फिकुरी हिउँमा हस्ताक्षर


अशोक सिलवाल ।

झरी एकाएक गायव भयो । यत्रतत्र फुरुरु हिउँ पर्न थाल्यो । गोरेटो सेतो भयो । गुराँसका बोटहरुमा हिउँ फुल्न थाले ।
दिनभरको थकानलाई भुल्दै हामी हिपहिप हुर्रे गर्न थाल्यौं । हामी जीवनकै सर्वाधिक सुन्दर क्षणमा पुगे झैं भएका थियौं ।
त्यति बेला हामी ज्याउदाको तालनजिकै पुगेका थियौं । अलि माथि उक्लेपछि भेडीखर्क पुगिन्छ । फिकुरी डाँडा पुग्न त्यहाँबाट आधा घन्टा पनि लाग्दैन ।
थोरै उक्लेर बायाँ हेर्दा ज्याउदाको ताललाई हिउँले घुम्टी ओढाइसकेछ । त्यो देखेर सायद धुपीका रुखहरु डाह गर्दै थिए । ती आफ्ना शीरबाट पट्टपट्ट हिउँहरु झार्दै थिए ।
मन त थियो, ज्याउदाछेउ घन्टौं बसिरहौं र हेरिरहौं प्रकृतिको त्यो शानदार लयलाई । दिन ढल्दै थियो । हामी यात्राको तेस्रो बासको लागि भेडीखर्क जान हतारियौं ।
भेडीखर्क पुग्दा हिउँमा गाडिएका टेन्ट र छेउको गोठ हामीलाई कुरिरहेका रहेछन् । चीसो वातावरणमा गोठको किचेन निकै न्यानो लाग्यो । कालो चियो त झनै तातो ।
गन्तव्य ३८ सय मिटरको उचाइमा रहेको फिकुरी डाँडा हो र यात्राको यो तेस्रो साँझ ।
यात्रामा पर्यटनकर्मी र पत्रकार गरेर झन्डै ४० जना थियौं । नेपाल पर्यटन बोर्ड र रसुवा नुवाकोट पर्यटन समाजको सहकार्यमा ३ दिनअघि काठमाडौंको गोंगबुबाट बिहान सुरु भएको यात्रा टोखा–छहरे सडकखण्ड हुँदै नुवाकोट सदुरमुकाम विदुर पुगेर लन्चका लागि रोकिएको थियो ।
काठमाडौं छाड्दानछाड्दै यात्राको विशेष मुडमा आइसकेका हामीलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गुर्जेभञ्जयाङको डाँडाबाट उत्तरमा देखिने लाङटाङ र गणेश हिमालका शिखरहरुले फिकुरी यात्राका लागि शुभकामना दिइरहेका थिए । ती हिमशिखरहरुले हामीलाई दिएका गुडलक हामीले बसका झ्याल–झयालबाट देखिरहेका थियौं । झ्यालभित्र लोकगीत मजाले घन्किरहेको थियो । बाटोको उबडखाबडले सीटमै हामी बसीबसी नाचिइरहेका थियौं । त्यसमाथि बेलाबेला सहयात्रीहरुका आइटमआइटमका जोक्स !
लञ्चलगत्तै तराईजस्तो तातो विदुरबाट हामी नुवाकोटको ऐतिहासिक साततले दरबार क्षेत्र उक्लियौं । एकै छिनमा अघिको तातो कहाँ गयो ! हावामा हिमाली झोंका हामीले अनुभव गर्न थाल्यौं । त्यो झोंकामा लाङटाङ, गणेश हिमाल र फिकुरीको चीसो मिसिएको थियो सायद ।
नुवाकोट दरबार पुग्नुअघि दरबार क्षेत्रभन्दा अलिमाथिबाट सुरु भएर दरबारभन्दा अलि तल टुँगिने भर्खरै सुरु भएको जिल्लाकै पहिलो जीपलाइनको बटम स्टेसनमा केही बेर रोकियौं । यो जीपलाईनको विशेषता के भने जीपलाईन गरिरहँदा त्रिशुली बजार, त्रिशुली नदी, बट्टारको सम्मफाँट, परपरसम्मका पहाडहरुमात्र होइन, सँगैको सांस्कृतिक सम्पदा नुवाकोटको साततले दरबार, नुवाकोटको पुरानो बजार र भैरवी मन्दिरसमेत देख्न सकिन्छ ।
डाँडामै रहेको पुरानो बजार पुग्दा स्थानीयहरुको स्वागत निकै साँस्कृतिक थियो । कदमकदममा नाचगान थियो, त्यहाँ । नाच्दैगाउँदै उनीहरुले हामीलाई बजारबाट दरबार क्षेत्रमात्र होइन, भैरवी मन्दिरसम्मै पुर्याए ।
सयौं वर्षअघिदेखि आफ्नै सम्पदा, कला संस्कृतिमा धनी रहेको ऐतिहासिक स्थल नुवाकोटको नेपाली इतिहासमा विशिष्ट स्थान छ । ऐतिहासिक सम्पदाले भरिपूर्ण, साँस्कृतिक धरोहर तथा पुरातात्विक महत्वका स्थलहरूले सजिएको दर्शनीय नुवाकोटको मौलिक कला र संस्कृतिले सबैलाई मुग्ध पार्ने गर्छ । हामी पनि मुग्ध थियौं ।
नुवाकोट जिल्लाको पुरानो सदरमुकाम समेत रहेको विदुर नगरपालिका अन्तर्गत पर्ने ऐतिहासिक स्थल नुवाकोट दरबार क्षेत्रको अवलोकनपछि हामी सूर्यगढीका लागि अगाडि बढ्यौं । बाटामा स्थानीयहरु हातहातमा लालीगुराँस लिएर हामीलाई स्वागत गर्दै थिए ।
अतिथी देवो भवको संस्कारलाई समाजको आर्थिक रुपान्तरणसँग जोड्नलाई गाउँठाउँ पर्यटनमैत्री हुँदै गरेका देखिन्थे । पर्यटनसँग कृषि, संस्कृति र ग्रामीण जीवनका अनेक पक्षलाई जोड्न के बृद्ध, के बालक, के युवा सबै उत्साहित देखिन्थे ।
हामी सूर्यगढी गाउँपालिकाको १६ सय ५५ मिटरको उचाईमा रहेको सूर्यगढी जाँदै थियौं । ऐतिहासिक महत्वको यो गढी विछ्ट्टैको लोभलाग्दो भ्यु प्वाइन्ट रहेछ । यहाँबाट परपरसम्म देखिने चोरैतिरका पहाडी दृश्य त्यसै मोहक थियो, त्यसमाथि सुर्यास्त सुरु हुँदै गर्दा दृश्य अझ दिव्य हुँदै थियो । त्यहाँबाट देखिने हिमश्रृंखला र ‘अन्नपूर्णा फाँट’हरु त झनै अवर्णनीय !
पहिलो बास सूर्यगढीकै चोगतेमा थियो । हामी त्यहाँका होमस्टेमा बस्यौं । त्यहाँ पाएको घर सम्झाउने आफ्नोपन एकातिर थियो, साँझको भिलेज कल्चर सो झ्न विशेष !
यात्राको दोस्रो दिन चोगतेमा ब्रेकफास्ट, मानेगाउँमा लञ्च र किस्पाङमा ओभरनाइट स्टे । मानेगाउँको लञ्च लञ्चमात्र थिएन, त्यो त स्थानीय सांस्कृतिक लञ्च पो थियो । स्थानीय भेषभुषामा त्यहाँका तामाङ दाजुभाई दिदीबहिनी पकवान परिकारका साथ जसरी प्रस्तुत भए, तिनले फिकुरी यात्रालाई अझ विशेष बनाइरहेको थियो ।
लञ्चपछि हामी ठन्डापानी, कर्कले, डिगाउँ, अम्मटे, काहुले हुँदै २ हजार मिटरमा रहेको दुङमाङको भेडाफार्म पुग्यौं । नेपालकै पहिलो भेडाफार्मको रुपमा प्रसिद्ध यो क्षेत्र त्यसभन्दा बढी यहाँको ल्यान्डस्केपको लागि अझ विशेष रहेछ । खप्तड जाँदा बाटो पर्ने पाटन वा तिब्बत जाँदा देखिने पठारमा पुगेजस्तो लाग्ने त्यहाँको फाँटबाट वरिपरिका हरिया पहाड र अलि परका हिमटाकुराहरु देख्दा दिनै त्यहीँ बिताउँबिताउँ लाग्यो ।
घाम पहेंलिन थाल्यो । हावा बेस्सरी चल्न थाल्यो । हामी नजिकैको किस्पाङ हिंड्यौं । त्यहाँ पुग्दा ऊ त गुल्जार भइसकेको रहेछ । बाजागाजासहित साइकोले र मेन्दोमायाले किस्पाङ पुरै रन्किन थालिसकेको रहेछ । झाँक्रीनाच र अरु थुप्रै लोकल आइटममा किस्पाङचौर माथि फिकुरीसम्मै पुग्ने गरी उफ्रिन थालिसकेको थियो ।
छेउको किस्पाङ ताल मौसमले सुके पनि सायद मनले रसाइरहेको थियो । छेउको मोहक गुम्बा पनि सायद गीतमा खुट्टा हल्लाइरहेको थियो । एउटा विशेष पर्वमा थियो किस्पाङ । पर्यटन पर्वमा !
रात अबरेसम्म जागै बस्ने मन थियो साँगीतिक किस्पाङमा तर भोलि बिहानै फिकुरी यात्राको खास पदयात्रा सुरु हुँदै थियो । त्यसैले हामी टाइममै सुत्यौं । हाम्रा आँखाहरु फिकुरी शिखरतिर किस्पाङ चौरबाट साँझै उक्लिएका थिए । चौर छेउको गुम्बाको शीर जगमग जगमग गरिरहेको क्या दामी ! देखिएको थियो ।
बिहानै खीर र खोलेको लोकल ब्रेकफास्ट खाएर हामीले ब्याकप्याक र स्टीकसहित फिकुरी ट्रेक सुरु गर्यौं । यात्राको खास मजा सुरु भइसकेको थियो । हिंड्दै, उक्लँदै, थकाई मार्दै, बाटामा भेटिएका स्थानीयसँग बात मार्दै र सहयात्रीहरु एकअर्कासँग हंसिकमजाक गर्दै हामी अगाडि बढिरह्यौं ।
एकै छिनमा पर एउटा बडेमानको ढिस्को देखियो, जसको नाम रहेछ नौघडेरी । त्यो पत्थरको पहाड थियो । श्रीलंकाको सबैभन्दा प्रसिद्ध पर्यटकीय आकर्षण सिगरियाजस्तो, जसलाई रावणको दरबार क्षेत्रसमेत भन्ने गरिन्छ, जसलाई श्रीलंकनहरु विश्वको आठौं आश्चर्यसमेत भन्ने गर्छन् । नौघडेरी त्यस्तै देखिन्थ्यो वा त्यसभन्दा अझ बढी ।
उकालोमा शरीर नथाकेको होइन तर वातावरणको मादकताले खुट्टामा लगातार उर्जा भरिरहेको थियो । अलि माथि पुगेपछि घामढुँगामा आराम गर्दै तल किस्पाङबाट ल्याएको प्याक लञ्च खोलेर पेटपुजा गर्यौं । माथि फिकुरी पुगेर भोलि बिहान महादेव र मानेको पुजा त गर्नु छँदै थियो ।
घामढुँगा त्यो ढँुगाको नाम थियो कि थिएन, थाहा छैन तर हाम्रै एकजना सहयात्रीले त्यसको नामाकरण गरिदिएका थिए, घामढुँगा । बाटोकै बीचमा रहेको सानो चौरैजत्रो त्यो ढुँगामा पुग्दा घाम पनि त्यो ढुँगैभरि लागेको थियो ।
थोरै उकालिएपछि झरी पर्न थाल्यो । केही बेरमा झरी रोकियो तर हिउँ पो पर्न थाल्यो । त्यसपछि नै हो, हामीले हिउँमा हिपहिप हुर्रे गरेको । अलि अगाडि ज्याउदाको ताललाई हिउँले घुम्टी ओढाएको । अलि माथि भेडीखर्कमा हिउँमाथिको टेन्टमा हामी बास बसेको । छेउको भेडीगोठको किचेनमा डिनर खाएको ।
खास पदयात्रा सुरु गरेको केही घन्टामै हिउँसँग त्यति नजिक भएको सम्भवत हामी सबैको जीवनको त्यो पहिलो अनुभव थियो । हामी हिउँसँग एकाकार भएका थियौं । हिउँले गोठका छाना सेता भएका थिए । हामीले टेकेका प्रत्येक पाइलाका डोब हिउँमा हस्ताक्षरित भएका थिए । साथीहरु हिउँको जयगान गाइरहेका थिए ।
भोलि बिहानै फिकुरी जानु थियो र हेर्नु थियो, त्यहाँबाट देखिने सौन्दर्यका लहरहरु, जो पृथ्वी रहेसम्म रहिरहनेछन्, बादलहरु, हिमालहरु, आकाश, सूर्योदय ।
तामाङ भाषामा अथ्र्याउँदा फिकुरीको अर्थ हुन्छ –धनी जंगलको शीर । र, त्यो शीरबाट आँखैलाई टक्क रोक्ने दृश्य देखिन्छ । लाङटाङ, गणेश, दोर्जेलाक्पा, मनास्लु, अन्नपूर्ण र तिब्बती हिमश्रृंङखला । जति हेरे पनि हेरेकोहेर्यै हुने ! स्थानीय बुढापाकाका अनुसार रातको समयमा डाँडाबाट काठमाडौंको झिलिमली समेत देखिन्छ रे ।
सूर्योदय र सूर्यास्तका बेला यहाँबाट देखिने सौन्दर्यको उचाई अवर्णनीय लाग्छ । त्यसमाथि बौद्ध मन्त्र लेखिएका झण्डाहरूले प्रकृतिमा संस्कृति, अध्यात्म र आस्था मिसाएपछिको दिव्यताको के कुरा गर्नु !
परम्परादेखि साझा तीर्थको रुपमा रहिआएको फिकुरी डाँडालाई बुद्धस्थल र महादेवस्थलका रुपमा पनि पुजिन्छ । जनैपूर्णिमा लगायतका अवसरमा लाग्ने मेलाहरुमा यहाँ लामा, झाँक्री र तीर्थालुको भिड हुन्छ । फिकुरी दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ ।
हिमालय दर्शनका लागि आकर्षक फिकुरी किस्पाङ गाउँपालिका–२ नुवाकोटमा पर्दछ । तत्कालीन साल्मे, भाल्चे, काहुले, मनकामना र फिकुरी गाविस मिलेर २०७३ सालमा यो गाउँपालिका बनेको हो । बहुजातिय यो गाउँपालिकामा तामाङ जातिको बाहुल्यता रहेको छ । पश्चिममा मेघाङ, दक्षिणमा विदुर, पूर्वमा रसुवाको उत्तरगया र उत्तरमा धादिङको रुवीभ्यालीले घेरिएको किस्पाङस्थित राजधानीबाट जम्मा सडक र दलमार्ग दुवै गरी जम्मा ९६ किलोमिटर उत्तरपश्चिममा रहेको फिकुरी हुँदै रुबी भ्याली, गणेश हिमाल, तामाङ हेरिटेज, लाङटाङ र गोसाईकुन्डको पदयात्रामा समेत जोडिन सकिन्छ ।
फिकुरी काठमाडौंबाट सबैभन्दा नजिकको नयाँ ट्रेकिङ डेस्टिनेसन हो । छोटो र लामो दुवै खालको ट्रेकिङका लागि पनि यो उपयुक्त ट्रेक हो । यदि चाहनुहुन्छ भने काठमाडौं छाडेको तेस्रो दिनमै समेत तपाईं फिकुरी टुप्पोमा पुग्न सक्नु हुन्छ । तर, तपाईं नुवाकोटका अरु ऐतिहासिक स्थलहरुको अवलोकन गर्दै आफ्नो ट्रेकिङ दिनहरुलाई लम्ब्याउन पनि सक्नु हुन्छ ।
यो ट्रेल इतिहास, प्रकृति र संस्कृतिको संगम पनि हो । नुवाकोटको ऐतिहासिक साततले दरबार, सूर्यगढी, किस्पाङ, दुङमाङ हुँदै फिकुरी डाँडा पुगेर ताजी, सातदोबाटो हुँदै रसुवाको ठूलोगाउँ र घलेगढी भएर टुँगिने यो भर्जिन ट्रेलमा तामाङ, गुरुङ, मगर, दनुवार, दलित, नेवार, ब्राम्हण लगायत थुप्रै समुदायकोे जीवनसंस्कृतिमात्र होइन, परम्परागत कृषि प्रणाली, विछट्टै लाग्ने पहाडी दृश्य, गाउँले जनजीवन, अनेक प्रजातिका रुखविरुवा तथा चराचुरुङ्गी पनि अवलोकन गर्न सकिन्छ ।
शरीरभरी हिउँका स्पर्श र वातावरणमा रहेका धुपी, लालीगुराँस र अन्य असँख्य जडिबुटीका सुवास मनभरी बोकेर चौथो दिन हामी फिकुरीबाट तल झर्दै छौं । हिजो रातभर परेको हिउँले बाटो झनै उज्यालो मात्र होइन, उत्तिकै मुलायम छ । ताजी आइपुग्दा फेरि झरी पर्न थालेको छ । अघिल्लो दिनको प्याक लन्चको पोको खोलेर केही साथीहरुले मस्याङको सुख्खा तरकारीसित खीर खाए ।
अझ तल सातदोबाटोमा लञ्च खाने कार्यक्रम छ । त्यहाँ पुग्दा स्थानीयहरुको खैजडी भजनमा रमाउँदा संस्कृति र संगीतमा हामी कति धनी र धन्य छौं भन्ने लाग्यो ।
लञ्चपछि हामी पुग्दै थियौं, रसुवाको उत्तरगया गाउँपालिकामा पर्ने ठुलो गाउँ, जहाँ त्यो दिनको बास थियो । बाटामा छेउका झरनाहरुले यात्रालाई थप स्वादिलो बनाइरहेको थियो । गुरुङहरुको बाहुल्य भएको त्यहाँको विशेष प्रस्तुति सतीघाटु नाच मात्र होइन, साँझ अबेरसम्म त्यहाँ चलेको दोहोरी पनि कम शानदार थिएन ।
यात्राको पाँचौ तथा अन्तिम दिनको आकर्षण थियो, नेपाल–भोट युद्ध इतिहाससँग जोडिएको सामरिक किल्ला रसुवाकै घलेगढी । एउटा अजंगको चट्टानी थुम्को थियो त्यो । त्यहाँबाट देखिने परपरसम्मको पहाडी तथा हिमाली दृश्यले यो यात्रा अझै नटुँगियोस् भन्ने सबैलाई लागिरहेकै थियो ।
साँझ काठमाडौं आइपुग्दा फिकुरी यात्राका ती अनेक असाध्य मीठा दृश्य र अनुभुति परिवार र साथीभाईलाई सुनाउन हतार भइसकेको थियो ।
(स्वतन्त्र पत्रकार सिलवाल लाङटाङ सद्भावना दूत हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button