बच्चा थियौँ, कच्चा थियौँ, मज्जा थियो

कल्याणी तिमल्सिना

घर वरपर खेतमा लरक्क परेर पहेलपुर धानका बाला झुलेका छन् । मखमली र सयपत्री फूलहरू आँगनका डिलमा मुसुमुसु हाँसिसकेका छन् । भित्री बारीको डिलमा सुन्तलाले सुनौलो रंग च्यापिसकेको छ । मौरी बारदलीमा ओहरदोहर गरिरहेको छ । आनन्द फेरि पनि हरेक बर्ष झैं यस्पाली पनि हाम्रो घर आगनमा दशैँ भएर सुटुक्क आइसकेको छ । सोरसराद्धमा आफ्ना पितृहरूलाई सम्मानपुर्ण स्मरण गर्ने आसिर्वाद लिने क्रम शुरु भैसकेको छ ।

यतिबेला, पुरानो धोक्रो बोकेर लाइनमा पालो पर्खेर घरबाट निकै परबाट घन्टौ कुरेर एक धोक्रोको मूल्य तीस रूपैयाँसम्म तिरेर रातोमाटो लिएर घर आउनासाथ सुरु भएको हुन्थ्यो दशैँ । दुईपाखे माटोको घरमा कमेरो र रातोमाटोले पोतेर र लिपेर नयाँ नयाँ बन्थ्यो घर । अनि म आँगनमा यता र उता कुद्थेँ सम्झना र प्रतिक्षामा । ओहो कति आनन्द, भोलि त नयाँ लुगा आउॅंछ भन्दै खुसी हुँदै आँगनबाट फुत्त धान खेतमा पुग्थेँ । अनि, हेलिकोप्टर किरा समातेर पुच्छरमा धागो बाँधेर उडाउँदै पछिपछि दगुर्थें । सॅंगीदौतरीहरूलाई मेरो पनि नयाँ लुगा आउॅंछ नि भन्दै गाउँभरी डुल्दै मजा लिएको हिजै जस्तो लाग्छ । डुल्दाडुल्दै स्वतन्त्र चरी झैं उड्दाउड्दै थकित साँझमा खाना खाएर ओछ्यानमा पल्टेर भोलि कति बेला हुन्छ भन्दै मक्ख हुन्थेँ, ‘भोलि नयाँ लुगा आउने छ !’

बिहानै उठ्ने बितिकै ‘बुबा, म लुगा लिन जाउॅं ?’ भनेर सोध्दा बुबा मुसुक्क हाँसेर भन्नु हुन्थो, ‘पहिला दुध पुराएर आउ अनि जाउलिनि हुन्न ?’

म दौडेर दुध डेरी जान्थेँ र चार लिटर दुध छाडेर आउँथे । यता घरमा बाले कुट्टो, हॅंसिया, कोदालोको पातो सबै जम्मा गरेर मैले बोक्न सक्ने गरी बाक्लो धोक्रोमा बाँधेर ल जाउ यो ती कालेदाईको आरनमा छोड्नु र बनाईराख्नु रे बुबाले लिनआउनु हुन्छ भन्नु भनेर पठाउनु हुन्थ्यो । म बल्लबल्ल ठुलो ठुलो गौंडाहरू भएको कान्लो ओर्लेर कुलैकुलो हिंडेर पल्लो गाउँ जान्थे । उता कालेदाईले ‘आयौ नानी ? गारो भो होला बस एक छिन, अनि धान कहिले काट्ने रे नानी ?’ भनेर सोधे ।

‘खै बुबाले त पर्सि काट्ने भन्नु भएको छ । अहिले पछि बुबा आएसी सोदेहुन्छ नि !’, के यति भनेकी थिएँ उनले त ‘यति नि थाहा हुन्न ?’ भन्दै आरनमा भएको त्यो कालो गोल फुत्त म भयतिर फाल्नुभो । मैले छल्दै ‘यो लुगा त पुरानो हो, नयाँ लुगा लिन हिँडेको दर्जी दाईको घरमा, बुबाले यता पठाएर मात्र आएको नि, ल दाई गए है अनि, सक्काईदिनु नि चाँडै, धान काट्नु पर्छ नि, बुबाले भन्नु भएको छ’, यति बकेर म भने फेरि कुलैकुलो अलि पर दर्जीदाईको घरमा पुगें ।

‘मेरो लुगा दिनु न, भयो होला नि आज त ?’

कपाल सेतै फुलेका ती दर्जीदाई ‘कति हतार भको एकछिन पर्ख न, भैहाल्छ नि’ भन्दै लुगा खोज्न थाले । दर्जी दाइले पनि ‘नानी, धान कहिले काट्ने हो ?’ सोधे ।

मैले ‘खै ! बुबाले पर्सी काट्ने कुरा भन्नुभएको छ, अनि तपाईं पनि पर्सी खेतमै आउनु न है’ भन्दै हातमा नयाँ लुगा लिएर दौडदै घर पुगें ।

‘आमा, लुगा लिएर आएँ म ।’

पख पख एकछिन भनेर आमाले ती नयाँ लुगामा सुनपानी छर्कनुभयो !

‘लौ लगाएर देखाउ कस्तो देखिन्छ, अब त खुसी भयौ होला नि ?’

खुसीखुसी लुगा लगाएँ ।

‘ओहो ! कति राम्री देखिएकी ? लौ लौ लुगा मैलन्छ, अब टिकाको दिन लाउनुपर्छ राख है’ भन्दै मुस्काएकी आमा काममा जानु भयो ।

टिकाको दिन बिहान उठेर पुजा सकाएर भान्सामा हेर्दा धेरै खानेकुरा पाकेको हुन्थो । जुन सबै मेरै रोजाइको हुन्थो ।अनि त्यो नयाँ लुगा लगाएर निधार भरी रातो टिका र टाउकोमा एक मुठ्ठी जमरा अनि हातमा पाँच रुपिया पैसा बोकेर बस्दा संसारको भाग्यमानी छोरीको अनुभूति मनमा निकै मिठो भएर बहन्थे । अनि त्यही पैसा सुरुवालको इँदार पसाउने ठाउँमा धुसाएर डोरीपिङ खेल्न जानुको मजा छुट्टै थियो । खेल्दाखेल्दै आमा मामाघर जान लाको थाहा पाएपछि हसङफुङ्ग घर आएर सॅंगै निस्कन्थें । अनि जानु त झन के कुरा बाटो भरी आमाले मिठो मिठो कुरा खुवाउॅंदै लानुहुन्थो । मामाघर गएर टिका कतिबेला लगाईदिने भनि मामाको वरिपरी घुम्नुको मज्जा बेग्लै थियो । यति लामो बाटो टिकाको उत्साहमा होइन, पैसा पाउने आशामा गईन्थो । ओहो ती दिन अब फेरि कहाँ आउला ?

मलाई याद छ, मामाघरसँगै अर्को मामाको घर आमाले लानु भएको, अनि त्यो घरमा टिका लगाएर पैसा नदिएको । म मनमनै किन पैसा नदिएको होला सोच्दै थिएँ । हिड्ने बेला भयो अनि आमाले झोलाबाट फलफूल निकालेर दिएपछि मात्र दक्षिणा पाएको त्यो पल सम्झँदा निकै खुसीको अनुभूति अहिले पनि मनभरी हुन्छ ।

दशैँ आज पनि उस्तै छ । तर दशैँको हर्ष, उल्लास, उमङ्ग फेरिएको छ । सँगै मिलेर खेल्ने ती साथी छुटेका छन् । आज ती नयाँ लुगाले खुसी दिन सक्तैनन् । त्यो बालापनको त्यो सुन्दर यादहरू मनको एउटा सुन्दर सन्दुकमा बन्द भएको छ । अहिले त्यो सम्झनामा फेरि पनि आनन्द पाउने गरेकी छु । आज पनि त्यो मिठो अतित अहिले भएर रोमान्चित भैरहेछ ।

यस सुखद क्षणमा बडा दशै २०८० को सबैमा हार्दिक मंगलमय शुभकामना !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button