मलाई कोरोना लाग्यो र अब म भाइरसमैत्री भएँ भन्नुपर्ला

सुशीला शर्मा

मलाई खासै ज्वरो आउँदैन । अनि रुघा खोकी पनि सितिमिति लाग्दैन । शरीरमा विभिन्न खाले रोगहरु छन् । तर, पनि धेरै ज्वरो आएको थाहा छैन् । जिन्दगीमा मेजर अपरेसनदेखि लिएर बेला बेला शरीरका अंगबाट पानी निकाल्ने काम पनि भइसकेको छ ।

आफूलाई स्वस्थ र तन्दुरुस्त नै महसुस गरेर हिँड्डुल र काम गर्ने गर्छु । कोरोना महामारीको पहिलो वर्ष जसोतसो कोरोनाले छोएन् । शुरुवाती दिनदेखि नै गाउँमा गएर बसियो र भीडभाडबाट निकै टाढा पनि भइयो । स्वच्छ हावा र खानपानले खासै कोरोनाको त्रासलाई पनि दूर गराइदिइराखेको थियो । विद्यालयमा हिउँदे विदा दिएको जसरी एक पटक कोरोना भाइरसले ब्रेक दियो । छ–सात महिना थुनिएरै बसेका हामी पनि विस्तारै सामान्य जीवनतिर लाग्दै थियौं । कोरोना ब्रेकको अवधिमा म सिक्किम, दार्जिलिङ पनि पुगेँ ।

चार महिनादेखि विद्यालयमा पढाउन पनि जाँदै थिएँ । बीचमा एउटा कार्यक्रममार्फत पर्सा, बारा, रौतहट पनि पुगेँ । दिनचर्या सामान्य हुँदैछ भन्ने लाग्दैथियो । ती डुलघुमको समयमा नछुटाएको भनेको चाँहि मास्क थियो । तर, काठमाडौं बाहिर मास्क लगाएर हिँड्दा मानिसहरुले जिल्ल परेर हेरेका हुन कि झैं लाग्थ्यो । किनकि, कसैले पनि मास्क लगाएको देखिदैनथ्यो । तर, यी सब भएको झण्डै दुई महिनापछि फेरि कोरोनाको दोश्रो लहर र यसको भयावहता बढ्दै गयो । भारतमा यसको तीव्र संक्रमण दरसँगसँगै नेपालको बोर्डर क्षेत्रका शहरहरुमा पनि यसको संक्रमण छिट्छिटो देखिन थाल्यो ।

नेपालमा पनि लकडाउन शुरु भयो । लकडाउन घोषणा भएर घरमै बस्न थालेको दुई–तीन दिनपछि मलाई पनि जिउ दुखेको र हल्का ज्वरो आएको महसुस भयो । तीन दिनसम्म त हेरौं भनेर बसेँ तर अलि गाह्रो महसुस भएपछि पिसिआर टेस्ट गर्न गएँ, श्रीमानसाथ लागेर । मेरो कोलेस्ट्रोल लगायतको जाँच पनि गर्नु थियो । यी सबै जाँचसहित कोरोनाको पनि स्वाव दिएँ । बिहान आठ बजे स्वाव दिएको दुई बजेतिर पोजिटिभ आयो भन्ने खबर आयो । प्राइभेट अस्पतालमा तुरुन्त रिपोर्ट आउने रहेछ । तर, सरकारीमा भने समय लाग्ने । पोजिटिभ आयो भन्ने खबरले खासै त्यस्तो हतोत्साही भईन । मेरा चिनेजानेका थुप्रै साथीभाईलाई पहिले कोरोना भएर निको भइसकेको थियो । तैपनि फेरि सोचेँ, आँत्तिएर हुने केही पनि होइन ।

विस्तारै ममा लक्षणहरु बढ्न थाले । ज्वरो आउने, डायरिया हुने, खोकी लाग्ने र सहनै नसक्ने गरी टाउको दुख्ने हुन थाल्यो । रातभरी टाउको दुखेर छट्पटी हुन्थ्यो । साथीहरुले मिडिया फलो नगर्नु, फोन त्यति नचलाउनु भन्ने सुझाव पनि दिइरहेका थिए । असह्य भएको बेलाबाहेक आमाबुवा, भाइबहिनी, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहेँ ।
व्यथाले च्यापेपछि डाक्टरले प्रेसक्राइव गरेका या नगरेका धेरै औषधी खाइयो । आयुर्वेदिक धुलोदेखि विभिन्न हर्वल मिश्रित तातो पानी, बाफ लिने आदि । भएभरको औषधीय हत्कण्डा अपनाइयो ।

श्रीमानजी घण्टौंसम्म स्वास्थ्यकर्मीलाई फलो गर्ने, औषधी खोज्न जाने, दौडधुप गर्ने, खाना र पानी छिन छिनमा दिइरहने गर्न थाल्नुभो । जुनसुकै कुराको पनि अति हानिकारक छ भन्ने जानकारी हुँदाहुँदै पनि डोजभन्दा माथिका पेन किलर पनि खाइयो । आफ्नो शरीरलाई औषधीको एक प्रयोगशाला पनि बनाइयो ।

मसँगै श्रीमान र छोरालाई जाँच गर्दा मलाई मात्र पोजिटिभ देखिएको थियो तर पाँच दिनपछि फेरि छोरोलाई पनि स्वाद र गन्ध हरायो भनेर टेस्ट गर्दा छोरोलाई पनि पोजिटिभ देखियो । छोरोलाई पोजिटिभ देखिएको पाँच दिनसम्म पनि खासै त्यस्तो धेरै लक्षण देखिएको छैन । छोरोको अनलाइन परीक्षा पनि चलिरहेको छ ।

केही दिनपछिमलाई ज्वरो, जिउ दुख्ने र टाउको दुख्ने कम भइरहेको महसुस भइरहेको थियो । तर, राती राती खोकी भने लागिरहेकै थियो । बल्लबल्ल नजिकैको एक प्राइभेट अस्पतालमा गएर छातीको एक्सरे गरेँ । एक्सरे त गरियो तर रिपोर्ट पनि राम्रोसँग आफ्नो हातमा लिएर हेरिदिएनन्, त्यहाँका स्वास्थ्यकर्मीले । फेरि पाटन अस्पताल गएर रिपोर्ट देखाएर न्युमोनिया भएको भन्ने खबरसहित औषधी लिएर आयौं ।

निमोनियाको पनि मात्रा हेर्नको लागि एचआरसिटी गर्नु भन्ने एक डाक्टरको सुझाव अनुसार यो जाँच पनि गरियो । इन्फेक्सनको मात्रा अनुसार अहिले सुईमार्फत औषधी लिइरहेको छु । अस्पतालमा वेडलगायतको समस्याले गर्दा अहिले घरमै यो सेवा लिइराखेको छु ।

धेरै हल्का महसुस गरिरहेको छु । दश दिनको एन्टिवायोटिकको डोज छ । यति भएपछि त म पूर्ण रुपमै ठीक हुनेछु । छोरालाई कुनै समस्या नआओस् भनेर कामना गरिरहेका छौं । अहिलेसम्म त नर्मल नै छ । मलाई फलो गरिरहनुहुने डाक्टरले उसलाई पनि सरसल्लाह र औषधी प्रेसक्राइव गरिरहनु भएको छ ।

लामो लामो स्वास लिने, अनुलोम विलोम गर्ने, तातोपानी खाने, अलेलि म्युजिक सुन्ने, यत्ति काम छ आजकल । ठाउँठाउँमा स्थिति एकदम अनियन्त्रित भइरहेछ । धैर्यता, आत्मबल र रुचि–अरुचिमा पनि थोरै थोरै खाना खाइरहने गर्दा पनि कोरोना संक्रमणपछिको जटिलतालाई मत्थर पार्न त सघाउ नै पुर्याउँदो रहेछ ।

जसलाई कोरोनाले छोएको छैन, उसले सकभर यसबाट टाढा नै बस्ने कोसिस गर्ने हो । तर, भइहालेमा पनि धैर्यतासाथ सकभर स्वास्थ्यकर्मीको सम्पर्कमा रहने र पालना गर्नुपर्ने नियमलाई पालना गर्दै विस्तारै निको हुनेतिर लाग्नुपर्ने रहेछ । अनि परिवारमा संक्रमित भएकाहरुको लागि हेरविचार गर्ने सदस्यले प्रदान गर्ने मानसिक र अरु सहयोगले संक्रमितको मनोबल बढाई छिटो जाती हुन पनि त्यतिकै मद्धत पुग्ने रहेछ ।

खराब अवस्थाहरुसँग जुध्दै भिड्दै अघि बढ्दा झन् आत्मबल दरिलो हुने रहेछ । यो महामारीको लडाँईमा हामी अवश्य जित्ने छौं । हिम्मत नहारौं । अहोरात्र खटेर मेरो स्वास्थ्य रेखदेख गरिरहनुभएका श्रीमान, आफू पनि संक्रमित भइकन पनि मलाई बारम्बार सोधिरहने, छिटो निको हुनुस् भनेर कामना गर्ने छोरा, मेसेन्जरमार्फत हरपल स्वास्थ्यमा सुधार छ कि छैन भन्ने मेरा एकदम हित्तचित्तका साथीहरु, आदरणीय आफन्त र मान्यजनहरुप्रति म नतमस्तक छु, मैले यति धेरै माया पाएकोमा ।

2 Comments

  1. तपाईको सशक्त आत्मबल र पालना गरिएका स्वास्थ्य निर्देशनहरुले कोरोना पराजित हुने कुरामा मेरो पूरा बिश्वास छ । अलिकति पनि लापरबाही तपाईबाट हुने मलाई बिश्वास छैन । आमा छोरा दुबैको शिघ्र स्वास्थ्य लाभको कामना सुशीला बहिनी

  2. सुशीला …तपाईंका कुरैले कोरपना जितेको बताई रहेछ … ढुक्कसँग आत्मबल बढाएर कोरोना बिजेता बनेर दुनियाँलाई देखाईदिनुस् । मानिसमा भएको कोरोना छैन र कोरोना केके न होको हाउगुजी मानेर यत्रो बिजोग हुन गएकोजस्तो लाग्छ । यो श्वासप्रश्वाससँग सम्बन्धित महामारीचाहिँ हो … त्यसै अनुरूपको व्यवहार अपनाऔं …!!!

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button