पर्यटन, प्रकृति र प्यूटार

सन्दर्भः २५ औं गाउँ पर्यटन दिवस

डोरबहादुर केसी

भनिन्छ, कर्म गर्नु फलको आशा नगर्नु । तर, व्यवहारमा हामी सबै कर्म गर्छौ र फलप्राप्तिमा आशावादी रहन्छौं । यो हामी सबैको मानवीय व्यवहार हो । हाम्रा कर्महरु प्रायः आत्मकेन्द्रित रहन्छन् । हामीले गरेको कर्मले आफूलाई, आफ्नो घर परिवारलाई प्रत्यक्ष फाइदा पुगोस् भन्ने चाहन्छौं । यति हुँदाहुँदै पनि कहिलेकाहीं हामी यस्ता कतिपय कर्म पनि गर्छौं, जुन कर्मले साझा विश्वको एजेन्डा बोकेको हुन्छ । यस्ता कर्मले घर, परिवार, समाज, देशभन्दा अगाडि बढेर विश्वको साझा सवाल बोकेको हुन्छ । यस्ता कर्मले कर्मयोगीका हातमा ठेला परे पनि उसको आत्माले सन्तोषको स्वास फेरिरहेको हुन्छ । उसको शरिरबाट चुहिएको पसिनाले धर्तीको माटो सिंचित भइरहेको हुन्छ ।

यस्तै महान र साझा उद्धेश्य बोकेर पर्यटनकर्मीको एउटा टिम ललितपुर जिल्लाको बागमती गाउँपालिकाको प्यूटारतर्फ लाग्यो । हाम्रो उद्धेश्य मानवका दैनिक कृयाकलापले यस धर्तीमा पारेको वातावरणीय प्रभावको न्यूनीकरण र जैविक विविधताको संरक्षणतर्फ केन्द्रत थियो । हाम्रो उद्धेश्य पृथ्वीमा उत्सर्जन भइरहेको हरितगृह न्यूनीकरण र कार्वन उत्पादन बढाउनेतर्फ केन्द्रित थियो । यति मात्रमा सिमित नभएर हाम्रो उद्धेश्य प्यूटारका जनताको प्रत्यक्ष जनजीविकासँग जोडिएको थियो । प्यूटारको वातावरण विनाशलाई जोगाएर पहिरो नियन्त्रण र जैविक विविधताको संरक्षण गर्नुसँग जोडिएको थियो ।

हामी पेशागत रूपमा पर्यटनकर्मी भएको नाताले हाम्रो सम्बन्ध जर्मनीको डिएभी समिटकल्व र काठमाडौंमा रहेको ईन्ट्रेक संस्थासँग जोडिएको भएतापनि हामी व्यक्तिगतरुपमा साझा विश्व जगतप्रति समर्पित रहेका थियौं । हामी हामीले टेकेको यस धर्तीप्रति सम्रपित रहेका थियौं । प्रत्यक्षतः भन्दा हामी प्यूटारका जनताप्रति समर्पित रहेका थियौं ।

हाम्रा मानवीय कृयाकलापले केही दशकयता विश्वको तापक्रम प्रतिवर्ष ०.०२५ डिग्री सेन्टिग्रेटको दरले बढिरहेको छ । यस हिसाबले सन् २१०० सम्म विश्वको तापमान ३ देखि ५ डिग्रीसम्म बढ्ने प्रक्षेपण गरिएको छ । विश्व अहिले तापमान बृद्धिलाई २ डिग्रीमा राख्न प्रयत्नशील छ । यूरोप, अमेरिकाजस्ता थुप्रै विकसित राष्ट्रहरुको विकासको दुष्परिणामले भित्र्याएका नकारात्मक प्रभावको जाँतोमा नेपालजस्ता अल्पविकसित राष्ट्रहरु पिल्सिरहेका छौं तापनि अहिले कार्वन व्यापारले भने नेपालले मनग्य आम्दानी गर्ने अवसर जुटिरहेको छ । विकसित राष्ट्रहरुले विकासको दुष्परिणामले भित्र्याएको हरितगृह उत्सर्जनको क्षतिपूर्ति गरेर विश्वलाई सन्तुलनमा राख्न जमर्को गरिरहेको छन् ।

प्यूटारको चिम्सीपाखो काँइयो घारी सामुदायिक वनको २८ हेक्टर क्षेत्रफलमा विभिन्न जातका ४५ हजार बोटविरुवा रोप्दा हाम्रो उत्साहित टिमले प्यूटारमा एक हप्तासम्म बिताएको थियो । महामारीबाट बच्न स्वास्थका आवश्यक मापदण्डहरु कडाईका साथ पालन गरिएको थियो । कसैलाई पनि संक्रमण नहोस् भनेर हामी सबै विशेष सचेत रह्यों । यसमा स्थानीय सामुदायिक वनका लाभान्वित वर्गको पनि प्रत्यक्ष सहभागिता रह्यो ।

तथापि, प्यूटारमा जाँदा र बस्दा वत्तिमुनिको अँध्यारो भन्ने कथनले हामीलाई बेलाबेलामा घोचि नै रह्यो । हामी उपत्यकाको ललितपुर जिल्लाभित्रै छौं भन्ने बेलाबेलामा बिर्सन्थौं । कता कता कर्णाली प्रदेशका विकट जिल्लाहरुको यादले सताउँथ्यो । प्यूटारको ४० किलोमिटरको दूरीमा संघीय सरकारका मन्त्रीहरुको क्वाटर छ भन्ने हामीलाई सम्झन समय लाग्यो । अरुको ध्यान भ्यूटावर र बालुवाटार जहाँ जता भएपनि हाम्रो ध्यान केवल प्यूटावरमै सिमित थियो ।

आखिर जे भए पनि हाम्रो असल कर्मको मिठोफल प्यूटारको जनताले भोलिका दिनमा चाख्न पाउनेमा आशावादी छौं । विश्वले कार्वनको सञ्चितीमा केही भए पनि उपलब्धि हाँसिल गर्ने छ। विशाल समुन्द्रमा हामीले एक गाग्रो पानी थपेका छौं । यसको सानो लाभ राज्यले भोलिका दिनमा उठाउन सक्ने छ । अहिलेलाई हाम्रो यही शुभकामना ।

अन्तमा, हाम्रो निस्वार्थ भावनासहित भएको यस कर्मका सहयात्री ईन्ट्रेक नेपाल र डिएभी समिट कल्ब जर्मनी, स्थानीय सामुदायिक वन र कृषि वनविज्ञान नेपालप्रति हार्दिक आभार प्रकट गर्दछौं ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button