हाम्रो बारा, राम्रो बारा

मेरो माटो

पुरूषोत्तम पौडेल
पूर्व खेलकुद मन्त्री ।

मान्छे जन्मनेवित्तिकै जमिनसँग जोडिन्छ । माटोको स्वादसँग जोडिन्छ । माटोको स्वाद माटोमा रम्नेहरूलाई मात्र थाहा हुन्छ ।

मान्छे आमाको कोखबाट निस्कनेवित्तिकै सिधै जमिनमा टाउको बजार्न पुग्छ । मानिसले सबभन्दा पहिले जुन जमिनको माटोमा टाउको बजार्छ, उसको जीवनमा सदा त्यही माटोको सुगन्ध आइरहन्छ । माटोको सुगन्धले मानिसलाई सधै आफ्नो जन्मभूमिप्रतिको दायित्व र कर्तव्य वोध भइरहन्छ । जमिन र माटोको लगावले मानिसलाई उसप्रति आकर्षण गरिरहेको हुन्छ । वास्तवमा माटोले मानव सभ्यता र सँस्कारलाई पनि निरुपण गरेको हुन्छ । माटोको उर्वरा शक्तिले मानिसको आकर्षण र बसोवासलाई निर्धारण गरेको हुन्छ । जति मात्रामा जमिन र माटो उर्वरा हुन्छ, त्यति मात्रामा मानववस्ती घना र उर्वर हुदै जान्छ ।

मान्छेको जीवनको सर्वोच्च स्थान ओगट्ने व्यक्तित्व जन्म दिने आमा हुन् । आमाभन्दा माथि संसारमा कोही पनि हुन सक्दैन । आमापछि वावुको स्थान हुन्छ । तेश्रो स्थान मातृभूमिको हुन्छ । मातृभूमिको स्थान अरू कसैले लिन सक्दैन । मातृभूमिको एकै चुम्बन र सुगन्धले व्यक्तिको संस्कार बदलिदिएको हुन्छ । भूमिको रसदपानी र त्यहाँको वातावरणले मानिसको चेतना र चिन्तनलाई समेत प्रभावित गरिरहेको हुन्छ । भूमिको अवस्था र बनोटले मानिसको लवाइखवाई र कदकाठी समेत निर्धारण गरेको हुन्छ । जमिनको अवस्थाले मानिसको संस्कार, संस्कृति र प्रवृत्तिलाई समेत निर्धारण गरेको हुन्छ । जमिनवाट अलग भएर मान्छे अघि बढ्ने त कुरै छोडौं बाँच्न पनि सक्दैन ।

मानिस जन्मदै जमिनसँग जोडिने प्राणी हो । जमिन विनाको मानव जीवनको परिकल्पना समेत हुन सक्दैन । जमिनसँग सवभन्दा नजिकको नाता पानीको हुन्छ । पानी चराचर जगतको साक्षात जीवन हो । पानीसँग चराचर जीवन र जगतको सवभन्दा नजिकको सम्वन्ध रहेको छ । जमिन र पानी संसारको जीवनको प्राथमिक आधार हो । रसदपानीको सवभन्दा वढी महत्व वुझ्ने जन्तु मान्छे हो । मान्छेहरूले रसदपानीलाई केन्द्रमा राखेर आफुलाई अघि बढाएर आएका हुन् । आजसम्म विकसित भएका र विकासको पथमा रहेका सवै मानवसभ्यताहरूले त्यही कुरा पुष्टि गरेका छन् । सिन्धुघाटीको सभ्यता होस् या अरू कुनै पुराना सभ्यता हुन्, सबैले त्यही पुष्टि गरिरहेका छन् । दुनियाँको सवभन्दा पुरानो र विकसित पूर्वीय सभ्यताको विकास र प्रगतिले पनि त्यही कुरालाई पुष्टि गरेको छ ।

संसारमा फरक फरक खालको भूगोल छ । फरक फरक खालको प्रकृति छ । प्रकृति अनुसारको फरक फरक खालको कला र संस्कृति पनि छ । यसको कारण जल, जमिन र प्राकृतिक वातावरण नै हो । पहाड, पर्वततिर उकालीओराली चढ्नु र ओर्लनु पर्दछ । सम्म तथा मैदानी भाग र समथर मरुभूमिसहित तराईमा मैदान मार्नु पर्छ । पहाडका डाँडाहरूमा पिऊने पानी खोज्नु पर्ने हुन्छ । तल समथर या खोल्साखोल्सीहरूमा नदि बगिरहेको हुन्छ । तराईका खेत खलीहान तथा मैदानहरूमा थोरै खन्यो भने पानी भेटिन्छ । जहाँ रसदपानी भेटिन्छ, त्यहाँ जीवन अवश्य भेटिन्छ । एउटा जिवीत संस्कार पनि भेट्नु अनिवार्य छ । जिवीत संस्कारले नै संस्कृतिको निर्माण हुन्छ ।

बारा तराईका सवै संस्कृतिहरूसँग भेट हुने जिल्ला हो । यहाँ थारू, मुस्लिम, यादवसहित प्राय सवै दलित तथा विविध जाती र जनजातिको संयुक्त संस्कृतिसँग परिचय गर्न पाइन्छ ।

संयोगले म समेत संसारको एउटा सुन्दर देश नेपालको अनुपम भूभाग काभ्रेपलान्चोक जिल्लाको कानपुर पात्लाको माटोमा टाउको टेकेर जन्मिएँ । मेरो मन मस्तिष्कमा त्यहाको चिसो पानी र सुन्दर प्रकृतिको प्रभाव अहिले पनि कायम छ । १० वर्षको उमेर पार गरेपछि काभ्रेपलान्चोकवाट रौतहट जिल्लाको दुधिअवा गाउँको थारू वस्तीमा वसाई सरेँ । त्यहाँका थारू समुदायका दौतरीहरूसँग चिम्ट्याहा माटोले वनाएको अखडामा कुस्ती खेल्न थालेँ । २०३३ सालको अन्तमा वारा जिल्लाको सुन्दर गाउँ निजगढको माटोमा खेल्न आउनु पर्यो ।

मातृभूमिप्रति कुनै गुनासो छैन । बरू मातृभूमिलाई कसरी ऋण तिर्ने हो भन्ने चिन्ताले सताइरहेको छ ।

वारा जिल्लाको माटोको सुगन्धले मलाई सबभन्दा बढी सिचेको छ । शरिरको अङ्ग अङ्गमा वाराको माटोको सुवास आउँछ होला जस्तो लाग्छ । यसको मतलव जन्मभूमि काभ्रेपलान्चोकको सुगन्ध छैन भन्न मिल्दैन । तर, आफ्नो कर्मभूमि वारा जिल्लामा खेलेका ४५ वर्ष ज्यादै महत्वपूर्ण छन् । यहाँ खेलिएको चिप्लेटी र लडीबुडी अनि कवड्डीले जीवनका सम्पूर्ण पक्षहरूलाई सुगन्धित वनाएको छ । मेरो शरीरको रगरगमा बाराको मलिलो माटो पोतिएको छ । निजगढको मलिलो माटोमा धानको बीउ राख्दा, व्याडे भएर बीउ उखेल्दा र रोपाइमा माटो मिलाउँदाको हिलोको सुगन्ध अहिले पनि आइरहेको छ जस्तो लाग्छ । पाञ्च भौतिक तत्वले बनेको मानव शरीर जल, जमिन र त्यसैको उत्पादनले मजवुत बनाइरहेको हुन्छ ।

निजगढ स्कुलमा ७ कक्षा देखि पढ्न थालेको हुँ । ८ कक्षा पढ्न थालेदेखि राजनितीको गन्ध आएको हो । ९ कक्षामा पढ्न थालेपछि अनेरास्ववियुको नेतृत्व गरेँ । अखिलको संगठन बनाउन उहि बेलादेखि सिमरौनगढको उब्जाउ भूमिमा टेकेको थिएँ । त्यहीँका किसानको उत्पादन मिठो दही र हरियो तरकारीको रसिलो स्वाद लिएको थिएँ । २०३६ सालमा कलैयाको सिध्देश्वर माध्यमिक विद्यालयमा आयोजना भएको जिल्ला स्तरिय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता जितेर सम्मान खाएको थिएँ । कोल्हवी, उमजन, च्यूटाहा, गंजभवानीपुर र पिप्राढी स्कुलमा अनेरास्ववियुको स्थापना गरेर परिवर्तनका हिमायतीहरूको जग खनिएको थियो । निजगढलाई आफ्नो कर्मथलो वनाएर जनपक्षिय अभियानमार्फत देशभरी उजागर गर्नमा सम्पूर्ण तागत लगाइएको हो ।

२०३५-३६ सालमा पाकिस्तानमा भुट्टोलाई फाँसी दिएको विरोधमा देशव्यापी आन्दोलन सुरू भयो । त्यस आन्दोलनले सस्तो, सुलभ र वैज्ञानिक शिक्षा प्रणालीको माग गर्न सुरू गर्यो । कलेज तथा स्कुलमा स्ववियुको निर्वाचन गर्नुपर्नेलगायत अरू पनि विद्यार्थी हक हितका सवालहरूलाई लिएर आन्दोलन चर्किदै गयो । आन्दोलनले राजनितीक परिवर्तन समेत लिएर आयो । २०३७ साल चैत्र १४ गते विद्यार्थी हकहितका साथै राजबन्दीहरूको रिहाइको माग गर्दै अनेरास्ववियुले नेपाल बन्द आयोजना गर्यो । त्यसै सन्दर्भमा बारा जिल्लाको कोल्हवीमा भव्य कार्यक्रम आयोजना भएको थियो । कोल्हवी बजार आसपासको माटोमा हामीले खेल्नु खेल्यौं । १४ गते पहिलो पटक कोल्हवीको कार्यक्रमवाट पक्राउ पनि परियो । सहिमा मेरो राजनितीक गन्तव्यको प्रस्थान र सुरूवात पनि त्यहीँबाट भएको हो ।

दुधिअवाका जनतासँगको नाचगान र खैरा गाउँका पृथ्वी दाइसँगको साँस्कृतिक कार्यक्रमको आनन्द अर्कै थियो । प्रगतिनगरमा नाटक प्रदर्शनको लागि उत्प्रेरणा जगाउँदै नया युगको सपना बाँड्दै हिँड्दाको मज्जा अर्को थियो । हिमालीवासको गरिव जनताको घर जग्गा ठग्ने सामन्तीले झुक्याएर आफ्नो बनाएको विरूद्ध कार्वाही अनि च्यूटाहा र जितपुर माविका हेडसरहरूको भ्रष्ट कर्तुतहरूको भण्डाफोर गर्दा त्यहाको जमिनले हामीलाई पुरापुर साथ दिएको अवस्थाको छुट्टै मस्ती थियो । २०४३ सालको जनपक्षिय अभियानका दौरान निजगढदेखि ईटियाहिसम्म, अमलेखगन्जदेखि सिम्रौनगढसम्म अनि लाल रतनपुरदेखि कवही, जगात र पिपरपाती, पचरौतासम्मको माटोको स्पर्शले मलाई अरू परिपक्व बनाएको थियो ।

खासमा बारा जिल्लाको माटो निकै उर्वर छ । कुनै बेला बारा जिल्लाको तरकारीले काठमाडौंको आधा बजार ओगटेको थियो । बारा जिल्लाको नगदेबाली उखुले वीरगन्ज चिनी कारखाना धान्ने गर्दथ्यो । बारा जिल्लाको उखुको गुणस्तरीयता पनि तुलनात्मक रूपले निकै राम्रो छ । अहिले बारा जिल्ला केरा जोनको रूपमा विकास हुँदैछ । सिम्रौनगढ आफै माछा जोनको रूपमा विकास भैसकेको छ । माछा गाऊ (वोधवन)को माछा नेपालभरीको बजारमा पुगिरहेको छ । वोधवनको जिउँदो माछा पुरै देशमा लोकप्रिय पनि भएको छ । खाद्यान्न वालीको उत्पादनमा पनि वाराको भूमि निकै उत्तम मानिन्छ । धान वालीको उत्पादनमा वारा देशकै पाचौं स्थानमा छ । यसैगरी गहुँ वाली, दलहन अनि तेलहनको क्षेत्रमा पनि वाराको भूमि अब्बल नै छ ।

बारा जिल्लाको अब्बल भूमिबाट हामी संसार पढिरहेका छौ । संसारको नक्साभित्र एउटा सुन्दर नेपाल छ । नेपालको नक्साभित्र बारा जिल्लाको पावन भूमि छ । यो शहिद हिरालाल गौतमले रगत वगाएको भूमि हो । शहिद मुखलाल महतोले शहादत दिएको भूमि हो । जहाँ विश्वप्रसिद्ध गढिमाई छ । ऐतिहासिक कंलाली माईको मन्दिर छ । सिध्देश्वर, चुरियामाई र सहजनाथको मन्दिरसहित देवाधीदेवको वसाई छ । ऐतिहासिक स्थल सिम्रौनगढ छ । मेरो प्यारो कर्मभूमि निजगढ छ । त्यतिमात्र होइन हलखोरीया दह, कामिनी दहसहित वारागढी पनि छ । सारमा मध्यतराईको बारा जिल्ला निकै सुन्दर छ । यहाँको माटो मलिलो, रहरलाग्दो र सुगन्धपूर्ण छ । प्रकृति र संस्कृतिको हिसावले भरिपूर्ण छ । यसर्थ बारा देशको महत्वपूर्ण जिल्ला हो । मलाई बाराको सुगन्धले सधैं तानिरहन्छ । बाराको माटोको सुगन्ध नै छुट्टै छ । बाराको जमिनको सुगन्धले सधै पछ्याइरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button