
कोरोनाले ‘को खाई को खाई’
लकडाउन अनुभति
प्रतिक्षा सेढाईं
कहिलेकाहिँ लाग्छ, ‘यो संसार नै मेरो हो’ अनि कहिले लाग्छ, ‘यो संसारमा ममात्र कतै एक्लै रुमल्लिरहेको छु ।’ सांसारिक खेल पनि कति विचित्र छ है, जुन कुरा आज सहि छ, त्यही कुरा भोलिपल्ट बेठिक । के ठिक थियो अनि के बेठीक थाहा पाउनुले पनि छुट्टै अनुभुति दिन्छ ।
यो निषेधाज्ञाको बेला भएकोले पनि म अचेल धेरै फुर्सदिली भा’की छु। यहि फुर्सद नभएर खुईइ गर्दै आफ्नै जीवनलाई धिक्कार्ने म आज यहि फुर्सद धेरै हुँदा विचलित महसुस गर्दैछु । मेरो दैनिकी जीवनमा मैले विरलै केहि समय आफ्नो लागि छुट्याउन सक्थेँ होला, तर त्यति समयमा पनि आफ्ना सबै अतिरिक्त काम सकाउने गर्थें । निषेधाज्ञा भएलगत्तै म मेरो जन्मथलो नुवाकोट फर्किएँ, आफ्नो आमाबाबाको काखमा । आत्मनिर्भर हुन लगिसकेकी म घरमा टेक्ने बित्तिकै फेरि उही बच्चा भएँ । केही नजाने जस्तो, केही थाहा नभएको जस्तो । काम गर्न लाग्दा पनि रनभुल्ल हुने गर्छु, उही बच्चा बेला जस्तै ।
बालापनमा आमाको हातले ‘को खाई को खाई’ गरी खाना खुवाउँदाको आनन्द सम्झिदै ‘आज पनि उसैगरी खुवाउनु न है’ भनौं कि जस्तो पनि लाग्छ । तर, फेरि अफ्नो उमेर सम्झेर आफैलाई आफैले सोचेको कुरा सम्झी हाँसो लाग्छ ।
कोरोना माहामारीका कारण गरिएको निषेधाज्ञाले सबै कामकाज बिगारे पनि एउटा कामचाहिँ बडो गजबको गरेको छ । बर्सेनि आँखामा आँसु लिएर आफ्ना सन्तानका बाटो ढुकेर बस्ने आमा बुबाका लागि भने यो निषेधाज्ञा बरदान नै भएको छ । कोरोनाकै डरले किन नहोस्, उनीहरुको जीवनमा थोरै हाँसो अनि थोरै सन्तुष्टि अवश्य मिसिएको छ । यो समय सायद नै फेरि फर्केर आउला, यो पल सायद नै फेरि जिउन पाइएला । ती आमाबाबुले भने अहिले पक्कै बर्षौंदेखि नदेखिएका दन्तेलहर देखाइ हाँसिरहेका होलान् । अब यहि केहि महिनाको सम्झनाले कति बर्ष काट्लान तिनले ।
यस्तै तिता अनि मिठा सम्झनाले भरिएको यो निषेधाज्ञाको समय पनि लेख्दै बित्ने भयो मेरो । मनमा त धेरै कुराहरु गुम्सिरहेका छन्, कति प्रस्फुटन भइसके भने कति हुन बाँकी नै छन् । मनको बेग थामेर कहा थामिने रहेछ र ।