… जहाँ आफैलाई बिर्सें, भगवानको स्तुति गर्न खोज्दा श्लोकसमेत बिर्सें

प्रकाशप्रसाद उपाध्याय

निरन्तरको वर्षाले दिनचर्या अस्तव्यस्त भइरहेको थियो । कोरोनाको संक्रमण–दर घट्दै जाँदा सरकारले निषेधाज्ञा खुकुलो पारे पनि ढुक्क भएर बाहिर निस्कने स्थिति उत्पन्न भइसकेको थिएन । समय बिताउने सुरले टिभी खोलेँ । टिभीबाट कोरोनाको वैश्विक स्थिति, बाढी-पहिरोको प्रकोप र विभिन्न वाहनहरूको दुर्घटनाका समाचार सम्प्रेषण भइरहेको पाउँदा मन विरक्तिन थाल्यो । अन्य च्यानल खोज्ने क्रममा एउटा च्यानलबाट धर्मस्थलहरूको पर्यटनको वृत्तान्त पस्किरहेको पाएँ । पर्यटनपट्टि रुचि भएकोले त्यही च्यानल हेर्न थालेँ ।

हरिला-भरिला डाँडा, तिनमाथि पर्ने सूर्यका किरणहरूबाट त्यहाँ एकसाथ उत्पन्न हुने हरिया, उज्याला र सुनौला छवि, उर्लिरहेका नदीहरू, स्वर्णिम आभा फैलाउने हिम श्रृँखलाहरू, विभिन्न रङका पताकाहरूबाट सजिएका र बत्तीहरूको उज्यालोबाट आलोकमय भइरहेका मठ–मन्दिरहरू र त्यहाँ विभिन्न उमेरका दर्शनार्थीहरूको आवतजावतले मनलाई असीम आनन्द प्रदान गरिरहेको अनुभव हुन थाल्यो । फोटोग्राफरको क्यामेराले कहिले पाथीभरा मन्दिरको दृश्य देखाउँदथ्यो त कहिले हलेसी महादेवको तीर्थस्थलको, कहिले कालीगण्डकीको पावन जलधारा, जहाँ भगवान विष्णु शालिग्रामको रूपमा प्रकट भई जनकल्याण गर्नुहुन्छ भन्ने मान्यता छ, माथि भएर बग्ने शीतल हावाको आनन्द भोग्दै मुस्ताङ र मुक्तिनाथको पावन मठ–मन्दिरहरूको दर्शन गर्न हिँडेका तीर्थयात्रीहरूलाई देखाउँदथ्यो, त कहिले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी, कहिले श्रीराम र देवी सीताको विवाह स्थल राम-जानकी मन्दिर, त कहिले पर्वतीय सुन्दरताको अनुपम छवि प्रकट गर्ने रारा तालको । कहिले अग्ला पर्वतहरूमाथि भएर भइँमा झरिरहेको दुधको सेतो खोलासरहको जलधाराले उत्पन्न गर्ने मनोरम दृश्य । देशलाई विश्वका सुन्दरतम देशहरूमध्ये एक बनाउने यी दृश्यहरू देख्दा दङ्ग परेँ ।

यी सबै हेर्दै गर्दा, धर्मप्रति मानिसहरूको अपार आस्था, आफ्ना देवीदेवताहरूप्रति जन–जनमा विद्यमान असीम भक्तिभाव र पाशुपतक्षेत्र, मुक्तिक्षेत्र, वाराहक्षेत्र, हरिहरक्षेत्र, कौशिकीक्षेत्रका अतिरिक्त देवी सतीको अङ्ग पतन भएको छायाक्षेत्रजस्ता पावन क्षेत्रहरूले भरिएको हाम्रो देश देवर्षि नारदलगायत विभिन्न ऋषि–मुनिहरूले आफ्नो तप–साधनाको प्रतापबाट पावन बनाएका स्थलहरूका कारण वास्तवमा नै तपोभूमि र देवीदेवताहरूले विचरण गर्ने गरेका कारण देवभूमि रहेको भाव जागेर आयो ।

कार्यक्रम सकियो । टिभी बन्द गरेँ तर मन चिन्तनशील रहिरह्यो । वास्तवमा नै हाम्रो देशलाई प्रकृतिले विभिन्न रूपमा सिँगारेको अनुभव भएर आयो । कस्ता दुर्गम स्थलहरूमा देवस्थलहरूको निर्माण । मनमा अनेक कुराहरू खेल्न थाले । देशको यस्ता केही क्षेत्रहरूको आफ्नो विगतको पर्यटनलाई पनि सम्झिन पुगेँ, जहाँ पुग्दा केही क्षणका लागि मैले आफैँलाई बिर्सेको थिएँ । मन्दिरभित्र भगवानको स्तुतिमा श्लोक पाठ गर्न खोज्दा श्लोकसमेत बिर्सेको थिएँ । होस आएपछि सोच्न थालेँ, यो भगवानप्रति मेरो तल्लीनताको परिणाम हो वा भगवानले मलाई पाठ गर्नबाट रोक्न स्मरणशक्तिहीन बनाउनुभएको ? बुझ्न सकिनँ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button