
विद्यार्थीको भविष्य कोर्ने स्कुलहरु आफ्नै भविष्य खोज्दै
ब्राम्हणपुत्र लकडाउन डायरी–२७
भरत शर्मा
‘अनलाइन कक्षा पढेको छ, अनलाइनमा जाँच भन्छ । यसपाली छोराछोरीको पढाइ गतिलो भएन । स्कूलले अनलाइनबाट पढाए पनि बिलचाहिँ पहिलेको जतिकै पठाएकै छन् । छोरा–छोरी पढे जस्तो मात्र गर्छन्, भनेको पनि टेदैनन्, पढ भनेर कति कराउनु, माया लाग्छ, पिटौं भने पनि यस्तो महामारीको बेला छोराछोरी कुट्यो भनेर छिमेकीले गिज्याउलान् भन्ने डर । एक बर्ष घरमा खेलेर पढे, अब अर्को बर्ष पनि यस्तै होला जस्तो छ ।’
‘कोरोना ब्याच भयो, कक्षा सकिनेबित्तिकै मोबाइल, कम्युटर र ल्यापटपमा झुन्डेको झुन्ड्यै गर्छन् । के गर्ने होला ?
कतिले त टुयुसनसमेत अनलाइन पढाए । छोराछोरीले आमाबाबुलाई पढेजस्तो गरेर खेलेर बस्छन् ।’
‘अनलाइनमा कक्षा छ भन्दै कानमा एअरफोन लगाएर युटुव हेरेर बस्ने गर्छन् छोरा छोरी ।’
‘पाठ पढेजस्तो गरेर पढ्ने अनलाइन कक्षा पढ्दै खाना खाँदै गर्छन् विद्यार्थी ।’
…
अभिभावकहरुको केही नमुना अनुभव अभिव्यक्ति हुन् यी । सबैजसो निजी विद्यालयमा छोराछोरी पढाउने अभिभावकहरुको यस्तो गुनासो कति हो कति !
जे भए पनि शहरका निजी र सरकारी विद्यालयले समयको माग अनुसारको अनलाइन कक्षा चलाउन बाध्य छन् । अनलाइन कक्षामा भौतिक उपस्थितिमा जस्तो पढाइ कहाँ हुन्छ ? अध्ययनमात्र होइन, विद्यालयमा हुने भौतिक गतिविधि विद्यार्थीको वृत्तिविकासका लागि झन् बढी महत्वपुर्ण हुन्छन् ।
आज यिनै गुनासाहरुबीच शहर क्षेत्रका ठूला–साना निजी विद्यालय सञ्चालकहरुको छाता संगठनद्धय राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) र निजी तथा आवासीय विद्यालय एशोसियसन (प्याब्सन) का नेतृत्वलाई एउटै प्रश्न राखेको थिएँ, ‘अब निजी विद्यालयको भविष्य के ?’
‘अनलाइन कक्षा नेपालको लागि नयाँ प्रयोग र बाध्यता हो’
ऋतुराज सापकोटा, अध्यक्ष, नेशनल प्याब्सन
भविष्य के हो, के हो ? प्रश्न जटिल भयो । अहिले हामी निजी विद्यालय चलाउने सञ्चालकहरु केही सोच्न सक्ने अवस्थामा छैनौं । कोरोना महामारीको संक्रमण दर बढ्दो छ । महामारीले कहिले पार पाउने हो ? विज्ञहरुले नभनेसम्म हामीले जसोतसो ‘विद्यार्थीको सिकाई’ पढ्ने कामलाई अनलाइनको माध्यमबाट चलाउनुको विकल्पै छैन ।
अब विस्तारै स्थानीय निकायबाट समन्वय गरी टोल शिक्षाको पनि जानुपर्ने हुनसक्छ । तर, त्यो पनि त्यति प्रभावकारी व्यवस्थापन गर्न सकिँदैन होला । विद्यार्थीको न्यूनतम पढ्न र सिक्न पाउने कामचाहिँ रोक्नु हुँदैन ।

अब विद्यालयको मात्र होइन, अभिभावकको पनि ठूलो जिम्मेवारी देख्छु । घर नै विद्यालय बनाएर आफना छोराछोरीलाई विद्यालयका शिक्षकले दिएको गाइडलाइन अनुसार आमाबा नै शिक्षक बन्नु पर्ने अवस्था आयो । तर, अहिलेका छोराछोरीले बाआमाले भनेको नटेर्ने संस्कार बढी छ । यस्तो बेला पाठ्यक्रमको भार कम हुने खालको पद्धति, व्यवहारिक शिक्षाका कुरा र विद्यार्थीको मनावैज्ञानिक असर नपर्ने गरी अभिभावक र शिक्षकहरु दुवैको भूमिका महत्वपूर्ण हुनेभयो ।
सानादेखि ठूला निजी विद्यालयहरुलाई मात्र होइन, अभिभावकलाई पनि समयमा शुल्क तिर्न समस्या छ । शहरमा छोराछोरी पढाउन बसेका धेरैं अभिभावक आफ्ना गाउँघर फर्केपछि टोलटोलका साना निजी विद्यालय संकटमा परेका छन् । इन्टरनेटको पहुँच भएकासम्मलाई पढाए पनि सबैलाई पढाउन सकेका छैनौं ।
हेरौं, हाम्रो गुनासो सरकारलाई भनेका छौं । अब आउने बजेटमार्फत हाम्रा दुःख पनि सम्बोधन हुन्छ कि ? तर, सरकारबाट हामीले धेरै आशा राख्नु बेकार छ । हामीलाई व्यापारी भन्छन् तर हामी शिक्षासेवी हौं । हामीलाई भनेको कुरा हामीलाई व्यापारी भन्ने सोचेर नसुन्न पनि सक्छन् ।
महामारीको तेस्रो लहर आउने कुरा पनि छ । त्यो बालबालिकामा बढी प्रभावी हुने कुरा पनि प्रचारप्रसारमा आएको छ । अभिभावक त्रसित छन् । लकडाउन खुल्यो र संक्रमण दर कम भयो भने पनि यही त्रासका कारण निजी विद्यालय चाँडै खुल्ने छाँटकाँट छैन । त्यसैले हामीले वैकल्पिक शिक्षा अनलाइन कक्षालाई कसरी प्रभावकारी बनाउने भन्नेतिर बढी ध्यान दिनुपर्छ । अनलाइन कक्षामा विद्यार्थीले अध्ययन गम्भीरता देखाएनन् भन्ने अभिभावकहरुको गुनासो स्वभाविक हो । किनकी, यो नेपालको लागि नयाँ खालको प्रयोग र बाध्यता हो ।
बालबालिकाको भविष्यप्रति हामी चिन्तित छौं । हाम्रा सदस्य विद्यालयका सञ्चालकहरुले हरेक आफ्ना विद्यालय र विद्यार्थीको ‘सिकाई’लाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर अभिभावकहरुसँग संवादको थालनी गर्ने तयारीमा छौं । केहीले गरिरहेका पनि छन् ।
यही हो मेरो कुरो, बाँकी कुरा मैले के बोल्छु भन्ने कुरा तपाईंलाई थाहा छ । शिक्षाका बारेमा मैले बोल्न थालेको र तपाईले लेख्न थालेको १५ बर्ष हुन लाग्यो । शिक्षाका बारेमा बोल्दाबोल्दै मेरो पेन्सन हुने बेला पारेर कोरोना महामारीले घरभित्र बस् भनेको छ । बाहिर जान डर लाग्छ । जाने पनि कहाँ ? बिहानदेखि साँझसम्म विद्यालय सञ्चालक साथीहरुसँग सञ्चार सन्जालमार्फत कुरा गरेर दिन बितेको छ ।
‘सयौं निजी विद्यालय बन्द गर्नुपर्ने वा गाभिनुपर्ने अवस्था देख्छु’
डिके ढु्ङ्गाना, सह-अध्यक्ष, प्याब्सन
अहो ! भविष्य त कठिन देख्छु म । भौतिक रुपमा विद्यालयमा विद्यार्थी पढाउँदाजस्तो छैन । आम अभिभावकको बुझाइमा अनलाइनमा छोराछोरीले राम्रो पढेनन् भन्ने मानसिकता छ । त्यो हुनु स्वभाविक पनि हो ।
हाम्रा सदस्य विद्यालयहरुले त अनलाइन कक्षा प्रभावकारी बनाउँदै लैजाने प्रयास गरेका छन् । कयौं कक्षा प्रभावकारी हुँदै गएका पनि छन् । तर, निजी विद्यालय सञ्चालनमा कठिनाई छ । विद्यालयको घरभाडा, शिक्षकको तलब, इन्टरनेट खर्च, विद्यालय सञ्चालनका लागि बैंकबाट लिएको ऋणको किस्ता सम्झँदा त गा¥हो छ । जेनतेन चलेको छ, अभिभावकहरु पनि समस्या छन् । आम्दानीको स्रोत नभएपछि अभिभावकहरुले ऋणभार गरेर पनि छोराछोरी पढाउनु पर्ने बाध्यता छ । हामीले हाम्रा मात्र होइन, अभिभावकका समस्या पनि बुझेका छौं । तर, के गर्नु ? निजी विद्यालयको भविष्य अन्योलमा छ । सानालाई सानै समस्या छ, ठूलालाई ठूलै समस्या ।

महामारी र समस्या परेको बेला हामी सबैको अभिभावक भनेको सरकार हो । हामीले सरकालाई समस्याबारे अवगत गराएका छौं । केही राहत पाइन्छ कि ? केही लामो समयका लागि ऋण पाउन सके निजी विद्यालयको भविष्य बाँच्छ होला । नत्र त केही समयपछि सयौं निजी विद्यालय बन्द गर्नुपर्ने वा गाभिनुपर्ने अवस्था देख्छु ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)