बागमती पुलमुनि हराइरहेको भाइको सम्झना
दुर्योधन बस्नेत
किनमेल वा काम बिशेषले पुरानो बानेश्वरको बजार जांदै गर्दा बाटोमा पर्ने पुरानो बानेश्वर र सिनामंगललाई जोड्ने मोटरेवल पक्कि पुलमुनी फोहोरमा केहि मानिसहरु प्रायः लम्पसार परेर ढुक्क र आनन्दसंग सुतिरहेको देख्न पाईन्छ । थोत्रा, मैला र च्यातिएका कपडा, महिनौ ननुहाएजस्तो देखिने जिङरिङ्ग परेको बांसको जराजस्तो कपाल, झुस्स परेको दाह्रि, कलेटी परेका ओठ, एक दुई जोर थोत्रा कपडा राखिएको एउटा थोत्रो झोलाका साथमा ‘शोक न सुर्ता, भोक न भकारी’का घ्वारघ्वार घुर्दैै चिर निन्द्रामा परिरहेका ति मानिसहरुलाई देख्दा मेरो मनमा थुप्रै प्रश्नहरु जन्मिन पुगे ।
के तिनीहरु यतिका लागि मात्र यो संसारमा आएका हुन् त ? तिनीहरुले जन्म लिंदै गर्दा आमाले के यतिका लागि मात्र अत्यन्तै पिडादायी प्रसव वेदना सहेकी हुन् त ? आमा बाबुले विभिन्न दुख कष्ट झेलेर हुर्काएको, बढाएको, पढाएको के यति गर्न मात्र हो त ? आमा बाबुको उनिहरुप्रतिको अपेक्षा के यती मात्र थियो त ? यी सवै प्रश्नहरुको एउटै उत्तर हो– पक्कै पनि होईन किनकी हरेक आमा बाबुको चाहना छोराछोरीले राम्रोसंग पढिदेओस्, राम्रो जागिर खाओस, असिमित पैसा कमाओस, राम्रो उन्नती प्रगती गरोस, नाम कमाओस, बाबु आमाको ईज्जत राखोस भन्ने नै हुन्छ । तर अपशोच पुलमुनिका ति पात्रहरुले त आमा बाबुको इच्छा चाहनालाई माटोमा मिलाउंदै उनिहरुको बदनाम गर्ने काम गरिरहेका छन् । आफ्नो जीवनलाई चुरोटको धुवांसंगै उडाएर, बोतलको रक्सीसंग सिध्याएर, छोराछोरी र परिवारको आशा र भरोसामाथी लात हान्दै उनिहरुको जिबन बर्बाद गरिरहेका छन् ।
यो लेख्दै गर्दा विगत ६÷७ बर्षदेखि हराईरहेको पुलमुनिका पात्रहरुको जस्तै जीवन विताएर रमाईरहेको आफ्नै सहोदर भाइको सम्झनाले, यादले कता कता पिडाबोध गरायो । दुखी तुल्यायो । म भन्दा लगतै पछि जन्मिएको भाईको जीवन कहानी हो यो । बाबु आमाको कान्छो छोरो भएर जन्मिएको थियो ऊ । बोलाउने नाम प्रकाश राखिएको भए ता पनि अलि कालो वर्णको भएकोले आमाले माया गरेर कालेमाजी भनेर बोलाउनुहुन्थ्यो । घरमा सवैले मायाले कालेमाजी भनेर बोलाउंथे । कान्छो भएकाले सवैले माया गर्थे । मायाका कारणले केही वीगार ग¥यो भने पनि माफ पाउंथ्यो । बाबु तमाखु खानुहुन्थ्यो । नरिवलको बुट्टेदार गुड्गुडे हुक्का थियो । भाइलाई काखमा राखेर तमाखु खांदै गर्दा बाबुको देखासिखी गरेर भाइ पनि बेलाबेलामा तमाखु तान्ने गथ्र्यो । गम्भिर रोगबाट बचेकोले बाबु भाइलाई असाध्यै माया गर्नुहुन्थ्यो जसका कारण तमाखु तानिरहंदा पनि कुनै प्रतिक्रिया जनाउनु हुंदैनथ्यो । बाबु आमा दुवैजना चुरोट पिउनुहुन्थ्यो । कहिलेकाहीं भाइलाई सल्काउन लगाउनुहुन्थ्यो । यसरी बारम्वार तमाखु तान्ने र चुरोट सल्काउने गर्दा भाई धुम्रपानको अम्मली हुन पुग्यो । आमा बाबुको चाहिनेभन्दा बढी लाड प्यारका कारण भाई कलिलै उमेरदेखि धुम्रपानको कुलतमा फस्यो ।
६–७ बषको उमेरमा बिद्यालयमा भर्ना गरियो । पढ्ने खासै चाहना देखाएन । विद्यालय जाने भनी घरवाट निस्कने र अन्तै जाने गथ्र्यो । पढ्छ कि भनेर विद्यालय परिवर्तन पनि गरियो । तर पनि पढेन । विद्यालय जानै छाडिदियो । त्यसपछि झनै विग्रीयो । चुरोट, रक्सी खाने कुलतका कारण पैसाको अभावम घरको अन्न, सामान लगेर बजारमा बेच्न थाल्यो । यतिकैमा बाबुको देहान्तपश्चात भाई अंश लगाइयो र अलग अलग बसियो । घरवार भएपछि सुध्रन्छ की भनेर विवाह गरियो । तैपनि सुध्रीएन । कुलतमा फसेपछि मान्छे सुध्रिन कठिन हुने रहेछ । खाएरै आफ्नो जग्गा जमिन सवै सक्यो । कती कोसिस गर्दा पनि बचाउन सकिएन । लालपुर्जा लुकाएर राख्दा समेत केही सिप लागेन । आबारा तालले हिंड्न लाग्यो । सवै सकेपछि लेवर काम गर्न थाल्यो यद्यपी मन लगाएर गर्दैनथ्यो । मन लगाएर नगरेपछि काम दिनेले पनि कहां राख्छ र ? त्यसपछि नाम्लो बोकेर हिंड्न थाल्यो भारी बोक्नका लागि । भारी बोक्न पनि त तागत हुनुप¥यो नि । गांजा भाङ, चुरोट र रक्सीले शरिर जिर्ण, सिथिल बनाइसकेको थियो । भाई हो माया लाग्नु स्वाभाविक थियो । दाइ भाउजुले पटक पटक बोलाएर घरमा राख्नुभयो । केही समय बसेपछि एउटा निहुं झिकेर झगडा गरि घरवाट निस्केर हिंड्थ्यो । सन्तुलित आहारको कमी र अत्यधिक धुम्रपान र जांडरक्सीका कारण दिन प्रतिदिन शारिरिक अस्वस्थताको सिकार बन्दै गयो । एकपटक पुरै जिउ सुन्निएको गम्भिर अवस्थामा बनेपामा भेटेर बनेपा अस्पतालमा लगी उपचार गराईयो । भित्र कुनै समस्या रहेनछ । पौष्टिक खानेकुराको अभावमा त्यस्तो अवस्था सिर्जना भएको रहेछ । औषधी खुवाएको दुई हप्तामै ठिक भयो । केही समय घरमा राम्रैसंग बस्यो । पुनः झगडा गरेर घरबाट निस्क्यो ।
त्यसपछि काम गर्न नसक्ने शारिरिक अवस्थाका कारण मागेर हिंड्ने, पाटिमा बास बस्ने गरेको कुरा सुन्नमा आउंथ्यो । लगभग ७ बर्ष भयो हराएको । कसैले पनि भेटेको जानकारीमा आएको छैन । विगतमा कहिलेकाहिं स्वयम्भुमा गएर बस्ने गरेको कुरा थाहा पाएपछि स्वयम्भुमा गएर खोजतलास गर्ने काम पनि भयो । पत्ता लाग्न सकेन । रोगले ग्रस्त भैसकेको हुंदा टाढा पक्कै पनि गएन भन्ने लाग्छ । पहिला पहिला जहां गए पण्नि जति समय हराए पनि छोरी उमालाई फोन गरेर आफ्नो अवस्थाको बारेमा जानकारी गराउंथ्यो र केही समयपछि गाउंमा आउंथ्यो । यतिवेला निक्कै लामो समय भैसकेको छ । कुनै अत्तोपत्तो छैन । लाग्छ– यो संसारमा भएको भए त पक्कै पनि विगतमा झैं छोरीलाई फोन गर्नुपथ्र्यो । पक्कै पनि गाउंमा फर्केर आउंथ्यो होला । जहां भएपनि आरामका साथ, शान्तिसंग बसेको होस् । भगवानले रक्षा गरुन् । भाई हो, माया लाग्छ । घरी घरी यादले सताउंछ । विवाहमा खिचेको फोटो भित्तामा टांसेर राखेको छु । फोटो हेरीरहंदा कहिलेकाहिं भावुक बन्न पुग्छु ।
बागमती पुलमुनि सुतिरहेका मान्छेहरुको दृश्यले हराईरहेको भाइको सम्झना आयो । भाइको यादमा यो लेख लेख्न मन लाग्यो । यो लेखले दिन खोजेको सन्देश के हो भने छोराछोरीलाई चाहिने मात्रामा मात्र माया गरौं । चाहिने मात्रामा मात्र स्वतन्त्र छाडौं । संस्कारित बनाउं । संस्कारीत बनाईसकेपछि धन सम्पति त आफैं कमाउंछन् । संस्कारको कुरा गरिरहंदा म दुई दिन अगाडी टेम्पोवाट नयां बानेश्वरदेखि घर आईरहेको थिएं । मेरो ठिक अगाडीको सिटमा दुईजना नानीहरु छोटो कट्टु लगाएर बसिरहेका थिए । एउटीले उपरखुट्टी लगाईन जो मेरो सामुन्ने बसेकी थिईन । उनको खुट्टले मेरो घुंडामा लागिरहेको थियो । मैले भनेँ– नानी गोडा लाग्यो । मेरो मुखमा ट्वाल्ल हेरेर निकै बेरपछि गोडा हटाईन् । सरी भन्न समेत जरुरी ठानिनन् । हामी कति संस्कारित भैरहेका छौं भन्ने कुुुराको ज्वलन्त उदाहरण हो यो ।
हो, यस्तै संस्कारमा तपाईंका छोराछोरी पनि हुर्किए भने मलाई जस्तै पुलमुनिको दृश्यले तपाईंहरुलाई पनि सताउने छ । मलाई सम्झना छ– भाईले घरबाट अन्न चोरेर बजार लांदै गर्दा घरका परिवारले रोक्न खोज्दा बाबुले एकपटकलाई होस्, लगोस् भन्नुभएको । हाम्रो घरमा यो घटना धेरैपटक दोहोरिन्थ्यो । आज यसको परिणाम भाइ स्वयमले भोग्नुप¥यो भने परिवार पनि यो भोगाइबाट अछुतो रहेन ।
यो लेखिरहंदा कसैलाई लाग्न सक्छ– यो मानिस मुर्ख रहेछ । आफ्नो परिवारको बेईज्जत गरिरहेछ । यो होईन । कसैले यसरी बुझ्छ भने त्यो उसको सरासर गलत बुझाई हो । मैले त मेरो भाईको जस्तो पिडादायी जीवन, भाईका कारण हाम्रो परिवारले भोग्नुपरेको सकस कोहि कसैले भोग्नु नपरोस् भनेर सन्देश दिन खोजेको मात्र हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)