चैते दशैं (२०१४) र जर्केको गलकोट विद्रोह

विश्वको मध्यकालिन इतिहास पढ्दा हामीले जुन राजनैतिक, सामाजिक, धार्मिक र आर्थिक इतिहास हामीले पढ्यौं, यस्तो स्थिति गलकोटमा हामीले प्रत्यक्ष दख्यौं, भोग्यौं । यस्तै बेला १०१४ सालको चैते दशैंको संस्मरण हो यो ।

संस्मरण

दीर्घप्रसाद पान्डे

हाम्रो गलकोट एक ऐतिहासिक स्थान हो । यो स्थान नेपालको मध्य भागमा पर्दछ । पश्चिमको खस राज्य विघटन भएर चौबिसे राज्य बन्ने क्रममा १६६१ सालमा गलकोट राज्य बनेको थियो । नेपाल एकियकरण हुँदा १८४३ सालमा यो राज्य नेपाल राज्यमा गाभिएको थियो । पछि वि.सं १९ को असीको दशकमा गलकोटे राजकुमार भरतबम मल्लको विवाह सुवर्णशमशेर राणाको दिदी चैतन्यसँग भएकाले यो राज्य नेपाल राज्यभित्रको स्वायत्त राज्यका रूपमा भरतबम मल्लले पाएका थिए । यस्तो राज्य गलकोटमा २०१६ सालसम्म रह्यो ।

विश्वको मध्यकालिन इतिहास पढ्दा हामीले जुन राजनैतिक, सामाजिक, धार्मिक र आर्थिक इतिहास हामीले पढ्यौं, यस्तो स्थिति गलकोटमा हामीले प्रत्यक्ष दख्यौं, भोग्यौं । यस्तै बेला १०१४ सालको चैते दशैंको संस्मरण हो यो ।

चैते दशैंको कोटको मेला गलकोटको ठूलो आकर्षण हो । गलकोट एउटा बन्द कोठाजस्तै थियो ।केही क्षत्री, मगर गुरूङ्ग युवाहरू भारतीय सैनिक सेवामा र केही ब्राह्मण युवाहरू संस्कृत पढ्न बनारस जान्थे । दलितहरू गलकोटको चारकिल्ला भन्दा बाहिर जाँदैनथे । पढ्न पनि नपाउने, अरूले पढेको सुन्न समेत नपाउने भएकाले बाहिरी संसार कस्तो थाहा नै पाउँदैनथे । ठकुरी जातै बाबुसाहेब भइहाले । त्यसबाहेक गुरु पुरोहित गाउँगाउँका मुखिया जिम्वालहरू र राजाका सहायक डिड्ठा विचारीहरू सामन्त थिए । दुई चार घर नेवार र थकालीहरू ब्यापारी साहु थिए । अरू सबै रैतीमा गनिन्थे । रैतीहरू सामन्तहरूले जस्तो ज्यदति गरे पनि चुँइक्क बोल्न सक्दैनथे ।

देशमा प्रजातन्त्र आएको थियो । प्रजातन्त्रपछि सामन्तहरू काङ्ग्रेस बनेका थिए । रैतिहरू रैति नै थिए । यस समयसम्म नेपाल देशभर नै जङ्गबहादुरको मुलुकी ऐनले तय गरेको जातिय कानुन थियो भने गलकोट त अझ राज्यभित्रको राज्य थियो । जातिय नियम कानुनहरू कडा रूपमा लागू थिए । औंलामा गन्न मिल्ने मानिसहरूको बाहेक सबैको आर्थिक स्थिति उस्तै उस्तै थियो । बाबुसाहेवहरू पनि दुई चार जना बाहेकको स्थिति उस्तै थियो । अरूले कुरा गर्दा आडम्बरीलाई होच्याउन परे बाहिर ठकुरी नैना सुत, भित्र ठकुरी भैमा सुत जस्तै त हो भन्ने गर्दथे । बाबुसाहेवको धाक रवाफ देखाउन घोडा पाल्न आवश्यक मान्दथे । घोडा नभएको बाबुसाहेब पनि केको बाबुसाहेब भन्ने थियो । तर, घोडा पाल्ने औकात धेरैमा थिएन । जसरी तसरी घोडा किने पनि पालन पोषण नपुग्दा एक दुई बर्षमा घोडाले घुँडा टेक्ने हुन्थे । यस्तो घोडा गाइनहरूले बकस पाउँथे । गाईबस्तु दुब्लाउँदा गाइनेको घोडा जस्तो भनिन्थ्यो ।

चैते दशैको कोटको मेलामा गलकोट भरका मानिस जम्मा हुन्थे । घोडा भएकाहरू घोडा लिएर जान्थे । बाटो साँगुरा थिए । घोडा आउँदा बाटामा हिडेका मानिसहरूको भाग दौड हुन्थ्यो । हामी केटाकेटीहरूले यसैको सिको गरेर लौराको घोडामा चडेर राजाको घोडा आयो बाटो छोड् छोड भन्ने खेल खेल्थ्यौं ।

पञ्चबलीका साथ (स्थानीय भाषामा पन्चोल) हुने बाजागाजा नगरा र दाह्रे गाईनेले देखाउने सरायाँ नाच यहाँका मुख्य यहाँ आकर्षकण हुन्थे । छुट्टीमा आएका लाहुरेहरूको भिन्नै छाँट मेलामा देखिन्थ्यो । उनीहरूले लगाउने खाकीका कपडा र बुट अरूका लागि आकाशका फल बराबर हुन्थे । उनीहरूले बोल्ने अच्छा लेकिन, अरे यारजस्ता भाषामा आकर्षण हुन्थ्यो । एक गाउँका केटीहरू अर्को गाउँका लाहुरेसँग खुब दिलचश्पी राख्दथे । केटीहरूकै सवालमा लाहुरेहरू बीच झगडा र पिटमार पनि हुन्थे । अहिलेजस्तो पुलिसको व्यवस्था थिएन । आफै लड्थे, आफै छुटिन्थे । फेरि मेलमिलाप हुन्थ्यो । अहिले सम्झँदा नाटकजस्तो लाग्दछ ।

चैते दशैको तयारी केही दिन पहिलादेखि हुन्थ्यो । राजाको पञ्चोलका लागि द्वरेद्वारा राँगा, बोका, कुखुरा, परेवा र कुबिण्डोको ब्यवस्था हुन्थ्यो । द्वारेले जसको राँगा, बोका, कुखुरामा पाती लगाउँदछ, तिनैलाई बलिको लागि लगिन्थ्यो । राँगा, बोकाका धनीहरूले बोल्न पाउँदैनथे । गाउँ गाउँबाट पनि पञ्चोलको तयारी हुन्थ्यो । हुने खानेहरू र लाहुरेहरूले पनि पञ्चोल हाल्दथे । घर घरमा मासु र सेलरोटीको तयारी हुन्थ्यो । केटाकेटीले भरसक नयाँ कपडा पाउँथे, नभए पनि खरानीमा पकाएर पुराना पकडा धोएर सफा पारिन्थे । एक दुई दिन पहिलादेखि हामी केटाकेटीहरूले हातखुट्टामा कट्कटिएको मयल भिजाएर धुन थाल्दथ्यौं । अघिल्लो दिन आमाहरूले आआफ्ना छोराछोरीहरूका लिखा, जुम्रा टिपेर मारिदिन्थे । रातो माटाले नुहाइदिन्थे ।

हामी केटाकेटीहरूको चैते दशैको अर्को आकर्षण बाबुले दिने पाँचनी र पाँच पैसे ढ्याक हुन्थ्यो । जसबाट बजाउन सिठ्ठी खान गुल्मी थोर्गाको भेली, नरिवल, छोडा र मिश्री पाइन्थ्यो ।

अरू चैते दशै भन्दा यो चैते दशै विशेष संस्मणीय भयो । किनकी, यो चैते दशैमा जर्के दमैको छोराले विद्रोह गरेको थियो । राजा भरतवम मल्ल शान्त स्वभावका थिए । उनले त्यति सामन्तवादी उत्पीडन गर्दैन थिए । उनका छोराछोरी नेपालमा बस्दथे । त्यतिबेला गलकोटेहरूले गलकोट पनि नेपाल हो भन्ने हेक्का राख्दैनथे । राजाका छोराछोरीबाट पनि केही उत्पीडन थिएन । गलकोटमा सामन्तका मुख्य पात्र मेजर ललितबम मल्ल थिए । उनका सामन्तवादी चरित्रको बयान यहाँ सम्भव भएन । यही चैते दशैको एक घटनालाई मात्र वर्णन गर्दछु ।

कोटमा पुग्न हटियाबाट एक घण्टाको उकालो बाटो हिड्नु पर्ने हुन्छ । सबै मानिस चैतको गर्मीमा खाली खुट्टा सिहाँलाको उकालो चढ्दै थियौं । बाटो साँघुरो थियो । एक दुई भलाद्मी भनिनेहरूका खुट्टामा जुत्ता हुन्थे । भलाद्मी भनिनेहरूलाई अरूले बाटो छाडिदिनु पर्दथ्यो । सामन्ती संस्कार, जुत्ता लगाएकाहरू बाटोबाट हिँड्थे, खाली खुट्टेहरू बाटाको तल घाँसकाँडाबाट हिड्नु पर्दथ्यो । अझ दलितहरू त भिरपहिरो जे भए पनि बाटामुनिबाट हिड्नु पर्दथ्यो । घोडावाला आए भलाद्मी भनाउँदाहरूले पनि बाटो छोडिदिनु पर्दथ्यो ।

अहिले गणतन्त्रमा त प्रधानमन्त्री, राष्ट्रपति आउँदा बाटो खाली गरिन्छ भने त्यस समयको कुरै नगरौ, कस्तो थियो होला । अघिपछि सयौं आसेपासे, चाकडीवालहरू लगाएर बाजागाजाका साथ मेजर ललितबम मल्ल उकालो आइरहेका थिए । अरू मानिसमा बाटो छाड्न भागदौड नै चलेको थियो । दलितहरूलाई बाटामाथि जाने अधिकार थिएन । जहाँ जर्के दमाई हिडिरहेका थिए, बाटामुनि पहोरो रहेछ । घोडा दौडाएर आएका मेजरलाई बाटो छाड्न उनी बाटामाथि लाएछन् । उनको गल्ती भनेको यत्ति नै हो । अझ उनी मेजरका छिमेकी पनि हुन् । बाटामाथि लागेकै कारण मेजरले जर्के दमाइलाई जुत्ताजुत्तैले नराम्रोसँग कुटपिट गरे । अलिमाथि पुगेका जर्के दमाइका छोराले बाबुलाई पिटेको कुरा सुने । रक्सी खाएका थिए, अलि अलि काम त्यसले पनि गर्यो होला, अत्याचारले सिमा नाघेपछि उनमा विद्रोहको ज्वाला दन्कियो ।

उनले वनबाट ठूलो लाठो भाँचेर हातमा लिए । त्यति बेलासम्म मेजरसँग बोल्नसम्म नसक्ने उनीमा विद्रोहका भावनाले ठूलो शक्ति आयो । दमाइलाई डुम भने जस्तै ठकुरीलाई कुसिन्डो भनिन्थ्यो । आज मैले त्यस मेजर नामको कुसिन्डोलाई नमारी छाड्दिन भन्दै लाठो घुमाउँदै तल झरे । उनलाई कसैले रोक्ने काम गरेनन् । मेजरका चाकरहरू पनि रमिते जस्तै बने । मेजरलाई भगाएर लुकाइयो । उनले उधुम मच्चाए । एक घण्टा अघिको बाघ मेजर एक घण्टापछि मुसोजस्तो भयो । ज्यान जोगाउन घोडा छाडेर पाखापाखा भाग्यो । पछि अन्य मानिसहरूले जर्के दमाइका छोरालाई सम्झाए । मानिस त मार्न पर्ने नै हो तर मारेपछि तँ पनि ज्यानमारामा पर्दछस् । आजीवन जेल जानुपर्दछ । मेजरलाई हामीले डण्ड तिराउँदछौ र माफी माग्न लगाउँछौ । त्यस समयसम्म हजारौंलाई कुटपिट डण्ड सजायँ गर्दै एक छत्र राज्य गरेको मेजर उसका अघि माफी मागी डण्ड तिर्न तयार भए । दुई मुरी कोदो डण्ड स्वरूप जर्के दमाइलाई दिए । त्यसपछि मेजरको पछि लाग्ने मानिसहरू कोही भएनन् । त्यस बेलामा त यो घटना किन भयो छेउ टुप्पो मलाई थाहा भएन । जर्केको छोराले मेजरलाई हायलकायल पारो भन्ने मात्र थाहा भयो ।

पछि कम्युनिष्ट आन्दोलनमा लागेपछि सामन्तहरू साँच्चैका बाघ होइनन्, यी कागजी बाघ हुन् भन्ने माओको भनाई पढ्दा संसार बुझेजस्तो लाग्यो । जर्के दमाइको छोराको विद्रोह सफल भएको देख्दा अन्यायको विरूध्द विद्रोह गर्दा सफलता पाउन सकिन्छ भन्ने प्रत्यक्ष ज्ञान आर्जन भयो । अहिले न मेजर छन्, न जर्के दमाइ वा उनका छोरा छन् तर यस प्रेरणामा म अहिलेसम्म लागिरहेको छु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button