लकडाउन डेजः ‘… मोबाइल पनि नभए दिन कसरी जाँदो हो’
लेख
एलिना कार्की
दिक्दारलाग्दा दिनहरु !
कोरोना र निषेधाज्ञाले जिन्दगी पनि कुनै गाडीमा चढेको यात्रीजस्तै भइसक्यो, ट्वाइलेट गयो, आयो, फेरि उही सिटमा बस्यो । जिन्दगीलाई बन्द कोठाभित्र सिमित गरिदियो कोरोनाले । घरमा बसौँ, कति बसौँ ? मोबाइल चलाऊँ, कति चलाऊँ ?
‘कोरोनाबाट यतिकाको मृत्यु र अवस्था भयावह’ भन्दै पछिल्लो समय च्याउसरी उम्रिएका अनलाइन समाचार पोर्टलहरुले हालिरहेका हुन्छन् । कुन ठिक, कुन गलत डाटा हो भनेर पत्याउनै मुश्किल ।
अब त हामी पनि घरसम्झेर होइन, घर बसेरै ‘होमसिक’ भइसकियो ।
पत्रकारहरुले पनि नेगेटिभभन्दा पोजेटिभ समाचारलाई महत्व दिए हुने नि निको भएका संक्रमितको भोगाई, सल्लाह र सुझावहरु संक्रमितलाई उर्जा दिने खालका ।
‘… अनि, यो एउटा मोबाइल पनि नभए दिन कसरी जाँदो हो’, भन्छन् साथीहरु ।
सबैतिरको अवस्था यस्तै छ ।
‘पहिला आफु सुरक्षित रहनुपर्छ । आफु सुरक्षित रहे मात्र अरुलाई पनि सुरक्षित राख्न सकिन्छ । बेलाबेलामा हात धोइरहने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे स्वास्थ्य मापदण्डका नियमहरु पालना गर्ने, मास्क र स्यानिटाईजरको प्रयोग गरी सामाजिक दुरी कायम गर्ने र यति गर्दागर्दै पनि संक्रमण भइहाले उच्च मनोबलका साथ स्वास्थ्यपोचार गर्ने, बिस्तारै सबै ठिक हुनेछ’, आशा नमारौँ भन्दा भन्न सकिने अवस्था छैन ।
हुन पनि हेर्दा सामान्य लक्षणबाट सुरु हुने कोरोनाले विश्वव्यापी रुपमा नै आक्रमण गरेको छ । चीनको हुवेई प्रान्तको वुहान शहरबाट सन २०१९ डिसेम्बरमा सुरु भएको कोरोनाले आजसम्म आउँदा व्यापक महामारीको रुप लिएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा जम्मा संक्रमितको संख्या १५,८४,०३,७३३ रहेको छ भने कूल मृत्यु हुनेको संख्या ३२,९८,९१६ रहेको छ । यस्तै १३,५९,०२,९७० जना निको भएका छन् ।
नेपालमा जम्मा संक्रमितको संख्या ३,९४,६६७ रहेको छ भने कूल मृत्यु हुनेको संख्या ३,७२० र निको भएकाहरुको संख्या ३,०२,७८७ जना रहेको छ । यस्तै जम्मा परिक्षण गर्नैहरुको संख्या २६,३४,५०४ रहेको छ ।
२०७६ सालको अन्तिमतिरबाट नेपालमा प्रवेश गरेको कोरोनाले नेपालमा पनि अड्डा जमाईसकेको छ । २०७६ चैत्रबाट कोरोनाको महामारी देखिएपछि लकडाउन गर्नुपर्नै अवस्था आएको थियो भने यो वर्ष कोरोनाले अझ महामरीको रुप लिएको छ । गत बर्षको भन्दा अहिले नयाँ भेरियन्टको संक्रमण छ । संक्रमित जति सबैलाई केही न केही लक्षणहरु अवश्य देखापरेकै छ । रुघाखोकी लाग्ने, पखाला लाग्ने, छाती दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने जस्ता समस्याले संक्रमितहरु पिडीत भएकै छन् । गत बर्ष कोरोना भाइरस पुष्टि भएकाहरुमा पनि केहिमा बाहेक यस्ता लक्षणहरु थिएनन् । भाइरस पोजेटिभ देखिए पनि सिम्टम नदेखिएकाहरु धेरै थिए तर यस पटक सबैलाई केहि न केहि लक्षण देखिएकै छ र केहि समय यस्ता लक्षण देखिएपछि पनि उचित केयर पुगेन भने संक्रमितलाई अक्सिजनको मात्रा कमी भई फोक्सोमा संक्रमण हुने समस्या देखापरेको छ । अहिले नेपालमा दैनिक ५० देखि ६० जनाको हाराहारीमा मानिसको मृत्यु भइरहेको छ भने संक्रमितहरुको संख्या दैनिक ८ हजारदेखि ९ हजारसम्म रहेको छ ।
अस्पतालमा संक्रमितको उपचारका लागि बेड खाली छैनन् । संक्रमितको संख्या दिनानुदिन बढदै गईरहेको छ । हाम्रो जस्तो विकाशोन्मुख देशमा यो एउटा भयावह अवस्था हो । ठाउँठाउँमा अक्सिजन उत्पादन केन्द्र तथा भेन्टिलेटरसहितको सेवा विस्तार हुँदै गरेको भए पनि संक्रमितको अवस्थालाई धान्न नसक्ने छ ।
मृत्यु हुनेहरुका घरमा कोलाहल मच्चिएको छ । प्रियजनहरु गुमाउनुपर्दा संक्रमितहरुले डरको घेराभित्र जीवनयापन गरिरहेका छन् र बाँकी अन्यहरु पनि कोरोना कहिलेम्म रहने र कसरी हातमुख जोर्ने, कैदीजस्तो जीवन कसरी बिताउने भन्ने चिन्ताले ग्रसित छन । दैनिक ज्याला मजदुरी गरेर खानेहरुको दैनिकी कष्टकर भईरहेको छ । गत बर्षको जतिको विभिन्न निकायबाट राहत पनि पाएका छैनन्, यसपटक । देशको समग्र आर्थिक स्थिती नाजुक बन्दै छ । यो पटक पनि निषेधाज्ञा भएको दशौँ दिन भइसक्यो । भर्खरै नयाँ व्यवसायमा हात हालेकाहरुको व्यवसाय धरापमा परेको छ ।
तर, यहिबेला देशमा एकाथरी मान्छेहरुलाई कमाउने मेलो बनेको छ । संक्रमितलाई आवश्यक पर्नै खोपमा समेत कमिसनको दाउमा खोप ल्याउन ढिलाई गरी तिन करोड नागरिकको जीवनमाथि खेलवाड गरिएको, ३० हजार पर्ने मेसिनलाई १ लाखसम्ममा बेचिएको जस्ता समाचार सुन्दै गर्दा लाग्छ, ‘उनीहरु यो धर्तीमा अजम्बरी छन् । मानवता हराइसकेको छ । उनीहरुले यो धर्ती छाड्नुपर्दैन ।’
आफ्नै दाजुभाई दिदीबहिनीहरु मृत्युको शैयामा छट्पटाइरहँदा कमिसनलाई मिसन बनाएर कालोबजारी गर्नतर्फ लागिरहेका छन् । यस्तो सुन्दा कहिलेकाहीँ ‘एसियन आर मोर इमोशनल देन युरोपियन’ अर्थात एसियनहरु यूरोयिपनभन्दा भावुक हुन्छन् भन्ने शब्द अब शब्दमै सिमीत हुने त होइन भन्ने लाग्छ ।
कुरा एउटा काम अर्को गर्नै बानीले हाम्रो देश पछाडि परेको छ । जबसम्म ‘जिरो टोलोरेन्स’को निती अवलम्बन गरिन्न, भ्रष्टाचारी, अपराधी तथा कालोबजारिया नजिककै मान्छे भए पनि भावनामा नबगी कानुन बमोजिम कारवाही गरिन्न र कानुन सबैलाई समान रुपमा लागु हुनुपर्छ भन्ने यो सिद्दान्त लागु हुन्न तबसम्म यस्तै हो । तर, यस्तो कुरामा भने नेपालीहरु भावनामा बग्न सिपालु छन् । तर, युरोपियनहरु देख्दा कडा देखिए पनि वचनको पक्का हुन्छन् र त उनीहरुको देश कहाँबाट कहाँ पुगिसक्यो ।
यति भनिरहदा सबै उस्तै छैनन् भन्ने उदाहरण पनि छन् । कति नगरपालिकाका मेयरहरु जसले आाफुले सुविधावापत पाएका गाडीहरु यो महामारीमा बिरामी ओसारपसार गर्न दिएका छन् । कतै विद्यालयका प्रिन्सिपलहरुले विद्यालयको गाडी बिरामी बोक्न दिएका छन् भने कति संघसंस्थाहरुले सडकवास भएका साथै खाद्यान्नको अभाव भएकाहरुलाई खाना खुवाइरहेका छन् । कतिले आफुले कमाएको केही प्रतिशत सहयोग गरेका छन् ।
आखिर उही मान्छे तर मन र भावना भने कति फरक ! यो प्रतिकूल अवस्थामा राज्य संयन्त्रबाट अझै पहलहरु होस् । जनताको भलाईका लागि राज्य संयन्त्र नै सबैभन्दा प्रमुख संयन्त्र हो । राज्य संयन्त्र लागे जस्तोसुकै परिस्थितीको सामना सहज हुनेछ ।
अन्त्यमा, संक्रमितका लागि दिनरात नभनी ज्यान दाउमा राखेर फ्रन्टलाइनमा रहेर काम गर्नै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, आकस्मिक सेवाका चालकहरुलगायत प्रत्यक्ष अप्रत्यक्ष सबै हाम्रा लागि प्रेरणाका स्रोतहरु हुन् । संक्रमितहरु चाँडै निको होउन् । उनीहरुको मनोबल बढोस् । सबैमा शिघ्र स्वास्थ्य लाभको कामना ।