साथी ! गज्जबैको महिना रहेछ साउन
साउन महत्व
प्रा.डा. वीणा पौड्याल
नेपालमा साउन महिनामा विभिन्न धार्मिक अनुष्ठान गरेर चाड पर्व मनाउने प्रचलन छ । सनातनधर्माबलम्बी (हिन्दू), बौध्द र प्रकृतिपूजक सबैको यस साउन महिनासंग जोडिएका विभिन्न धार्मिक र सामाजिक प्रथाले आजसम्म निरन्तरता पाइरहेका छन् । चन्द्रमासको गणना पध्दति र ३, ३ बर्षमा पर्ने मलमासले गर्दा भदौमा पर्ने केहि पर्वहरु असार र साउनमा पनि पर्न सक्छन् । असार महिनाको शुक्ल पक्षको एकादशीदेखि कार्तिक महिनाको शुक्लपक्षको एकादशीसम्मको समयलाई विशेष मानिएको छ । दिन गणनाको हिसाबले चार महिना हुने भएकोले यसलाइ चतुर्मास भनिन्छ । चतुर्मास अर्थात चारमहिनासम्म खानपानमा बिशेष ध्यान पुर्याएर ब्रत, पूजा गर्ने भक्तजनहरुलाई आध्यात्मिक र भौतिक लाभ हुने विश्वास गरिन्छ ।
असार महिनाको शुक्लपक्षको एकादशीदेखि कार्तिक महिनाको शुक्लपक्षको एकादशीसम्म विष्णु भगवान शेषनागको शरीर माथि सुत्ने भएकोले बैष्णवहरुको लागि यो चार महिना बिशेष हो । यी चार महिनामध्ये पनि ब्रत, होम, पूजा गर्न साउन महिना सबैभन्दा उत्तम मानिन्छ । साउन महिनाको सोमबारको दिन ब्रत लिएर शिवलिङमा जल चढाउँदा प्राप्त हुने पुण्यबारे शास्त्रमा विस्तृत वर्णन छ । वैदिक परम्परामा शाकाहारी भोजन सबैभन्दा उत्तम मानिएको छ । पूर्ण शाकाहारी हुन नसके साउन महिनामा मात्रै माछा मासु नखाँदा पनि पुण्य हुने कुराको उल्लेख हिन्दू शास्त्रहरुमा छ ।
साउन महिनामा सूर्य मिथुन राशिबाट कर्कट राशिमा जाने भएकोले धार्मिक कार्य गर्न, दान पुण्य गर्न उत्तम मानिन्छ । भगवान शिवलाई छिटो प्रसन्न पार्ने महिना हो साउन । साउन महिनाको सोमबारलाई विभिन्न धार्मिक कारणले बिंशेष मानिन्छ । परोपकारी शिव भगवानले संपूर्ण प्राणीको कल्याणको लागि कालकूट बिष पान गरेपछि उनलाई भएको डाह, छटपटीको मार्मिक वर्णन पुराणहरुमा पाइन्छ । समुद्र मन्थनबाट निस्केको हलाहल बिषलाई ब्यवस्थापन गर्न शिवले जुन कदम चाले, त्यो सर्वसाधरणले कल्पनासम्म गर्न सक्ने बिषय हैन । हिमाली क्षेत्रमा गएर शिवले आफ्नो आयुध त्रिशुल गाडेर निस्केको जलधाराबाट बनेको त्रिशुली नदीको जलको बिशेष महत्व छ । त्यसैले त्रिशुलबाट निस्केको जल कुण्डमा जम्मा भएर बनेको गोसाईंकुण्डको धार्मिक महत्व साउन महिनामा अधिक छ । गोसाईंकुण्डको चिसो जल बगेर पाटन कुम्भेश्वर मन्दिरको एउटा सानो कुण्डमा आउने विश्वासले जनैपूर्णिमामा कुम्भेश्वरमा ठूलो मेला लाग्दछ । नेपालका विभिन्न ठाउबाट धामीझाक्रीहरु आ–आफ्नो ढ्याॉग्रो ठोकदै कुम्भेश्वरमा पुग्दछन् । यसै दिन सर्वेश्वर महादेवको धातुको कोश मन्दिर बाहिर ल्याएर सर्वसाधरणको लागि दर्शनार्थ पोखरीमा राखिन्छ । जनैपूर्णिमाको अघिल्लो दिन शिवजी पनि गोसाईंकुण्ड जाने विश्वासमा मन्दिर बन्द रहन्छ । ने सं ५६७ मा राजा यक्षमल्ल शिवलुति (गोसाईंकुण्ड) गएको वर्णन सुमति सिध्दान्त टीकामा छ । त्यसपछि विभिन्न समयमा राजाहरु, जनता र धामीझाक्री गोसाईंकुण्डमा छाया दर्शन गर्न गएका प्रमाणहरु छन् ।
साउन महिनाको पहिलो दिन अर्थात संक्रान्तिमा गरिने विविध कार्यसँग स्वास्थ्यको ख्याल गरेर लुतो अर्थात छालामा लाग्ने एकप्रकारको रोग नलागोस भनेर गरिने विधान रोचक र सन्देशमूलक छ । कण्डारक असुरलाई स्मरण गरेर आफ्नो घरको चारै दिशामा बिशेष प्रकारका काठ (कुकुरडाइनो ,कागभलायो) बालेर फाल्ने, नाङ्लो ठटाउने प्रथा कायम छ । व्रत रत्नावलीमा कण्डारकको पूजा विधान विस्तृत रुपमा वर्णन गरिएको छ । साउने संक्रान्तिमा सत्यनारायणको पूजा लगाएर कथा श्रवण गरिन्छ । असार महिनाको शुक्ल पक्षको एकादशीमा शुरू हुने चतुरमासको दोस्रो महिना साउन भएकोले यस महिनामा व्रतहरु लिने र खानपानमा विशेष नियमको पालना गर्नु पर्छ ।
हरेक संक्रान्तिमा खसी काट्ने, मासु खाएर खाएर रमाईलो गर्ने चलन छ तर कल्पतरुमा बर्ण गरे अनुसार असार, साउन ,भदौ र अशोज भगवान बिष्णु शेष नागको बिछ्यौनामा ,सागरमा सुत्ने भएकोले यी चार महिना ब्रत, पूजा र धार्मिक कथा श्रवण गर्नु पर्छ । शाकाहारी खाना खानु पर्छ । बर्षातको समय भएकोले साउन महिनामा बिशेष ढंगले स्वास्थ्यको हेरबिचार गर्ने तरिका सिकाइएको देखिन्छ ।
शिवले जटामा गंगालाई धारण गर्नु भएको छ । शिब अग्नितत्वको प्रतिक हुन्, सृष्टि सन्तुलित राख्न शिवलाई सबै प्रहर जलको बर्षा गरिन्छ । साउन महिनामा विभिन्न तीर्थस्थलबाट ल्याइएको जल प्रसिद्ध शिवलिंगहरुमा चढाउने प्रथाले तामझामको साथ प्रश्रय पाइरहेको छ । बोल बम बोल भन्दै नेपाल र भारतका बिभिन्न स्थानबाट आएका भक्तजनहरुले सुन्दरीजल, बाग्द्वार, बागमति आदि स्थानको जल पशुपति, गोकर्णेश्वर, शर्वेश्वर आदि शिवलिंगमा अर्पण गर्छन् ।साउनको १५ गते खिर पकाएर शिव परिवार र कृष्ण परिवारलाई चढाउने चलन छ । घाँस पात बढी भएर चौपायाहरुले दुध प्रशस्त दिने भएकोले साउन महिनामा खीर पकाएर प्रसादको रुपमा खाने चलन नेपाली समाजमा अझैसम्म निरन्तर चलिरहेको छ ।
साउन महिनाको महिमा शिवसँग जोडिएको जस्तै श्रीकृष्णसँग पनि जोडिएको छ । नेपालको तराई क्षेत्रमा साउन महिनामा श्रीकृष्ण र राधा रानीको झूला झुलाउने प्रचलन छ । प्रकृतिमा भएको हरियो रंगबाट मोहित भएर मानिसले आफ्ना इष्ट देवतालाइ हरियो वस्त्र चढाउने र आफूले पनि हरियो रंगकै वस्त्र लगाउने प्रथा शुरु गर्यो । यसमै अन्य श्रृगांरका सामग्री चुरा, पोते, टीका पनि जोडिदै गए । विभिन्न पध्दतिका चिकित्साशास्त्रमा हरियो रंगका सागपात र फलफूल हेर्दा मात्र पनि आँखालाइ हुने फाइदा बारे वर्णन गरिएको छ । हरियो, ताजा तरकारीको फाइदा को बारेमा भन्न नै पर्दैन । सौन्दर्यप्रेमी मानिसले विभिन्न चरा र जनावरहरुको विविध रंगहरु आफ्नो शरीरमा धारण गरेर आफूलाई सुन्दर र आकर्षक बनाउन परापूर्वकालदेखि नै लागिरहेको थियो । त्यसकै एउटा उदाहरण हो, हरियो रंगले आफूलाई श्रृंगार्नु । हरियो रंग, गोबर्धन पूजा सबैको सम्बन्ध कृषिसंग जोडिएको छ । वैदिक देवता इन्द्रको पूजामा आएको ह्रास र कृष्ण सम्प्रदायको उत्थान यसकै एउटा उदाहरण हो । कृषि ब्यबसायसंग जोडिएको जमीन, पहाड, गोरु, गाइले सम्मान पाउँदै, पूजा पाउँदै गए । प्रकृतिको हरियो रंगले मानिसको साजसज्जामा स्थान पाउँदै गयो । साउन महिनाको हरियो पहिरनलाई यसै रुपमा लिन सकिन्छ ।
पानीमा गाडिएर कृषि कार्य गर्दा शरीरका अंग बचाउन मेहन्दी हात र गोडामा लगाएर सुरक्षित राख्ने कार्य पनि साउन महिनामा गर्ने विधान नै छ । अहिले आएर कृषि पेशाबाहेक अन्य पेशा अपनाउँदा मेहन्दी श्रृंगारको साधन बनेको छ । काठमाण्डू उपत्यकाको पानी बाहिर निकालेर यहाँ वस्तीयोग्य बनाउने क्रममा थुप्रै जलचर प्राणी माछा, भ्यागुतो, छेपु, कछुवा र सर्प बाहिर गए । त्यहि क्रममा केहि सर्पहरु सारै रिसाएकाले उनीहरुलाई प्रसन्न पार्न टौदह र विभिन्न स्थानमा नागस्थानको निर्माण गरिएको थियो । नागको बिशेष पूजा संगै अष्टनाग (वासुकी, तक्षक, कालिय, मणिभद्र, धृतराष्ट्र, ऐरावत, कर्कोटक र धनन्जय)को चित्र टाँस्ने कार्य साउनको पन्चमी मै गरिन्छ । भविष्य पुराणमा उल्लेख भएका आठ नागका परिवारका सदस्यबाहेक कालियनाग र अन्य नागको पूजा गर्ने परम्परा पनि छ । मूर्ति, चित्र र वास्तुकलाका विविध स्वरुपमा नाग जोडीलाई रक्षकको रुपमा स्थान दिइन्छ । नागपन्चमी साउन महिनाको प्रमुख पर्व नै हो । हिन्दू धर्मबाहेक बौद्ध धर्ममा पनि नागको सम्मान गर्ने प्रथा छ ।
सप्तऋषिहरु (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ)लाई स्मरण गरेर पूजा तर्पण गर्ने दिन हो ऋषि तर्पणि । साउनको पूर्णिमामा गर्ने प्रमुख धार्मिक कार्यमा ऋषितर्पणि पर्दछ । यो दिन हातमा मन्त्रणा गरिएको डोरो र जनै धारण गरिन्छ । सनातन धर्माबलम्बीहरुको लागि यज्ञोपवित (जनै)को ठूलो महत्व छ । जनैको ६ डोरा अर्थात शिखालाई कर्म, उपासना, ज्ञान, ब्रह्मा, बिष्णु र महेश्वरको प्रतिक मानिन्छ । यज्ञोपवीतलाई बीज मन्त्र गायत्रीको स्वरुप मानेर वर्णन गरिएको छ । जनैको तीन डोरालाई गायत्रीको तीन रुप मानेर गायत्री, साबित्री र सरस्वती पनि मान्ने प्रचलन छ । यज्ञोपवीतधारण गर्ने अघिल्लो दिन ब्रतबन्ध गरेका पुरुषहरुले कपाल खौरने र स्नान गरेर एक छाक चोखो खाने नियम छ । तामाको भाडामा राखेको जनैलाई वेसारले रंगाएर गायत्रीको आह्वान र पूजा गरी मन्त्रेर शुद्ध गर्ने चलन छ । यज्ञोपवीत लगाउदा देब्रे कुममाथि र दाहिने कुममुनि पारेर लगाउनु पर्छ । यसलाई सव्य भनिन्छ । सम्पूर्ण देवकार्य गर्दा जनै सब्य हुनु पर्दछ । पितृकार्य गर्दा अपसव्य अर्थात दाहिने कुममाथि र देव्रे कुममुनि पारेर लगाउनु पर्छ । ऋषिकार्य गर्दा घाँटीमा मात्रै कण्ठी जस्तो गरेर झुण्ड्याउने परम्परा छ । रक्षाको लागि बाँधिने डोरो पास्नी गरेपछि सबैले बाँध्न पाउछन् । यो डोरो नाडीमा बाँध्दा ब्राह्मणले मन्त्र पढ्ने विधान छ ।
येन बध्दो बलिराजा दानवेन्द्रो माहावलः ।
तेन त्वां प्रतिवध्नामि रक्षे मा चल मा चल ।।
यो त्यही रक्षासूत्र हो, जहाँ राक्षसका प्रभावशाली राजा बली बाँधिएका थिए । त्यही रक्षासूत्रले म तिमीलाई बन्धन गर्दछु । हे रक्षासूत्र तिमी निश्चय भइरहनु ।
साउन महिनामा उमारेको गेडागुडी क्वाँटी खाने अर्को राम्रो चलन छ । काठमाण्डूका नेवारहरुको यो परम्परा आज देशका सबै जातिहरुमा प्रचलन भैसकेको छ । नौ प्रकारका गेडागुडी (मुगं, मास, भटमास, सानो केराउ, मस्यागं, चना, सिमी, बोडी, बकुल्ला) खाएर चीसो भगाउने विश्वासमा यो दिन छोरी, चेली, ज्वाई बोलाएर रमाइलो गरिन्छ ।
जनैपूर्णेको दिन काठमाण्डूका कृषकहरुले ब्याँजा नकेगु अर्थात भ्यागुतोलाइ भात ख्वाउने दिन भनेर पर्वको रुपमा मनाउँछन् । यो विश्वमै एउटा नौलो संस्कृति हो । पर्यावरण र मनसूनको सम्मान गरेर भ्यागुतोलाई पूजा गरेर क्वाँटी ,भात खान दिइएको हो । विश्वकै सबैभन्दा प्रचीन ग्रन्थमा वेद पर्छ, वेदमा मण्डूक ऋचाको उल्लेख छ । त्यो बेलादेखि बर्षाको लागि संझना गरिएका भ्यागुतोको मल्लकालदेखि आजसम्म पनि पूजा भैराखेको छ ।
हाम्रो समाजमा गुरुको ठूलो महत्व छ । हरेक दिन गुरुलाई सम्मान गर्नु पर्छ । त्यो सम्भव नभए साउन पूर्णिमाको दिनमा गुरुलाई फलफूल, मिठाई, वस्त्र , दक्षिणा अर्पण गरेर ऋण चुक्ता गर्ने चलन छ ।
ललितविस्तरमा बुध्दको तपस्या, ज्ञान प्राप्ती र मारकों आक्रमणबारे वर्णन छ । साउन पूर्णिमाकै दिन बुध्दले मारमाथि विजय प्राप्त गरेका थिए । सिध्दार्थ गौतमले ज्ञान प्राप्त गर्ने क्रममा विभिन्न बाधा अडचन खप्नु पर्यो, जसमध्ये मार नामक राक्षसको बाह्य र भित्री आक्रमण हो । नेपाल र भारतमा यस घटनालाई चित्र र मूर्तिमा सारै आकर्षक ढंगले दर्शाइएको छ ।
साउन महिना विभिन्न महत्वपूर्ण घटनाहरुले गर्दा विशेष मानिन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)