फेवा फ्युजनमा फुटबल फ्ल्यासब्याक

अशोक सिलवाल
लेकसाइड, पोखरा ।

म ‘फेवा फ्युजन’ पुगें । रेस्टुरेन्ट शान्त थियो । भित्तामा ठूलो स्क्रिन थियो । संयोगले अन्तराष्ट्रिय फुटबल म्याच रहेछ ।

निकै बेरको कुराकानीपछि मात्र थाहा पाएँ, ‘उनी फुटबलका राष्ट्रिय तहका खेलाडी रहेछन्, विगतमा ।’

दशरथ रंगशालानजिकै थापाथलीस्थित प्रसुति गृहमा ‘ममी’ स्टाफ थिइन् । २०२८ असोज ६ गते उनी त्यहीँ जन्मे । बाल्यकाल ललितपुरको चाकुपाटमा बित्यो । स्थानीय बाल विद्यागृहबाट स्कुले जीवन सुरु गरे । नमुना मछिन्द्र बोडिङ हुँदै ललितपुर माध्यमिक विद्यालयबाट २०४४ सालमा एसएलसी गरे ।

राजु गुरुङ जीवनका अनेक पत्र केलाउँदै थिए ।

सानैदेखि फुटबलमा सोखिन । प्राथमिकता पढाईभन्दा खेलकुद । त्यसमा पनि फुटबल ।

संयोग पनि कस्तो भने हाम्रै सामुन्नेको ठूलो फ्ल्याट स्क्रिनमा अन्तराष्ट्रिय फुटबल म्याच चलिरहेको थियो । कुरा गरिरहँदा उनी बेलाबेला स्क्रिनमा हराउँथे । खेलाडीको मुभमा हराउँथे । बलतिर उनको आँखा गइहाल्थ्यो । यता मलाई नै खल्लो लागिरहेको थियो । कस्ता मान्छे रहेछन् रु सामुन्नेको मान्छेसँग कुरा नगरी खाली टिभीतिरै आँखा नचाउँछन् बा !

जाउलाखेल युथ क्लवबाट ए डिभिजन क्लवमा समेत खेलेका उनले पुतलीसडकस्थित शंकरदेव क्याम्सपमा इन्टरमिडियट तहको पढाई गरे । त्यसपछि अरु कति पढे रु मैले सोधिन । उनले पनि भन्न बिर्से सायद । त्यसअघि नै हो कि त्यसैताका उनी जुनियर नेशनल टिम (अन्डर नाइन्टिन) मा छनोट भएर नेपाली राष्टिय फुटबल टीमबाट इन्डियाको क्यालिकट भन्ने ठाउँमा गए । त्यसपछि पनि जाउलाखेल युथ क्लवमा टीम क्याप्टेन भएर पनि दुइटा म्याच खेले ।

उनी फुटबलबाहेक अरु केही सोच्न सक्दैन थिए । तर, वातावरण त्यस अनुकुल थिएन । परिवार उनको भविष्यको चिन्ता गर्दै थियो । फुटबलभन्दा अन्य व्यवसाय वा जागिरबाट जीवन सहज हुने उनीहरुको विचार थियो । उनी पनि जे पाए पनि काम गर्ने मनस्थितिमा पुगिसकेका रहेछन् ।

त्यहीबीचको कुरा हो । सन् १९९२ मा अन्नपूर्ण क्यासिनोमा आवेदन खुल्यो । सन् २०१४ सम्म उनी क्यासिनोमा कार्यरत रहेर त्यहाँ उनले उच्च हैसियत बनाए । सामान्य नेपालीको पहुँचबाहिरको त्यो संसारमा उनले अनेक अनुभव संगाले ।

केही बर्षअघि सुन्दर पोखरामा उनले क्यासिनोका अनेक रोचक स्मृति सुनाएका थिए । तर, मेरो बिर्सने बानी ! तर, मैले त्यो पहिलो साँझ र त्यसपछिका अरु केही साँझ बिर्सेको छैन राजुजी ।

क्यासिनोमा काम गर्दा पनि उनी फेरि फुटबलसँग जोडिए । त्यसो त उनी कुन दिन फुटबलसँग छुट्टिएकै थिए र ! तर, जीवन नामको गाडी चलाउन उनी क्यासिनो आइपुगेका थिए । त्यहीँबाट पनि उनले फुटबल खेले । अन्नपूर्ण क्यासिनोले उनको नेतृत्वमा । थुप्रै पदक पनि प्राप्त गर्यो । त्यसरी उनी ‘क्यासिनो फुटबलर’ पनि भए । फुटबलको मैदान छोडेर क्यासिनोमा जागिरे जीवनमा पुगे पनि फेरि त्यहीँबाट पटकपटक फुटबल मैदानमा आइपुगे ।

२०४६ सालको आन्दोलनताका उनी क्यासिनोमा राम्रैसँग जमिसकेका थिए । त्यसपछि लगातार उनी क्यासिनोमै रहिरहे । जीवनको सुन्दर र शक्तिशाली २२ बर्ष क्यासिनोमा बिताएका उनको जीवनको लय पनि क्यासिनो बन्द भएपछि अर्कैतिर मोडियो । उनी काठमाडौंबाट पोखरा पुगे ।

१२ बैशाख २०७२ ठिक अगाडिको कुरा हो । पारिवारिक हिस्सेदारीसहित उनले फेवा फ्युजन नामको रेस्टेरेन्ट खोले । संकेत राम्रो हुँदै थियो । तर, १२ बैशाख २०७२ को विनाशकारी भुकम्पले देश त हल्लायो नै, त्यसभन्दा बढी उनको व्यवसाय हल्लाइदियो । भर्खर सुरु गरेको रेस्टुरेन्टमा ग्राहक कुन चराको नाम हो भनेजस्तो हुन थाल्यो । तर, रेस्टुरेन्टमा रहेको ठूलो स्क्रिनमा फुटबल हेर्दै उनले आफ्ना सारा व्यवसायिक निराशा पखालिरहे । खेल र खेलाडी अनुसार पक्ष र विपक्षमा आफूलाई उभ्याइरहे । फुटबलको संसारको सकृय स्टेकहोल्डरजस्तो भइरहे उनी ।

थाहै नपाइकन उनलाई त्यसबाट प्राप्त सन्तुष्टि जतिसुकै ठूलो व्यवसाय गरे पनि पनि आउँछ भन्ने कुनै ग्यारेन्टी छैन । त्यसैले शुन्य र शान्त रेस्टुरेन्टमा पनि उत्तिकै मुस्काइरहेका थिए । त्यो हो, खेलकुदको शक्ति । फुटबलको शक्ति !

उनी जब फुटबल हेर्न थाल्छन्, मैदानमा फुटबलसँग दौडिरहेको अनुभुति हुन्छ उनलाई । विगतको खेलाडी जीवनको स्मृतिका अनेक घटना परिघटनाले उनलाई रोमाञ्चित बनाउन थालिहाल्छ । त्यसपछि व्यवसायिक संकटको सन्दर्भ तत्कालै बिर्सिहाल्छन् । रेस्टुरेन्टमा ग्राहक नआएको उनलाई यादै हुँदैन । तर, ग्राहकबिना रेस्टेरेन्ट चलाउन कति कठिन हुन्छ ? त्यसका भुक्तभोगी राजुलाई भन्दा बढी कसलाई थाहा होला र !

भुकम्पले थिलथिलाएको देशको पर्यटन क्षेत्र बिस्तारै उठ्नै लाग्दा मुलुक फेरि नाकाबन्दीको चर्को चेपुवामा पर्यो । त्यसले उनको व्यवसायलाई अझ बढी प्रहार गर्यो । र, फेरि कोरोना ।

यो त्यति बेलैको कुरा । बर्षौंअघिको साँझ । उनको बारे रमाइलो कुरा के भने रेस्टुरेन्टमा उनी ग्राहकका प्रतिक्षामा तर त्यसभन्दा बढी फुटबलमा उनको रुचि । व्यापार गर्न बसेका हुन् कि फुटबल हेर्न ? मलाई मात्र होइन, फाट्टफुट्ट रेस्टुरेन्टमा आउने ग्राहकलाई पनि त्यस्तै लाग्दो होेला ।

सुरुमा फुटबलर त्यसपछि जागिरे हुँदै अहिले उनी प्रकृतिको सुन्दर पर्यटकीय नगरी पोखराको सबभन्दा बढी सुन्दर एरिया लेकसाइडमा व्यवसायी अवतारमा जीवनमा अरु केही गर्ने उद्धेश्यसहित अगाडि बढिरहेका छन् । तर, जति बेला पनि उनको मनमा फुटबल छ । त्यसले उनको व्यवसायमा पनि थोरै भए पनि भरथेग नगरेको होइन । युरो कप, अमेरिका कोपा कप वा फिफा वल्र्ड कफ हुँदा पोखराका कतिपय युवा उनको रेष्टुरेन्टमा आएर उनीसँगै फुटबल हेर्दा रहेछन् ।

लेकसाइडमा व्यवसायी अवतारमा सक्रिय उनी । तर, जहाँ गए पनि, जे गरे पनि ‘फुटबलर’बाहेक हुनसकेका छैनन् उनी । हामीले केही घन्टा गफ गर्दा पनि एकाध मिनेटबाहेकको समय गफको विषय फुटबल मात्रै भइरहेको थियो । यताको कुरा गर्यो, फुटबलकै कुरा आउँछ । उताको कुरा गर्यो फेरि पनि फुटबलकै कुरा आउँछ । यो खेल हो कि नशा ? उनीसँग बस्दा, कुरा गर्दा त्यस्तै लाग्छ ।

फेवा फ्युजन सुरु गरेको दुई बर्ष मात्र भएको थियो । दशैंको मुखैमा उनलाई फोन आयो, रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखरा रेबानबाट, ‘भोलि दशैंको उपलक्ष्यमा एक दिने फुटबल म्याच छ, रेबान र अन्य व्यवसायिक संगठनबीच । तपाईं राम्रो खेल्नु हुँदो रहेछ । हाम्रो रबानबाट खेल्नु पर्यो ।’

एकातिर फुटबलप्रतिको उनको जीवनैभरको प्यासन एकातिर अनि अर्कोतिर पोखरामा नयाँ रहेका उनलाई त्यो जनसम्पर्कको माध्यम पनि पनि हुनेवाला थियो । त्यसैले हार्दिकतापूर्वक उनी खेल्नका लागि तम्तयार भइहाले ।

खेल्नेक्रममा त्यसताका एन्फा पोखराका भाइस प्रिसिडेन्ट कुमार गुरुङसँग चिनजान भयो । कुमारले राजुको खेल प्रशंसा गर्दै दशैंपछि हुँदै गरेको भेट्रान फुटबल प्रतियोगिताका लागि जोड्ने प्रयास गरे ।

दशैंलगत्तै उनी हेटौटा हानिए । त्यहाँ पनि उनको प्रस्तुति प्रशंसायोग्य रह्यो । त्यसपछि त उनी लगातार अनेकौं शहरहरु गए, खेले । र, नतिजा पनि ल्याइरहे । रोचक त के भने, पोखराको बगर भाइखलकको भेट्रान क्लवबाट फुटबल खेल्न राजधानी आए । र, बाल्यकालदेखि जोडिएको जाउलाखेल युथ क्लवको मैदानमा समेत खेले ।

४० बर्ष प्लसवाला भेट्रान फुटबल प्रतियोगिताको ट्रेन्ड पोखराबाटै सुरु भएको र अहिले यो दशैभर फैलिएको राजुले बताए । पोखराको बगर भाइखलक भेट्रान क्लव यसको पायनियर नै हो ।

पछिल्लो पटक ट्रेनिङकै क्रममा उनको घुँडामा समस्या आयो । तैपनि म्याच हापेनन् । प्रयास गरे । तर, घुँडाले अचम्मै गर्यो । सहन सकेनन् । र, अहिलेलाई मैदानबाहिर छन् । तर, उनको विश्वास छ, चाँडै नै ठिक हुनेछ । हुनैपर्छ । म फेरि मैदानमा आउनेछु ।

अझ अर्को महत्वपूर्ण कुरो, छोरा साम्राज्य सिंह गुरुङ १६ पुगेर १७ लागेको छ । सेन्ट जेभियर्स्, जाउलाखेलमा कक्षा ११ मा मेनेजमन्ट पढ्छ । र, ऊ जावलाखेल युथ क्लवको फुटबल ट्रेनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button