मेरो असल साथी डल्ले

कुकुरका कुरा
जनार्दन अर्याल

मेरो घरका कुकुरहरुको बेग्लै कथा छ । सुरुमा बेलायतीका क्रस काली कुकुर्नी थिई । उसलाइ हामी व्युटी भन्थ्यौं । साँच्चै व्युटी थिई । जेठो छोरो सँगसँगै स्कुल जान्थी । विशेष गरी आमाकी प्यारी थिई । त्यसलाइ नखुवाई आमा खानु हुन्न थियो । यहाँसम्म कि पुजाकोठामा समेत आमासँगै बस्थी । एक दिन काकाको छोरो सरस्वती क्याम्पस जाँदा उसलाई पुराउन गइछ । फर्किंदा रोड क्रस गर्दा गाडीले किचेर मरी । हाम्रो परिवारले शोक सात दिनसम्म मनायो । विशेष गरी आमाले साह्रै दुख मान्नु भयो ।

त्यसपछि ल्याएका कुकुरहरु बाँचेनन् । डल्लेलाई मेरा ज्वाई भेटेनरी डा. नारायण घिमिरेले ल्याइदिनु भएको हो । एउटा छाउरो र अर्की छाउरी थिए । छाउरो मैले राखेँ । १४ वर्षसम्म हामीसँग परिवारको सदस्य भएर बस्यो । हामी सँगै सत्नुपर्ने तर दिउँसो भने आमाकै कोठामा हुन्थ्यो । आमासँग ठुलो स्वरले बोल्दा हामीलाई लखेट्थ्यो । साह्रै जाति थियो, भनेको कुरा बुझ्ने । तिहारमा आमाले पुजा गर्दैगर्दा मैले फोटो खिचेको थिएँ र सामाजिक सञ्जालमा हालेकोे थिएँ, त्यो फोटो गुगलले तानेछ । अर्को वर्ष गोरखापत्रमा त्यहि फोटो छापियो । म छक्क परेँ । म गोरखापत्रकर्मी भए पनि फोटो मैले दिएको होइन । पछि बुझ्दै जाँदा फोटोग्राफी शाखाले गुगलबाट तानेको रहेछ ।

यो डल्ले न १ को बहिनीलाई खुवाउन साह्रै गाह्रो भएकोले ज्वार्इंले नै लैजानु भयो । आजसम्म जिवित छे । आँखा देख्दिन तर सबै काम गर्छे । दिसा गर्न लेटिनसम्म जान्छे । ज्वाईंका अनुसार अन्तिम समयमा २०७२ सालमा जन्डिस भएर डल्ले परमधाम गयो । २०७२ सालमै एउटी छाउरी ल्याएँ । आमाले त्यसको नाम गुथुली राख्नु भयो । यसलाई पनि बचाउन सकिएन । त्यो साल राती अलि ठूलै भुकम्प आएछ । तर्सेर मरी ।

२०७२ साल कान्छो छोरोको जन्मदिनको दिन उसका साथीहरुले हालको डल्ले नं २ उपहार दिए । करिब एक महिनाको भुक्क परेको थियो । यसको न्वारान पनि आमाले डल्ले भनेर गरिदिनु भयो । सुरुको दुई वर्ष यसले हैरान पा-यो । कागज र मोजा पायो कि चपाइहाल्थ्यो । आजकल ज्ञानी भएको छ । मेरो फुर्सतको समयमा केहि कुराहरु सिकाएकोले पल्टनबाजी, बल र पिङ खेल्ने गर्छ । बल पाएपछि दिनभरी नै खेल्न तयार हुन्छ । दाश्रो, उसको प्रिय खेल पिङ हो । कोहि कौशीमा गयो कि तानेर पिङमा लैजान्छ । आफैँ पिङ हल्लाउन पनि सिपालु छ ।

खुवाउन पनि गाह्रो छैन । हामीले जे खायो, त्यहि दिने गरेका छौँ । साथी नभई एक्लै बस्न मान्दैन । सुपारी र दुर्खो यसका प्रिय छन् । कौशीबाट तल आउन पायो कि आमाको कोठामा पुग्छ । आमाले एक टुक्रा विस्कुट दिनुहुन्छ । त्यो बोकेर कान्छो छोरोको कोठामा देखाउन पुग्छ । त्यसपछि खोस्छ भनेर कौशीतिर दगुर्छ । यो जातको कुकुरको आवाज तिखो हुन्छ तर टोक्दैन । साह्रै डरछेरुवा हुन्छ । गड्याङगडुङ गर्दा वा हावाहुरी आउँदा अति डराउँछ । पाहुनाको स्वागत गर्न सिपालु हुन्छ । अहिले कोरानाले गर्दा बरु हामी आफैँ डराउँछौँ । ऊचाहिँ खेल्न बोलाउँछ । राम्ररी राख्न सकेमा कुकुर हाम्रो राम्रो साथी बन्न सक्छ ।

डल्ले त यो लकडाउनको अवधिमा दिन बिताउने मेरो असल साथी भएको छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button