गुराँसमा झुम्मिएर भुन्भुनाइरहने माहुरी

सन्दर्भः २५ औं गाउँ पर्यटन दिवस

राजेन्द्रमान डंगोल

उज्यालो र अँध्यारो परस्परविरोधी हुन् । यी दुवैले समान रूपमा एकले अर्कोलाई सकेजति लखेटिरहेका हुन्छन् । एकको विलुप्तिमा अर्कोले साम्राज्य चलाइरहेको हुन्छ । अरुणोदयसँगै अँध्यारोको विलुप्तिमा उज्यालोले साम्राज्य चलाउन थाल्छ । लाली किरणसँगै सारा जगत् हाँस्दाहाँस्दै अरुणास्तसंँगै अँध्यारोले उज्यालोलाई पुनः छोप्छ र रातको साम्राज्य सुरु हुन्छ । यो प्रकृतिकोे नियम नै हो । हामी यिनै उज्यालो र अँध्यारोमा रमाइरहेका हुन्छौँ, विभिन्न अर्थहरूमा ।

दिन र रातका यी क्षणहरू हाम्रालागि प्रिय हुन्छन् । पूर्णिमाको जून वा चकमन्न औँसीको ताराहरू हेर्दा होस्, वा कुनै अग्लो डाँडामा बसेर बिहानीको अरुणोदय वा अरुणास्त हेर्दाको दृश्य नै किन नहोस्, म्याग्दी जिल्लाको शिखा गाउँपालिकामा अवस्थित पूनहिल त्यही ठाउँ हो, जहाँबाट उज्यालो र अँध्यारोका विलुप्ति महसुस गर्न सकिन्छ । श्वेत जलफूलका ओढ्ने ओढेर बसिरहेका मनमोहक हिमालहरूमा सूर्यको लालिमा छरिँदा नववस्त्र र गहनाले सजिएकी नवदुलहीझैं लाग्ने गरी क्षणभरमै सुनौला रङमा परिवर्तन भई सजिएका दृश्यहरू प्रत्यक्ष देख्न सकिन्छ ।

पर्यटकसाथ लेखक डंगोल ।

समुन्द्र सतहदेखि ३,२१० मिटरको उचाइको पूनहिल रमणीय डाँडा हो । जनजिब्रोमा ‘पूनहिल’ झुन्डिएको भए पनि यसको वास्तविक नाम हो लुङ्गतुङ केन्द्रबिन्दु । भनिन्छ, नेपालमा कालापत्थरपछिको प्राकृतिक सौन्दर्य दृश्यालोकनका अर्को उत्कृष्ट प्वाइन्ट ‘पूनहिल’ नै हो । यो ठाँउको विशेषता भनेको विश्वका सबैभन्दा गहिरो खोँच दाना÷तातोपानी र सबैभन्दा ठूलो र उकालो चट्टान एवम् विश्वको चौथो अग्लो चुचुरो धौलागिरी र लहरै उभिएका स्वर्णिम हिमालहरू एकसाथ देखिनु हो । यहाँबाट देख्न सकिने अर्को मनमोहक दृश्य भनेको अन्नपूर्ण पहिलोको दक्षिणी भेगमा अवस्थित खयर बराहको सुनको पहाड हो जुन साँच्चिकै सुनकै पहाडजस्तो देखिन्छ । यहाँबाट अन्नपूर्ण दक्षिण र माछापुछ्रे लगायत ७,००० मिटरभन्दा माथिका अनगिन्ति हिमश्रृङ्खलाहरू देखिन्छन् । अरुणोदय र अरुणास्तमा देखिने सूर्य र प्रकृतिको बदलिदो रूप, अझ भनौँ वसन्त ऋतुमा देखिने मनमोहक दृश्यहरू त शब्द चित्रमा उतार्नै सकिन्न । मौसम सफा भएको बखत मेजर टेकबहादुर मेमोरियल भ्यु टावरबाट पोखराको वल्र्ड पिस स्तुपासमेत देख्न सकिन्छ । यिनै दृश्य अवलोकन गर्नका लागि पर्यटकहरू उलेरीको कठिन उकालोको पदयात्रा गरेर यहाँसम्म आउने गर्दछन् । लालीगुँरास, चाँप, सल्ला र खर्सुले ढाकिएको जङ्गल, स्वच्छ वातवरण र चराचुरुङ्गीहरूको मधुर आवाजको आनन्दको अनुभूतिबाट आह्लादित पर्यटकहरू यहाँ बसुन्जेल रोमान्चित हुन्छन् ।

लुङ्गतुङ अर्थात् पूनहिल एउटा सामान्य डाँडो मात्र होइन । साँस्कृतिक पृष्ठभूमि जोडिएको अर्थमा पून मगरहरुको गौरव हो । नेपालको पर्यटन ब्यवसायको बलियो आधार र सिंगो देशकै सुन्दर परिचय दिलाउने सुन्दर गन्तव्य पनि हो । नेपालको पर्यटनको अभियन्ता स्व. मोरिस हर्गेज नेतृत्वको टोलीले ६३ बर्षअघि पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेपछि नेपालमा भएको पर्वतीय पर्यटनको सुरुवातसंगसंगै विदेशी पर्यटकहरूले पूनहिलमा पाइला टेक्न थाले । यिनले गरेकोे यो सफल आरोहणपछि हिमाल आरोहणको ढोका विश्वभर खुल्यो र नेपालको पर्वतीय पर्यटन प्रवद्र्घनमा महत्वपूर्ण मोड आयो ।

पूनहिलकै काखमा रहेको सुन्दर घोडेपानी गाउँ (२८६० मि.) मा बास बसेर अर्को दिन सबेरै ३५० मिटरको चढाइ चढेपछि पूनहिलको शिरमा पुगिन्छ । आजका दिनसम्म लाखौँ पर्यटकहरूले यहाँ पदार्पण गरिसिकेका छन् । कुनै पनि पर्यटक यहाँका हरेक हिमाल, पहाड, बस्ती, र झरनासित परिचित हुन सक्दछन् तर उसले नाङ्गै दौडिरहेकी मोदी, आवरणविहिन वहने तातो हावाको बहावसँगै अन्नपूर्णाको आकाशमा उडिरहने पन्छीहरू, हरेक वसन्तमा मुस्कुराइरहने पहिरनविनाका गुराँसका फूल र ती फूलमा झुम्मिएर भुन्भुनाइरहने माहुरीका शाश्वत रहस्य भने बुझ्न सक्दैनन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button