हामी त हिंड्यौ रुवीभ्याली, तपाई पनि आउनुस् है

श्रीकला गुरुङ / नेपालनाम्चा ।


धादिङको रुवीभ्याली फाम ट्रिप सुरु भएको छ । ट्रिप मंसीर २२ गते सुरु भएर २४ गते टुँगिनेछ । काठमाडौबाट धादिङको गल्छी, नुवाकोटको विदुर र रसुवाको धुन्चे, स्याफ्रुबेसी र गत्लाङ हुँदै ट्रिप टोलीले पहिलो साँझ सोमदाङमा बिताउने छ ।


टोली दोस्रो दिन सोमदाङबाट पाङसाङ पास र तिप्लिङ हुँदै सेर्तुङको चालिस गाउँ पुग्नेछ । सेर्तुङमा साँझ स्थानीय रोधीको मजा त छँदैछ । तेस्रो दिन मंसीर २४ गते टोली चालिस गाउँबाट बोराङ, झार्लाङ, धादिङबेसी हुँदै काठमाडौं फर्कनेछ ।


‘टोलीमा नेपाल पर्यटन बोर्ड र विभिन्न पर्यटन संघसंस्थाका प्रतिनिधीका साथै पर्यटन व्यवसायीहरु सहभागी छन्’, महासचिव राजेन्द्र सुवेदीले भने, ‘र, आयोजक संस्था गणेश हिमाल पर्यटन विकास समितीका सदस्यहरु र उल्लेख्यमात्रामा पत्रकारहरु पनि सहभागी छन् ।’
‘रुवी भ्यालीलाई चल्तीको टे«किङ ट्रेलको रुपमा ब्रान्डिङ गर्न यो ट्रिप आयोजना गरिएको हो’, समितीका अध्यक्ष तेजबहादुर गुरुङले बताए । ‘काठमाडौंबाट सबभन्दा छोटो ट्रेकिङ रुटको रुपमा रहेको यो ट्रेलको व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य दुवै खालका पर्वतिय पर्यटकलाई आकर्षित गर्न लागिपरेका छौं र त्यसैका लागि यो यात्रा आयोजना गरिएको हो’, उनले भने ।


‘पाङसाङ पास, कालोदह, सेतो दह, सिंगला पासजस्ता खास स्पटमात्र होइन, यहाँ होमस्टे र लज पनि बनिसकेको अवस्था छ । आन्तरिक र बाह्य पर्यटकलाई रुबी भ्यालीमा स्वागत गर्न सक्छौं भन्ने सन्देश दिन पनि यो ट्रिप आयोजना गरिएको हो’, संस्थापक अध्यक्ष कुलबहादुर गुरुङले थपे ।

‘रुबी भ्यालीलाई फिकुरी र लाङटाङसँग मात्र होइन, मनास्लुसँग पनि जोडेर त्यसलाई मिनी ग्रेट हिमालयन ट्रेलको रुपमा विकास गर्न सकिन्छ’, अध्यक्ष तेजले भने, ‘यो ट्रिपले त्यसतर्फ पनि सन्देश प्रवाह गर्नेछ ।’


‘यो त सुनमा सुगन्ध नै भयो । यस प्रकारको सोचले नै नेपालको पर्वतीय पर्यटनलाई अझ जीवन्त र प्रभावकारी बनाउनेछ’, लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार अशोक सिलवालले भने ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा गणेश हिमाल पर्यटन विकास समितीले आयाजना गरेको रुबी भ्याली फाम ट्रिपमा जाँदा नयाँ पर्वतिय पर्यटन गन्तव्यका रुपमा प्रवद्र्धित रुबी भ्याली रुटबारे फस्र्ट ह्यान्ड इन्फरमेसनमात्र पाइने छैन, त्यहाँको प्रकृति र संस्कृतिलाई विशेष रुपमा बुझ्न र अनुभव पनि गर्न सकिनेछ, आयोजक संस्थाले सामाजिक सन्जालमा यो यात्राको महत्व दर्शाउँदै लेखेको थियो ।


जानुअघि यो यात्राका एक सहभागी पदयात्रीले भने, ‘हामी त हिंड्यौ रुवी भ्याली, तपाई पनि आउनुस् है ।’


कोभिकालकै बीचमा भएका फिकुरी र गोसाईकुन्ड अध्ययन–अन्वेषण भ्रमणको सम्झना गर्दै नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले भने, ‘यस्ता खालका यात्राले कोभिडको मारले कोमामै पुगेको पर्यटनलाई नयाँ गति दिन मद्धत पुग्नेमात्र नभई थप पर्वतीय पर्यटनको क्षितिजलाई अझ फराकिलो पनि बनाउनेछ । उनले थपे, ‘रुवी भ्यालीले त्यसकोे सुन्दर संकेत दिइसकेको छ ।’


अन्त्यमा,
कान्तिपुर दैनिकमा ‘स्वर्ग’जस्तै रुवीभ्याली शिर्षकमा धादिङ सम्वाददाता हरिहरसिंह राठौरले वैशाख १०, २०७४ मा असाध्यै सुन्दर तस्विरहरुसहित रुवीभयालीबारे जे लेखेका थिए, यहाँ जस्ताको तस्तै साभार गरिएको छ,

रसुवाको लामटाङ र गोरखाको मनास्लु पदमार्गजस्तै उत्कृष्ट बन्नसक्ने सम्भावना भए पनि धादिङको रुवीभ्याली ओझेलमा छ । जुन सुन्दरतामा लाङटाङ र मनास्लुले चर्चा कमाएका छन् ती सबै विशेषता रुवी भ्यालीमा छ ।

रेडपाण्डासहित लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल, मनोरम बस्ती, नदी, सबैभन्दा सानो गुराँत सुनपातेसहित १४ थरिका लालीगुराँसका फूलका मनमोहन दृश्य यहाँका विशेषता हुन् । 

रुवी भ्याली काठमाडौंबाट सबैभन्दा नजिकको हिमाल प्याल्दोरको आधार शिविर हो । यो रसुवा, धादिङ र गोरखाको उत्तरी भेगमा पर्छ । यो पदमार्गलाई गणेश हिमाल पर्यटन विकास समितिको सहकार्यमा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले पहिचान गरेको हो । 

दुर्लभ बहुमूल्य पत्थर रुवी पाइने भएकाले यसको नामाकरण रुवी भ्याली गरिएको पर्यटन व्यवसायी कुलबहादुर गुरुङ बताउँछन् । यहाँका लापा, सेर्तुङ र तिप्लिङ गाविसलाई समाहित गरी रुवीभ्याली गाउँपालिका समेत नामाकरण भइसकेको छ । 

‘यहाँ कम्तिमा ५ देखि २१ दिनसम्मको लागि यात्रा गर्न सकिन्छ’, टानका पूर्व अध्यक्ष रमेश धमला बताउँछन् ।

रुवी भ्यालीमा लोपोन्मुख पाण्डा हाब्रेको बासस्थान पत्ता लागिसकेको उच्च पहाडी क्षेत्र संरक्षण अभियानका अध्यक्ष डेभिड घले बताउँछन् । 

तिप्लिङको तातोपानीका मुहान र सेर्तुङको तातोपानीका मुहान नेपालकै तातोपानीका ठूला कुण्डहरुमा पर्ने अध्यक्ष घलेको दावी छ ।

५ सय वर्ष पुराना बौद्ध गुम्वाहरु, ३ सय वर्ष पुराना ऐतिहासिक मठमन्दिरहरु रहेको यो भ्यालीमा मेन्हदोमाया लोकसंस्कृति, झाँक्रीनाच, लामा नाच, घोडानाचजस्ता परम्परा पर्यटकका लागि आकर्षणका केन्द्रविन्दु हुन सक्छन् ।

याक र चौंरीसँगै परम्परागत भेडीगोठ हरु पनि अवलोकन गर्न पाइन्छ । 

मनास्लुबाट लामटाङतर्फ जाने वा लामटाङबाट मनास्लु जाने पर्यटकले पनि २–३ दिन रुवी भ्यालीकै बस्ती हिंडेर पुग्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button