्ती होस् वा मलामी, हाम्रै घरको छेउबाट जान्थे । मूलबाटो भएर ओहोरदोहोर गर्ने गाउँले, आफन्त र इष्टमित्रका लागि हाम्रो घर ‘ट्रान्जिट’ जस्तै थियो ।

दक्षिणतर्फ आँगन । आँगनबाट दक्षिणतर्फ प्रख्यात ज्वालामुखी माई मन्दिर रहेको चुचुरो देखिन्थ्यो अनि अलि यता लम्पसार परेको ज्यामरुङको डाँडो । त्योभन्दा अलि यतै मारपाक । अनि दार्खा खोलाको ठीक पारिपट्टि खनियाबासको वनपाखा, सल्लाघारी र राउतेगाउँ । आँगनबाट पश्चिम फर्किंदा हामी सिम्खडाहरूका कुलदेवता स्थान रहेको साल्दुमको थुम्को, सातदोबाटो र गुम्दीका डाँडा प्रष्ट देखिने । त्यसको सिरानमा चिमचोकडाँडा ।

‘एम’ आकारको त्यो डाँडाको आफ्नै सौन्दर्य छ । छोटो दिन हुँदा सूर्यास्त सातदोबाटोको डाँडामा र लामो दिन हुँदा सूर्यास्त त्यही एम आकारको डाँडामा हुन्छ । चिमचोकडाँडाको ठ्याक्कै पछाडि ‘गङ्गाजमुना’ झरना छ । गङ्गाजमुना हाम्रो घरबाट देखिँदैनथ्यो । बहुला कुकुरले टोकेको मानिसले त्यहाँ नुहायो भने ‘दोष निवारण’ हुन्छ भनिन्थ्यो । ‘हरहर महादेव पानी देऊ देऊ’ भनेपछि गङ्गाजमुनाको पानी झर्छ भन्थे गाउँले । त्यहाँ जनैपूर्णिमा र ठूलो एकादशी (हरिबोधनी एकादशी) मा भव्य जात्रा लाग्थ्यो । त्यसमा सहभागी हुन गाउँ–गाउँबाट झाँक्रीहरू जामा लगाएर, जिउभरि अने कथरी घण्ट झुन्ड्याएर ‘सिङलिङ सिङलिङ’ पार्दै, डङडङ ढ्याङ्ग्रो ठोक्दै, फलाक्दै, नाच्दै आसेपासे वरिपरि लगाएर जान्थे ।

Ad

हाम्रो गाउँका झाँक्रीहरू र अन्य मानिस पनि मेला भर्न जान्थे तर म किशोर हुँदासम्म गङ्गाजमुना गएको थिइनँ । पछि मात्र पुगें । सानोमा हामीलाई जात्रा जान दिइँदैनथ्यो । आमाले जात्रामा जाँड–रक्सीले मातेका मानिसबीच झै–झगडा र कुटाकुट हुन सक्छ भनेर रोक्नुहुन्थ्यो । पश्चिम–उत्तरमा री तावलको डाँडा छ । हिउँदमा तीन–चार दिन लगातार पानी परेमा डाँडाको टुप्पो हिउँले सेताम्मे हुन्थ्यो । घरको उत्तरतर्फ पर्छ प्रकृतिको अद्भूत सम्पदा गणेश हिमाल ।

दार्खालाई कुनै सुन्दरीको उपमा दिने हो भने गणेश हिमाललाई ती सुन्दरीको शीरमा सजिएको चम्किलो रत्नजडित ताजभन्दा अत्युक्ति हुँदैन । गणेश हिमालको त्यो सौन्दर्यले मलाई सानैदेखि मन्त्रमुग्ध पा¥यो । अलि हुर्किएपछि मलाई बोध भयो, हाम्रो घरबारी र खेत भएको ठाउँ त भौगोलिक रूपमा बडा मिलेको ठाउँ रहेछ ! हाम्रा पूर्खा गोपीलालले विचार पु-याएरै त्यो ठाउँ छान्नुभएको रहेछ । पछि मसँगै हाम्रो घर पुगेका एक अमेरिकी पर्यटकले भनेका थिए, ‘तिम्रो पूर्खा कति बाठा, कस्तो राम्रो ठाउँ छानेर बसेको । तिमी बसेको ठाउँमा रुख पनि प्रशस्तै, जमिन पनि मिलेको । हिमाल र पत्रैपत्र परेका डाँडाकाँडा देखिने । अमेजिङ प्लेस ।’

दार्खाको बीच भागमा हाम्रो घरबारी र खेत थियो । हाम्रो घरभन्दा ठीक तल फाँटको बीचमा एउटा ठूलो गह्रो थियो । त्यसलाई कुँडुले गह्रा भनिन्थ्यो । बुवाहरूले हजुरआमाका लागि जिउनी राख्नुभएको त्यो एउटै गह्रामा ३८ मुरीसम्म धान फल्थ्यो । दार्खामा ‘जोसँग कुँडुले गह्रो छ, उही धनी हुन्छ’ भन्थे । नयाँघरभन्दा माथि र माझघर तल बारीका ठुल्ठूला पाटा थिए । त्यसमध्ये एउटालाई हामी ठूलो गह्रा भन्थ्यौं । त्यसको दक्षिणपश्चिमी छेउमा ठूलो बडहरको रुख थियो । रुखनेर बडेमानको कालो ढुङ्गा । त्यसको तल्लोपट्टि चिप्लेटी परेको ढुङ्गा अनि ठूलो आँपको बोट र सार्वजनिक धारा । त्यो विकासे धारामा महिला र केटाकेटी नुहाउन र लुगा धुन जान्थे ।

त्यही कालो ढुङ्गामा उभिएर हेर्दा आँखैअगाडि देखिन्थ्यो, गणेश हिमाल । हरेक सूर्योदय र सूर्यास्तमा गणेश हिमाल चाँदीबाट सुनजस्तो हुन्थ्यो । त्यस्तो दृश्य हेर्न म खुसीले उफ्रँदै त्यो ढुङ्गामा पुग्थें । खासगरी साँझमा गणेश हिमाल हेर्नुको आनन्द शब्दमा वर्णन गर्न सकिन्न । बाल्यकालमै देखेको त्यही सुनौलो गणेश हिमालले नै हुनुपर्छ मलाई सबै हिमालप्रति असीम मोह जगाएको !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button