पहिलो बिजुली घरको अध्याँरो
झन्डै ११० बर्षअघि उनको यो घरमा हजुरबा सिद्धीलाल महर्जनका पालामा बिजुली जोडिएको हो रे । भन्दै थिए, ‘जो पनि आउँछन्, यहाँ आइपुगेपछि अड्किन्छन् । एक छिन हेर्छन् । धेरैजसाले त फोटो पनि खिच्छन् ।’
दिउँसो घामको उज्यालो छ ।
बल्खुबाट हामी दक्षिणकालीतिर तन्किरहेका छौं । चाल्नाखेल क्रस गरेर केही मिनेट अगाडि बढेपछि हामी मूल बाटो छोडेर तलतिर लाग्यौं । साँघुरो भए पनि कालोपत्रे गरिएको शाखा सडकमा हामी थप चिसिंदै अगाडि बढ्दै थियौं । पहाडको फेदीमा घामलाई पहाडले नै छेकेको थियो तर पारीपट्टि लागेको घाम आँखाभरि थियो ।
पछाडि बसेको मलाई स्कुटर चलाउँदै गरेका सहयात्री शम्भु पौडेलले भने, ‘यो बाटो नेपालको पहिलो जलविद्यूत उत्पादन केन्द्र पुग्छ ।’ तर, हामी फर्पिङ जलविद्यूत केन्द्र गएनौं । हामी नयाँ ठाउँ हेर्दै भैसेपाटी हुँदै पाटन आउन त्यो बाटो हिंडेका थियौं ।
थोरै अगाडि बढेपछि झोलुङे पुल तरेर अगाडि बढ्दै गर्दा परम्परागत जीवनको एउटा प्रसिद्ध केन्द्र खोकना पुग्यौं । एक क्षणअघि सडकको बीचभागमा हर्न बजाउँदा पनि बाटो नछोडी बरालिइरहेका हाँसका बथानलाई सोच्दै म सडकछेउ देखिएका परम्परागत जीवनलाई नियाल्दै थिएँ ।
खोकनाको मध्यभाग पुग्दा स्कुटरको ब्यालेन्स नै बिग्रने गरी सहयात्री पौडेल दायाँबायाँ हेर्न थाले । मैले केही सोधिनँ । अलि अघि बढेर उनै बोले, ‘देख्नु भयो, नेपालकै सबैभन्दा पहिलो बिजुली बलेको घर ?’
स्कुटर स्लो गर्दै उनले त्यसो भने पनि हामी दुई–चार घरअगाडि बढिसकेका थियौं । तर, उनको दोधारबीच मैले फर्कने निर्णय गरें ।
बन्द ढोकाछेउ उभिएर ऐतिहासिक बिजुली घरको तस्विर लिइरहँदा कुमै छेउबाट एक्कासी स्त्री स्वर आयो, ‘के गरिरहनु भएको ?’
त्यो उनैको घर रहेछ । पाटनतिर किनमेल गरेर फर्केकी रहिछिन् । थप कुरा गर्न खोज्दा उनले पछाडि आउँदै गरेका श्रीमानलाई देखाइन् ।
श्रीमान महोदय नजिक आएर फेरि प्रश्न गर्न थाले ?, ‘के ? किन ? कहाँबाट ?’
एकै पटक आएका धेरै प्रश्नले म जिल्लिएको जस्तै भएँ ।
‘म लेख्ने मान्छे हुँ । यो ठाउँमा आइपुग्दा म लेख्ने मुडमा छु । त्यसका लागि हामी कुरा गर्न सक्छौं ?’
‘किन लेख्ने ? यस्तो लेख्ने मान्छे कति आए कति ? लेखेर के हुन्छ ?’ भन्दै उनी गुनासो पो गर्न थाले । तर, केही बेरमा उनी कुरा गर्न तयार जस्ता देखिए । मसँग कापी–कलम थिएन । छेउको पसलमा कापी नभए पनि फुलिस्केप कागज रहेछ । बीस रुपियाँमा दुई प्रति फुलिस्केप र डटेपन किनेर उनको ढोकामा हाजिर हुँदा उनी हामीलाई चिया खुवाउँदै कुरा सुनाउने मुडमा आइसकेका रहेछन् ।
उनले स्वागतमा ढोका खोले । साँघुरो ढोकाभित्र अध्याँरो गल्ली थियो । छामछुम गर्दै हामी भित्र गयौं । चियाको लागि श्रीमतीलाई उनले दुध किन्न पठाएका थिए ।
भुँईतलाको एउटा अध्याँरो कोठामा सरासर लग्दै उनले आफ्नो हात भित्तातिर पु¥याए । किटिक्क पारे । बत्ती आएको बेला रहेछ । कोठा उज्यालो भयो ।
उज्यालो कोठाभित्र उनले परिचयात्मक कार्यक्रम सुरु गरे, ‘म मदनकृष्ण महर्जन । श्रीमती मेजु महर्जन । तर, चिनामा मेरो नाम पृथ्वीबहादुर हो भने उनको अमरलक्ष्मी ।’
नगरपालिका घोषित परम्परागत गाउँ खोकनामा मात्र होइन, नेपालमै बिजुली जडान गरिएको पहिलो घर मदनकृष्णका अनुसार ३÷४ सय बर्षअघि बनेको हो । घर मात्र होइन, उनी खोकनाबारे हामीलाई हामीले नसोधे पनि बुझाउँदै थिए, ‘यहाँको संस्कृति मल्लकालीन हो । यहाँ दशैंको टाइममा श्रीकाली रुद्रायणीको जात्रा लाग्छ । तर, वैशाख १२ को भुकम्पपछि टुरिष्ट आउन छाडेका छन् ।’ कोरोनापछि त झन् के कुरा गर्नु ?
झन्डै ११० बर्षअघि उनको यो घरमा हजुरबा सिद्धीलाल महर्जनका पालामा बिजुली जोडिएको हो रे । भन्दै थिए, ‘जो पनि आउँछन्, यहाँ आइपुगेपछि अड्किन्छन् । एक छिन हेर्छन् । धेरैजसाले त फोटो पनि खिच्छन् ।’
उनी हामीलाई बोल्नै नदिई खोकना पुराण सुनाउँदै छन्, ‘राणाकालामा खोकनाको तेल फेमस थियो । अत्तरजस्तो । औषधीजस्तो । तर, अहिलेको तेल लाए मान्छे बिरामी हुन्छ ।’ मिसावटको प्रसंग निकाल्दै उनी थप्दै थिए, ‘पवित्र काम गरेन भने अहिलेको लखपति दुई–चार बर्षमै खागपति हुन्छ ।’
मासिक बिजुलीको पैसा तिर्ने गरेका बिजुली इतिहासको एउटा स्मारकका मालिक मदनकृष्ण भन्दै थिए, ‘प्राधिकरण कर्मचारीले ५–६ बर्षअघि पुरानो मिटर लगे । तर, त्यो फिर्ता भएन ।’
उनले त्यसो भन्दै गर्दा मैले उनलाई बिजुली म्युजियम बनाउने सल्लाह दिएँ । तर, उनले २–३ बर्षअघि नै खोकना म्युजियम सुरु गरिसकेका रहेछन् । यो बिजुली म्युजियम भने होइन ।
उनको म्युजियममा मैले ठेकी, धिमे, ओखल, ढिकी, ज्यावल, नेवारी तान अदि देखें । केही समयअघि मात्र युनिभर्सिटी अफ लन्डनबाट नेपाल आएका स्टुडेन्ट र प्रोफेसरको एउटा समुहले उनको घरभित्रको म्युजियमरुपी दुई कोठामा सेतो रंग पोतिदिएका रहेछन् ।
विगतमा सरकारी कर्मचारी रहेका उनी पनि सन् १९८० मा लन्डन जाँदा लन्डन टावर ब्रिजको नेशनल म्युजियम हेर्न गएका रहेछन् । त्यही बेला खोकनामा पनि म्युजियम बनाउने बीउ उनको मनमा रोपिएको थियो ।
‘स्थानीय महिलाहरु बुद्धको घुम्रिएको कपालवाला मूर्ति बनाइरहेका छन् । यस्तो सीप भएका महिलाहरु खोकनामा थुप्रै छन्’, संस्कृति बखान गर्दै गरेका उनी एक्कासी थोरैै राजनीतिक भाषा बोल्न थाले, ‘मलाई राष्ट्रपति बनाए पनि चाहिंदैन । किनभने, भएर के गर्नु ? अरुको लागि केही गर्न सकिदैन ।’
अशोक सिलवाल
अलि शान्त हुँदै सुनाए, ‘तर, मैले सक्दो गरेको छु । म्युजियम बनाएर गाउँलाई थप चिनाउने प्रयास गरेको छु । यो म्युजियम निजी हो । मैले आइडिया गरें । घर आफ्नै छँदै थियो । तर, सहयोगी भाइभतिजालाई पनि म्युजियमबाट हुने थोरै आम्दानी अलिअलि बाँडेको छु ।
‘अबको योजना के छ ?’, मैले सोधें ।
सोच्दै नसोचे झैं गरी स्वर अलि चर्को पारेर उनले भने, ‘प्लान र आइडिया भएर मात्र के हुन्छ ? जे को लागि पनि पैसा चाहियो । पुरानो सामान राख्न पनि नयाँ पूर्वाधार आवश्यक छ ।’
पहिलोचोटि बिजुली जोडिनुअघि उनका हजुरबुवाले ‘करेन्ट लाग्छ, त्यसैले नजोड्ने’ भनेका थिए रे । तर, पछि कसरी हो मानेछन् । रोचक के भने बिजुली बाल्ने जनताको पहिलो घर भनेर मदन ‘प्राउड फिल’ गर्दैनन् रे ।
उनी फेरि देशको कुरा गर्न थाले, ‘म देशको विकास होस भन्ने चाहन्छु ।’ त्यसपछि चन्द्रमातिर उक्ले, ‘चन्द्रमामा समेत कतिपय देशले रकेट पठाइसके । तर, हामी जहाँको तहीँ छौं ।’
ठूलो कुरा गरिसकेर उनले वाक्य टुंग्याए, ‘मलाई ठूलो कुरा गर्न मन लाग्दैन ।’
त्यसपछि भन्न थाले ‘मलाई सुगर छ । १५–२० बर्ष भइसक्यो । श्रीमतीलाई हाड र ढाड दुख्ने गर्छ ।’
निकै बेरसम्म पनि पहिलो बिजुली घरमा बच्चारुपी उज्यालो नदेखेपछि एक्कासी मैले सोधें, ‘बच्चाबच्ची खोइ त ?’
एक छिन दम्पति दुवै चुप रहे । बेकार यो प्रश्न गरेजस्तो लाग्दै गर्दा सानो स्वरमा मदनले भने, ‘बच्चा एउटा भएको थियो । ३–४ महिनामै बित्यो । त्यसपछि जति उपचार गरे पनि भएन ।’
मैले भने, ‘अब तपाईहरुको बच्चा भनेकै खोकना म्युजियम हो ।’
‘छोरा भए कमाएर दिन्थ्यो’, उनले भने । मैले कुनै सीधा प्रतिकृया जनाइनँ ।
पहिलो बिजुली घरलाई जिल्ला प्रशासन कार्यालयले १२ वैशाखको भुकम्पले गर्दा बस्न लायक छैन भनेर प्रमाणित गरिदिएको रहेछ । चर्केका भित्ताहरु देखाउँदै भन्दै थिए, ‘तर, म यहीँ बसिरहेको छु ।’
सुरुमा किन कुरा गर्ने भनेका उनी हामीलाई बिजुली जोडिएका आमघरजस्तै केही बर्षअघिसम्म चौबिसै घन्टा बत्ती आउने यो घरको चोटाकोठा देखाउँदै थिए । यो केही बर्षअघिको कुरा हो, जतिबेला लोडसेडिङ हाम्रो जीवनसँग अभिन्न थियो ।
‘बिजुली गएको बेला तपाईं के गर्नु हुन्छ ?’, मैले सोधें ।
‘पाटन जाँदा किनेर ल्याएको चार्ज लाइट छ’, देखाउँदै भने ।
भावकुता कोठाभरि फैलिदै थियो । मदनकृष्णले भने, ‘तपाईं पत्रकार ! मेरो दुख हेर्नोस् । र, देशकै दुख पनि हेर्नोस् ।’
अघिदेखि सुनी मात्रै रहेकी श्रीमती मेजु महर्जनले भनिन्, ‘म्युजियम नखोल्नोस् भनेको थिएँ । तर, उहाँले छिमेकी भाई काइचा र भतिजा कृष्णभगतलाई साथ लिएर खोल्नु भयो ।’ तर, अहिले उनीहरुको एकांकी जीवनमा म्युजियम साथी भएको छ ।
मेजु भन्दै थिइन्, ‘म काम गर्न सक्दिन । भगवानको पूजा गर्छु । अस्पताल जान्छु ।’ मैले फेरि उनको घाउ कोट्याएँ, ‘बच्चा नभएकोले दुख लाग्छ ?’
‘पहिला लाग्थेन । अहिले लाग्छ । अहिले मेरो खुट्टा पनि दुख्छ’, उनको अबोध उत्तरपछि मैले थप प्रश्न गरिनँ ।
मौन रह्यौं हामी एक छिन । दलिनतिर आँखा उचाल्दै स्थानीय लवजमा उनी बोलिन्, ‘तुरुन्त बत्ती आउँछ । तुरुन्त बत्ती जान्छ ।’
त्यति बोल्दाबोल्दै बत्ती गयो । फुरुङ भएजसरी उनले भनिन्, ‘ऊ … बत्ती गयो ।’
अध्याँरोमा उनले सुँक्कसुँक्क गरेको आवाज आइरहेको थियो ।