लोग्ने ‘डबल’ जेठो पर्दा के-केसम्म भयो ?
कथा
रितु शाक्य
एउटी बाह्र बर्षकी बालिकाको बिहे डबल जेठो मानिसँग हुन्छ। विहे भनेको पुतलीको खेल लाग्ने, राम्रो लुगा र गहनामा सजिन पाइने, मिठो खान पाइने कुरा मात्र बुझेकी ती दुलही विहेको रात्रीको शारीरिक सम्पर्कबाट त्रसित हुन्छिन् । बुहारी भएपछि न समयमा खान पाइने न आफुखुसी कतै जान मिल्ने, दिनभर घरदैलोको काममै ब्यस्त हुनुपर्दा उनको बालापनको अधिकार नै हनन भएको थियो ।
उनलाई विहे हुने घर स्वर्ग र बेहुला स्वर्गको राजकुमार लागेकोथ्यो पहिला । पछि त त्यो घर नर्क अनि आफ्नो बेहुला त राक्षस अनुभूति हुन थाल्यो । यस्तैमा पन्ध्र वर्ष पनि नहुँदै बच्चा जन्मियो । अब त झनै गार्हो भयो । लाउँ–लाउँ खाउँ–खाउँको उमेरमा घर गृहस्थीको भार बोक्नु पर्ने भयो ।आफु नै कच्चा उमेरको छ, केहि ज्ञान छैन, उसले अब आफ्नो सन्तानलाई कसरी हुर्काउने, आफैलाई थाहा थिएन । यस्तैमा उनका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा विदेशिन्छन् ।
बिस्तारै यौवनतर्फ लम्किदै गरेकी उनको गाउँकै अर्को केटोसँग माया प्रेम बस्छ र उनी आफ्नो सन्तान छोडेर त्यस केटासँग भाग्छिन् । अबोध शिशुको बिजोग हुन्छ । उसको स्याहारसुसारको जिम्मा मावली पट्टिको हजुरबुवा र हजुरआमाले लिन्छन् । शिशु अलि ठुली हुन्छिन् । उनका बुवा विदेशबाट फर्किन्छन् । उनले अर्को बिहे गर्छन् । बुवाले अर्की आमा ल्याए र आमाले अर्को बुवा रोजेर गएपछि सानी रश्मी अब एक्लो भईन् । मावलीमा हुर्कदै गर्दा उनको राम्रो हेरचाह नभएपछि उनी अलि जिद्दी र रिसाहा हुन थालिन् । हजुरबुवा र हजुरआमालाई उनको चिन्ताले सताउँथ्यो । आफुहरुको बृद्ध अवस्था भैसक्यो, अब यसलाई कसले सम्हाल्छ भनेर चिन्ता भएपछि उनीहरुले रश्मीको बिहे सानैमा उनीभन्दा ठुलो उमेरका एकजना भलादमीसँग गरिदिन्छन्, ताकी रश्मीको भबिष्य राम्रो होस् ।
सानैदेखि मायाको अभावमा हुर्किएकी रश्मीले आफ्ना श्रीमानबाट ठुलै मायाको अपेक्षा गर्छिन् । श्रीमानले माया त दिन्छन् उनलाई तर उनको उमेरको हिसाबले चाहिने जति दिन सक्दैनन्। दुई जोइ पोइको उमेरको फरकपनाले उनीहरुका इच्छा र आकांक्षा पनि फरक हुनजान्छ, जसको कारणले दुवैमा जति प्रेम गहिरिनु पर्ने हो, त्यति हुन सक्दैन। तैपनि रश्मी सब चिजलाई स्वीकार्दै आफ्नो गृहस्थी सम्हालेर बस्छिन् । बर्ष बित्दै जान्छ । उनीहरुका दुई सन्तान पनि हुन्छन् । रश्मी आफ्नो वालापनमा पाउन नसकेको प्यार आफ्ना छोराछोरीलाई दिन्छिन् । रश्मीका पति पैसा कमाउनमा मात्र तल्लिन हुन्छन् । श्रीमती र छोराछोरीको इच्छातर्फ उनको ध्यान जाँदैन, जसले गर्दा रश्मीत्यो प्रेमको प्यासी हुन पुग्छिन्, जसको कारणले उनको पनि अरु व्यक्तिसँग सम्बन्ध गाँसिन पुग्छ । जसले उनलाई उनले चाहेको जस्तो प्रेम दिन थाल्छ । उनी त्यसैमा भुल्छिन् । उता छोरो खराब संगतले दुर्व्यसनी बन्न पुग्छ । छोरी भने असल हुन्छिन् । समय बित्दै जाँदा छोरोको अवस्था अत्यधिक खराब भएपछि बल्ल बुवाआमा दुवैको होस् आउँछ । त्यतिन्जेल धेरै ढिलो भैसकेको हुन्छ । उसलाई सुधारगृह लगिन्छ । तैपनि सुधार हुन गार्हो हुन्छ ।
रश्मी दुविधामा पर्छिन्, अब गर्ने के ? आफ्नो भबिष्य हेर्ने कि छोराको ? उनलाई यति लत लागिसकेको थियो त्यो मायाको कि उनी पनि कुनै दुर्व्यसनीभन्दा कम थिइनन् । वास्तवमा जसलाई उनले प्रेम गरेकी थिइन्, उसले रश्मीको कमजोरीको फाइदा मात्र उठाएको थियो । रश्मीसँग खेल्नसम्म खेलेपछि उसले रश्मीलाई लतारेर जान्छन् । यता श्रीमानसँगको सम्बन्ध पनि बिग्रन्छ। छोराको दुख अनि आफ्नो सम्बन्धबाट आएको पिडा सहन गर्न गार्हो हुन्छ र उनलाई डिप्रेसन जस्तो घातक रोगले समात्छ । अब उनको जीवन साँच्चिकै बोझ जस्तो लाग्न थाल्छ ।
उनलाई जीवनभन्दा मृत्यु नै प्यारो हो कि जस्तो भान हुन थाल्छ । तैपनि जसोतसो आफ्नो छोराछोरीको मायाले उनलाई मर्न दिँदैन । समस्या बिकराल बन्दै जाँदा उनको स्वास्थ पनि बिस्तारै बिग्रन थाल्छ । स्मरण शक्ति ह्रास हुन थाल्छ । रात–रातभर ननिदाउने हुन्छ । यस्तो परिस्थितिबाट गुज्रदै गर्दा भाग्यवस उनको भेट एउटा अध्यात्म गुरुसँग हुन्छ, जसले अध्यात्मका बिबिध उपायबाट उनलाई यो समस्याबाट मुक्त गर्छन् । आफु हुनुको अर्थ आफ्नो परम कर्तब्य र धर्मको ज्ञान पाएपछि बिस्तारै उनी सहज हुन थालेकी छिन् ।
हरेक जिन्दगीका भोगाइले केहि न केहि शिक्षा अवश्य दिएको हुन्छ, जसलाई हामीले मनन गर्नु जरुरी हुन्छ । पिडाको पराकाष्ठामा नै मुक्तिको मार्ग लुकेको हुन्छ । गल्ती हुनु ठुलो कुरो होइन तर गल्ती स्वीकार गरेर आफ्नो गल्तीको सुधार गर्नु सबैभन्दा ठुलो कुरो हो । जो कोहिले पनि कुनै पनि कदम उठाउनुपुर्व अगाडि–पछाडि, दायाँ–बायाँ सब बुझेर सजग हुन जरुरी छ । आफ्नो कारणले भबिष्यमा आफ्ना परिवारले दुख झेल्नु नपरोस्, त्यसको बिशेष ख्याल राख्नु पर्छ । स्वीकारभाव, क्षमाभाव, धन्यवादभाव, अहोभावजस्ता सकारात्मक भावहरुलाई आत्मसात गर्दै जाने हो भने जीवनमा दुख, पिडा, रोग र शोक धेरै कम गर्न सकिन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)