श्रीमतीका कारण मानसिक समस्यामा एउटा केटो

सुुशीला नेपाल

पुरुषलाई आजभोलि हेर्न कसैले नसकेको हो कि हेर्न नचाहेको हो ? कहिँ न कहिँ पुरुष पनि पिडामा परेका छन् । कोही विदेशिएका पुरुषका कमाइ कुम्ल्याई अर्कोसँग लागेका भेटिन्छन् । कोहि छोराछोरी सानैमा छोडेर अर्कोसँग जीवन बिताइरहेका छन् । आमाबाबाको काखमा जीवन जिउने उनीहरुको हक हो । उनीहरुको त्यो हक छिनेर उनीहरुलाई सानैदेखि हामीले कतै मानसिक बिरामी त बनाइरहेका छैनौँ ?

जल्दोबल्दो समस्या हो मानसिक पिडा । हेर्दा सामान्य देखिन्छ । मानिस खाने-बोल्ने गर्छ तर दिमागमा नाना थरी कुण्ठा हुन्छ, जसका कारण निन्द्रा लाग्दैन, छटपटी हुन्छ, दिक्क लाग्छ, जीवनमा केहि छैन भन्ने लाग्छ । केहि गर्न सकिनँ, मेरो कोहि छैन, म मरे पनि फरक पर्दैन भन्ने जस्ता नकारात्मक सोचको विकास हुँदै जान्छ ।

परिवार खुसी राख्न हरेक सदस्यको महत्वपूर्ण भूमिका हुन्छ ।

एउटा केश,

साथी सुशान्त (नाम परिवर्तन) ले एक दिन कुरा गर्दै जाँदा आफ्नो व्यथा सुनाउन थाले, ‘मलाई पिडा छ । निन्द्रा लाग्दैन । बेचैनी हुन्छ । बाँचेको अर्थ देख्दिनँ ।’

‘के भयो र ? सबै ठिक छ नि ?’

‘बुढीले धोका दिई ।’

‘कसरी ? तिम्रो त लभ म्यारिज होइन र ?’

‘हो नि ! तर के गर्नु ? मेरो जीवनको कथा सुनाउँछु । सुन्छौ ?’

‘सुन्छु नि । साथीको पिडा हुँदा नसुने साथीको के अर्थ ?’

‘मेरो कोहि छैन । म ३ बर्षको थिएँ, बाबा बित्नुभयो । एक्ली आमाले जसोतसो पढाउनु भयो । मैले कम्प्युटरको सानो अफिस खोलेको थिएँ । त्यहिँ एकजना पढ्न आउने गर्थिन् । उनको नाम शोभा । केहि समयपछि शोभाको बिहेको परिवारले निणर्य गरेपछि उनले भनिन्, मलाई बिहे गर्ने मन छैन ।’

‘नगर न त ! के भो त ?’

‘तपाईले बिहे गर्नुहुन्छ ?’

सोचेँ, केटी ठिकै छ ।

‘तिमीलाई मन छैन भने नगर्नु, केहि समय सोचेर गर ।’

शोभा घर फर्की ।

केहि दिनपछि उसको बिहे गर्ने कुरा फाइनल भएछ ।

उनले रुँदै भनिन्, ‘मलाई लिएर जानु ।’

‘तिमी खुसी हुन्छौ भने म राजी छु ।’

त्यसपछि हामी केहि समय काठमाडौ आएर बस्यौँ ।

‘त्यसपछि के भयो ?’

‘केहि समयपछि हामी घरतिरै फर्कियौं । शोभा खुसी नै थिइन् । हामीले केहि समय घुमेर बितायौं । त्यसपछि म आफ्नो काममा लागेँ । समय बित्दै गयो । उसका आशा र इच्छा पुर्याउन म दिनरात मेहनत गरिरहेँ । उसलाइै जागीर पनि लगाइदिएँ । ब्याचलरसम्म पढाउन मैले लगानी गरेँ । मेरो खुसी उहि हो भनी उसको भित्री बस्त्र पनी धुन पछि परिनँ । उसले मलाई एक छाक खाना पनि राम्ररी पकाइनन् होला । उसको पढाइ राम्रो हो्स भनी म नपढेर भए पनि कोशिस गरिरहेँ । उसको लागि ज्यान दिने म, उसको खुसीका लागि जागीर खोज्नेदेखि घरको काममा म बुहारीले गरेको भन्दा बेसी थियो । हरेक इच्छा पूरा गर्नु मेरो भूल थियो । केहि समयपछि उसको कमाइ उहि आफै रमाई जस्तो लाग्न थाल्यो । उसको ब्यवहारमा परिवर्तन आाउन थाल्यो’, सुशान्तले भन्यो ।

‘त्यसपछि के भयो ?’

‘अर्कै केटासँग उसको चक्कर छ भन्ने चाल पाएँ । केहिले अफिसको कामले बुटवल त कहिले कहाँ भनी ढाँट्न थाली ।’

‘ढाँटेको भनी तिमीलाई कसरी थाहा पायौ त ?’

‘अरु अफिसको साथीले भनेको विश्वास लागेन तर हरेक शब्दले मलाई पोल्न थाल्यो । बुझ्न बुझाउन खोजेँ, शोभा अर्कैसँग बसेको भनी प्रमाण भेटाएँ । जेजे भयो छोडिदेउ माफी दिन्छु भनेँ । मसँग नजिक बनाउन पोखरा घुमाउन लगेको थिएँ । केहि समय ऊसँग बिताएँ । घर फर्किएपछि पनि उसको ब्यवहार उहि भयो ।’

‘शोभाको ब्यवहारमा परिवर्तन आएन ?’

‘आएन । मध्यरातमा अर्कैसग बोलेको देख्दा मन धेरै रोयो । मलाई मानसिक पिडाले सताउन थाल्यो । तर उसका लागि मेरो पिडाको कुनै अर्थै थिएन । शोभा आफै भन्न थाली, तपाईंलाई मेरो सबै यथार्थ थाहा भइभइ सँगै बस्न सक्दिन ।’

‘त्यसपछि ?’

‘अझै मौका दिन्छु भनेँ तर शोभाको उतर थियो, सक्दिनँ, अब म मेरै तरिकाले बाँच्छु ।’

सुशान्त रुन थाल्यो । म अकमक्क परेँ । मैले उसका लागि बोल्न केहि शब्द भेटिनँ । उसलाई रुन दिएँ । त्यसपछि बोल्न थाल्यो । सायद उसको कुरा सुनिदिने पहिलो मान्छे मै थिएँ ।

सुशान्त शोभाको इच्छा पूरा गर्न दिनरात लागिरहे । त्यो समय उसका लागि पेन्टी धुनेदेखि सबै काम आफै गरे । तर यो दुनिँया यति स्वार्थी रहेछ, आफनो खुट्टामा उभिएपछि जहाँ खायो, त्यहि थुक्नसक्ने रहेछन् ।

‘३ बर्ष भयो । म अझै पिडामा छु । गहना सबै लिएर गई । डिर्भोसको लागि मुद्धा लडिरहेको छु । फैसला भएको छैन । शोभाकै कारणले मेरो भविष्य अन्धकार भयो । आयोगमा नाम निस्कँदा पनि इन्टरभ्यूको लागि जान सकिनँ । डिर्भोसको कुराले म मानसिक समस्यामा परेको छु । अहिले उसको माइतबाट फोन आएको छ, ऊ बिरामी भएकी छ रे । अदालतको फैसला नहुन्जेलसम्म बिरामी खर्च मैले हेर्नपर्छ भनिएको छ ।’

‘के सोच बनाउनु भएको छ त ?’

‘मलाई उसँग बस्नु छैन । मलाई ३ बर्षसम्म तड्पाएर आफनो खुसीमा हिँडेकी उसलाई अहिले बिरामी भनेर खर्च कसरी दिउँ जबकी न मेरो जागीर छ न केहि गरेको छु । एक्लो भइ जीवन जिउनका लागि लडिरहेको छु ।’

आजभोलि नारी स्वतन्त्र भएका छौं । यसको मतलव यो होइन नि । आफ्नै खुट्टामा उभिएर अर्कै रोज्नू पर्छ र ? आएका समस्या पन्छाउँदै एक रथको दुई पांग्रा भई हिँड्न पर्छ, होइन र ? कि त पहिला नै सोच विचार गरेर सम्बन्ध अगाडि बढाउन सकिन्छ । भएको सम्बन्धलाई कायम राख्दै समझदारी र सल्लाहमा मनका कुरा राखेर जीवन जिउने उपाय खोज्न सकिन्छ, होइन र ?

जति नारीको न्यायका लागि निकाय र बाटो खोलिएका छन्, अब पुरुषका लागि पनि खोलिनुपर्छ कि ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button